पाकिस्तानको बलुचिस्तानमा रहेको नौसेना एयर बेसमा आक्रमणको प्रयास
काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको तुर्बातमा अतिवादी हमला भएको छ । यो क्षेत्र इरानसँग सीमा जोडिएको छ।
मकरन डिभिजनका कमिश्नर सईद इमरानीले यसको पुष्टि गर्दै सोमबार राति एयरपोर्ट नजिकै हमला भएको बताए।
उनले बीबीसीलाई भनेअनुसार चार देखि छ जना आक्रमणकारीले तीन स्थानबाट एयरपोर्टलाई निशाना बनाए तर नौसेनाको एयरबेसमा पुग्न सकेनन्।
क्वेटाका एक वरिष्ठ अधिकारीले भनेअनुसार आक्रमणकारीहरू आम जनताको बाटो हुँदै तुर्बत एयरपोर्टमा प्रवेश गरेका थिए तर सुरक्षा बलहरूले उनीहरूको षड्यन्त्र विफल पारे र उनीहरूलाई अगाडि बढ्नबाट रोके।
प्रतिबन्धित चरमपन्थी संगठन बीएलएको माजिद ब्रिगेडले यस हमलाको जिम्मेवारी लिएको छ।
एक साताभित्र बलुचिस्तानमा यस चरमपन्थी संगठनले गरेको यो दोस्रो आक्रमण हो। यसअघि ग्वादर जिल्लामा बन्दरगाह प्राधिकरण कम्प्लेक्समा आक्रमण भएको थियो ।
विज्ञप्तिमा यस संस्थाका प्रवक्ताले आफ्ना सदस्यहरू तुर्बतस्थित नौसेना एयर बेसमा प्रवेश गरेको दाबी गरेका छन् ।
यहाँ वरपरका मानिसहरूले बीबीसीलाई बताए कि उनीहरूले सोमबार राति करिब १० बजे पहिलो पटक विस्फोटको आवाज सुने। त्यसपछि गोली चलेको आवाज आउन थाल्यो ।
तुर्बत विमानस्थल नजिकै बसोबास गर्ने एक व्यक्तिले बीबीसीलाई फोनमा भने, ‘करिब ४५ मिनेटसम्म विस्फोट र गोली चलेको आवाज आएको थियो।’ ती व्यक्तिका अनुसार राति ११ बजेतिर केही बेर शान्ति थियो तर त्यसपछि दुई–तीनवटा विस्फोटको आवाज सुनियो ।
राति अबेर फेरि उक्त व्यक्तिसँग सम्पर्क गर्दा उनले करिब १ बजे गोली चलेको र हेलिकप्टरको आवाज आउन थालेको बताए ।
राति ३ बजेदेखि विमानस्थलमा गोली हानाहान सुरु भएको यस क्षेत्रका बासिन्दाले बताएका छन् । सेनाका अधिकारीहरूले यस आक्रमणको बारेमा जानकारी दिएका छैनन्।
Facebook Comment