रवि र प्रचण्डलाई एक अर्काविरुद्ध प्रयोग गरेर दुवैलाई सिध्याउने ओलीको रणनीति
काठमाडौं। नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विशिष्ट क्षमताको नेताका रुपमा गणना गरिन्छ। राजनीतिका अलावा उनका वाककला, रोचक मनोरञ्जनात्मक प्रस्तुती र जहाँ पनि सामञ्जस्यता कायम गर्न सक्ने शैलीको सबैले प्रशंशा गर्दछन्।
आफ्ना विरोधीलाई समेत आफ्नो अद्भूत प्रस्तुतिले मन्त्रमुग्ध पार्ने उनको कलाले जो कसैलाई पनि प्रभावित गर्दछ। बालक, युवादेखि वृद्ध सबैसँग अन्तर्घुलन हुन सक्ने उनको क्षमताले सबैलाई मोहित तुल्याउँछ।
नेपाली राजनीतिमा ‘बा’को उपमा पाएका ओलीले सबैसँग हार्दिकतापूर्ण सम्बन्ध नै राख्ने गर्दछन् । वैयक्तिक रुपमा सबैसँग सौहार्दता कायम राख्ने ओली राजनीतिक रुपमा भने निकै कठोरतापूर्वक कुटिल कदम चाल्न अभ्यस्त देखिन्छन्।
उसो त नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई गतिशील नेताको पगरी गुथाउँछन् । उनले आफू लचकतामा लचक र कठोरतामा कठोर बन्ने भन्दै घु्क्र्याउँछन् पनि । तर पछिल्लो समय प्रचण्डलाई पनि माथ खुवाउँदै ओलीले नै नेपाली राजनीतिको कुशल रणनीतिकारका रुपमा आफूलाई स्थापित गरिसकेका छन्।
उनको नरमता र कठोरता दुबैको संयोजन हालसालै नेपाली राजनीतिको सतहमा प्रकट भएको छ। फागुन २१ गते सबैलाई चकित पार्दै ओलीले कांग्रेससहितको गठबन्धन टुटाएर प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पक्षमा ल्याउन सफल भएका छन्।
यसअघि एमाले र माओवादी मिलेर बनेको नेकपामा प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पक्षधरले ओलीलाई सबै तवरले निमिट्यान्न पार्ने प्रयत्न गर्दा पनि सतिसाल जस्तै निर्भयतापूर्वक उभिए । अन्ततः सर्वोच्चले दुबै पार्टीलाई अलग गरिदिएपछि ओली पूर्ववत एमालेको शक्तिशाली अध्यक्ष बन्न पुगे। उनी आजसम्म पनि एमालेमा निर्विकल्प देखिन्छन्।
ओलीको प्रधानमन्त्रीत्वकालमा भएको संसद विघटन सर्वोच्चले उल्ट्याएपछि निकै हौसिएका प्रचण्ड, माधव र झलनाथ २०७७ फागुन २३ को सर्वोच्चको फैसलापछि पूर्ववत पार्टीको रुपमा यथावत रहने अवस्था आएपछि चकित पर्दै अस्तित्व रक्षाका लागि गम्भीर परामर्श थालेका थिए।
त्यसपछि तत्कालीन नेकपा कब्जाको दाउमा रहेका नेता त्रयसहित उनका पक्षधरहरू अलग थलग भएका थिए। पूर्ववत माओवादी केन्द्रमै फर्किएका प्रचण्ड पनि पहिलेका आफ्ना थुप्रै सहकर्मी एमालेमै छाडेर कमजोर अवस्थामा फर्किए भने माधव- झलनाथ पक्ष पनि पार्टीमा ओलीसँग मुकाविला गर्न असमर्थ बनेर अलगै हुन पुगे।
एमालेमा तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि एकपदीय प्रणाली अनुरुपको सर्वोच्च पद महासचिव बनेका माधव नेपाललाई ओलीले गम्भीर राजनीतिक संकटपूर्ण अवस्थामा पुर्याए। २०५० देखि २०६४सम्म महासचिव बनेर एकछत्र राज गरेका नेपालले पार्टीमा ओली पक्षलाई सदैब उपेक्षा गर्दै आएका थिए।
आठौं महाधिवेशनमा झलनाथ खनालसँग पराजित भएका ओलीले नवौं महाधिवेशनमा पुनः अध्यक्षको आकांक्षी बनेका नेपाललाई हराएर एमालेको नेतृत्वमा पुग्न सफल भएका थिए।
तर समयक्रममा उनै नेपाललाई एक्ल्याउँदै अलग दल खोल्ने अवस्थामा पुर्याएर राजनीतिक रुपमा कमजोर बनाएरै छाडे। अहिले नेपालको दल एकीकृत समाजवादीको संसदीय हैसियत स्वतन्त्रको रुपमा रहेको छ।
यता दशौं महाधिवेशनमा आफूविरुद्ध उम्मेदवारी दिएका तत्कालीन एमाले उपाध्यक्ष भीम रावललाई हराएर सल्लाहकारको भूमिकामा थन्क्याएका छन्। उनले रावललाई भूमिकाविहीन बनाएर एमालेमा आफूविरुद्ध उत्रिने सम्भावित पात्रहरुलाई चुनौती समेत दिएका छन्।
एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गर्दैगर्दा माधव नेपाल पक्षधर भनिने दश जना नेताहरुलाई पनि पार्टीमा फर्काउन सफल भएका थिए। ओलीले गत निर्वाचनमा सोही पक्षधर आफूविरुद्ध प्रश्न गर्ने घनश्याम भुसाल र भीम रावललाई उम्मेदवारीविहीन बनाएर अर्को कठोरता प्रदर्शन गरे।
आफ्ना विरोधीहरुलाई पार्टीभित्र एक पछि अर्को गर्दै निस्तेज पार्दै हिँडेपछि ओलीलाई उनीहरुले राजनीतिक रुपमा ठूलै क्षति पुर्याउन नसक्ने स्थितिमा छन्।। पार्टी विभाजनका बेला एमालेमै रहेका नेपाल पक्षधर नेताहरु रावल बाहेक अरु अहिले ओलीका असली भक्त बनिसकेका छन्।
भुसाल भने गत निर्वाचनमा गठबन्धनको साथ पाएर रुपन्देही ३ मा स्वतन्त्र उम्मेदवारी दिएर पराजय व्यहोरेपछि एकीकृत समाजवादीमा पुगेर महासचिव भएका छन्।
विगतमा माधव नेपालले आफ्नो नेतृत्वकालमा ओलीलाई गरेको उपेक्षाको प्रतिक्रियास्वरुप ओली आफूप्रति कठोर बन्ने र त्यसको सामना गर्न नसक्ने भयले नयाँ दल गठन गर्ने बाध्यात्मक अवस्थामा पुगे। उनले ओलीलाई चुनौती दिने प्रयत्न गरे पनि राष्ट्रिय दलसमेत बनाउन सकेनन्।
ओली भने गत निर्वाचनमा पाँच दलसँग एक्लै प्रतिस्पर्धा गर्दा पनि ७८ सिटसहित संसदमा दोस्रो र समानुपातिक मततर्फ पहिलो स्थानमा एमालेलाई पुर्याएर चौतर्फी घेराबन्दीका बाबजुद पनि एकल प्रतिस्पर्धामा उत्रिएर कीर्तिमान राख्न सफल भए।
आफ्ना विरोधीलाई निकै कुटिल कदम चालेर आफ्नो बशमा ल्याउने र कमजोर बनाउने ओली जत्तिको ल्याकत र सामथ्र्य नेपालका समकालीन दलका शीर्ष नेताहरुमा देखिँदैन। अन्य क्षेत्रमा पनि निपुण देखिने ओली राजनीतिमा बहुआयमिक क्षमता प्रदर्शन गर्दै कुशल खेलाडीको मानक बनाएका छन्।
लामो समयसम्म पार्टीमा एकलौटी हैकम कायम गरेका माधव नेपाललाई किनाराकृत गर्दै कमजोर बनाएका ओलीले अहिले फेरि उनैलाई भित्र्याएर फेरि अर्को आफ्नो चातुर्यता प्रदर्शन गर्ने दाउमा छन्। उनले नेपाललाई एमालेमा समाहित गर्दै ठूलो दलको हैसियत कामय गरेर अर्को बाजी मार्ने ध्याउन्नमा छन्।
एमालेका महासचिव शंकर पोखरेलले भनेजस्तै नेपालमा स्थिरता कायम गर्न दुई पार्टी प्रणालीमा जानुपर्ने आवश्यकता अनुरुप ओलीले आफ्ना कदम अगाडि बढाएका छन् । उनको अबको एकमात्रै उद्देश्य वामपन्थी पार्टीको रुपमा एमालेको आधिपत्य र त्यसको नेतृत्व आफूले गर्ने योजनाका साथ अघि बढिसकेका छन्।
पछिल्लो परिवर्तित गठबन्धन पनि ओलीको कुटिल रणनीति अन्तर्गत चालिएको एक चातुर्यतापूर्ण कदम रहेको र यसको पटाक्षेप समयक्रममा हुँदै जाने राजनीतिका जानकारहरु दाबी गर्छन्। उनले यसअघिका कटुता बिर्सिएर प्रचण्डप्रति उदार बन्नुमा ओलीको रणनीतिक योजना रहेको बताइन्छ।
यसलाई कतिपयले वामगठबन्धन का रुपमा चित्रित गर्दै पार्टी एकताको प्रस्थान बिन्दुको हवाला दिए पनि यसको अन्तर्य उपयोगको रणनीति अन्तर्गत ओलीले चालेको कुटिल कदमका रुपमा लिएका छन्।
गत वर्ष पुस १० गते आफ्नै समर्थनमा प्रधानमन्त्री बनाएका दाहाल त्यसको दुई महिनापछि कांग्रेससँग सहकार्य गर्न पुगेका थिए। त्यसयता यी नेताद्वयको सम्बन्ध निकै कटुतापूर्ण बनेको थियो । तर एकाएक फागुन २१ मा सहकार्यको थालनी गरिएपछि कतिपय एमाले र माओवादीका नेताहरु समेत विश्वस्त हुन सकेका छैनन्।
ओलीको कुटिल रणनीतिका रुपमा एमालेभित्रैका नेताहरुले यसलाई औंल्याउँछन् भने माओवादीका नेताहरुमा एकप्रकारको त्रासदिपूर्ण अवस्था नै व्याप्त छ । माओवादीका नेताहरु ओलसँगको सहकार्यलाई लिएर पूर्णतया विश्वस्त हुन सकेका छैनन्,संशय प्रकट गर्ने गर्छन्।
उनीहरु यसलाई ओलीको कुटिल चालका रुपमा लिँदै माओवादीका लागि प्रत्युत्पादक हुने मनोदशाबाट ग्रसित छन्। प्रचण्डले थालेको ओलीसँगको सहकार्यले पार्टीलाई अर्को हानी पुर्याउने भयले सशंकित छन्।
स्रोतका अनुसार पछिल्लो माओवादीसँग एमालेको सहकार्य ‘पहिले मिल्ने अनि निल्ने’ ओलीको रणनीतिक कदम हो। यस अन्तर्गत ओलीले एकैपटक माओवादी र रास्वपालाई उपयोग गर्ने नीति तय गरेका छन्। सोही कारणले नै सत्ता गठबन्धनमा महत्वपूर्ण मन्त्रालयमा उनले दाबी समेत गरेनन् ।
उनले एकातिर माओवादीसँग सहकार्य गर्ने र अर्कोतिर विभिन्न प्रकरणमा मुछिएका माओवादी नेताहरुलाई कानूनी दायरामा ल्याएर माओवादीलाई कमजोर बनाउन रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई उपयोग गर्ने दाउमा छन्।
यता लामिछानेलाई हौसाएर माओवादी नेताविरुद्ध प्रयोग गर्दै विस्तारै कमजोर बनाएर स्थानीय तहका अधिकांश नेता कार्यकर्ताहरुलाई एमालेमा समाहित गदै अन्ततः निरीह बनेका प्रचण्डलाई पार्टीमा ल्याउने ओलीको दाउ छ।
हाल गृहमन्त्री लामिछानेको विभिन्न प्रकरणमा व्याप्त कानूनी प्रश्नमा सहानुभूति प्रकट गरिरहेका ओलीले आगामी निर्वाचनको सन्निकट ती कतिपय विचाराधीन मुद्दालाई पनि कानूनी दायरामा ल्याएर कठोर कदम चाल्ने तयारीमा छन्।
ओलीको निर्दिष्ट लक्ष्य अनुरुप रास्वपा र माओवादीलाई आवश्यकता अनुरुप उपयोग गर्दै एमालेको घोषित मिशन ८४ को लक्ष्य हासिल गर्न ओलीले दुबै दाउ यतिबेला प्रयोग गरेका छन्।
आगामी २०८४ निर्वाचनको सम्मुखमा लामिछानेको दोहोरो राहदानी, सहकारी कण्ड लगायतका कानूनी उल्झनलाई बल्झाएर कानूनी दायरामा ल्याउने र आफ्नो दललाई शक्तिशाली बनाउने सम्मको रणनीतिक योजनामा ओली रहेको बुझिएको छ।
Facebook Comment