पोर्चुगलमा पोर्तो यात्रा र सार्वजनिक बससेवा

नारायण अधिकारी
१३ चैत २०८० ८:००

कुरा के भने नि! अस्ति मार्च ८ देखि १० तारिख २०२४ सम्म अनेसासको आठौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बन शहरमा सम्पन्न भयो। हामी यता वाशिंटटन डिसीबाट म, मेरी श्रीमती मेनुका अधिकारी र मित्र पुरु सुवेदी सहितको तीन सदस्यीय टोली सम्मेलनका लागि यात्रारत थियो।

अमेरिकाका अन्य राज्यहरूबाट अनेसासका बिओटी सभापति पदम विश्वकर्मा र केन्द्रीय कार्य समितिका अध्यक्ष गोवद्र्धन पूजा, महासचिव विमला निरौलालगायत अन्य थुप्रै प्रतिनिधिहरू लिस्बन पुगेका थिए।

सम्मेलनमा के भयो? भन्ने समीक्षा यो आलेखको उद्देश्य होइन। यसको उद्देश्य लिस्बनबाट पोर्तो शहर घुम्न जाँदाको यात्रा अनुभव र पोर्चुगलमा बस सेवाको अनुभव वृत्तान्त हो। सम्मेलनको समाप्ति १० तारिखमा भयो।हाम्रो अमेरिका फर्कने दिन १२ तारिख भएकोले ११ तारिख हामी पूरै फुर्सदमा थियौं।

अब कुरा सुरु गरौं है त! यदि अमेरिकामा तपाईँ बस यात्रामा कतै जान लाग्नुभएको छ तर तपाईँ समयमा बस चढ्न आइपुग्नुभएन, बस छुट्यो। अब के हुन्छ? उत्तर सहज छ, तपाईँलाई बस कम्पनीले अर्को बसमा पठाउनेछ। त्यसवापत तपाईंले थप पैसा तिर्नुपर्दैन। यो ग्राहक सेवावापतको सुविधा हो।

यही घटना यदि युरोपमा घट्यो भने के हुन्छ? म यस घटनालाई युरोपकै प्रतिबिम्ब हो भन्न चाहन्न तर युरोपमा लगभग उस्तै उस्तै हुन्छ भन्ने कुरा अन्य मित्रहरूले लेखेको, सुनाएको, सुनेको र यसपालि युरोपीय राष्ट्र पोर्चुगलमा घटेको एउटा घटना र पोर्चुगलका साथीहरूसँग यस विषयमा कुराकानी गर्दा “होइन” भन्ने आधार छैन।

के भयो त त्यस्तो ? घटना प्रस्तुत गर्न चाहन्छु। जस्तो कि मित्र पुरु सुवेदी यात्रा गर्न, फोटो खिच्न सौखिन मान्छे हुनुहुन्छ। उहाँको प्रस्ताव र आ-आफ्नै प्रायोजनमा उहाँ, म र मेरी श्रीमती ११ तारिख बस यात्राबाट लिस्बनदेखि साढे ३ घण्टा दुरीमा रहेको पोर्तो शहर जाने निर्णय गर्‍यौं र अघिल्लो दिन नै पुरुजीले अनलाइनबाट बस टिकट लिनुभयो।

हामी बिहानै गएर अबेर राती फर्कने योजनामा दोहोरो (टु-वे) टिकट काटेका थियौं। टिकटमा के उल्लेख गरेको थियो भने निर्धारित समयभन्दा १५ मिनेटअगाडि नै यात्रा उद्गम स्थलमा आइपुग्नुहोला।

“रोडे एक्स्प्रेस्सो” कम्पनीको बसबाट हामीलाई लिस्बनबाट पोर्तो जानु थियो बिहानको ८ः४५ मा। यो कम्पनीको नाम पोर्चुगिज भाषाको भएर होला यस्तो भएको। यदि अंग्रेजीमा हुन्थ्यो भने “रोड एक्स्प्रेस” हुन्थ्यो होला भन्ने मेरो अनुमान हो।

होटलबाट ट्याक्सी लिएर बसपार्क पुग्दा निर्धारित समय ८ः४५ भन्दा हामी २ मिनेट ढिलो पुग्यौं। बस छुटिसकेको थियो। बसै छुटेपछि हामी काउण्टरमा पुग्यौं। त्यहाँ काउण्टरवालाले भन्यो, “तपाईंहरू गलत बस स्ट्याण्डमा आउनुभयो। अर्को कुरा तपाईंहररूको निर्धारित समय पनि बितिसकेको छ।”

भएछ के भने त्यो रोडे एक्स्प्रेस्सो कम्पनीका बसहरू त्यहाँस्थित दुईवटा बस स्ट्याण्डबाट छुट्ने रहेछन्। हामीले ट्याक्सी चालकलाई बस कम्पनीको नाम दिँदा उसले हामीलाई सीधै यहाँ ल्याएर छोडिदिएको थियो। ट्याक्सी चालकले हामीलाई सोध्नुपथ्र्यो, यहाँ दुईवटा बस स्ट्याण्ड छन्।

तपाईंहरू कुनबाट जाने हो? यो उसको कर्तव्य थियो। हामी त यसै पनि यो तथ्यप्रति अनभिज्ञ थियौं। बस त छुटिसकेको थियो। दोष कसको? सबैको भाग लगाउँदा मात्रा फरक फरक आउला तर मलाई लाग्छ ढिलो उठ्नू, समय सीमाको ख्याल नराख्नू हाम्रो लापरवाही थियो होला। सही बस स्ट्याण्डको ठेगानामा पु¥याउन नसक्नु ट्याक्सी ड्राइभरको गल्ती थियो कि।

अब के हुन्छ? हामीले काउण्टरमा बसेकी सेवाप्रदायक महिलालाई सोध्यौं। तिनले भनिन्अ-र्को बस ९ः३० मा छ। तपाईंहरू त्यसमा जान सक्नुहुन्छ तर तपाईंहरूको टिकटमा प्रतिव्यक्ति १४ युरो फाइन तिर्नुपर्छ।

मलाई लाग्यो, यो पैसा हामीले तिर्नुपर्दैन तर काउण्टर कर्मचारीले भनिसकेपछि यसलाई ओभर–राइड गर्न सक्ने क्षमता पनि हामीसँग रहेन। यो तेस्रो गल्ती बस कम्पनीको थियो।

बस कम्पनीले हामीलाई अर्को बसमा पठाउनै पर्ने अवस्थाबाट विमुख भएपछि हामीले खास बार्गेनिङ गर्न आवश्यक पनि ठानेनौं। ढिलो आएकै हो, बस कम्पनीले त्यही टिकटमा निःशुल्क नपठाउने भएकै हो, बस बिसौनी र बस नै छुटिसकेको थियो। कि त यात्रा स्थगित गर्नु पर्‍यो, कि बस कम्पनीका शर्तहरू मञ्जुर गरेर यात्रा प्रारम्भ गर्नु थियो ।

मानिस कहिलेकाहीँ गन्तव्यको बाटोमा नै असहाय हुन्छ । हामी यहाँ असहाय भएका थियौं। हामीसँग विकल्प के थियो ? प्रतिकूल परिस्थितिका निरूपाय ३ प्राणीवाहेक हामी केही थिएनौं ।

३ जनाको ६० युरो तिरेर लिएको दोहोरो टिकट जोगाउनका लागि पनि ३ गुणन १४ बराबर ४२ युरो फाइन तिर्नुको विकल्प हामीले भेटेनौं । हामीले त्यसै ग¥यौं । प्रति व्यक्ति २० युरोको दोहोरो टिकट एकोहोरो हिसाब गर्दा त १० युरो हुने भयो, जसलाई हामी प्रति टिकट १४ युरोको फाइन तिर्दै थियौं ।

यसो किन गरेको भने दोहोरो टिकट भएकोले बेलुका फर्किनु पनि थियो । चित्त त भित्रदेखि बुझिरहेको थिएन तर बाझ्न, छलफल गर्न, तर्क गर्न हामीसँग समय थिएन किनभने ९ः३० को अर्को बसको समय पनि नजिक आइरहेको थियो ।

३ टिकटको हामीले ४२ युरो तिरेपछि काउण्टरले पहिलो टिकटलाई प्रतिस्थापन गरी दोस्रो टिकट जारी गरिदियो । हामी त्यहीँ टिकट लिएर ९ः३० को अर्को बसमा चढ्यौं ।

यात्रा अत्यन्तै आरामदायी थियो, यसमा कुनै शंका छैन । मेरी श्रीमतीलाई त्यही बेलामा पिशाव लाग्यो । अब बसमा चढिसकेपछि कहाँ पिशाब आयो भनेको ?

अघि बस चढ्नुभन्दा अगाडि नै भन्नुपर्दैन त ? म सानो स्वरमा झर्किँदै थिएँ । नेपालको जस्तो चालकलाई अनुरोध गरेर आफूले रोजेको ठाउँमा शौच कार्य गर्न बस रोकिँदैन भन्ने मलाई जानकारी थियो ।

बस आफ्नै गतिमा सडक तताइरहेको थियो । केही क्षण हामी मौन थियौं । म बाहिरतिरका दृश्यहरू हेर्दै, रमाउँदै, फोटो खिच्दै थिएँ । त्यहीँ बेला श्रीमतीजीले आफू बसेको सिटको पछाडि दाहिनेतिर देखाउँदै भनिन्, “उ त्यहाँ ट्वाइलेट छ जस्तो लाग्यो ।” “हैट, के भन्छे यो केटी ?” मैले अविश्वास गर्दै भनें, “यो थोडी हवाइजहाज हो र ट्वाइलेट हुन !” उनले जिद्दी छोडिनन्, भनिन्, “गएर हेर्नु त !” नपत्याई नपत्याई उठेर गएँ । बसको बीचतिर हुने ढोकानेर एउटा ठूलो प्लाष्टिकको जस्तो लाग्ने कोठामा चुकुल लगाइएको ढोका देखियो ।

मनमनै सोचें, “यो बसका केही सामान राख्ने कोठा हुनुपर्छ ।” ताला नलगाई बाहिरबाट चुकुल मात्र लगाइएको हुनाले के रहेछ ! भनेर चुकुल तानी ढोको खोलेको त साँचै भित्र त कमोडसहितको ट्वाइटेल कोठा नै पो रहेछ । मोबाइल हातैमा थियो । खिचें त्यो ट्वालेटको तस्विर र आफ्नो सिटमा गएर श्रीमतीलाई भनें, “ल त्यहाँ ट्वाइटेल नै रहेछ । गए हुन्छ आफ्नो कर्म गर्न ।”

मेनुका जी गइन् त्यस गुप्ती कोठामा । केही समयपछि आएर ममाथि व्यङ्ग्य प्रहार गर्दै भनिन्, “खुब जान्ने छु भन्थ्यौ नि । त्यति पनि थाहा छैन ? मैले भनेको हो कि होइन रहेछ त्यहाँ ट्वाइलेट छ भनेर ?” भित्रभित्र त लाज लाग्यो तर बाहिर लाज देखाउन मिलेन र भनिदिएँ, “हो हो ! तिम्रो माइतीबाट घर आउने बसमा पनि यस्तै ट्वाइटेलहरू थिए।

मैले पो बिर्सेछु ।” “लाज पचाउन जे भने पनि भइगयो नि !” उनले भनिन्। खासमा म लाज नै पचाउँदै थिएँ उनका अगाडि तर हार्नु थिएन मलाई पनि। भनें, “हो हो ल ल  तिमी त यो बस कम्पनीको मालिक हौ र तिमीलाई थाहा भयो । त्यही भएर अघि ४२ युरो पनि तिर्नुपरेको होला, होइन ?” यो मेरो ओठे जवाफ थियो । उनले मतिर आँखा तरिन् । मैले हारेर पनि जितिरहेको अभिनय गरें।

बसभित्र ट्वाइटेल भएको कुरा मलाई भित्रभित्र अनौठो लागिरहेको थियो । सोचें, युरोपका ३, ४ घण्टा दुरीका बसमा पनि शौचगृह हुँदोरहेछ। “अमेरिकामा पनि बस चल्छन् तर त्यहाँ चाहिँ नहुने किन होला ?” मैले प्रश्न उठाएँ।

“त्यहाँ पनि हुन्छन् नि !” श्रीमतीले जवाफ फर्काइहालिन् । मैले भनें, “तिमीलाई कसरी थाहा भयो नि ?” उनले जवाफमा भनिन्, “यहाँ हुन्छ भने त्यहाँ चाहिँ किन हुँदैन र ?” म मौन भएँ ।

मनमा विचार दौडिरहयो । अघिको केटाकेटी विचार अहिले अलि परिपक्व भयो । हो नि, यहाँका बसमा शौचालयमा हुन्छ भने अमेरिकामा किन नहोला त ? होला । फेरि सम्झें, हैट ! अमेरिका बसाइको बीस वर्षलाई मष्तिष्कमा घुमाएँ।

नेपालमा जति पनि बस चढियो तर अमेरिकामा बस चढेको रेकर्ड नै पो रहेनछ । २० वर्षअघि नेपाल छोडेपछि बसको यात्रा पहिलोपटक पोर्चुगल आएर हुँदै गरेको कुरा पो पत्ता लाग्यो।

नेपालका बसमा शौचालय नभए जस्तो यहाँ पनि हुँदैन होला भन्ने “माइन्ड सेट” भएर बसेको रहेछ। अझ भनौं बस नै नचढेको अनुभव भएपछि बसभित्र शौचालय हुन्छ वा हुँदैन भन्ने प्रश्न नै उब्जन पाएनछ। त्यसैमा विश्वस्त भएको म आफैं चढेको बसमा शौचालय देखेपछि मान्न करै लाग्यो।

फेरि एकछिन अघि युरोपमा मात्र यस्तो हुँदोरहेछ भनेर सोच्दै गरेको म, यो त अमेरिकामा पनि पक्कै हुन्छ भनेर विश्वास परिवर्तन गर्दै थिएँ । भ्रम र यथार्थ, एउटा विश्वासलाई अर्को विश्वासले निरन्तर प्रतिस्थापन गर्दै गरेको लीला वा विरोधभाषी अवस्थाको म अनुभव गर्दै थिएँ।

बसको बारेमा जान्दछु भन्ने ठानेको, म त भ्रममा रहेछु । नेपालबाहिर जसले बीस वर्षमा एकपटक पनि बस चढेको रहेनछ, पहिलो पटक बसमा शौचालय देख्दा अचम्म नलागेर के लाग्नु थियो त ? मैले आफैँलाई गिज्याउँन थालें । यो कुरा यहीँ सकियो।

हामीलाई ४२ युरो दण्ड तिराएको बसले तर सुरक्षित र आरामदायी तवरले १२ः३० बजे पोर्तो शहरको बस-पार्कमा ओराल्यो। पुरुजी यो यात्राभरि कतै न कतै मोबाइलमा व्यस्त रहनुभयो। उहाँको व्यस्तता अकारण थिएन।

उहाँ पोर्तोमा हुने साथी महेन्द्र छन्त्यालको सम्पर्कका लागि निरन्तर लागिरहनुभएको थियो । संयोग भनौं वा दुर्भाग्य, पोर्तोमा हाम्रो लाइफ लाइन सोचेका महेन्द्र छन्त्याल चाहिँ त्यस दिन विशेष कामले लिस्बन आएका रहेछन्।

उनी लिम्बनबाटै सम्पर्कमा आए र भने खाना खाएको छैन होला । बसपार्कबाट तपाईंहरू २० देखि २५ मिनेट हिँडनुभयो भने “नमस्ते पोर्तो रेष्टुरेन्ट एण्ड बार” पुग्नुहुनेछ । त्यहाँ भोजन गर्नुहोला । पुरुजीले गुगलम्याप लगाउनुभयो तर पाँच किलोमिटरको दुरी देखायो।

हामीले ढिलो नगरी निर्णय लियौं र ट्याक्सी चढ्यौं । १० मिनेट गुडेपछि ट्याक्सी चालक फ्रान्सिस्कोले नमस्ते रेष्टुरेन्ट औंलाले देखाए । हामी ८ युरो तिरेर झर्‍यौं।

मैले नमस्ते भित्र पस्नेबित्तिकै भनें, “नमस्ते ! ल त झपाझप दालभात, तरकारी अचार खाउँ त ।” रेष्टुरेन्टमा काम गर्ने बहिनी पुष्पा रहिछिन् । अलमल भए जस्तो गरिन् र भनिन्, “दाइ अहिले त खाना तयार छैन । ३ बजेमात्र तयार हुन्छ।”

हामीसँग सिट सीमित छ । ३ बजे आउनुहुन्छ भने एउटा टेबल बुक गर्नुहोला । नत्र अरु आउने ग्राहकहरूले टेबल ओगटिसक्छन्। मेरो गर्वका साथ खाना खाने कुराको अहमलाई “३ बजेका लागि टेबल बुक गर्नुपर्छ” भन्ने पुष्पाको भनाइले तुहाइदिइसकेको थियो। म हिस्स परिसकेको थिएँ।

पुरु जी र श्रीमतीतिर फर्किएर भनें, “के गर्ने ? खाना छैन । भरे आएर खाने कि यहाँबाट हिँड्ने ?” भोक त लागेकै थियो, खानु त छँदै थियो । त्यो रेष्टुरेण्ट एक महिना अगाडिदेखि सञ्चालनमा आएको र आज चाहिँ औपचारिक तवरमा उद्घाटन हुने दिन रहेछ।

केही चिज किनेर खाए सुविधामा एक बोतल बियर निःशुल्क पाइने रहेछ । पुरुजी र मेनुका जी तत्काललाई चिया उपलब्ध भएको हुनाले चिया पिउने हुनुभयो। म चिया नपिउने मान्छे, बियर पिउँने भएँ । मैले बियर गिलासमा खन्याउन थालेपछि पुरुजीलाई बियर अफर गरेँ । उहाँ तुरुन्तै घुलिहाल्ने मान्छे, चिया र बियर दुवै पिउनुभयो।

त्यहीँ बेला २५, २६ वर्षका लाग्ने दुई भाइहरू रेष्टुरेण्ट छिरे । उनीहरूले हात जोड्दै नमस्ते भनेकोले नेपाली भएको जानकारी भइहाल्यो । उनीहरूको नाम रोहन र विक्रम रहेछ ।

कुराकानीका क्रममा थाहा भयो, पोर्तोबाट करीव डेढ घण्टा टाढाबाट बस चढी रेष्टरेण्ट उद्घाटनको दिन भनेर मनोरञ्जनका लागि आएका रहेछन् । २३ वर्षको रोहन झापा, केर्खाका रहेछन् । विक्रम भने गोरखा वासिन्दा रहेछन्, उमेरले २६ वर्ष पुगेछन्। “केर्खा” भनेपछि श्रीमतीजीका कान ठाडा ठाडा भए।

उनले सोधिन्, “केर्खामा पेट्रोल पम्पको सञ्चालक रिजाल माल्दाइलाई चिन्नुहुन्छ भाइ ?”

“चिन्छु नि !” भाइले भन्यो ।

“दोहोरा चिनजान छ ?” मैले थपें ।

“उहाँले चिन्नुहुन्छ, चिन्नुपर्छ ।” रोहनले जवाफमा भन्यो ।

“म सोध्छु नि भरे माल्दाइलाई ?” मैले अलिक कसें ।

“हुन्छ । यदि चिन्नुभएन भने ढकाल बाको नाति भन्नु न” ऊ अलिकति साँघुरियो ।

श्रीमतीजीले जोडिन्, “रिजाल माल्दाइ त मेरो माइलो दाइ पो हो त ।”

भलाकुसारी भएपछि उनीहरूलाई पनि चियामा समावेश गर्‍यौं । उनीहरूले पिएको चियाको दाम हाम्रै बिलमा समावेश भयो । यी दुई भाइहरूको कथा यस कथामा फेरि जोडिनेछ । पर्खनुहोस् है ।

उसै दिन उद्घाटन हुँदै गरेको रेष्टुरेण्टमा चिया पिएपछि पाएको एक बोतल निःशुल्क बियर पिइसकेपछि पुरुजी र मैले थप एक एक बोतल पिएर निस्कियौं घुमघाम गर्न ।

रोहन र विक्रम दुई भाइहरू नमस्तेमै बस्ने भए । अँ, हामीले ३ बजे आउने भनेर नमस्तेको ४ नम्बर टेबल भने बुक गर्न बिर्सिएनौं । यसको अर्थ हो हामी यहाँ ३ बजे फर्कन निधो नै भयो तर धन्न यहाँ चाहिँ अग्रिम बुक गरेवापत अग्रिम पैसा भने तिर्नुपरेन ।

पोर्तो शहरको एक स्थान जहाँ डुङ्गा चढ्न पाइने रहेछ, त्यहाँ पुगियो । एक उद्देश्यले हिँडे पनि हामीलाई त्यहाँ अर्कै लक्ष्य प्राप्त भयो । के भने– एक जना व्यक्तिको चार जना शयर गर्न मिल्ने डुङ्गा रहेछ । डुङ्गा भनेको गाडीको स्टेयरिङ जस्तो भएको मिनी साइजको डुङ्गा ।

एक घण्टाको सय डलर लिन्छु भन्यो, हामी सय डलर तिर्न राजी भयौैं र बोट चढ्यौं । “बोटवाला” शब्दको विशुद्ध नेपालीमा भन्दा माझी हुन्छ, माझी भनौं है ? माझी पनि साह्रै सजिलो थियो । उसले बोट नै जिम्मा लगायो “ल चलाऊ !” भनेर । मैले बोट चलाएको पहिलोपटक यहीँ हो ।

ठूलो कुरा होला भनेको त सामान्य रहेछ । गाडीको स्टेयरिङ्ग चलाए जस्तो रहेछ । मलाई उछिट्टिने गरी त्यसलाई कुदाउन मन लाग्यो तर मोरिसस माझीले भन्यो, “यहाँ प्रहरीको निगरानी भइरहेको हुन्छ । तसर्थ, यो गतिलाई बढाउन पाइँदैन ।”

मोरिससले तेस्र्याएको नियमले मेरो मेरो इच्छाको स्वर्गवास भइसकेको थियो । उसलाई हामीले भयभरका प्रश्न सोध्यौं । जाने जति त उसले बतायो र भन्यो, “म खासमा मेरो कामभन्दा बढी कुनै चासो राख्दिन ।

तसर्थ, मलाई पनि योभन्दा बढी खासै जानकारी छैन । एउटा कुरा चाहिँ के भने, यो देशमा अमेरिकनहरू त्यसमा पनि ठूलो संख्यामा महिलाहरू जो घरबाटै काम गर्दछन्, यहाँ आउँछन् र आफ्नो जिन्दगीको आनन्द उठाउँछन् ।”

एक घण्टामा हामीले गीत गायौं, नाच्यौं, हाँस्यौ, छिल्लियौं, नक्कल पार्‍यौं । पुरुजी टिकटक बनाउने भन्दै भिडियो पनि बनाउन थाल्नुभयो । म चाहिँ रेकर्डमा भन्दा तत्काल आनन्द लाभ गर्न थालें । एक घण्टा बितेको पत्तै भएन ।

हामीलाई माझी दाइले पोर्तो शहर वाइन उत्पादनका लागि विश्वप्रसिद्ध छ भन्दै वाइन टेस्ट गर्ने ठाउँ देखाइदिँदै भन्यो, “यदि अघि चढेकै ठाउँ जाने भए लगिदिन्छु, होइन यहाँ उत्रिएर वाइन चाख्ने र घुमघाम गर्ने भए उत्रनुहोस् ।” हामीले उत्रने निर्णय लियौं । सय डलर हात पारेपछि मोरिसस हुइँकियो आफ्नो उद्गमस्थलतिर ।

हामी बाहिर वाइन टेस्ट गर्ने स्थानमा गयौं । त्यहाँभित्र सर्भिस काउण्टर पनि रहेछ । मैले भनें, हामी वाइन चाख्न चाहन्छौं । गोरी पोर्चुगिज केटी लिओनुरले सात वर्ष पुरानो, १० वर्ष पुरानो, २० वर्ष पुरानो वाइन भन्दै त्यसको मूल्य पनि बताउन थाली । मैले भनें, हामी किन्न होइन, चाख्न चाहन्छौं ।

चाख्न पनि पैसा तिर्नुपर्दोरहेछ । ए राता मकै ! पैसै तिर्नुथियो भने “वाइन चाख्नु” किन भनेको होला ? चाख्ने भनेपछि त पैसा नतिरी चाख्नु र कस्तो रहेछ भनेर अनुभव गर्ने हो । अनि चाखिसकेपछि पो किन्ने नकिन्ने, पिउने नपिउने रोजिन्छ त । आफैसँग भँडास पोख्नुबाहेक केही थिएन त्यहाँ ।

पैसा तिरेर ७ वर्ष पुरानो वाइन “चाख्न” हामी तयार भयौं । रोजाइअनुसार हामी दुई जनालाई शिशाका दुई गिलासमा सात वर्ष पुरानो वाइन आधा भरेर दिई लिओनुरले हाम्रो चाहनाअनुसार । श्रीमतीजी वाइन पिउने इच्छाको विपरीत गइन् ।

मैले अमेरिकामा पिएकोमध्ये फरक स्वादको लाग्यो त्यो वाइन । पुरुजीले स्वादमा कुनै अन्तर नभेटेको बताउनुभयो । एउटै वाइन कसैलाई नौलो र कसैलाई केही नलाग्दो पनि हुँदोरहेछ । दुई आधा कपको साढे १३ डलर तिरेर वाइन चाख्यौं ।

त्यो शहरमा शहरी वातावरण हेर्नुसिवाय कुनै निश्चित ठाउँमा जाने उद्देश्य नभएकोले मलाई खासै हतार थिएन । पुरुजीलाई तस्विर खिच्न असाध्यै रहर लाग्ने । उहाँ तस्विर खिच्नमा व्यस्त हुनुभयो । नदीको वारीपट्टी वाइन चाखेपछि हामी नदीमाथिको साँघु तरेर पारी पुग्यौं ।

फोटा खिच्दै, रमाउँदै, यता जाऊँ, उता जाऊँ भन्दै जता हुन्छ, त्यतै हामी हिँड्न थाल्यौं । १५ मिनेट जति बिस्तारै बिस्तारै हिँडेपछि मध्य शहर पुगियो । सडकमा गीत गाउने सडकगायकदेखि पोर्चुगिज नाच देखाउने नाच टोलीहरूले पनि सडकमा संस्कृति झल्काउने नाच देखाउँदा रहेछन् ।

शहरमा ऐतिहासिकता जनाउने ठूला ठूला शालिकदेखि पुरातात्विक महत्वका दरवार, कलाकृति, पुराना चर्चहरू आदि संरक्षण गरी राखिएको पाइयो । शहरको सौन्दर्यलाई दोष दिने ठाउँ भेटिएन । मानिसहरूको भिडभाड, हिँड्दै हेर्दै गरेका पर्यटक, चौतारामा थकाइ मार्दै बसेका मानिस प्रशस्तै देखिए । शायद ती सबै हामी जस्तै पर्यटक त होलान् ।

घडी हेरेको २ः४५ हुने तरखर गर्दै रहेछ । बिहान ब्रेकफास्ट पनि नखाई हिँडेका हामी नमस्ते रेष्टुरेण्टमा ३ बजे मात्र खाना खान पाइने भएपछि भोकै नै थियौं । ३ बजेका लागि टेबल रिजर्भ गरेका हामी नमस्ते रेष्टुरेण्टबाट कति टाढा छौं भन्ने पनि थाहा पत्तो छैन । शहर घुमाइ पनि त यति नै होला ।

खासमा एक दिनमा कति नै पो घुमिएला र ? त्यो पनि एक दिन कहाँ घुमिएको छ र ? त्यही केही घण्टा त हो । यति ठूलो संसारमा घुम्नुपर्ने ठाउँ कति होलान् ? मानिस आफैंभित्र त घुमेको हुँदैन, संसार घुम्ने वा घुमेको गफ हाँक्छ । म भित्रभित्रै सोचिरहेको थिएँ ।

अब नमस्ते फर्कनुपर्छ, हामीले निधो गर्‍यौं । चुर थाकिएको छ, टन्नै भोक लागेको छ । हामी जहाँ भए पनि ट्याक्सी लिनै पर्ने भयो । त्यो दिन ५ पटक जति ट्याक्सी चढेका हामी अमेरिकाको तुलनामा ट्याक्सी चढ्नु खासै महँगो लागेन पोर्चुगलमा । अमेरिकाभन्दा आधै सस्तो रहेछ पोर्चुगलमा ट्याक्सी चढ्नु । ढिला नगरी ट्याक्सी लियौं र पुग्यौ नमस्ते रेष्टुरेण्ट ।

नमस्ते पुग्दा अघिका भाइहरू रोहन र बिक्रम त्यहीँ रहेछन् । हामीलाई केही घण्टापछि फेरि भेट्दा पहिल्यै वर्षौंअघि चिनेका जस्ता लागे ती भाइहरू । हामी बस्यौं अघिको हाम्रो रिजर्भ टेबलमा । भाइहरू हाम्रै टेबलका सदस्यहरू भए ।

अघि पर्खाइएका यी दुई भाइको कथा अब सुरु गरौं है । अघि भनिसकें, २३ वर्षको रोहनको विवाह भइसकेको रहेछ । “कसरी यति छिट्टै विवाह भयो भाइ ?” मैले कुराको मेसो सुरु गरें । रोहनले भन्यो, “कथा लामो छ दाइ ।” “अनि सुसुराली कहाँ हो नि ?” मैले प्रश्न थपें । “गोर्खा हो दाइ ।” भाइले उत्तर दिए । “गोर्खा !, फेसबुकबाट चिनजान भएर विवाह भएको हो कि के हो ?” मैले शंका व्यक्त गरें ।

“होइन दाइ”, भाइले सहज भावमा जवाफ दिए । भाइको कथा छोटोमा के रहेछ भने गोर्खाका एक जना क्षेत्री आर्मी अफिसर रहेछन् । उनको पोस्टिङ झापा र इलामको बोर्डरस्थित केर्खामा रहेछ । उनकी छोरी र रोहन केर्खा स्कुलमा सँगै पढ्दा रहेछन् ।

दश कक्षा हुँदै उनीहरूको बीचमा प्रेम भएछ । १२ कक्षा सकेपछि उनीहरूले अन्तमा प्रेमविवाह गरेछन् । प्रेम विवाह गर्दा उनी मात्र १९ वर्षका रहेछन् । झापाको ससुराली गोर्खा भएको कथा यति रहेछ ।

विवाह भएको एक वर्ष नबित्दै उनलाई विदेशको हावाले छोयो । विभिन्न बहाना र बाटो हुँदै २१ वर्षको उमेरमा पोर्चुगल आइपुगेका रहेछन् । अहिले पोर्चुगल आएको २ वर्ष भएछ ।

यतिबेलासम्म टेबलमा मम, आलुफ्राइ, चिकनरोष्ट, अचार आदि विभिन्न परिकार आइसकेको थियो । बियर नआउने त कुरै भएन। दिउँसोखेरी भेट हुँदा नै हामीले चियामा समावेश गरेका भाइहरूलाई हामीले बियर पिउँदै उनीहरूलाई अर्ती दिएका थियौं, “विदेशमा बसेपछि आफ्नो अविभावक आफैं हो भाइहरू ! धेरै कुरामा सतर्क हुनुपर्छ । यो युरोप हो। यहाँ सप्रनेभन्दा बिग्रने धेरै तरिका छन् । चुरोट, खैनी, बियर, वाइन, जुवा, लटरी, तरुनी आदिले कहिले लत बिगार्छ, पत्तो हुँदैन । पत्तो हुँदा ढिला भइसकेको हुन्छ । अहिले त संघर्षको समय छ । यी कुराहरूबाट भरसक टाढा बस्नू।” उनीहरूले आश्वस्त पारेका थिए, “दाइ कहाँ त्यस्तो गर्नु ? हामी ती सबै कुराहरूबाट टाढा छौं।”

जीवन आफैंमा एउटा लीला हो, यहाँ आफ्नै जीवनमा विविध विरोधाभाषहरू भेटिन्छन् । दिउँसो हामीले अर्ती दिएका र त्यो अर्ती लिएका भाइहरू अहिले साँझमा हामीसँगै बियरका बोतहरू शेयर गरिरहेका थिए।

यो ४ नम्बर टेबलमा दिउँसोको हाम्रो उपदेशले न काम गरेको थियो, न उनीहरूले हामी यसबाट टाढा छौं भनेको आश्वासनले काम गरेको थियो । यो टेबलमा अर्ती, उपदेश, आदर्श, जे जे आउँछन्, देखिन्छन्, ती सबै पोर्तो शहरको नदीमा घुलिसकेको थियो । खानपानको स्वयम् सेवामा मस्ता थियौँ हामी पाँचै जना।

यस्तैमा, एक जना युवक काँधमा गितार भिरेर आएको मैले देखें । ऊ पक्कै आजको साँझको गायक हुनुपर्छ । परिचय भयो, उनको घर काँकरभिट्टा रहेछ। नाम सविन विक थियो । निकै राम्रो गाउँदा रहेछन्।

उनले लगातार ६ वटा जति विभिन्न गायकका नेपाली गीतहरू गाए । भरपुर मनोरञ्जन गराए । नमस्तेभित्रका सम्पूर्ण टेबलहरू भरिएका थिए, वातावरण बियरमय थियो, संगीतमय थियो।

यहाँ आफ्नै एउटा कुरा छिराइहालुँ है त। जुनबेला मानिस युवक हुन्छ, भावुकतामा ऊ कवि पनि हुन्छ भने जस्तै पार्टी भेटघाट र अलिअलि सोमरसको समयमा अधिकांश मानिस गायक पनि हुन्छन्। मभित्रको अगायक गीत गाउन उठ्न खोज्दै थियो । यस्तैमा, गायक सविनले केही क्षणको आराम लिए।

४ नंम्बर टेबल पनि अब मद्यपान र संगीतको नसामा उठ्न खोजिरहेको थियो । म चढें स्टेजमा र लिएँ माइक्रोफोन र थालें-

“यो बहिनीको सुरिलो भाकाले, सुरिलो भाकाले
छाती चिर्‍यो गाजलु आँखाले । नरोउ मायालु ……..”

यसै पनि लोकभाकाका गीत गाउन सजिलो पनि हुने, त्यसमाथि मदिरा र संगीतको माहोल । लाज संकोच रहने कुरै थिएन । त्यही मौकामा गायक भाइ सविन उपस्थित भएर गितार बजाएर साथ दिन थाले । नमस्तेको सिंगो हल नाच्न र गाउनमा मस्त थियो । सबै मानिस झुम्न थालेपछि वातावरण पनि झुम्दो रहेछ।

हामीलाई थाहा थियो, सोही साँझ ८ः१५ को रोडे एक्स्प्रेस्सो बसबाट हामीलाई लिस्बन फर्कनु पनि थियो । बाटोको म्याद साढे ३ घण्टा राख्दा हामी लिस्बन पौने १२ मा पुग्ने थियौं । त्यहाँबाट होटेल पुग्दा करीव सभा १२ त पक्कै हुन्छ नै । म यतिबेला नाचिरहेको थिएँ।

श्रीमतीजीले तान्दै भनिन्- ट्याक्सी बोलाएको छ । पाँच मिनेटमा आइपुग्छ। अब जानुपर्छ । अ हो ! यतिबेला त ७ः३० भइसकेछ । गायक सविन पनि हल्का खानपिनमा लागेका थिए । टिभीमा नेपाली गीत बजिरहेको थियो।

त्यसलाई सानो पारेर मैले हललाई सम्बोधन गर्दै भनें- नमस्ते पोर्तो, नमस्ते पार्चुगल ! सबै शान्त भए । म बोल्दै गएँ, “खुसी लागेको छ पोर्तोमा आजै उद्घाटन भएको यो नमस्ते रेष्टुरेण्टमा आजैको साँझ तपाईंहरूसँग मनोरञ्जन गर्न पाउँदा । अमेरिकाबाट आउँदै गर्दा पोर्चुगलमा बस्नुहुने यति धेरै नेपाली दाजुभाइहरूसँग यसरी भेट होला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं।

विदेश पसेर सानातिना काम गर्दै यहाँ पनि नेपाली दाजुभाइहरूले निजी व्यवसायमा हात हाल्ने क्रम बढ्दो रहेछ । यसका लागि यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु । जो तपाईंहरू यहाँ गर्दै हुनुहुन्छ, त्यो कुनै देशको भन्दा कम छैन । यो प्रगति उन्नति निरन्तर रहोस्।”

म बोल्दै गएँ, “हामी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आठौं अन्तर्राष्ट्रिय सम्मेलनका लागि अमेरिकालगायत जापान, लण्डन, बेल्जियम, पोल्याण्ड, डेनमार्क, फ्रान्स, सिक्किम आदि देशहरूबाट लिस्बन आएका थियौं । यसको कारण भाषा हो। अब नेपालबाहिर पनि नेपाली भाषाले भाषाको नेपाल निर्माण गर्दै गएको छ।

तसर्थ, नेपाली भाषाले हामीलाई अन्तर्राष्ट्रिय स्तरमा साहित्य, कला, संस्कृति र संगीत आदिका माध्यमले जोडेको छ। आजको साँझ पनि भाषाले नै हामीलाई यहाँ जमघट गराएको छ । हामी नेपालको जुनसुकै ठाउँबाट आएका हौं, तर विदेशमा हामी सबै नेपाली हौं।

नेपाल र नेपाली भाषा हामीलाई जोड्ने माध्यम हो र विश्वको जुनसुकै राष्ट्रमा हामी बसेका छौं, त्यहीँबाट हामीले भाषाको माध्यमले एकताको सन्देश दिनुपर्छ । म यही सन्देश तपाईंहरूलाई साझा गर्दै तपाईंहरूसँग विदा माग्न चाहन्छु । हामी यहाँबाट अहिले ८ः१५ मा लिस्बन फर्कनुपर्छ । भोलि बिहान सभा ९ को हाम्रो फ्लाइट पनि छ। धन्यवाद।

सबैले ताली बजाएर मेरो कुराको अनुमोदन गरिदिए।

यतिबेलासम्म हाम्रो बिल पनि आइसकेको थियो ४ नम्बर टेबलमा । म सोच्दै थिएँ कम्तिमा पनि १५० देखि २०० युरो त पक्कै आउँछ । हेर्छु त, छक्क परें। मात्र ६३ युरो। ५ जना बसेको टेबलमा जसलाई जे खानु छ, त्यहीँ अर्डर गर्ने खाने भनेको टेबलमा ६३ युरो ! साह्रै सस्तो रहेछ अमेरिकाको तुलनामा भोजन र रेष्टुरेण्ट पोर्चुगलमा । मैले बिल भौचर राखेको बुकमा ७० युरो राखिदिएँ।

बाहिर ट्याक्सी आइसकेको रहेछ । हामीलाई अब बस स्ट्याण्ड पुग्नु थियो । ७ः४५ भएको थियो । दुई भाइ रोहन र विक्रम पनि पोर्तोबाट डेढ घण्टाको दुरीबाट आएका थिए । उनीहरूलाई पनि बसपार्क त पुग्नु नै थियो । पाँचै जना ट्याक्सीमा चढ्यौं । त्यो ट्याक्सी रोहनले अनलाइन अर्डर गरेका थिए।

ट्याक्सी चालक एक महिला थिइन् । मैले अङ्ग्रेजीमा उनको नाम सोधें । उनले “नो इङ्लिस” भनिन् । पछाडिबाट रोहनले पोर्चुगिज भाषामा उनको नाम सोधे । थाहा भयो उनको नाम मारिया इज्वेल रहेछ । मैले भनें, “सबै ट्याक्सी चालकहरूले यहाँ अङ्ग्रेजी बोल्थे।

यिनलाई चाहिँ अङ्ग्रेजी नआउँदोरहेछ ।” विक्रमले भने, “होइन दाइ, यसलाई पनि आउँछ तर यो बोल्न नचाहेकी मात्र हो ।” मैले भनें, “अनि अरु सबै ट्याक्सी चालकहरू अङ्ग्रेजीमै बोल्थे, यिनले चाहिँ किन नबोलेकी त ?” “कोही त भइहाल्छन् नि दाइ अपवाद ।” विक्रमले जवाफ दिए।

ट्याक्सी गुडिरहेको थियो । विक्रम निकै बौद्धिक रहेछन् । उनले हिजो मात्र भएको राष्ट्रपतिको चुनावमा कसले जित्यो । त्यहाँको राजनैतिक परिपाटी र व्यवस्था, इतिहास, भूगोल आदिको थोरै चर्चा गरे।

नत्र भने विदेशमा बस्नेहरूमध्ये निकै थोरैलाई मात्र त्यस देशको इतिहास, राजनीति, धर्म संस्कृति र भूगोलको विषयमा थाहा हुन्छ । बाँकी भने रामकुमारी झाँक्रीले भने जस्तो बिहान चेप्रा नपुस्दै नेपाललाई गाली गर्न थाल्ने मात्र हुन्।

मारिया इज्वेलले ट्याक्सी रोक्दै भनिन्– “दिस इज योर बस स्ट्याण्ड । यु गाइज गो थ्रु हियर । एनि थिङ्ग्स यु गाइज माइट लिभ इन दि ट्याक्सी । चेक योर पर्स, मोबाइल एसेक्ट्रा क्विक । घडी हेरेको ८ बजेको रहेछ । हामीसँग अब १५ मिनेट मात्र बाँकी छ।

हामी ट्याक्सीबाट उत्रियौं । मैले भनें, “मोरीलाई अङ्ग्रेजी बोल्न आउँदोरहेछ । हो रहेछ रोहनले भनेको यसले बोल्न नचाहेकी मात्र रहेछ ।” रोहनले भन्यो, “हो नि दाइ । अघि नै मैले भनेको हो ।” यतिबेलासम्म हामी बस कम्पनीको ठूलो बिल्डिङभित्र छिरिसकेका थियौं।

दुई मिनेट जति हिँडेपछि मैले भनें, ल हामी गलत ठाउँमा आयौं कि है साथी हो । यहाँ त यस बस कम्पनीको कुनै पोस्टर, संकेत केही देखिँदैन त । यहाँको सूचना बोर्डमा पनि मैले केही देख्दिन लिस्बनमा जस्तो । यहाँ त रेलको ट्रयाक पो देखिन्छ।”

यतिबेलासम्म ८ः०५ भइसकेको छ । यता हेरियो, उता हेरियो अहँ बस भेटिनेवाला छैन । अब विक्रम भाइ सक्रिय भए । उनले जिपिएसबाट हेरे । बसपार्क यही वरिपरि १ मिनेटको दुरीमा देखाउँछ । १ मिनेटको ट्याक्सीको दुरी त हाम्रो लागि १० मिनेटभन्दा बढी नै हुन्छ।

यतिबेलासम्म हामी गलत ठाउँमा उत्रिएको पक्का भइसकेको थियो। विक्रमले अनलाइन ट्याक्सीको लोकेसन हेरे, त्यहीँ रहेछ। बिलम्ब नगरी ट्याक्सी अर्डर गरे । ट्याक्सी ढिलो नगरी १ मिनेटभित्रै आइपुग्यो।

हामीले भन्यौ, “हामी गलत ठाउँमा आइपुग्यौं। हामीलाई यो बस पार्क जानु छ ।” चालकले भन्यो, “नजिकै छ यो बिल्डिङभन्दा पारिपट्टी ।” “अनि यो चाहिँ के हो त ?” चालकले भन्यो, “यो मेट्रो रेल स्टेशन हो।”

भएछ के भने अघि नमस्ते रेष्टुरेण्टको ४ नम्बर टेबलबाट रोहनले अर्डर गर्दा जिपिएसमा मेट्रो बस स्टेशन हाल्नुपर्ने ठाउँमा मेट्रो रेल स्टेशन हालेछन्। त्यसकारण हामी फेरि दिग्भ्रमित भइसकेको थियौं । हामीलाई दोस्रो ट्याक्सी चालकले सही ठाउँमा उतारे।

यति बेलासम्म घडीको काँटाले ८ः१५ लाई छुन १ मिनेट बाँकी थियो। म सोच्दै थिएँ, बस त बिहान छुटेको थियो थियो, बेलुका पनि छुट्ने भयो, म पक्का थिएँ । यहाँ त ती भाइहरू पो अभिभावक जस्ता भए । “दाइ, चिन्ता नगर्नु, हामी जसरी भए पनि तपाईंहरूलाई बस चढाएरै पठाउँछौं।”

मेरो डर अर्कैतिर थियो । म सोच्दै थिएँ, यो बस त पक्कै छुट्छ नै । कदाचित् अर्को बस पाइएन भने भोलि बिहान ९ः१५ को अमेरिका जाने फ्लाइट छ, त्यो पनि निश्चित नै छुट्ने भयो । अब कसरी साढे ३ घण्टाको दुरी पार गरेर लिस्बन पुग्ने होला?

यतिबेला हामी बस गुड्ने ट्रयाकमा पुगेका मात्र थियौं, एउटा बस गुडिहाल्यो। त्यो समयको बस त हाम्रै हो। रोहनले कुद्दै बस रोक्न खोजे, तर नेपालको जस्तो न कुनै सहचालकले गाडी रोके, न चालकले नै। हाम्रो आँखाकै अगाडि हाम्रो गाडी अहिले बेलुका पनि छुटेको थियो।

मेनुका र पुरुजीका मनमा के थियो, थाहा भएन तर मेरो मनमा भोलिको बिहानको फ्लाइटको चिन्ता थियो। ९ः१५ को फ्लाइटका लागि ७ बजे त एयरपोर्ट छिरिसक्नुपर्छ। चिन्ता यसकै थियो। रोहनले भन्यो, “दाइहरू, तपाईंहरू निश्चिन्त रहनुहोस्।

यदि अर्को बस पाइएन भने हामी ट्याक्सीबाट पनि तपाईंहरूलाई लिस्बन पठाइदिन्छौं।” हामी केमा जान्छौं वा के गर्छौं होला, यो जिम्मेवारी हाम्रो थियो तर २३ वर्षको रोहनले हाम्रो पूरा जिम्मेवारी लिइरहेको थियो र भन्दैथियो ऊ हामीलाई निश्चित नै लिस्बन पठाउनेछ।

यदि बस पाइएन भने ट्याक्सीबाट पनि पठाउन रोहन हामीलाई आश्वासन दिइरहेको थियो। रोहनको विषयमा के भन्नु र यतिबेला ! यति सानो उमेरको भाइले जुन जिम्मेवारी उठाउँदै थियो, उसको भावना र सदाशयता ठूलो थियो, यो नै भव्य कुरा थियो।

हाम्रो काम अब फेरि बस काण्टरमा पुग्नुपर्ने भयो। माथिल्लो तलामा रहेछ सर्भिस काउण्टर। हामीले हाम्रो फिर्ता टिकट देखायौं। काण्टरवालीले टिकट नम्बर कम्प्युटरमा हाली र “लेट मी सी ….” भन्दै हेरी । केही क्षणपछि भनी, “यो टिकट त लिस्बन जाने टिकट नै होइन ।

तपाईहरूको टिकट रिजर्भ छैन।” पुरुजीले हिजो काटेको दोहोरो अनलाइन टिकट देखाउँदै सम्झाउनुभयो, “हामीले काटेको दोहोरो टिकट हो यो। बिहान लिस्बनबाट पोर्तो आउँदा हाम्रो बस छुट्यो र हामीले फाइन तिरेर आएका हौं तर अब फर्किन त पाउनुपर्‍यो नि?”

उसले फेरि कम्प्युटरमा हेर्दै भनी, “सरी ! बिहानको छुटेको बसको टिकट पुनः लिइँरहँदा यो दोहोरो भनिएको टिकट नै एकोहोरोमा तपाईंहरूले परिवर्तन गर्नुभएछ। अब तपाईंहरूसँग रिटर्न टिकट छैन। लिस्बन जाने भए ११ः३० बजे अर्को बस जाने छ । पूरा भाडा लाग्नेछ।”

उसले कुरामा पूर्णविराम लगाई। मलाई धेरै रिस उठेको थियो, तर थोरै देखाउँदै प्रश्न गरें, “हाम्रो टु-वे टिकटमा फाइन भरेर आउने हामी, अनि यसलाई वान-वे बनाएको कसले त ? यो तपाईंकै कम्पनीले गरेको त हो। हामीले फाइन तिर्‍यौं तर टु–वे सेवा त हामीले क्यान्सिल गरेको होइनौं ? यो तपाईंहरूको गल्ती होइन र?”

उसले फेरि भनी, “यसमा म केही गर्न सक्दिन । जे हो त्यो मैले भनेकी हुँ। के म अर्को नयाँ टिकट ११ः३० का लागि जारी गरौं ?” “तर हामी पैसा तिर्दैनौं।”

मैले दरोसँग भनें। “जाने भए टिकटको पैसा त तिर्नुपर्छ।” त्यो पनि अडिग भई। हामी पाँच जना प्राणी निरूपाय अवाक् भयौं। त्यहाँ पर्खिने वा घोत्लिने समय थिएन । सोर्स फोर्सका लागि केपी ओली, प्रचण्ड र देउवा हजारौं कोस टाढा थिए, त्यो सम्भव थिएन।

समय यस्तै बेला हो सुपरसोनिक गतिमा दौडन्छ। यति बेलासम्म, करीव ९ः४५ भइसकेको रहेछ। त्यसभन्दा उता काउण्टर कब्जा गरेर र विवाद गरेर बस्नु हानीकारक हुन सक्थ्यो । हामी सुरक्षा निगरानीमा पर्न पनि सक्थ्यौं।

“कति पैसा तिर्नुपर्ने हो त हामीले ?” मेरो प्रश्नको उत्तर दिँदै उसले भनी, “प्रति व्यक्ति २० युरो।” उपाय नास्ति, ३ वटा टिकट मागें। मैले ६० युरो दिएँ, उसले ३ टा टिकट दिई। हिसाब फच्चे।

दोहोरो टिकट २० युरोले पुग्ने, अहिले एकोहोरो टिकटकै २० युरो तिर्दै थियौँ हामी। अब अहिले त एकोहोरो टिकट न थियो पोर्तो-लिस्बन। हुनुपर्ने त १० युरो हो, तर तिर्‍यौं २० युरो।

सबैभन्दा ठूलो बेइमान बिहान लिस्बनमा नयाँ टिकट जारी गर्ने काउण्टरवालीको हो । कुनै पनि यात्रुले बस छुट्दा फाइन समेत भरिसकेपछि दोहोरो टिकट एकोहोरो भयो कि दोहोरै छ भनेर ख्याल गर्दैन। यो ख्याल गर्ने बस कम्पनीले हो, त्यो सेवा प्रदायकको काम हो।

तर यहाँ पोर्चुगलमा सेवाग्राही सेवाप्रदायकबाट स्पस्टसँग ठगिए। युरोपमा यस्ता घटना हुन्छन् भन्ने विभिन्न साथीहरूका सामाजिक सञ्जालका पोस्ट र कुराकानीहरूबाट थाहा पाएको मैले, आज प्रत्यक्ष भोग्दै थिएँ। जे होस्, यो चाहिँ सार्वजनिक सेवा दिने कम्पनीको सही सेवा होइन।

सार्वजनकि जवाफदेहिता र उत्तरदायित्वको कमी नै हो यो। यस्तो मामिलामा युरोप अलि संकुचित छ भन्ने भनाइको एक अंश हो यो भन्ने ठानें मैले ।

यहाँ पोर्चुगलको घटनालाई लिएर सिंङ्गै युरोपलाई किन एउटै डालोमा हालेको भन्ने प्रश्न पनि आउला। क्षमा चाहन्छु, यो वा यस्ता कुरा युरोपका अन्य मुलुकहरूमा पनि सेवाग्राहीहरू कहिलेकाहीँ नराम्ररी ठगिन्छन् भन्ने सूचना विभिन्न साथीहरूबाट पाएकोले उल्लेख गरेको हुँ ।

सकारात्मक कुरा गर्दा नकारात्मक पाटो छुटाउने चलन छ विकसित देशमा तर यो यथार्थ हो। कस्सम भनौं? यो कुरा अमेरिकामा भएको भए चाहे हवाई कम्पनी हुन्, चाहे बस कम्पनी, एक सुको पैसा नतिराई अर्को वा जुन सवारीमा खाली हुन्छ, त्यसमा पठाइदिन्थे।

पुरुजीले एक दिव्य वाणी बोल्नुभयो, “खासमा हामीले बस भनेर हेपेर पनि यस्तो भएको हो। अब प्लेन भनेपछि हामीलाई ३ घण्टा अगाडि एयरपोर्ट पुग्न हतार हुन्छ। बस भनेपछि हामीलाई सानो लाग्यो, यसलाई हेपियो र यो दुःख पाइयो। सानो भनेर बसलाई हेप्नु हुँदैनथियो।” वास्तवमा हामीले बस भनेर हेपेकै हो। समयमा पुगेको भए यो सबै लफडा नहुने थियो।

ती दुई भाइ रोहन र विक्रमले पनि उनीहरूको बसको टिकट किने। केही समय हामीलाई अब कुराकानी गर्ने समय मिल्यो। विक्रम भाइ सि.ए. गर्दागर्दै बीचमै छोडेर युरोप भासिएका रहेछन्।

उनले मिजासपूर्वक भने, दाइहरूसँग केही घण्टा सँगै बिताउने मौका मिल्यो । मेरो आफ्नोबारेमा पनि थोरै भन्न चाहन्छु। म वावुआमाविहीन एक टुहुरो व्यक्ति हुँ । वर्षदिन नपुग्दै मेरी आमा बित्नुभएछ। म ६ वर्षको हुँदा बा पनि बित्नुभयो।

त्यसपछि मलाई कहिले कसले, कहिले कसले हुर्काए । सि.ए. पढ्दै थिएँ, प्रथम वर्षपछि परीक्षा पनि नदिई युरोप भासिएँ। सीधै म पोर्चुगल आएको होइन। यहाँ आइपुग्नुभन्दा अगाडि मैले करीव १० वटा जति देशमा धेरथोर समय बिताएँ।

अहिले म यहाँ आइपुगेको छु । कथाले अब कहाँ पुर्‍याउँछ, थाहा छैन । जे गर्दैछु, ठिकै गर्दैछु। हामी दुवै जना अहिले एउटा चाइनिज रेष्टुरेण्टमा काम गर्दैछौं । कमाइ धेरै नभए पनि ठिकठिकै छ । मेरो नेपालमा दाजु र दिदीहरू छन्, बस त्यति हो।

रोहन र विक्रमहरू युरोपका अधिकांश नेपालीहरूका प्रतिनिधि पात्र हुन् । धन्यवाद भाइहरू, आशीर्वाद छ। जहाँ छौ, त्यहीँबाट आफ्नो जीवनको यात्रा थाल । नथाक, हतास नबन, गलत बाटो नहिँड। एक दिन जीवनको बिहानीमा सूर्य उदाउँछ। पक्कै उदाउँछ।

हामी ११ः३० को प्रतीक्षामा थियौं। उनीहरू १ः०० बजेको प्रतीक्षामा थिए । निर्धारित समयमा हामी बस चढ्यौं, आरामसाथ लिस्बन पुग्यौं । लिस्बन बस स्टयाण्डदेखि ट्क्यासीबाट होटल पुग्दा बिहानको ३ बजेको थियो । मोबाइमा ६ः३० को अलार्म लगाएँ।

कति सुत्नु थियो ? के सुत्नु थियो र अब ? ७ बजे त एयरपोर्ट पुग्नु छ । श्रीमतीजी सुतिन्, निदाइन् पनि। म यसो नेट हेर्दै थिएँ। भुसुक्क निदाएछु। अलार्मले ब्युँझायो बिहान। राता राता आँखालाई बाथरुममा गएर सेता बनाउने कोसिस गरें।

ह्वार्र नुहाएँ। पुरुजीलाई फोन गरी उठाएँ । उहाँ तयार भइसक्नुभएको रहेछ। हतार हतार प्याक भइसकेको झोला टिपेर हामी निस्कियौं। पुरुजी, लबीमा आइसक्नुभएको रहेछ । चेकआउट काउण्टरले ट्याक्सी बोलाउन सहयोग गर्‍यो। हामीले चेक आउट भयो।

होटलबाट ट्याक्सीले एयरपोर्ट पुर्‍याइदियो, त्यहाँबाट हवाइ जहाजले वाशिङ्टन डिसी। यो पार्चुगलको पोर्तो शहरको भ्रमण र हाम्रो बस यात्राको संस्मरणको कथा हो । यसरी केही मिठा केही तीता अनुभव रहे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *