भारतसँगको रोकिएको व्यापार फेरि सुचारू गर्न पाकिस्तान इच्छुक
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक दारले पाकिस्तानले भारतसँगको व्यापार पुनः सुरु गर्ने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताएका छन् । अगस्ट २०१९ देखि दुई देशबीचको व्यापार सम्बन्ध निलम्बित छ।
पाकिस्तानका विदेशमन्त्री दारले लण्डनमा भएको पत्रकार सम्मेलनमा उक्त बयान दिएको जियो न्यूजले जनाएको छ । उनी ब्रसेल्समा भएको आणविक ऊर्जा सम्मेलनमा भाग लिएर फर्किएका हुन् ।
दारले शनिबार भनेका थिए, ‘पाकिस्तानी व्यापारीहरू भारतसँगको व्यापार पुनः सुरु गर्न चाहन्छन्।’ उनले पाकिस्तानले भारतसँगको व्यापार पुनः सुरु गर्ने विचार गरिरहेको बताए ।
एक्सप्रेस ट्रिब्युन अखबारले दारलाई उद्धृत गर्दै भनेको छ, “हामी भारतसँगको व्यापारको विषयलाई गम्भीरताका साथ हेरिरहेका छौं।” भारतले संविधानको धारा ३७० हटाएपछि पाकिस्तानले भारतसँग कूटनीतिक सम्बन्ध तोडेको थियो ।
Facebook Comment