सुन तस्करी प्रकरणः प्रतिवेदन अध्ययनका लागि सहसचिवको नेतृत्वमा समिति गठन
काठमाडौं। सुन तस्करी प्रकरण छानविनका लागि गठित समितिले बुझाएको प्रतिवेदन अध्ययन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा प्रतिवेदन अध्ययन समिति गठन गरेको छ। गृह मन्त्रालयले कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।
समितिमा डीआईजीपी भीमप्रसाद ढकाल र गृह मन्त्रालयका प्रहरी प्रशासन शाखा प्रमुख उपसचिव रामबहादुर शाही छन्। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णयमार्फत प्रतिवेदन अध्ययन समिति गठन गरेका हुन्।
सरकारले सुन तस्करी छानविनका लागि उच्च अदालतका पूर्वन्याधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। उक्त जाँचबुझ आयोगका सदस्यहरुमा पूर्वएआईजी सहकुल थापा, गृहमन्त्रालयका प्रेमराज जोशी र अर्थमन्त्रालयका किशोरजंग कार्की थिए।
उक्त समितिले केही दिनअघि प्रतिवेदन बुझाइसकेको छ। समितिले प्रतिवेदनमा सुन तस्करी प्रकरणमा अनुसन्धानमा गम्भीर त्रुटी भएको निश्कर्ष निकालेको थियो। समितिको प्रतिवेदनकै आधारमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका थिए।
Facebook Comment