नयाँसडकको घुमघाम
‘जङ्क्सन पिपलबोट : नयाँसडकको कथा’ नामको प्रकाश गुरागाईंद्वारा लिखित पुस्तक किनेर हेर्न थालेको केही दिन भएको थियो। त्यही सिलसिलामा त्यस पुस्तकमा उल्लेख भएका कतिपय मेरा लागि नयाँ कुराहरू बारे जानकारी लिनका लागि केही दिन अघि नयाँसडक तिर टहल्दै घुमेकोे थिएँ।
वि.सं. १९९० को भूकम्प पछि पुनर्निमाण गरेर चौडा सडक र उस्तै पाराका सेता पश्चिमा डिजाइनका घरहरू बनाइएकाले पिपलबोटको दायाँबायाँको सडकको नाम नयाँसडक रहन गएको हो।
हनुमानढोका दरबार क्षेत्र, बसन्तपुर, ओमबहाल, झोँछे, इन्द्रचोक, भूगोलपार्क, पिपलबोट, पाकोपुखुल्ड्याङ, रणमुक्तेश्वर, खिचापोखरी, सुनधारा, गणबहाल, फसिकेब, प्युखा आदि टोलहरूमा हिजोआज धमाधम अग्ला अग्ला नयाँ घरहरू बन्दै छन्।
हिप्पीहरू आउन छोडेपछि झोँछेको चहलपहल ठमेलमा सरेको छ। त्यता वरीपरी रहेका साइकल र मोटरसाइकल भाँडामा दिने पसलहरू अन्त नै सरेका छन्।
खिचापोखरीको गीतका रेकर्ड बेच्ने प्रख्यात पसल बिस्थापित भइसकेको छ र विदेशी पुस्तकालयहरू त्यहाँबाट सरीसके, प्युखाको किशुनजीहरूले पान खाने पसलको आज नामोनिसान छैन।
बेङ्ग्लोर कफी हाउस, इन्दिरा र डाँफे रेष्टुरेन्ट, सन्देश गृह पनि हराइरसकेका छन् भने पिपलबोटको जुत्ता पालिस गर्ने मानिसहरू र अखबार बेच्नेहरू पनि अन्तै लाग्दै छन्, पुराना फोटो स्टुडियोहरूमा चहल पहल घटेको छ भने पिपलबोटदेखि नयाँ सडकको ढोकासम्म लहरै गहनाका झकिझकाउ पसलहरू खुलेका छन्।
फसिकेबको प्रख्यात रञ्जना सिनेमा घरको ठाउँमा विशाल व्यापारिक भवन बनेको छ। हुनत त्यस भवनमा हाल पनि एक आधुनिक सिनेमा हल छँदैछ तर पहिलेको जस्तो जीवन्त छैन।
त्यहाँका आरसी मःमः तथा अन्य पुराना प्रख्यात रेष्टुरेन्टहरू बन्द भइसकेका छन् भने त्यहाँ भएका गुच्चे सोडाको पसल र घडी पसलहरू हाल तेश्रो पुस्ताद्वारा जेनतेन चलिरहेका छन्।
मारवाडी सेवा समितिले त आफ्नै गति तथा हिसाबमा सेवा प्रदान गरी नै रहेको छ। जताततै रेडिमेड पहिरन तथा सौन्दर्य प्रसाधनका पसलहरू। जताततै मानिसको भिड।
नयाँ सडकको ढोकैमा रहेको पुरानो सैनिक अस्पतालले पुरानै शैलीको वास्तुकलालाई कायम राखेर आधुनिक व्यापारिक भवनमा रुपान्तरण हुने मौका पाइसकेको भए तापनि सुशासनको अभावमा थलिँदै गएको नेवानीसँगै यसको प्रधान कार्यालय रहेको भवन पनि रुग्ण हुँदै गएको छ।
जुद्धसडकका उत्तर र दक्षिणका सडकका दायाँबायाँ पनि नयाँ घरहरू तथा गहना, इलेक्ट्रोनिक्स र अन्य आधुनिक सरसामानका पसलहरू, होटेल–रेष्टुरेन्टहरू र बैङ्क तथा वित्तीय संस्था तथा एटीएमहरू जताततै खुल्दै गएका छन्।
हाम्रो बाल्यकालको भन्दा ज्यादै नै विकसित भइसकेको तथा निकै भिडभाडपूर्ण नयाँसडक क्षेत्रले शुरुदेखि नै काठमाडौँको डाउन टाउन नै भएर पुरै नेपाललाई आकर्षित गर्दै आएको छ।
कैयन् पुराना कुराहरू अब नयाँसडकबाट हराउँदै गए पनि यहाँ नयाँ नयाँ प्रकारको चहलपहलले ठाउँ लिने गरेको छ। काठमाडौँका विभिन्न ठाउँमा जति नै धेरै र ठूला मल तथा पसल खुलेका भए पनि धेरै मानिसहरूलाई नयाँसडकको भिडमा गएर नै किनमेल गर्न मन लाग्छ।
लुगा, कपडा, गहना, विदेशी सामान, विभिन्न प्रकारका खानपानका रेष्टुरेन्ट, बैंक तथा औषधिदेखि यावत कुरा पाइने यो सानो क्षेत्रको घुमाइको आनन्द लिँदै किनमेल गर्न पाइने भएकोले आज पनि नयाँसडकको आफ्नै प्रतिष्ठा छ।
म सानो छँदा यानी २०२५–२६ सालतिर आमासँग डिल्लीबजारबाट रिक्सा चढेर मामाघर गएको तथा बाटोमा महाँकालको मन्दिर अगाडि पेटीमा चकलेट, चुरोट तथा अन्य सानातिना खाद्य वस्तु बेच्न राखेको नाङ्ले पसल अगाडि रोइकराइ गरेर रिक्सा रोक्न लगाएर आमालाई डलर चकलेट किन्न लगाएको हिजो जस्तै लाग्छ।
त्यतिबेला रत्नपार्क क्षेत्रका चौबाटोहरूको बीचमा ट्राफिक प्रहरी बस्ने एैनैएैनाका साना गोला कोठा बनाइएका हुन्थे भने वीर अस्पताल बाहिर रगत दिन (बेच्न) बसेका भरिया जस्ता मानिसहरूको ताँती नै लाग्ने गथ्र्यो। सडकमा सवारीका साधन नगण्य मात्रामा गुडिरहेका हुन्थे।
बाघबुट्टे ट्याक्सी, रसियन जीप, फोक्सवागन र अन्य मोटरगाडी, विदेशीले ल्याएर बेचेका मिनी तथा ठूला बस, साझाका हरिया बस, लहरी (लरी–ट्रक), भ्याटभ्याटे (मोटरसाइकल), साइकल, रिक्सा, ठेलागाडा, भरिया तथा बटुवा समेत सडकबाट नै ओहोरदोहोर गर्दथे।
तर पनि सडक हिजोआजजस्तो जाम हुँदैैनथ्यो। वास्तवमा ‘जाम’ भन्ने शब्द नै प्रचलनमा थिएन किनकी यहाँ जाम कहिल्यै पनि हुँदैनथ्यो। बिलकुल शान्त तर अव्यवस्थित।
नयाँ सडकको गेटदेखि जुद्धशमशेरको शालिक भएको ठाउँसम्म मोटरगाडीहरू पार्क गर्न सडकको बीच भागको प्रयोग हुने गर्दथ्यो, सडक डिभाइडर जस्तै गरी। सडकको दुवैतिरका घरका भुईँतल्लाका कवल (हाल पसलहरू भएका ठाउँ) प्रायः खाली नै हुन्थे।
कुनै कुनैमा टुँडिखेलमा विभिन्न अवसरहरूमा झाँकी प्रदर्शन गर्ने मानव आकृतिहरू भण्डारण गरेर राखिएका हुन्थे भने कुनैमा औषधि पसल तथा क्लिनिक र गुँदपाक र मिठाई पसल थिए। नेपाल राष्ट्र बैङ्कको झुत्रो नोट काउन्टर पनि हालको गुँदपाक भण्डार भन्दा केही घर पर थियो।
हालको मुन्चा हाउस भएको गल्लीमा प्रख्यात डाँफे रेस्टुरेन्ट थियो। खिचापोखरी मोडिने कुनामा अमेरिकी पुस्तकालय र त्यसको पल्लो पट्टी कफी हाउस र बाटाको जुत्ता पाउने पसल र सन्देश गृह पनि थिए।
२००७ साल अघि राणाशासकहरू घोडा, बग्गी तथा मोटरकारमा घुम्न निस्कनेदेखि दुनियादारहरू विभिन्न प्रकारका समाचारहरू प्राप्त गर्न पनि त्यतिबेला नआइ नहुने ठाउँ नयाँसडकको पिपलबोट थियो।
नेपालको पहिलो सिनेमा घर काठमाडौँ सिनेमा (पछि जनसेवा) देखि पहिलो व्यवस्थित पार्क भुगोलपार्क, पहिलो छापा गोरखापत्र, पहिलो कालोपत्रे चौडा सडक र पहिलो वारुण यन्त्रको अड्डा र धेरै पहिलो कुराको शुरुवात यही नयाँसडकबाट नै भएको थियो। त्यसैले पनि यो ठाउँको महिमा अपरम्पार नै छ।
आफ्नो मामाघर पनि खिचापोखरीमा भएकोले तथा त्यो क्षेत्रमा बालककालमा धेरै चोटी ओहोरदोहोर गरेको र खेलेको तथा अन्मोल समय बिताएकोले पनि होला मलाई नयाँसडक क्षेत्रको औधी माया लाग्छ।
खिचापोखरीमा हालको पशुपति प्लाजादेखि चौधरी ग्रुपको कार्यालय रहेको घरसम्मको १५ वटा झ्यालको मुख भएको ठूलो हवेली जस्तै भवनमा हाम्रो मामाघर थियो। हाम्रा हजुरबुवा काशीराज पाण्डे नेपाल कै अग्रणी विद्युतीय इन्जिनियर हुनुहुन्थ्यो, राजा त्रिभुवन तथा जुद्धशमशेर दुवैले निकै मन पराएका मानिस।
नेपालमा राणाशासन कै समयमा पहिलो रेडियो प्रसारण र उद्घोष तथा रेडियो समाचार प्रस्तुत गर्ने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो। सो प्रसारण बिजुली अड्डा (टुँडिखेलको हालको विद्युत प्राधिकरणको पुरानो भवन) बाट हुन्थ्यो।
आज आएर तारिणीप्रसाद कोइरालाको नाम अगाडि सारेर इतिहासलाई मोड्ने काम भएको छ। हो विराटनगरबाट क्रान्तिकारी रेडियो सञ्चालन गर्न तारिणी र गिरिजाप्रसाद कोइरालाहरू यानी नेपाली काङ्ग्रेसको ठूलो भूमिका रहेको थियो।
खिचापोखरीमा लुनकरणदास चौधरीले हाम्रै मामाघरको दाहिने पट्टि जोडिएको घर खरिद गरेर बसेका थिए, जुन अझै पनि चौधरी समूहको कार्यालय भवनको रूपमा छँदैछ। उनीहरूको प्रख्यात साडी पसल अरुण इम्पोरियम हाम्रै मामाघरको सामुन्नेको घर यानी मिरा होम सँगैको घरमा थियो।
मिरा होम भने राणाशासनको अन्त तथा प्रजातन्त्रको उदय ताकाका प्रख्यात भारदार र उद्योगपति जुद्धबहादुर श्रेष्ठले आफ्नी छोरीको नाममा बनाएको घर हो। जुद्ध वारुणयन्त्रसँगैको ‘रेनबसेरा’ नामको भवन, जहाँ नेपाल राष्ट्र बैङ्क आफ्नो शुरुवाती चरणमा बसेको थियो, त्यो भवन पनि जुद्धबहादुर श्रेष्ठ कै थियो।
नयाँसडकबाट खिचापोखरी पस्ने वित्तिकै बायाँतर्फ अमेरिकी पुस्तकालय र त्यहाँबाट हाम्रो मामाघर पुग्ने ठाउँमा हार्मोनियम माइला नामक वाद्ययन्त्रहरूको प्रख्यात पसल थियो, जुन अझसम्म पनि त्यहीँ छ।
हाम्रो मामाघरको मुनीपट्टिका कवलहरूमा साइकल तथा मोटरसाइकल भाँडामा दिने पसलदेखि गीतसंगीतका भिनाइल रेकर्ड विक्री गर्ने पसल तथा डाक्टरका क्लिनिक, औषधि, सौन्दर्य प्रसाधन र बिजुलीका सामानदेखि अन्य किसिमका सामान पाइने पसलहरू थिए भने खिचापोखरी समेत त्यतिबेला भिडरहित शान्त सडक नै थियो। यो सडक कालोपत्रे गर्ने काम केही पछि नै भएको हो।
हामी साना छँदा त्यताका सबै घरबेटीहरू त्यतै बस्ने गर्दथे। हिजोआज जस्तो पुरानो घर छोडेर अन्तै बस्न गएका थिएनन्। त्यसैले दशैँमा सबैका छाना छानामा चङ्गा उडाउनेको भिड लाग्दथ्यो। खिचापोखरीको आकाशभरी नै रङ्गीविरङ्गी चङ्गाहरू उडिरहेका देखिन्थे।
हाम्रा मामा तथा दाजुहरू पनि कौसीमा नै बसेर धागोमा माजा लगाउने तथा चङ्गा उडाएर लडाउने गर्दथे। पर संकटाको मन्दिरतिरका घरहरूबाट लामा लामा बाँस उभ्याउँदै हाम्रा चङ्गाको धागो तान्ने युवाहरू पनि देखिन्थे। खिचापोखरी तथा अन्य टोलमा दशैँमा लङ्गुर बुर्जा खेलाउने गरिन्थ्यो। विभिन्न जात्रा तथा पर्वमा त त्यहाँ सधैँ जसो बाजा गाजा सहितका धार्मिक जुलुस देखिन्थे।
नयाँसडक, खिचापोखरी, इन्द्रचोक आदि शहरी क्षेत्रका सबै जात र धर्मका मानिसहरू नेपाली, नेवारी र हिन्दी भाषा राम्रैसँग बोल्न जान्दथे। मल्लकालमा काठमाडौँका तीनै राज्यका दरबारहरूमा धार्मिक कर्मकाण्ड गर्न मिथिलाबाट ल्याइएका झा तथा मिश्र थरका मैथिली पुजारी र पुरोहित परिवारका मानिस पनि नेवारी राम्रै सँग बोल्दथे।
त्यस्तै मारवाडी तथा भारतीय व्यवसायी पनि नेपाली र नेवारी भाषा राम्रोसँग बोल्ने गर्दथे। मेरा आमा, बुवा तथा मामाहरू पनि नेवारी बोल्न जान्दथे भने मेरी आमाले त एकजना छिमेकका मारवाडी व्यवसायीकी छोरीसँग मितेरी पनि लगाउनु भएको थियो।
पिपलबोटको दक्षिणी सिरानमा फोटो कन्सर्न तथा त्यहाँबाट पाकोपुखुल्ड्याङदेखि रणमुक्तेश्वरसम्मै अन्य धेरै फोटो स्टुडियो तथा मःमः तथा अन्य खानाका दोकान थिए भने पूर्वतर्फ तारागाउँ विकास समितिको स्वामित्वको कलात्मक रमागृह थियो र अझै छँदैछ।
यो भवनमा पञ्चायतकालमा महिला संगठनले पसल राखेको थियो। भवन बाहिरको एक कुनामा निकै पछिसम्म पनि एकजना महिलाले ‘पेन हस्पिटल’ नामक कलम मर्मत गर्ने सानो व्यवसाय चलाएकी थिइन्।
राणाकालमा जुद्धसडकबाट शुरु भएको काठमाडौँको ‘म्युनिसिपल्टी’ कार्यालय पछि सोही सडकमा नेपाल बैङ्क लिमिटेडको पुरानो भवन अगाडि निकै वर्षसम्म नगर पञ्चायत, नगरपालिका र महानगरपालिकाको कार्यालयको रूपमा रहेको थियो र पछि टेकु र त्रिपुरेश्वर हुँदै हाल कमलादीमा सरेको छ।
त्यस्तै नेपाल बैङ्कको पुरानो भवनसँगै खुलेको पब्लिक स्कूल पछि जुद्धोदय पब्लिक स्कूलको नाममा पिपलबोटको सामुन्नेको ध्रुवशमशेरको घरमा सारियो।
हाम्रो पिताजीदेखि साहित्यकार पोषण पाण्डे लगायत नेपालको पछिल्लो समयका धेरै हस्तीहरू पनि त्यहीँ पढेका हुन्। यो विद्यालय पछि आफ्नै जमिनमा क्षेत्रपाटीबाट चाक्सिबारी जाने मोडमा सरेको थियो।
त्यतिबेला कुमारीघरदेखि पुर्व र गद्दी वैठक र नौतले दरवारको दक्षिणपट्टिको बसन्तपुरको ठूलो चोकमा तरकारी बजार थियो। काठमाडौँका विभिन्न ठाउँबाट बसन्तपुरमा तरकारी किन्न मानिसहरू जाने गर्दथे।
हाल यो स्थान निकै व्यवस्थित भएको छ र यहाँ ढुङ्गा छापेर खुला र सफा ठाउँ बनाइएको छ। यदाकदा यहाँ सांगीतिक कार्यक्रम र आमसभा पनि गरिन्छ।
वास्तवमा हाल काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र तथा नयाँसडक क्षेत्रमा पार्किङ निषेध गर्नुका साथै पेटीका पसलहरू हटाए पछि यो पुरै क्षेत्र निकै व्यवस्थित र सफा हुँदै गएको छ।
तर भूकम्पको कारण र मर्मत सम्भार नभएर जीर्ण बन्दै गएको जुद्ध वारुणयन्त्रको भवनको पुनर्निमाणमा किन ढिलाई भइरहेको हो, सो बुझ्न सकिएको छैन। त्यहाँ भएका पुराना दमकलहरूलाई पनि पाटन र भक्तपुरमा जस्तै आमजनताले देख्ने गरी प्रदर्शनमा राखिनु उचित हुन्छ। पाटन र भक्तपुरका मेयरहरूलाई केही वर्ष पहिले यही लेखकले भेटेर यसो गर्न सुझाएपछि यो काम हुन सकेको हो।
इन्द्रचोकका गल्लीहरू तथा त्यहाँ रहेका पुराना कपडाका पसलहरू मध्ये धेरै वटा अझै पनि जिवित नै छन् तर आधुनिक ढाँचा नयाँ घरमा। यहाँ स्थित राँकी बजारको आफ्नै इतिहास छ।
मल्लकालको अन्ततिरै काठमाडौँमा इराक, इरान र अन्य अरब मुलुक तथा भारतदेखि मुसलमानहरूको आगमन पश्चात् उनीहरूले नै यही ठाउँमा पोते र चुरा तथा टिकाको बजार बसाएकोले पछि यो बजारको नाम नै राँकी (इराकी) बजार भएको विश्वास गरिन्छ।
पछि पृथ्वीनारायण शाहले हतियार बनाउन लखनउबाट मुसलमान कालिगढ मगाएका र राणाशासनको समयमा मुगलाई खाना बनाउन पनि मुसलमान खानसामाहरू बोलाएको कुरा सुन्नमा आएको थियो।
त्यस्तै सन् १८५७ मा लखनउमा गोर्खाली फौज र अङ्ग्रेजले हमला गरेपछि भागेर आएका कैयन् मुसलमान पनि नेपालका विभिन्न ठाउँका साथै काठमाडौँमा आएर बसेका थिए। शहरका मुसलमान पनि नेवारी भाषा बोल्न पोख्त हुन्छन् र सबै चाडबाडमा सक्रिय रूपले भाग लिन्छन्।
गणबहालमा साहित्यकारद्वय गोविन्दबहादुर मल्ल ‘गोठाले’ तथा बिजयबहादुर मल्लको पुख्यौली घर तथा गोल्छा समूहको कार्यालय र निवास थियो भने युवावस्थामा साहित्यमा भन्दा पनि बढी फोटोग्राफीमा बढी समय दिने गरेका मदनमणि दीक्षित फसिकेबमा डेरा गरेर बस्ने गरेका थिए।
पिपलबोट पारी नयाँसडकमा नै पुराना तथा कडा प्रशासक चन्द्रबहादुर थापा र चिकित्सक डा. दिनेशराज गोंगलको पनि घर थियो। नयाँसडकको ढोकादेखि पिपलबोटसम्मका सडकका दायाँबायाँका प्रायः घरहरू दरबारका भारदारहरू कै थियो।
काष्ठमण्डपबाट दक्षिणतर्पmको गल्लीमा अवस्थित चिकँमुगलमा सहिद धर्मभक्त माथेमाको वृहत् परिवारको घर थियो र त्यहीँ उनको जन्म भएको थियो। सहिद गंगालाल श्रेष्ठका पिताजी काम विशेषले रामेछापमा छँदा गंगालालको जन्म उतै भएको भए पनि उनको घर पनि शहरमा नै थियो।
गणेशमानको जन्म हनुमानढोकाको उत्तरमा रहेको यट्खा टोलमा भएको थियो र पछि मात्र उनिहरू चाक्सीबारीमा सरेका हुन्। शुक्रराज शास्त्री पनि पछिल्लो समयमा पाटनबाट आएर यतै बाङ्गेमुढातिर बस्न थालेका थिए।
हनुमानढोकाको पुर्वपट्टिका ढोकाटोल, नरदेवी, न्ह्यौखा, बाङ्गेमुढा तथा न्हैकन्तला र इन्द्रचोक क्षेत्रसम्म मल्लकालदेखि शाहकालसम्मै गुरुज्यु, पुरोहित र भारदारहरू बस्ने गर्दथे।
दरबारबाट दिन वा रातमा कुनै पनि बेला आकस्मिक रूपमा बोलाउनु पर्दा हनुमानढोकाका विशाल ढोल र दमाहा तथा घण्ट बजाएर उर्दी जारी गरिन्थ्यो। यो चलन शाहवंशी राजाहरू तथा राणाशासकहरू नारायणहिटी र हिटी दरबारमा नसरुञ्जेलसम्मै चलिरहेको थियो। कोतपर्व हुँदा पनि त्यसरी नै भारदारहरूलाई बोलाइएको थियो।
मेरा पिताजीको जन्म उहाँका पिता कवि दीपकेश्वरशर्मा लोहनीले न्हैकन्तलामा जोड्नु भएको घरमा भएको थियो। हाम्रा पुर्खाहरू पनि शाहवंशका राजाहरूसँगै नेपालखाल्डोमा पसेका थिए।
त्यहाँबाट केही पर अवस्थित मछिन्द्रबहालमा नेवारी साहित्यका महाकवि नै मानिएका जोगवीर सिंह उदासको कपडा पसल थियो। त्यहीँ जम्मा भएर त्यतिबेलाका केही सशक्त कविहरूले ‘जोगवीर मण्डली’को स्थापना गरेका थिए।
चक्रपाणि चालिसे, शम्भुप्रसाद ढुङ्ग्याल, लेखनाथ पौड्याल, बाबुराम आचार्य, दीपकेश्वरशर्मा लोहनी, जोगवीर सिंह सुवाल आदि साहित्यकारहरू त्यही कपडा पसलमा भेला भएर उनीहरूले एक कवि–समागमस्थलको विकास गरेका थिए।
पछि त्यहाँ मणिदत्त पन्त, पुण्यनाथ लोहनी, रुद्रराज पाण्डे, दधिराम मरासिनी आदि पनि भेला हुने गरेका थिए। यी अधिकांश कविहरूको घर तथा डेरा पनि वृहत् पिपलबोट क्षेत्रमा नै थियो।
कोही इन्द्रचोकका त कोही बाङ्गेमुढाका त कोही खिचापोखरी त कोही नरदेवी आदि इत्यादी। यो भन्दा केही समय अघि मोतिराम भट्टले काशी (बनारस)मा मोतीमण्डलीको स्थापना गरेका थिए।
हिजोआज पिपलबोट, नयाँसडक, पाको, प्युखा, फसिकेब, नरदेवी, न्यौखा, न्हैकन्तला, महावौद्ध वा अन्य यस्ता महत्वपूर्ण ठाउँका अधिकांश बासिन्दाहरू त्यहाँबाट सरेर काठमाडौँका अन्य ठाउँहरूमा बसोवास गर्दैछन्।
किनकी पहिलो कुरा त यी सब ठाउँका पुराना घरहरू भत्काएर नयाँ तथा अग्ला घर बनिसकेका छन् भने पुरानामा पनि ज्यादै लोभलाग्दा भाँडा प्राप्त हुने गर्दछ। त्यसैले यो शहररूपी पुरानो काठमाडौँमा रहेको आफ्नो घर बेचेर वा भाँडामा लगाएर स्थानीय मानिसहरू अन्य ठाउँमा बस्न थालेका हुन्।
नयाँसडक, खिचापोखरी तथा माथि उल्लेखित सबै ठाउँमा जमीनको भाउ पनि छोइ नसक्नु कै महँगो भएको छ भने त्यहाँ ज्यादै सानो कोठाको भाँडा समेत अचाक्ली महँगो छ। यस्तो हुनुमा ती ठाउँले उच्च व्यापारिक महत्व बोकेकोले नै हो। आज पनि नयाँसडक र यसका वरिपरीका स्थानहरू नेपालका सबैभन्दा उच्च व्यापारिक स्थलको रूपमा डाउन टाउन नै भनेर चिनिन्छन्।
डाउन टाउन रूपी नयाँसडकले जस्तोसुकै आधुनिकता अँगाल्न पुगेको भए पनि त्यहाँ भएका पुरातात्विक महत्वका स्थलहरू, त्यहाँको मौलिक वास्तुकला, त्यहाँका पुराना मूल्य र मान्यताहरू तथा त्यहाँका पुराना व्यवसायहरू जस्तै कपडा कोठी, पोते र चुरा विक्री हुने राँकी बजार, मौलिक मिठाइका दोकान आदिको संरक्षण र सम्वद्र्धन गरिनु अति जरुरी छ।
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
कस्तो राम्रो लेख!! मेरो जन्मघरको सेरोफेरोले म त्यहि छु र त्यति बेलाको ठाउॅलाई ठ्याक्कै वर्णन गरेकोमा लेखक ज्यु लाई लाखौं धन्यवाद!! जैसीदेवलमा जन्मेर लेखमा वर्णन गरेको हरेक ठाउॅमा दिनैजसो घुम्थ्यौ। उमेरले फेरी त्यहि ठाउॅ र त्यहि परिवेशमा जानु मन गर्छ।