आसियन बैठक चलिरहेकै बेला बैंककमा श्रृंखलावद्ध बम विष्फोट

डिसी नेपाल
१७ साउन २०७६ १८:२८

बैंकक (रासस/एएफपी) । दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को मन्त्रीस्तरीय बैठक जारी रहेकै बखत थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार शृङ्खलाबद्ध बम बिस्फोट भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसमेत सहभागी यस बैठकमा आसियानका सदस्य राष्ट्रका मन्त्रीहरु सहभागी छन् । कम क्षमताका पछिल्ला विस्फोटहरुबाट तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

राजनीतिक हिंसाको इतिहासबाट चर्चामा रहेको थाइल्यान्डमा गत मार्चमा सम्पन्न विवादास्पद आम चुनावबाट थाइल्यान्डको जनजीवन अझै नराम्रोसँग विभाजित भएको छ । प्रधानमन्त्री प्रयुत चान–ओ–चाले बम विस्फोटका घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न आदेश दिएका छन् । प्रधानमन्त्रीकी प्रवक्ता नारुमोन पिन्योसिनवातले मुलुकको सुरक्षा व्यवस्थालाई कडा बनाइएको र आम जनतालाई भयभित नहुन आग्रह गरेका छन् । टेबल टेनिस बल आकारका साना बिस्फोटक वस्तु राजधानीका विभिन्न स्थानमा एकै साथ विस्फोट गराइएका थिए । यी विस्फोटहरु ठूलो क्षति पु¥याउन नगरिएको बरु सरकारविरुद्ध सांकेतिक विरोध गर्न चाहेको देखिएको छ ।

राजधानी बैंककको माहानाकोर्न टावरको वरपर बम निस्कृय तुल्याउने उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्थानीय सुरक्षा निकायका अनुसार कम्तीमा यस टावरको वरपर तीन वटा बिस्फोट भएका थिए । यी विस्फोटहरु अमेरिकी विदेशमन्त्री पोम्पेओले आफ्नो मुख्य सम्बोधन गर्नुअघि भएका थिए । विदेशमन्त्री पोम्पेओले थाइल्यान्डले आफूलाई लोकतान्त्रिक पद्धतिमा पुनः स्थापित गरेकामा थाई सरकारको प्रशंसा गरेका थिए ।

इल्यान्ड सरकारले वम आक्रमणको उद्देश्यमाथि जथाभावी अनुमान नगर्न आग्रह गरेको छ । उपप्रधानमन्त्री प्रवित वोङसुवोनले संवाददाताहरुसँग कुरा गर्दै यस कार्यमा के कति व्यक्ति संलग्न थिए भन्ने अझै थाहा भइनसकेको जानकारी दिए ।

थाइल्यान्डले यसअघि अन्तिम पटक सन् २००९ मा आयोजना गरेको आसियानको शिखर बैठक पनि हिंसात्मक विरोध प्रदर्शनका कारण ओझेलमा परेको थियो । त्यसबखत लोकतन्त्र पक्षधर राता कपडा लगाएका प्रदर्शनकारीले स्वतन्त्र चुनावमा माग गर्दै शिखर बैठक आयोजना स्थलका ढोका तोडफोड गरी सभाहलभित्र प्रवेश गरेका थिए । उक्त घटनामा सदस्य मुलुकका नेताहरुलाई थाई सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *