शिवरात्रि पहिले र अहिले

कपिल लोहनी
३ चैत २०८० ७:१८

विश्वका जुनै पनि कुनामा रहेका राष्ट्र, समाज वा समुदाय र झुण्डका आआफ्नै चाडपर्वहरू हुन्छन्। कट्टर धर्मावलम्बीले त्यस्ता चाडपर्वलाई धार्मिक आस्थाका रूपमा सकेसम्मका प्रकृया तथा विधि पुर्‍याएर सम्पन्न गर्छन् भने हामीजस्ता धेरै सर्वसाधारण थोरै आस्थाका साथ धेरै मनोरञ्जन प्राप्त गर्ने हिसाबले चाडपर्व मनाउँछन्।

बाल्यावस्थामा चाडपर्वले निकै प्रभाव पारेको हुन्छ। हामी पनि साना छँदा निकै खुशी भएर चाडपर्व मनाउँथ्यौं। आर्थिक भार वहन गर्न नपर्ने र घर-व्यवहार धान्नु नपर्ने त्यो उमेरको आनन्दी जीवनमा चाडपर्वको बेला विद्यालयसमेत बिदा हुने भएकोले मनमा अझ बढी सन्तोष हुने गर्दथ्यो।

ठूला चाड जस्तै दशैं-तिहार भन्दा ३-४ महिना पहिले नै दाजुभाई तथा दिदीबहिनीका लागि इन्द्रचोकका हनुमानसाहुका छोरा मंगु र उनका भाइहरू कहाँ गएर कपडाका एउटै थानबाट उस्तै खालका कपडा कटाएर सिलाउन दिने चलन थियो।

पछि उनै हनुमानसाहुका अर्का छोरा बनवारीलाल मित्तल ठूला उद्योगपति तथा व्यापारीका साथै नेपालको अग्रणी हेलिकप्टर र हवाइजहाज कम्पनी श्री एयरलाइन्सका संस्थापक हुन पुगे।

अहिले जस्तो रेडिमेड लुगाको चलन हामी केही हुर्किसकेपछि मात्र आउन थालेको हो, खासगरी नेशनल ट्रेडिङले चिनियाँ रेडिमेड लुगा आयात गर्न थालेपछि।

दशैं-तिहार आउनु भन्दा केही समय अघिदेखि नै नयाँ लुगा लगाउने, चंगा उडाउने, डमरु बजाउने, पटाखा पड्काउने, टिका लगाउँदा पाउने दक्षिणा जम्मा गर्ने, तास र लंगुर-बुर्जा खेल्ने तथा मामाघर र अन्य नातेदारको घरमा गएर आफू जस्तै उमेरकासँग खेल्ने र मिठा मिठा परिकार खाने कुराहरूले गर्दा ती चाडहरूको ठूलो प्रतिक्षा हुने गर्दथ्यो।

त्यस्तै गठेमंगलको पर्वमा फलामका औँठी हातका औलाभरी लगाउँदा हामी निकै प्रसन्न हुन्थ्यौँ भने फागु शुरु हुनुभन्दा अगावै लुकी लुकी पानी र रङ भरिएका लोला बटुवाहरू माथि बर्साउँदा बेग्लै आनन्द आउँथ्यो।

बाल्यावस्थामा हाम्रो मनभित्र केही क्रुरता पनि लुकेर बसेको हुन्थ्यो। दशैंमा बोका, खसी, कुखुरा, हाँस, राँगा आदिको बलि चढाउँदा हामी निकै खुशी र उत्साहित भएर हेथ्र्यौं। आज यसलाई काट्ने भनेर पशुहरू छान्थ्यौं।

उमेरसँगै पाका हुँदै गएपछि हिजोआज त्यस्ता निर्मम हर्कत गर्नै नसकिने भएको छ। हिजोआजका अधिकांश बालबच्चा पशुबली र काटमार त्यति मन पराउँदैनन् र पुरातन व्यञ्जन तथा मिठाई भन्दा पनि जंक र फास्ट फुड बढी मन पराउँदछन्।

खासगरी काठमाडौँ उपत्यकामा गठेमंगल, लाखे नचाउने कृष्ण जन्माष्टमीको जात्रा, फागु यानी हिजोआजका युवाले बुझ्ने होली, गाइजात्रा, घोडेजात्रा, शिवरात्रि आदि चाडहरू आउनु भन्दा पहिले नै बालबच्चा तथा युवा उत्सुकताका साथ निकै दिन अघिदेखि प्रतिक्षा गरेर बस्ने गर्दथे।

त्यतिबेलाको नेपालको सानो संसारमा मनोरञ्जनको साधन ज्यादै नै थोरै हुने भएकोले पनि यसो भएको हुन सक्छ। यदाकदा आयोजना हुने फुटबल प्रतियोगिता, भृकुटी मण्डपको रमाइलो मेला, सिनेमा, नाटक तथा सांगीतिक कार्यक्रम तथा रेडियोमा प्रसारण हुने रमाइला कार्यक्रमको अलावा यस्तै चाडबाड नै मनोरञ्जनका मुख्य साधन हुन्थे।

यिनै चाडहरू मध्ये आज हामी शिवरात्रिको चर्चा गरौं। फागुन महिनामा मनाइने शिवरात्रि भगवान शिवजीको आराधनाका साथ मुख्यतया साँझपख र रातको समयमा धुनी जगाएर मनाइन्छ। सातौं शताव्दितिरबाट मनाउन थालिएको भन्ने विश्वास गरिएको शिवरात्रि पर्व शैवधर्मावलम्वीहरूको महान् चाड हो।

भगवान शिवलाई प्राचिनकालदेखि दक्षिण भारतमा पुजिने गरिएको र पछि आर्यनहरूले पनि पूजा गर्न थालेपछि भने शिवजी सम्पूर्ण हिन्दू धर्मावलम्वीको आराध्य देवको रूपमा हेरिन थालेका हुन्। शिवरात्रि पर्वलाई शिव र पार्वतीको विवाहोत्सवको रूपमा पनि मनाइन्छ।

शिवजीद्वारा ताण्डव नृत्यको थालनी भएको विश्वासका साथ हिन्दू जगत् र खासगरी भारतका विभिन्न नृत्यशालाहरूले यो दिन ताण्डव नृत्यको आयोजना गर्दछन्। विभिन्न समय र परिस्थितिमा नाचिने ताण्डव नृत्यका धेरै रूपहरू हुन्छन्, जस्तै शिव ताण्डव, आनन्द ताण्डव, सन्ध्या ताण्डव, काली ताण्डव, त्रिपुरा ताण्डव, सम्हार ताण्डव, कृष्ण ताण्डव तथा गौरी ताण्डव।

शिवरात्रिको दिन भक्तजनहरूले शिवको मन्दिरमा गई शिवलिंगको पूजाआजा गर्ने गर्छन् भने कतिपय भक्तजनहरू भारतभर पैmलिएर रहेका ज्यातिर्लिंगहरूको पूजाआजाको निम्ति यात्रामा पनि निस्कन्छन्। कुनै पनि पूजा वा कर्म गर्दा सर्वप्रथम ज्योतिर्लिंग र शिवलिंगलाई सम्झेर मात्र पूजा शुरु गर्नु पर्छ भन्ने कथन र मान्यता छ।

भारतमा रहेका भनिएका ६४ ज्योतिर्लिंग मध्ये १२ वटालाई निकै महत्वका साथ पुजिन्छ। केदारनाद, काशी विश्वनाथ, वैद्यनाथ, महाकालेश्वर, ओमकारेश्वर, सोमनाथ, त्रिम्बक, भिमशंकर, गृश्नेश्वर, नागेश्वर, मल्लिकार्जुन र रामेश्वरम।

तर यी सब ज्यातिर्लिंगको दर्शन गर्नेले पनि नेपालको पशुपतिनाथको दर्शन गरेका छैनन् भने उनको भक्ति अपूर्ण भएको मानिने भएकोले विश्वभरका हिन्दूहरू र खासगरी शिवजीका उपासकहरूको निम्ति काठमाडौँ, नेपालस्थित पशुपतिनाथको मन्दिर एक महान् तिर्थस्थल नै भएको छ।

त्यसैले पनि भारतका राजनेता, शासक, कलाकार, साहित्यकार वा अन्य क्षेत्रका विज्ञ वा सामान्य व्यक्तिहरू पनि सकेसम्म जीवनमा एक पटक पशुपतिनाथको दर्शन गर्ने अभिलाषा राख्दछन्। नेपालीको झनै कुरै भएन। भारतका प्रधानमन्त्री मोदीको केही वर्ष पहिलेको दर्शन भ्रमण पश्चात् हिजोआज मुक्तिनाथको दर्शनको निम्ति त्यहाँ जानेको संख्या पनि बढ्दो छ।

हामी साना छँदा शिवरात्रिको दिन बुवा-काका तथा अन्य अग्रजहरूसँग हिँड्दै पशुपतिनाथको मन्दिर परिसरमा जाने गर्दथ्यौं। त्यहाँ देखिने विभिन्न प्रकारका साधुसन्त तथा उनका भावभंगीमा देखेर हामी निकै उत्साहित हुन्थ्यौं।

त्रिशुल बोकेका र खरानीले पुरै मुहार र शरीर लिपेका तथा लामा-लामा लट्टापरेका कपाल भएका खडेबाबा झुलाको सहारामा उभिइरहेका, नागा बाबा निर्वस्त्र आफ्ना लिंगमा औंठीसमेत लगाएर बसेका, अघोरी बाबा काला कपडामा अति डरलाग्दा अनुहारसहित मानव हड्डी समाएर मानव खोपडीमा नै खाइरहेका, धुनी जगाइरहेका, त्रिशुल ठडाएर गाँजाको चिलिम तानिरहेका र भाङ-धतुरो खाइरहेका, उनिहरूसँग नतमस्तक भएर कैयन् अम्मली युवाहरू गाँजा र भाङको नशामा लडिरहेका, कोही जोगीहरू चिम्टा र डम्फु बजाउँदै धुनीको चारैतिर घुमेर शिवजीको आराधना सहित नाचीरहेका आदि दृश्यले हामीलाई निकै रोमाञ्चित तुल्याउँदथे। हामी भिडमा हराउँला भनेर हाम्रा अग्रजहरूले हाम्रो हात समातेर डो¥याउँथे हामीलाई।

शिवरात्रिको साँभैmदेखि आधा रात वा भोलिपल्ट बिहानसम्मै पशुपतिनाथको मन्दिर तथा नेपालभर भएका शिव मन्दिर र टोल–टोलमा शिवधुनी जगाउने परम्परा थियो र अझसम्म पनि छ। हामी साना छँदा हाम्रा अग्रज युवा दाजुहरूले दाउरा मागेर र चोरेरसमेत ल्याएर बाल्दथे।

हाम्रो टोलमा यादव खरेल, राम खरेल, अच्युत खरेल तथा उनका ठूलो परिवारको ठूलै घर थियो। एउटा शिवरात्रिमा हाम्रा अग्रज दाजुहरूले उनीहरूको घरमा खाना पकाउने उद्देश्यले ल्याएर सुकाइरहेका निकै धेरै दाउरा एउटा एउटा गर्दै चोरेर बाल्दै गर्दा अच्युत खरेल आएर ‘ल भैगो केटा हो, आज शिवरात्रि भएकोले मैले केही गरिनँ, नत्र….’ भनेर आफू पनि आगो ताप्न बसेको देख्दा निकै रमाइलो भएको थियो।

कैयौं पटक त घरघरमा खुसुक्क गएर सग्ला काठहरू र कहिलेकाहीँ त घरका भर्‍याङ र झ्याल-ढोका तथा दलिनसमेत चोरेर ल्याई बाल्दथे। बारीहरूबाट आलु तथा अन्य तरकारी चोरेर ल्याई पोल्ने र पकाउने पनि गर्दथे।

एकचोटी त त्यसरी एउटा घरबाट सुटुक्क काठको भर्‍याङ ल्याएर बालिरहेको बेलामा सो घरका मुली राति पिसाब गर्न तल ओर्लँदा भर्‍याङको ठाउँ खाली भएर तल गर्लम्मै लडेका थिए। तै त्यतिबेलाको घरको तल्लाको उँचाई निकै कम हुने तथा भुईँ पनि माटो लिपेर बनेको हुने भएकोले खासै चोट लागेन छ।

उनी ती बदमास युवाहरूलाई सत्तोसराप गरेर लड्खडाउँदै आगो बालेको ठाउँमा आउँदा एकछिन सबैजना भागेका थिए। भालिपल्ट सबै मिलेर नयाँ भर्‍याङ ल्याएर उनको घरमा जडान गरिदिएपछि भने यो जटिल मुद्दा हाँसोमा परिणत भएको थियो।

हाम्रो युवावस्थाको समयमा हामी झनै बिग्रँदै गएका थियौं। यस्तो पावन चाडलाई बिकृत बनाउँदै हामीले जाँडरक्सी पिउने र भाङ-धतुरो सेवन गरेर हुण्डरी मच्चाउने उत्सवको रूपमा मनाउने गरेका थियौं।

करिव तीन दशक जति पहिले एउटा शिवरात्रिमा त हामी टोलका र कलेजका केही साथीहरू बिहानै बानेश्वरको एउटा मदभट्टीमा पसेर बेहिसाब सस्तो रक्सी सेवन गरेपछि फोहरमैलाको ट्रकमा झुण्डिएर पशुपतिनाथको मन्दिर पुगेका थियौं।

त्यहाँ आर्यघाटमा एकजना साधुले पाँच-पाँच रुपैयाँका भाङका लड्डु खुवाएपछि त हामी सबैजना केही छिनमा नै मद र बुटीको नशामा चुलुम्म डुबेर पुरै बेहोस जस्तै भएका थियौं। हामीमध्ये कोहीले साधुहरूलाई ढोगेर अभिवादन गर्ने त कोहीले उनीहरूसँग झगडा गर्न जाने जस्ता कुकर्म गर्न थाल्यौं।

अति उत्तेजनामा ल्याउने रक्सी र अर्कै थरीको नशा दिने भाङ मिसिँदा पनि तै हामी नराम्रो दुर्घटनामा परेनछौं। त्यो दिन पछि मैले आजसम्म भाङ सेवन गरेको छैन। बढ्दो जनसंख्यासँगै पछिल्ला शिवरात्रिहरूमा पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूको संख्या पनि बढ्दै गएको छ।

बनारसमा उच्च अध्ययन गरेका हाम्रा पिताजी तथा अन्य व्यक्तिहरू भाङ खाएर निकै मजा लिने गर्दथे। उनीहरूको युवावस्थामा रक्सी सेवन गर्ने चलन निकै कम थियो। शिवरात्रि तथा फागु जस्ता चाडमा पनि उनीहरू भाङको लड्डु तथा घोट्टा (सर्बत) खान्थे। तर उनीहरूलाई कति मात्रासम्म खाँदा रमाइलो अनुभव हुन्छ भन्ने थाहा हुने भएकोले नचाहिँदा हर्कत उनीहरूबाट कहिल्यै पनि हुँदैनथ्यो।

यसपालीको शिवरात्रिमा हाम्रा टोलका केही भुराभुरीहरूले डोरी तानेर सवारी साधनहरू रोकेका र केही रकम जम्मा गर्ने आशा बोकेको आशय उनको मुहारबाट प्रष्ट देखिँदा मलाई आफ्नो बाल्यकालको याद आयो। यो एउटा परम्परा हो।

यसलाई धानिरहन पनि यस्ता कुरालाई सकारात्मक रूपमा नै लिनु पर्दछ। मैले पनि केही रकम दिएँ ती बच्चाहरूलाई। तर पहिले जस्तो टोल टोलमा धुनी जगाउने, शिवरात्रिमा ब्रत बस्ने, पानी रोटी खाने तथा शिवभजनहरू गाउने र सुन्ने चलनमा निकै कमी आइसकेको छ।

आजकल खासगरी नेपालका शहरी क्षेत्रमा यस्ता सबै चाडपर्व र सबै जाति र धर्मका चाड र नयाँ वर्षलाई भोज खाने र रक्सी सेवन गर्ने उत्सवका रूपमा मनाउने प्रचलन बढ्दै गएको छ। यसरी चाडपर्वको मौलिकतामा ह्रास आउन थालेको छ।

शिवरात्रिमा अन्य भक्तजनहरू भारतदेखि पशुपतिनाथको दर्शन गर्न आउने क्रम बढे पनि साधुसन्तहरूको संख्या भने घट्दो छ। अर्को तर्पm हामी नेपालीहरू सबै सम्प्रदाय र धर्मका चाडपर्वलाई सम्मानका साथ हेर्ने र मनाउने खालका भएकाले हामी कहाँ धार्मिक वा साम्प्रदायिक दंगा वा झडप त्यति धेरै हुँदैन।

राणाशासनको बखत साधुसन्तहरूलाई मात्र शिवरात्रिमा नेपाल पस्न दिइन्थ्यो भने तिनीहरूको लागि विशेष प्रवन्ध पनि मिलाउँथ्यो त्यो बेलाको प्रशासनले। कुनै विलक्षणको साधु दर्शनार्थीको रूपमा आएको खवर प्राप्त भएमा राणाशासकहरूले त्यस्ता साधुलाई आफ्नो दरवारमा नै निम्त्याउने गर्दथे।

त्यतिबेला नेपालमा वन्यजन्तुको शिकार प्रचुर मात्रामा गरिने भएकोले जनावरका हाडखोड र छाला उपहारस्वरुप साधुसन्तहरूलाई दिने पनि प्रचलन थियो, जुन चलन नेपालमा राजतन्त्रको अन्तसम्म नै कायम रह्यो।

हामी युवावस्थाका होउञ्जेलसम्म पनि शिवरात्रिको अघि र केही दिन पछिसम्म कैयन् साधुसन्तहरू टोल-टोलमा आउने र बाजागाजासहित शिवभक्तिका भजनहरू गाएर बाटो खर्च र सिदा जम्मा गर्ने काम गर्दर्थे। तर त्यो परम्परा अब ह्रास हुने क्रममा छ।

सरकारको तर्फबाट साधुसन्तहरूको लागि पशुपतिनाथ परिसरमा विशेष वन्दोवस्ती मिलाउने र घर फर्कने बेलामा केही रकम र उपहार दिने चलन चाहिँ अझै पनि कायमै रहेछ।

आजको युगमा पशुपतिनाथ तथा अन्य हिन्दू मठ-मन्दिरभित्र अरु धर्मका अनुयायीहरूलाई पस्न मनाही गर्नु त्यति व्यवहारिक भने देखिँदैन। हिन्दू धर्मको चलिआएको मान्यता मुताविक खाली खुट्टा र निश्चित शालिन पहिरन तथा समयमा पशुपतिनाथको मन्दिरको मुलढोका र मुल मन्दिरभित्र नपस्ने गरी अनुशासित तवरले अवलोकन गर्न दिँदैमा हाम्रो धर्म कसरी बिटुलो होला र?

हुँदा हुँदा अन्य धर्मबाट हिन्दू धर्म अँगालेका फिरङ्गी (गोरा) हरूलाई पनि हामी त्यहाँ पस्न दिँदैनौं भने हाम्रोजस्तै कालो छाला भएका अन्य धर्मावलम्वी भने थाहै नदिई पसि नै रहेका छन्। हामीमा भएका नचाहिँदा कट्टरपनाको कारण नै हामीले आफ्नो धर्मको मान राख्न सकेका छैैनौं।

एकातिर नचाहिँदा ढोँग रच्ने र अर्कातिर तिनै पशुपतिनाथको ढुकुटी मास्ने र जलहरीको लागि आवश्यक सुनमा पनि आँखा गाडेर हिनामिना गर्ने। हालै सुवास नेम्वाङको अन्तिम संस्कार भइरहेको बेलामा बामदेव गौतम छालाको जुत्ता नै लगाएर दलबलका साथ पशुपतिनाथको पूर्वी ढोकाबाट भित्र पस्न ढोका खोल्न आदेश दिइरहेका र पशुपति विकास कोषका केही कर्मचारी र साधुसन्तले आलटाल गरेर भित्र पस्न नदिएको दृश्य हेर्न लायक कै थियो। यस्ता अराजक तत्वलाई नियन्त्रग गर्न भने कडा नियम-कानुन ल्याउनै पर्दछ।

बदलिँदो समय र परिस्थिति तथा पुरै विश्व यातायात र सञ्चारको व्यापक विकासले गर्दा साँघुरिएर एक हुँदै गएको परिप्रेक्षमा समेत हाम्रा परापूर्वकालदेखि चलिआएका रितिरिवाज र संस्कारलाई चलायमान बनाइ रहन यसमा समयसापेक्ष र व्यावहारिक लचकता अपनाउँदै जानु पर्दछ।

त्यस्तै पशुबली प्रथा तथा मठ-मन्दिरमा पूजा गर्ने निहुमा फूल, अक्षता, सिन्दुर, अबिर र पानीले जताततै फोहर गर्ने परिपाटीलाई पनि दुरुत्साहित गर्नुका साथै यस्तो विधिलाई परिमार्जन गर्दै मन्दिरको कुनै निश्चित ठाउँमा मात्रै यी कार्य गर्न मिल्ने बनाउनु पर्दछ। भारतका धेरै मन्दिरहरूमा हिजोआज यसरी नै विधि पुर्‍याइन्छ।

आधुनिकताको नाममा हाम्रो धर्म, परम्परा र संस्कृति लोप हुँदै जाने अवस्था आउन दिनु हुँदैन। बरु हाम्रो संस्कृतिलाई विश्वभरका मानिसले बुझुन् र यसको रसस्वादन तथा अवलम्बन गर्न सकुन् भन्ने कुरालाई ध्यानमा राख्दै यसलाई कसरी सरल र आकर्षक बनाउने भन्ने कुरामा घोत्लिनु जरुरी छ।

आखिर सनातन धर्म अरू धेरै धर्म जस्तो ज्यादै कट्टर नभई यसका कर्मकाण्डहरूलाई वैकल्पिक र सहज ढंगले अघि बढाउने धेरै प्रावधानहरू यसमा नभएका होइनन्।

 लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *