न्वारन बिदेशमा- तन, मन, धन नेपालमा
यो साता थाइल्याण्डको बैंककमा नेपाली मूलका नेपाली भाषीहरुको कुम्भमेला लाग्यो। बिश्वभरिका नेपालीहरुको नेपाली मन, नेपाली भाषा, साहित्य, कला संस्कृति जस्ता गौरवशाली सम्पदाप्रतिको चाह, मोह, भोक र संरक्षण- सम्बर्द्धनभाव प्रत्यक्ष देखें सुनें र थाहा भयो- नेपाल धार बदलिरहने मेची महाकाली नदीले खुम्च्याएको सानो देश होइन रहेछ।
आज २ सय वढी देशमा नेपालीको बीरता र इमान्दारिताको बैभव फैलिसकेको रहेछ र बीर नेपालीहरुको नेपाल अपरम्पार र विशाल भइसकेको रहेछ।
मित्रराष्ट्र थाइल्याण्डका लागि नेपाली महामहिम राजदूत धनवहादुर वलीको गर्विलो तर्क घत लाग्यो र उपस्थित सबैकाे नेपालीको मन छोयो-
जहाँ जहाँ नेपाललाई माया गर्ने सच्चा नेपालीहरु छन् त्यहाँ नेपाल छ। नेपाल भित्रै बसेर नेपाल गौरवलाई माया सम्मान गर्दैनन् भने ती कसरी नेपाली होलान्?
साहित्यकार राजदूतले आफैंले रचना गरेको लयात्मक कविता वाचन गर्दा, नेपाल र नेपाली सम्पदा खोज्ने बिश्वभरिका नेपालीहरु चुपचाप भावुक भए। पंक्तिकार उहाँको तर्कपूर्ण ओजिलो भाषणसँग सहश्र सहमत हुँदाहुँदै अरु जस्तै भावुक भएँ।
बैंककको त्यो एक दिवशीय ऐतिहासिक नेपालीहरुको भेलाले भावपूर्ण र हर्षबिभोर हुँदै बुनेको सांस्कृतिक एकताको मालाबाट सिकेको पाठ तात्तातै पस्किन यो आलेख प्रश्तुत गरेको छु।
सिकेका पाठहरु
पुरानो बिशाल नेपालमा त्यहीं बसोबास गर्ने तत्तत् स्वाभिमानी बीर नेपालीहरु उतै छुट्नु स्वभाविकै थियो। रहरले होस् वा कर र बाध्यताले। तर ती बीर नेपालीका सन्तानहरुको प्रखर नेपाली भाषा साहित्य कला संस्कृति संस्कार देखेर गर्व लाग्यो।
बर्मामा बसोबास गरेको ४ पुस्ता याने कि १८० वर्ष भइसकेको लक्ष्मण न्यौपानेको ढाका टोपी, नेपाली पोशाक र नेपाली साहित्यको धुरन्धर बिद्याबारिधि तथा कविता वाचन देखेर सुन्दर नेपाल बर्मासम्म जीवन्त रहेछ भन्ने बोध भयो।
अझ उहाँले ४० बर्षमा बर्मिज् पासपोर्टमा नेपाली पोसाक पहिरिएर गर्वका साथ पितृभूमिमा गरेको पहिलो भ्रमणमा नेपाली भन्सारले “ए बिदेशी! बिदेशी पंक्तिमा जाने” भनेर दिएको गालीलाई उहाँले पितृभूमिको माया भनेर गरेको गौरव सकरात्मक धैर्यताको असल पाठ थियो।
पुरुष र महिला छुट्टिएर फिजि जाँदा महिला नेपालीहरुको डुंगा पल्टिएर मानवीय क्षति भएको र नेपाली पिताबाट जन्मेका नेपाली नानीहरुको आमा नेपाली नहुँदा आज फिजिमा नेपाली निगुरो, नेपाली गुन्द्रुक, नेपाली गौरवको संस्कार हुँदाहुँदै पनि नेपाली भाषा हराएको तीतो सत्य सुनाउँदा हल भावबिह्वल भयो।
डा. योगेन्द्र क्षत्रीले मातृभाषाको पहिलो स्कूल आमा हुन् र मातृत्व भएन भने भाषा हराउँछ है भनेर दिएको प्रतिनिधि उदाहरण ज्यादै मार्मिक थियो। हाम्रो बैभवशाली सभ्यता र साहित्यको जग मातृभाषा रहेछ भन्ने बोध भयो।
अमेरिकामा रहँदा डिल्ली अधिकारीकी माता र केबि कार्कीका मातापितालगायत धेरै बृद्धबृद्धासँग भलाकुसारी गर्ने अवसर पाएको थिएँ। सबैले वाल्यकालको नेपाली पाखा पखेरामा बेठी लगाएर कोदो रोपेको, मंसिरमा धानको दाइँ लगाएको, दशैं तिहारको सयपत्री माला, लिंगे पिङ रोटेपिङ, साउने संक्रान्तीमा लुतो फ्याँकेको, असार १५ साउन १५ को दहीचिउरा र खिरको सुन्दर संस्कारले रातभरि झलझली सताउँछ भन्नुहुन्थ्यो।
कति शक्तिशाली जन्मभूमि र वाल्यकालको सम्झना! हलमा ढाकाको चौबन्दी चोली र सारीमा सजिएकी सिक्किमकी चेलीले नेपाली भाषामा तिनै संस्कार अनुशरण गरेर खुशी र सुखी जीवन बिताइरहेकी छु भन्दा सबै पुनः भावुक भए।
ओम गुरुङ सयौं मान्छेलाई जहाजको टिकट, होटल र खानपिनको बन्दोबस्ती मिलाउन खट्टिरहदा उनका साँढ्दाइ युरोपबाट पितृभूमि उद्गमस्थल नेपालसँग जोडिन बैंकक आइपुगेका थिए भने उनका भाइ खरिलाल गुरुङ पुर्खाको थात्थलो रुम्जाटार खोज्दै ओखलढुंगा यात्रा गरिरहेका थिए।
अमेरिका युरोपमा छरिएका दिदीबहिनी सन्तान जम्मा गरेर पितृभूमि खोज्न आएका खरिलालले जब रुम्जाटारका गीता गुरुङ र नवराज गुरुङ्गलाई भेटे र नाता पहिल्याए सबैजना भावुक भएर एकापसमा बिलीन भए। स्वर्ग भन्दा धेरै महत्वपूर्ण र माथि हुँदोरहेछ पितृ/मातृभूमि।
त्यसैले श्रीमती गीता गुरुङ यो भेला भरि भावबिह्वल भइरहिन्। धेरै बोल्न सकिनन्। अझ उद्घोषिका सुनिता गुरुङले कोही नेपालीले शरणार्थी जीवन जीउनु नपरोस भनेर प्रार्थना गर्दा गीता बलिन्द्र आसु झारिरहेकी थिइन्।
हरेक बक्ताले “मातृभूमि जननी स्वर्गादिपी गरियसी” को भावपूर्ण गौरव दर्शाए र साँस्कृतिक एकताको अपरिहार्यता दर्शाउँदै जो जो जहाँ भएपनि नेपाली मूल र माटोको बिशिष्ट भाषा साहित्य कला संस्कृति जस्ता बैभवशाली र गौरवशाली सम्पदा संरक्षण गर्न समर्पित हुनुपर्ने आवस्यकता खुलेर औंल्याइदिए।
हलमा सामेल सयौं नेपालीहरुले इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ् अमेरिकाका अध्यक्ष युवा समाजसेवी, भाषा साहित्य संस्कृति शिक्षा खेलकूद प्रेमी डिल्ली अधिकारीलाई जोडदार तालिका साथ निःशर्त निर्विकल्प एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को अध्यक्ष चुने र पवित्र सांस्कृतिक एकताको संकल्प र महाअभियानलाई मुरीमुरी शुभकामना दिए।
करिब ६ घण्टा लामो एक दिवशीय सम्मेलनमा नेपाली मन, नेपालीपन, नेपाली राष्ट्रियता र नेपाली सम्पदा संरक्षणको मात्र चर्चा भईरहदा हलभित्रै नेपाली भातृत्व, प्रेम, सद्भाव झाँगिएर नेपाली सांस्कृतिक एकताको माला उनिइसकेको थियो।
उपस्थित सबै नेपालीहरु सांस्कृतिक एकताको नसामा मोहित्, मनमुग्ध र मस्त देखिन्थे। बहुप्रतिक्षित सांस्कृतिक एकताको भक्ति, आशक्ति र गौरवले सबैलाई लठ्याएको थियो।
सांस्कृतिक एकताको शक्तिभित्र के थियो त्यस्तो लठ्याउने अमृत, जसले बैंककमा राजदूतलाई ६ घण्टा भावुक र एकाग्र भएर बिश्वभरिका नेपालीसँग सप्रेम आतिथ्यता ग्रहण गर्न उत्प्रेरित ग¥यो। सांस्कृतिक एकतामा बिलीन गरायो।
गत बर्ष सांस्कृतिक एकता कै ग्य्राण्ड फिनालेमा नेपालका प्रधानमन्त्रीले १ घण्टा समय माग्दा ५ घण्टा भावुक र एकाग्र भएर बस्नु भएको थियो। बिश्वकै गौरवशाली नेपाली संस्कृति र सभ्यता भित्र जो कोही नशा लागे झैं रमाउँदछ, हराउँदछ र विजयोत्सव मनाउँदछ भन्ने सत्य प्रत्यक्ष आँखाले देख्न पाइयो।
नेपाली सांस्कृतिक एकताको यो अभियान बिशुद्ध गैरराजनीतिक र गैरपक्षधर हो र यो मानवकल्याण, समाजसेवा र सम्पदा रक्षा कल्याण सम्मानको पवित्र उद्देश्यप्रति मात्र केन्द्रित हुने छ भन्ने अध्यक्षको दृढ संकल्पले सबैलाई मोहित र मख्ख पारेको थियो।
एकताका भोका नेपालीहरुले सायद सांस्कृतिक एकता कै माध्यमबाट किन नहोस्, एउटा साझा छातामुनि एकढिक्का हुन पाउने उज्वल सपना देखेका थिए।
५ दिनको बैंकक बसाई ५ सेकेण्ड जस्तो लाग्यो, किनभने त्यहाँ राजनीतिक दुर्गन्ध थिएन। जात बर्ण लिंग, क्षेत्र, धर्मको हेक्का र बिभेद थिएन।
थियो त केवल नेपाली मन, नेपाली भातृत्व, सद्भाव, प्रेम, नेपाली भाषा साहित्य कला संस्कृतिको गौरव र नेपाली राष्ट्रियताको सुगन्धले बिशाल नेपाल मगमगाएको थियो। लाग्दथ्यो, सुकुम्भित-२२ सयौं जाति नेपाली फूल फुलेको बगैंचाको बिशाल नेपाल हो।
नेपाली मनका सयौं नेपालीहरु खुशीले प्रफुल्लित देखिन्थे। पहिचान र सम्मान पाएको महशुस गरिरहेको मनोबिज्ञान देखिन्थ्यो।
राजदूतले भरिदिनुभएको उर्जा शक्तिशाली थियो – “जो जो जहाँ जहाँ हुनुहुन्छ नेपाली गौरव बोकेर हाँसी खुशी प्रतिष्ठाका साथ चम्किलो नेपाली भएर बस्नुहोस्। त्यहीं नेपाल बनाउनुहोस्।”
“नेपाली पलायन भएका होइनन्, अध्ययन, अनुसन्धान, भ्रमण, सृजनाको खोजी र बीरता एवं इमान्दारिता प्रदर्शनका क्रममा बिश्वभरि सगौरव पुगेका हुन् र आधुनिक बिश्व सबैको साझा घर भइसकेको अवस्थामा यो सामान्य चक्र हो” भन्ने उहाँको तर्क दमदार थियाे।
भिसिले सम्मानित गुर्खाज् हुन वा विश्व प्रख्यात नेत्र चिकित्सक सन्दुक रुइत वा घरेलु बैज्ञानिक महाबीर पुन वा फेसन डिजाईनर प्रबल गुरुङ वा सांस्कृतिक एकताको माला उन्ने हिम्मतिला मनकारी डिल्ली अधिकारी, सबै सपुतहरुको पितृ/मातृभूमि नेपाल गौरव हो र त्यो गौरव नै हामीले सम्मान र संरक्षण गर्नुपर्ने मूल्यवान सम्पदा हो भन्ने राजदूतको गौरवगाथाले सबैलाई गौरवान्वित बनाएको थियो।
बीरता र इमान्दारिता नेपालका बिश्व प्रख्यात सम्पदा हुन्। ती गौरवले गर्दा आज बिश्वका महाशक्तिका सुरक्षा संयन्त्रमा खाजिखोजी सगर्व नेपाली युवाहरु भर्ना गरिन्छ।
र, अब नेपाली बीरताको गौरव बेलायत, भारत, ब्रुनाइ, सिंगापुरमा मात्र सीमित रहेन, बरु त्यो फैलिएर अमेरिका, फ्रान्स, रुसका सैनिक शक्तिको भरपर्दो खम्बा भइसकेको गौरव सुनाउँदा पंक्तिकारलाई आफ्ना पिताको बिश्व सैनिक संजाल यादगर भयो। नेपाली सेना, बेलायती सेना, भारतीय सेना, अमेरिकी सेना, फ्रान्स सेनाको समाबेशिता र वीरताको गाथा हाम्रो घरको वर्तमान पहिचान हो।
संकीर्ण मन जस्तो, देश सानो ठूलो हुँदैन। किनभने आज नेपाल संयुक्तराष्ट्र संघ (युएन) लाई शान्ति सैनिक योगदान गर्ने पहिलो ठूलो देश हो र त्यही बीरता र इमान्दारिता भन्ने गौरवशाली सम्पदाले गर्दा आज नेपाल र नेपाली युएन र बिश्व कै पहिलो खोजी र रोजीमा परेको हो भन्ने बक्ताको गौरवगाथामा हल तालीले गुञ्जिएको थियो।
सांस्कृतिक एकताको मालाभित्र र नेपालीको मनमन भित्र राष्ट्रियताको सक्तिशाली दिप प्रज्वलित भइरहेको देखिन्थ्यो। राष्ट्रियता चार सीमा भित्र र नागरिकतामा बाँधेर राख्ने गौरव होइन रहेछ।
देश भित्रको फिक्का चुनावी राष्ट्रियता, उग्र राष्ट्रियता र नक्कली राष्ट्रियता भन्दा धेरै सक्तिशाली र चम्किलो राष्ट्रियता देश बाहिर टाढा टाढा बसोबास गर्ने नेपाली मुल र नेपालीभाषीहरुको हृदयभित्र जरो गाडेर बसेको रहेछ।
र, त्यो राष्ट्रियताले सांस्कृतिक एकताको उर्बर माटो र मलजलको प्रतीक्षा गरिरहेको भान भयो। बिश्वभरि छरिएर रहेका नेपालीहरु नेपाली पूँजि हुन् र अमूल्य सम्पदा हुन् भन्न अब बिलम्ब गर्नु हुँदैन भन्ने ज्ञान पलायो।
सम्मेलनको अन्त्यमा बिदेशमा बस्ने नेपालीहरुलाई समृद्ध नेपाल निर्माण गर्न शिक्षा, सिप र सम्पती निर्धक्क भै नेपालमै लगानी गर्न आयोजकले उत्साह भर्ने स्मार्ट कार्यक्रम राखेका थिए।
नेपाली भर्जिन जल, जमीन, जंगल जीवजन्तु जडिबुटी, जनसंख्या लगानीको प्रतीक्षा गरेर कुरिरहेको र नेपालमा लगानीको लागि उत्साहजनक वाताबरण रहेको आकर्षक प्रश्तुतिले सबैको ध्यान खिचेको थियो। एएनओ को न्वारन बिदेशमा हुँदै गर्दा सबैको तन मन धनको तार नेपालसँग जोडिरहेको भान हुन्थ्यो।
उपसंहार
सांस्कृतिक एकताका कल्पानाकार र उहाँको प्रतिबद्ध टिमलाई सलाम। भाषा, कला, सुविचार सु-संस्कृतिका धरोहर र आफै साहित्यकार महामहिम राजदूतको समय, साथ सहयोग, शुभेच्छा र शुभकामनाका लागि सम्मान र सलाम।
ब्यस्त समयको बाबजुद सांस्कृतिक एकताको माला उन्न पाल्नुहुने सम्पूर्ण नेपाली प्रतिनिधिहरुलाई नमन र सलाम। विशाल भेला सफलतापूर्वक सम्पन्न गर्ने समाजसेवामा समर्पित इन्ट्रा फाउण्डेसनलाई धेरै धेरै सम्मान र सलाम। साँस्कृतिक एकताको बिश्व माला उनेर नेपाली सम्पदा संरक्षणमा समर्पित रहने पवित्र संस्था एएनओलाई हार्दिक शुभकामना!
अन्त्यमा, अब प्राकृतिक सम्पदा मात्र होईन, सांस्कृतिक सम्पदा चम्काउन टल्काउन र रक्षा कल्याण सम्मान गर्न यो सम्मेलनले आखा कान उर्जा भरिदिएको छ ।
र, पंक्तिकार हाँसिखुशी राजी भएर बिश्वभरि बसोबास गर्ने नेपालीमूल र नेपाली भाषीहरुलाई नेपालका सांस्कृतिक र प्राकृतिक सम्पदामा निःशुल्क टुरगाईड्, ड्राईभर, सुरक्षा गार्ड भएर ससम्मान स्वयंसेवा भर्न तत्पर रहेको प्रतिबद्धता जाहेर गर्दछु।
प्रार्थना छ, विश्वभर फैलिएका नेपाली सन्ततीहरु आफ्ना सम्पदा हेर्न चुम्न र गौरव महशुस गर्न नेपाली आई छाडून र नेपाली माया, नेपाली उर्जाले छाती फराकिलो बनाई शिर ठाडो पारी जाउन्।
जय एएनओ र जय जय सांस्कृतिक एकता !
Facebook Comment