स्वदेशी उत्पादन र स्वदेशी मनको शक्ति
स्वदेशी उत्पादनको उपयोगको नीति सरकारले ल्याउने सुनाए। स्वदेशी उत्पादनको पक्षमा सम्पादकीय र लेखहरु पनि प्रकाशित भए। र यस्तो विचार आइरहन्छ निरन्तर र बारम्बार। यो रामो पनि हो। तर यो राम्रो त्यसबेला मात्र मानिने छ जुनबेला यसले व्यवहारमा लागू भएको हुनेछ।
अझ राम्रो त गुणस्तर र मूल्यमा पनि प्रतिस्पर्धामा उत्रन सकोस विदेशी उत्पादनसँग। तत्कालै र निकट भविश्यमा पनि धेरै आशवादी हुने ठाउँ छैन। तर क्रमश सफलतातिर बढ्न नसकिने पनि होइन।
सही नीति, नेता व्यवसायी जनता र सबैको एकमुष्ट स्वदेशवादी भावना आउन सकेमा। राजनीतिले नेतादेखि कार्यकर्ता हुँदै जनतामा सरकारी कार्यलय माथिदेखि तलसम्म स्वदेशी उत्पादनको रहर र लहर ल्याउन सक्नु पर्दछ।
स्वदेशी उत्पादनको प्रयोग उपयोग भनेको स्वदेशको धन स्वदेशमै हो र यो स्वदेशवादी मन पनि हो। यो नेपालमा एकीकरणकालसँगै उदाएको स्वदेशवादी आर्थिक नीति पनि हो। नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले अघि सारेको नीति मात्र होइन कि व्यवहारबाटै प्रमाणित भएको फाइदाकारी आर्थिक व्यवहार पनि हो।
यस्तो फाइदाकारी हाम्रो पुरानो आर्थिक नीति व्यवहारलाई परिस्कृत गर्दै निरन्तरता दिनुको बदला अवमुल्यन र उपेक्षा गर्नाले नै नेपाल अथाह सम्भावना हुँदा हुँदै पनि कुनै क्षेत्रमा पनि आत्मनिर्भर हुन सकेन। बरु आत्मनिर्भर भएका क्षेत्रहरु समेत भत्केर जाँदै परनिर्भरको क्षेत्र तिब्ररुपमा विस्तार हुँदै मात्र छ।
आर्थिक नीति निर्माण तथा कार्यन्वयन तहको क्षेत्रमा परवादी र कमिसनखोरहरु हावी भएकोले नै नेपालको आर्थिक अवस्था गएगुज्रेको भइरहेको छ।
यसलाई सुधार्ने हो भने पृथ्वीविचारलाई धुरी विचार बनाएर मात्र सम्भव छ।
यसले मात्र स्वदेशी वस्तुको उपयोगको लहर ल्याउन सक्छ। न कि एकजना प्रधानमन्त्रीले प्रचारमा आउन स्वदेशी मुस्तांग गाडी चढेर वा कुनै मन्त्रीले स्वदेशी वस्तुको प्रयोगको भाषण गरेर नै। स्वदेशी उत्पादन राष्ट्रको धन नठाने सम्म भयंकर असन्तुलित व्यपार घाटा सन्तुलनमा आउन सक्दैन।
पृथ्वीविचारले स्वदेशी उद्योगी,व्यवसायी,व्यापारीको सुरक्षा र विकासमा मात्रै जोड दिँदैन, स्वदेशी श्रम, सीप, उत्पादन र उपयोगमा पनि त्यतिकै जोड दिन्छ। उद्योग, व्यवसाय, व्यापार अर्थात सिंगो अर्थतन्त्रमा विदेशी उत्पादक र उत्पादन मात्र हावी भएमा राष्ट्रको अर्थतन्त्र मात्र होइन कि राष्ट्रिय स्वतन्त्रता पनि धराशायी हुनसक्ने हुनाले नै पृथ्वीनारायणले स्वदेशवादी अर्थतन्त्रमा जोड दिएको हो।
स्वदेशी नागरिकहरुलाई सीप र प्रविधि सिकाएर दक्ष श्रमशक्ति तयार गर्दै गुणस्तरीय र उचित मूल्यका उत्पादन बजारमा पुर्याउने र सबै तह तथा क्षेत्रले स्वदेशी उत्पादनमात्रै उपयोग गरेर नगद विदेश जानबाट रोक्नुपर्ने स्वदेशवादी आर्थिक नीति व्यवहार पृथ्वीविचारले अघि सारेको छ।
पृथ्वीनारायणको स्वदेशवादी आर्थिक नीति मुलुकलाई आत्मनिर्भरतिर अघि बढाउने आर्थिक सिद्घान्त हो। र यो विदेशी शोषण विरोधी स्वाधीन र स्वावलम्बी आर्थिक सिध्दान्त पनि हो।
सीप सिकाएर दक्ष जनशक्ति तयार गर्नु,रोजगारी सुनिश्चित गर्नु, व्यापक गुणस्तरीय उत्पादन गर्नु र स्वदेशमा उत्पादित वस्तुको उपयोग गरी विदेशी उत्पादनलाई निरुत्साहित गरी स्वदेशलाई विदेशीको बजार हुनबाट र नगद विदेसिनबाट रोक्नु पृथ्वीविचारको मर्म र सार हो।
पृथ्वीनारायण शाहले गर्वकोसाथ घोषणा गरेका थिए कि हामीले हाम्रा खस्रा मोटा उत्पादित कपडा लगाएर नेपाल एकीकरण सम्पन्न गरेका थियौं। यसलाई सुधारेर विदेशी कपडालाई विस्थापित गर्ने गरी उत्पादन र उपयोग बढाउन सकेमा नगद विदेश जाँदैन भन्ने उनको मत थियो।
उनले प्रविधि सीप र गुणस्तरमा सुधारेर नै स्वदेशी उत्पादन र उपयोग बढाउन सकिने कुरामा जोड दिएका थिए। त्यसलाई राजनीतिले समर्थन र प्रोत्साहन दिनुपर्ने उनको जोड हो। हो अहिलेको राजनीतिले यसैलाई जोडदिनु पर्दछ।
यसलाई नीति बनाएर राजनीतिले उदाहरणीय हुन सकेमा यो अनुकरणीय भएर लहर आउन सक्छ। विदेशी उत्पादन प्रतिबन्ध लगाएर होइन स्वदेशी उत्पादन प्रयोग कर र दवाबमा पारेर होइन कि उत्पादनलाई सुधारेर मनलाई स्वदेशवादी बनाएर मात्र स्वदेशी उत्पादनको प्रयोगको नीतिलाई सफल बनाउन सकिने पृथ्वीनारायणको मन जहिले पनि मननीय छ।
पञ्चायती कालमा गाउँफर्क कार्यक्रम ल्याएका थिए राजा महेन्द्रले। त्यसमा एउटा बुँदामा ठूला साना सबै पञ्चहरु लगायत सरकारी अधिकारीहरुले पनि स्वदेशी कपडा लगाउनु पर्ने निर्देशन थियो। एकपल्ट त सबैले घरबुना कपडा सिलाएर लगाए पनि। दीर्घकालीन योजना र उदेश्यको साथ अधि बढेन।
दुखकोसाथ भन्नुपर्छ कि ४६ सालदेखि अहिलेको गणतन्त्र कालमा आइपुग्दा त स्वदेशी उत्पादन अन्न, कपडाको प्रयोग पञ्चायतसँग पनि पराजित छ। सबै क्षेत्र विदेशी उत्पादनले भरिएको छ । हेटौंडा कपडा उद्योग बन्द भयो। कपास उत्पादन घट्न सम्म घटेको छ।
घरबुनाहरु त एकादेशको कथा हुन थालेको छ। स्वास्थ्यको लागि फाइदाकारी हाम्रा घरबुना सुति कपडाहरु अप्राप्य भइसके। के यिनको जगेर्ना गर्ने हाम्रो साझा राष्ट्रिय दायित्व होइन र? के मा कसरी सुधार गर्न सकिन्छ योजनकोसाथ सहमतिकोसाथ दलहरु सरकार अघि सर्नुपर्छ। योजना आयोग र विज्ञहरुले दिमाग ख्याउन थाल्नु पर्दछ।
स्वदेशी उत्पादन प्रयोगको ठोश तथा दीर्घकालीन योजना बनउएर मात्र यसमा सफलता हासिल गर्न सकिन्छ। स्वदेशी जुत्ता मात्रै लगाउने नीति दल तथा सरकारले बनाएर व्यवहारमा कार्यन्वयन गरेको खण्डमा जुत्तामा बाहिर जाने धेरै नगद बच्न सक्छ।
उत्पादकले गुणस्तरमा सुधार गर्नु पर्ने हुन्छ। जुत्तालाई चाहिने छालाको माग स्वदेशबाटै आपूर्ति गर्न पशुपालन बढाउन सकिन्छ। यसरी धेरै क्षेत्र तानिँदै जान्छन्, जोडिँदै जान्छन्।
हेटौंडा कपडा उद्योगलाई पुनर्जिवन दिएर सुति कपडा मात्र उत्पादन गर्ने र सो सबैले प्रयोग गर्ने हो भने कपडामा आत्मनिर्भरमा एक कदम अगाडि बढेका हुने छौं।
त्यसलाई चाहिने कपास उत्पादन गर्ने किसानले आम्दानी पाउने थिए। मजदुरले कपडा कारखानामा रोजगार पाउने थिए। हाम्रो जुट हरायो। जुटका बोरा हराए। हामी पलास्टिकका थैलामा रमायौं। यस्ता उदाहरण धेरै दिन सकिन्छ।
हामी खाना, नाना, जुत्तामा स्वदेशी उत्पादनको प्रयोग बढाएर देशलाई यो क्षेत्रमा आत्मनिर्भर बनाउँदै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ। कागज, औषधि, सिमेन्ट आदि धेरै लामो सूची बनाउन सकिन्छ। हाम्रा राम्रा संभावना धेरै छन् तर परकरण, भ्रष्ट्रिकरण र अति राजनीतिकरणले हामी बर्बादको दिशातिर मात्र फसिरहेका छौं।
आचार र विचारमा स्खलित भइरहेको राजनीति नेतृत्व र राजनीतिकरण र भ्रष्ट्रिकरणले क्षतविक्षत हुँदै गइ रहेको प्रशासन यन्त्रले यस्तो कुनै राम्रो कामको आशा गर्नु केवल मृगमरिचा मात्र हुनेछ। राजनीति नसुधारिएर केही सुधारिँदैन। केही लक्ष्य प्राप्त हुन सक्तैन। सबै गम्भीर भएर सुधारिनै पर्दछ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्वदेशी महाजन, उत्पादन, श्रम, पूजी सीप समेतलाई प्रोत्साहन दिनु पर्ने स्वदेशवादी आत्मनिर्भर आर्थिक विचारलाई आत्मसात गरेर मात्रै स्वदेशी उत्पादन उपयोग वा प्रयोगको सरकारी नीतिले सार्थकता पाउन सक्छ भन्ने सम्बन्धित सबैले बुझ्न सक्नुपर्दछ। सबै दलहरुले स्वदेशवादी आर्थिक लहर ल्याउन राष्ट्रिय सहमतिको विचारको धुरी पृथ्वीविचारलाई बनाउनुको विकल्प छैन।
पृथ्वीनारायण जन्मेको पुष २७ देखि मृत्यु भएको माघ १ गते सम्म हरेक वर्ष स्वदेशी उत्पादन दिवसको रुपमा मनाउने गरौं। निजी क्षेत्र र सरकारी क्षेत्रको संयुक्त आयोजनामा यस्तो दिवसको आयोजना गरौं। यो दिवसमा नै करोडौंको स्वदेशी उत्पादनको किनबेच हन्छ देशभरमा।
देशका सबै तह तप्काले सो दिवसमा मात्रै स्वदेशी उत्पादन खरिद गर्ने पहिरने हो भने नि देशभरमा करोडौंको व्यपार हुन्छ। स्वदेशी उत्पादित बस्तुको उपहार आदन प्रदानको संस्कृति पनि विकसित गर्न सकिन्छ।
पृथ्वीविचारको स्वदेशवादी आर्थिक नीति विचारलाई सरकारी तथा निजी विद्यालयको पाठ्य पुस्तकमा राखेर तीर देखि शीरसम्मका शिक्षक विद्यार्थी माझमा स्वदेशी उत्पदनको प्रयोगको लहर ल्याउन सकिन्छ। राजनीति दल तथा नेताहरुले स्वदेशी उत्पादन प्रयोगको नीति र व्यवहारले यस्तो लहरलाई सहयोग पुर्याउन सक्छन्। सेलीब्रेटी र नागरिक समाज यसमा सहभागी हुन सक्छन्।
नेपालको स्वदेशी उत्पादनको पहिलो धन त विजुली नै हो। जनताले चाहेजति उत्पादन पाएका छैनन्। विजुली बले जस्तै आम नागरिक र राज्यका सबै अंगहरुमा स्वदेशवादी भावना बल्नु पर्दछ। यसले मात्र स्वदेशी उत्पादन प्रयोगको सरकारी नीति कार्यक्रमले सफलता प्राप्त गर्न सक्छ।
सरकारले गम्भीर गृहकार्य गरोस र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण पाटो स्वदेशी उत्पादन र उपयोगको सफल कार्यन्वयन गर्न पुरानो नेपालको पुरानो स्वदेशवादी पृथ्वीविचारको बाटोमा नेपाललाई अधि बढाउने अठोट गरोस्।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाह केही होइन भन्दै सालिक ढाल्नेहरु तथा उनका जयन्तीको विदा कटौति गर्नेहरुले पृथ्वीविचारमा समृद्घिका अथाह सम्भावना देखुन्।
हाम्रा राम्रो पृथ्वीविचारको स्वदेशी उत्पादन र स्वदेशी मनको शक्ति कति बलियो हुन्छ भन्ने व्यवहारबाटै प्रमाणित गरेर देखाएका छन् छिमेकी भारतका नेता महात्मा गान्धीले। स्वदेशी उत्पादन र स्वदेशी मनलाई उनले स्वराज र स्वशासनसँग जोडोर चर्खा आन्दोलनलाई राट्रिय मुक्ति आन्दोलनको अस्त्र बनाएका थिए।
यसले पुष्टि गर्दछ कि हाम्रो स्वदेशवादी आत्मनिर्भर पृथ्वीअर्थतन्त्रको मन्त्र कति बलियो रहेछ जसले छिमेकमा राष्ट्रिय मुक्ति आन्दोलनमा पनि वैचारिक नेतृत्व दिन सक्यो। सबैमा चेतना भया।
Facebook Comment