चावहिल-साँखुखण्डको सडक स्तरोन्नति गर्न साँखुवासीको माग

डिसी नेपाल
१७ साउन २०७६ २३:३६

साँखु । काठमाडौँको चावहिल–साँखुखण्डको सडक स्तरोन्नति गर्नुपर्ने माग राख्दै साँखुवासीले नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन्।

साँखु जोरपाटी शङ्खरापुर सडक सरोकार समितिद्वारा आज नगरपालिकाका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठमार्फत प्रमुख सुवर्ण श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालाई पत्रमार्फत ध्यानाकर्षण गराइएको हो।

चावहिल साँखु सडकखण्डको तत्काल स्तरोन्नति एवं बाटो सुधारको माग राख्दै जनप्रतिनिधिको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाइएको समितिका अध्यक्ष मिलन खड्काले बताए।

लामो समयदेखि शङ्खरापुरअन्तर्गत पर्ने चावहिल–साँखु सडकखण्ड र यसका शाखा सडक ज्यादै दयनीय एवं अस्तव्यस्त अवस्थामा रहेकाले सडकको सुधार गर्नुपर्ने मुख्य माग रहेको स्थानीयवासी बताउँछन्।

पैदलयात्रु तथा सवारीसाधनलाई निकै कष्ट हुने सो सडकखण्डमा यात्रा गर्न निकै सास्ती खेप्नु परेको यात्रुको गुनासो छ। समितिले तत्काल सडकको मर्मत तथा स्तरोन्नति गर्न ध्यानार्कषण गराउनलाई समितिनै गठन गरेर अगाडि बढेको जानकारी दिएको छ।

साउन मसान्तभित्र मूल सडकसहित शाखा सडकको सुधार गर्न र सहज आवागमनको व्यवस्था मिलाउन राज्यका सम्बन्धित निकायमा पहल गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको समितिका सदस्य सन्तोष चौलागाईले जानकारी दिए।

साउन मसान्तसम्म सडक सुधारका कार्य गर्न गराउन उल्लेखनीय भूमिकासहित फिल्ड अनुगमनमा नगए जनदबाबका लागि शृङ्खलाबद्ध आन्दोलनका गतिविधि ल्याउन बाध्य हुने उनले बताए।

साथै प्रदेशसभा सदस्य मणिराम फुयाँल, सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेत ध्यानाकर्षण गराउने कार्यक्रम रहेको समितिले जनाएको छ।

सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्म सडक २२ मिटर चौडा गरी चार लेनको बनाउने योजना ल्याएको थियो। योजनाअनुसार काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *