सर्लाहीमा सवारी दुर्घटना, ट्रक चालकको मृत्यु, १० घाइते
सर्लाही। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन्।
नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र ना ४ ख ३२४ नम्वरको बस ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ११ जनामध्ये ट्रकका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, बस्ने ४२ वर्षीय तोङश्री बहादुर गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
गोलेको उपचारका क्रममा गएराति नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको लालबन्दीका इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिए ।
दुर्घटनाका अन्य १० घाइतेको नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका ट्रक र बस इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको इन्स्पेक्टर केसीले बताएका छन।
Facebook Comment