एक वर्षमा देशभर ५९ हजार ६१ उजुरी

डिसी नेपाल
१५ चैत २०८० १६:११

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो एक वर्षमा देशभर ५९ हजार ६१ उजुरी परेको जनाएको छ।

पछिल्लो एक वर्षमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरुका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले १ वर्षको अवधिमा ५९ हजार भन्दा धेरै उजुरी परेको जानकारी दिएका हुन्। सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १७ हजार ३ सय ९७ मुद्दा र सबै भन्दा कम कर्णाली प्रदेशमा १ हजार ९ सय ६५ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

दर्ता भएका उजुरीमध्ये सबै भन्दा बढि बैंकिङ कसुर मुद्दामा १३ हजार २ सय ७७ उजुरी दर्ता भएको प्रवक्ता ढकालले बताए। सोही अवधिमा १३ हजार १ सय २२ जना फरार अपराधीहरुलाई नियन्त्रणमा लिई सजायको लागि सम्बन्धित अदालतमा पेश गरिएको उनले जानकारी दिए।

त्यस्तै नेपालमा अपराध गरि विदेश गई लुकेका १३ जना फरार अपराधीहरुलाई इन्टरपोलमार्फत पक्राउ गरि नेपाल ल्याइएको र १२ जनालाई रेडकर्नर नोटिस र एक जनालाइ डिफ्युजन नोटिस जारी गरिएको प्रहरीले जनाएको छ। त्यस्तै राजस्व सँकलनतर्फ ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार १ सय ७८ रुपैयाँ जम्मा भएको प्रहरी प्रवक्ता ढकालले बताए।

नेपाल प्रहरीमा हाल ७९ हजार ५ सय ४१ मध्ये ७६ हजार २ सय ५२ जनशक्ति कार्यरत रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *