देशको रक्षा सर्वोच्च प्राथमिकता

डिसी नेपाल
१९ चैत २०८० ७:२४

पृथ्वीनारायण शाह एकैपल्ट राजा र सिपाही हुन्। उनी राजा थिए दरबारमा सँगसँगै युद्ध मैदानमा पनि थिए ढाल र तरबारमा। उनी एकैपल्ट राजा र सेना भएर अथवा कमाण्डर र सिपाही भएर युद्धको मैदानमा लडेका सिपाही राजा हुन्।

तेसैले उनको सेना र सुरक्षा सम्बन्धिका नीति विचार व्यवहारबाट खारिएर आएका छन्। उनले सेना र सुरक्षा सम्बन्धि नीति बनाउँदा नेपालको भूगोल पनि हेरेका छन्, इतिहास पनि हेरेका छन्, वर्तमान पनि हेरेका छन् जातीय उपस्थिति पनि हेरेका छन्।

उनले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति पनि हेरेका छन् र प्राविधिक पक्ष पनि हेरेका छन्। देशको रक्षा उनको जहिल्यै पहिलो प्राथमिकतामा छ। त्यसैले चुस्त दुरुस्ता सैनिक शक्ति पृथ्वीनारायणको जहिल्यै महत्वमा छ।

पृथ्वीनारायण शाह विचारक संगठक मात्र थिएनन् उनी उच्च मनोवल भएका योद्धा पनि थिए। त्यसैले उनले राष्ट्रिय सुरक्षाका लागि सेना र किल्लालाई उच्च प्राथमिकता र महत्व दिएका थिए। सामारिक हिसाबले नेपालको भौगोलिक अवस्थालाई उनले गहिरिएर हेरेका थिए।

प्राविधिक हिसाबले सेनाका ब्यारेक अथवा किल्ला आदि राख्ने स्थानको पनि सुक्ष्म अध्ययन गरेका थिए। एककिसिमले पृथ्वीनारायण शाह प्रविधिक,सैद्धान्तिक तथा व्यवहारिक हिसबका योग्य रक्षा विज्ञ पनि थिए भन्दा अत्युक्त देखिँदैन। उनले सुरक्षा सम्बन्धिको विशेषज्ञता पढेर भन्दा परेर हासिल गरेका थिए।

उनको रक्षा विश्वविद्यालय भनेकै युद्ध मैदान थियो। उनमा सैद्धान्तिक भन्दा व्यवहारिक ज्ञान बढी थियो। यही ज्ञानमाथि उभिएर उनले नेपालको सुरक्षा खातिर सेना र किल्ला सम्बन्धि निर्देशन विचार अधि सारेका छन्। यसलाई देशको सुरक्षा र सुरक्षा अंग सम्बन्धिको पृथ्वीविचार भनेर सम्झनु र बुझ्नु पर्दछ।

यो राष्ट्रनिर्माताको राष्ट्रप्रतिको चिन्ता,चासो र दाइत्वको अभिव्यक्ति पनि हो। नेपालका बहादुर योद्धा, देशभक्त सेना र जनताप्रति श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ठूलो भरोषा र विश्वास भएको देखिन्छ।

प्रकृतिप्रदत्त सामारिक हिसावका उपयुक्त तथा रणनीतिक हिसाबले उत्कृष्ट ठहर्ने अग्ला डाँडा र किल्लाहरुमा पनि उनको त्यतिकै भरोषा भएको पाइन्छ। सुरक्षा फौजलाई जहिले पनि चुस्त–दुरुस्त राख्नुपर्ने पृथ्वीनारायणको मान्यता नै सुरक्षा सम्बन्धी पृथ्वीविचार हो। सेना विचारको हिसावले देशभक्त हुनुपर्दछ।

उ उच्च मनोवलको कुसल लडाकु हुनुपर्छ र उत्कृष्ट हतियारले सुसज्ति हुनुपर्छ। सारमा शारीरिक, मानसिक प्राविधक तथा शस्त्रजन्य हिसाबले उ अब्बल सेना हुनुपर्दछ। अर्थात् नेपालको सेना संसारको सबै सेना भन्दा सबै किसिमले उत्कृष्ट सेना लडाइको मैदानमा प्रमाणित गर्नुपर्दछ भन्ने मान्यता पृथ्वीनारायण शाहको हो।

नेपालको सुरक्षाफौजलाई सबै किसिमले बलियो बनाउनु पर्दछ भन्ने उनको विचारलाई अथवा उनको निर्देशनलाई नेपाल सरकारले, रक्षा मन्त्रालयले र प्रधानसेनापति समेतले सुरक्षा निर्देशन र सुरक्षा नीति- विचारको रुपमा लिनुपर्दछ।

नेपाल राष्ट्रनिर्माणको अभियानताका नै पृथ्वीनारायण शाहले आधुनिक नेपाली सेनाको संगठनलाई नयाँ उचाइबाट स्थापित र विकसित गरेको हुनाले पृथ्वीनारायण शाह नेपाली सेनाको परमआदरणीय नेता भएकोले पृथ्वीविचार नेपाली सेनाको लागि निर्देशक विचार हुनु त्यतिकै स्वभाविक हो।

कस्तो ठाउँमा सेनाको किल्ला बनाउने, कस्तो ठाउँमा सेनाको ब्यारेक राख्ने, सेनाको कस्तो संगठानात्मक संरचना बनाउने, सेनालाई विचार-आचार र हतियार र तालिमले कसरी उत्कृष्ट व्यवसायिक सेना बनाउने,उनीहरुलाई दिने सेवा सुविधा लगायत अन्य कुराले उनीहरुको मनोबल कसरी उच्च बनाइरहने भन्ने उपाया र सबै योजना पृथ्वीविचारले अघि सारेको छ। अगाडि उनको भनाइले यी कुराको पुष्टि गर्दछ।

‘यो नेपाल तषत किल्ला हो, यो किल्लाँ पायो भन्या चारै बादशाहलाई वहाला लाउनैछ, इश्वरले रचना गरेको किल्ला रहेछ स्वधनु पर्ने रहेन छ, शिवपुरी १, फुल्चोक २, चन्द्रागिरी ३ महादेउ पोखरी४, पालुं ५, दाप्चा ६ र काहुल्या ७ ईनमा पनि किल्ला पक्की बनाउनु, किल्लापिछे तोप लमछट गरी राषिदिनु र जति भन्ज्यां ई छन् भन्ज्यांपिछे यक यक फलामे ढोका बनाई ढोकापिछे यक यक तोप लमछट गरी राषिदिनु र पापाँच सिपाही राषिदिनु र यस्व भयापछि चेवा गन्र्या चर्चा गन्र्या भगन्या नास्न्या ढुकुवा फसादी षुनी यस्ताहरुको पनि केही चल्ने छैन। चारै बादशाही चढाई गरी आयो भन्या पनि भन्या पनि कसैको केही चलन्या रहेनछ’।

यसबाट देखिन्छ राष्ट्रिय सुरक्षाको विषयमा पृथ्वीनारायण शाह कति संवेदनशील र गम्भीर रहेछन्। पृथ्वीनारायण शाह कति उच्च मनोवलका रहेछन् भन्ने कुरा यो भनाइले पनि प्रमाण्ति गर्दछ। यी भनाइ उनी विरामीले थला परेको र उनलाई आफ्नो मृत्यु निकट भएको आभाष भएको बेलाका हुन्।

तर यस्तो बेलामा पनि अजेय राजा,सेनापति युद्ध मैदानका सिपाहीराजा समेतको व्याक्ति र व्याक्तित्व पृथ्वीनारायणमा कहीँ कतै पनि निराशाको लेस पनि देखिँदैन। उनले भने अनुसार किल्ला, सेना, हतियार र मनाबल भएमा चारै वादशाह आए पनि केही लाग्दैन भनेर उनको वीर गोर्खाली मनोवल भावी पुस्तामा हस्तान्तरण गर्दछन्।

उनी प्राविधिक हिसावले पनि दक्ष रणनीतिकार देखिन्छन्। उच्च स्थानमा सेनाको किल्ला, ब्यारेक तलिम प्राप्त सेना र अत्याधुनिक हतियार सहित राखिनु पर्दछ भनेर आफूलाई सैन्य विज्ञको रुपमा पनि प्रस्तुत गरेका छन्। पृथ्वीविचारले राष्ट्रिय सुरक्षा खातिर सुदृढ सैन्यशक्तिको आवश्यकतालाई निर्देशन गरेको छ।

सेना अर्थात सुरक्षा अंगको छनोट तथा गठन गर्दा जिम्मेवारी राम्रोसँग निर्वाह गर्न सक्ने योग्यता तथा क्षमता भएकाहरु छनोटमा पर्नु पर्दछ भन्ने पृथ्वीनारायण शाहको निर्देशनले सेनाको गुणस्तर र छनोटमा इमान्दारीमा स्पस्टसँग जोड दिएको पाइन्छ।

पृष्ठभूमि र कामको मूल्यांकनको आधारमा नियुक्ति हुनुपर्छ भनेर सेनाको अर्थात् सबै सुरक्षा अंगको गुणस्तरमा पृथ्वीनारायणले सम्झौता गर्न नहुने निर्देशन दिएका छन्। राष्ट्रिय सुरक्षा अंगमा अवान्छित तत्वको घुसपैठ नहोस् भन्ने विषयमा सधै चनाखो भइरहनु पर्ने कुरामा पृथ्वीनारायण शाहले पृथ्वीविचारमार्फत सबैलाई सचेत गराएका छन्। यो उनको निम्न भनाइले पुष्टि गर्दछ।

“पजनी गर्दामा पनि सये नालका कम्पनी जमाउनु र सये नालका सुबेदार चार, पाँच लडाञीमा जस पाई आयाका यस्ता आपूmले जाँची सुबेदार हाल्नु, सुबेदारले पनि सातपगरी दुई चार बाड खाएका यस्ता सातपगरी हाल्नु, सातपगरीले स्वह्र हुँदा हाल्दा आफूसित मर्ने मान्र्या जाँची १६ हुदा हाल्नु,१६ हुदाले आफूसित मर्ने मान्र्य जाँची सिपाही हाली आफ्ना आफ्नापट्टी भर्ना गर्नु”। सेना सम्बन्धीको यो पृथ्वीविचार आफैंमा चेन अफ कमाण्ड र चेन अफ क्वालिटी हो। र अधिकारको प्रत्यायोजन र विकेन्द्रीकरण पनि हो।

सुरक्षा संगठन अहिले पनि चुस्त, दुरुस्त र भरपर्दो हुनुपर्छ भन्ने पृथ्वीविचार नेपालको लागि मात्र होइन विश्वव्यापी सच्चाई हो। सुरक्षा अंगमा सकेसम्म सबै जातजातिहरुले स्थान पाउनुपर्छ तर सबै सैनिक क्षेत्रमा काम गर्न सक्ने क्षमता राख्ने जातजातिलाई प्राथमिकता दिन भने विलकुल बिर्सिनु हुँदैन भन्ने पृथ्वीको निर्देशक विचार आधुनिक सैनिक संगठन संरचना बनाउनका निम्ति बलियो आधार हुनसक्छ।

सेनाको परिवारलाई हेरविचार पुर्‍याउनु र लडाईमा उनीहरुको मृत्यु भएमा उनका सन्तानहरुलाई जागिर दिनु भन्ने पृथ्वीनारायणको निर्देशनात्मक विचार आफैमा सैनिक परिवारको लागि विश्वास, सम्मान, र विवेकमा आधारित नीति हो।

उनले सेनालाई तिखारिरहनु भनेका थिए जो अहिले बारम्बार तालिममा अभिव्यक्त भइरहेको छ। अर्थात त्यसको निरन्तरता छ। जनसाधरणसँग राम्रो सम्बन्ध भएको र आवश्यक हतियारले सुसज्ति भएको देशभक्त नेपाली सेनाप्रति बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ठूलो विश्वास भरोषा भएको पाइन्छ उनको हर अभिव्यक्तिमा।

उदाहरणको लागि उनको यो आत्मविश्वासी कथनलाई हेरौं -“वैरि त क्या इन्द्रको आसन पनि डगाइ छ हजारौं धना हजारौं पथर्काला हजरौं खुडा हजारौं तोप भया इन्द्रको आसन पनि डगाइन्छ”।

यस अभिव्यक्ति माथि उभिएर के घोषणा गर्न सकिन्छ भने पृथ्वीनारायणको अर्को नाम आत्मविश्वासनारायण पनि हो। उनलाई यो अभिव्यक्ति दिने सबै हक छ किनभने नेपाल भन्दा सयौगुणा शक्तिशाली अंग्रेजलाई सिन्धुलीमा हराएर देखाएका छन् उनका बहादुर गोर्खाली फौजले।

प्रजा मोटा भया दरबार बलियो रहन्छ भन्ने भन्ने पृथ्वीविचार नेपालको सबभन्दा बलियो सुरक्षा कवच हो। प्रजाको व्यापक परिभाषाभित्र सेना पनि पर्दछन्। सबै तप्का,वर्ग र क्षेत्रका जनता पनि पर्दछन्।

बलियो दरबारको सार भनेको नै बलियो नेपाल हो। नेपाल भन्दा ठूलो अर्को कुनै दरबार छैन नेपालीको। नेपाली जनताको दरबार पनि नेपाल हो र घरबार पनि नेपाल नै हो। जनता र सेनाको देशभक्तिको विशाल दरबारभन्दा बलियो सुरक्षाको कुनै तरबार छैन नेपालमा अर्को। त्यसैले पृथ्वीविचार नेपाल र नेपालीको सुरक्षा पनि हो समृध्दि पन हो भविश्य पनि हो र सारमा सबैथोक हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *