तेन्जिङका दाजु जिग्मे भन्छन्-युवन्तिकाले मृत्यु दर्ता भनेर नाता प्रमाणित गराइछन्

डिसी नेपाल
१८ चैत २०८० १४:०६

काठमाडौं। झुटो विवरणका आधारमा नागरिकता बनाएको भन्दै जिल्ला अदालत चितवनमा मुद्दा खेपिरहेकी ट्रेकिङ पेशामा संलग्न युवती युवन्तिका तामाङले आफ्नो नागरिकताको विवरण मात्र नभइ आफ्नो वैवाहिक सम्बन्धका कागजातमा पनि किर्ते गरेको आरोप लागेको छ।

उनले आफूसँग चिनजान भएका युवाको मृत्यु भएपछि उनका परिवारलाई झुक्याएर नाता प्रमाणित प्रयोजनका लागि बनाइएको कागजातमा हस्ताक्षर गर्न लगाएको मृतक युवाका परिवारले आरोप लगाएका छन्। युवन्तिकाले आफू ताप्लेजुङका युवा तेन्जिङ शेर्पाको पत्नी भएको दावी गरिरहेकी छिन्। तेन्जिङको मृत्यु भइसकेको छ।

युवन्तिकाले आफू तेन्जिङकी पत्नी भएको दावी गर्दै उनको परिवारले संचालन गरिरहेको कम्पनी हिमालय एड्भेन्चर प्रा.लि. र उनको परिवारसँग अंश, क्षतिपूर्ति, बिमा रकम लगायत विभिन्न माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकी छिन्।

२०७९ असोज ५ मा कपनमा रहेको कम्पनीमा आगलागी भएको थियो। आगलागीमा कम्पनीका संचालक मिङ्मा ग्याबु शेर्पाका सहोदर भाइ तेन्जिङ शेर्पासहित ३ जनाको मृत्यु भएको थियो। मिङमा ग्याबु शेर्पा पछिल्लो समय मिङमा डेभिड शेर्पाका नामले प्रसिद्ध पर्वतारोही हुन्।

घटनाको करिब डेढ महिनापछि युवन्तिकाले शेर्पाको पुर्ख्यौली गाउँ ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ६ मा तेन्जिङको मृत्यु दर्ता गराउने क्रममा उनले फर्जी नाता प्रमाणित कागजातमा पनि हस्ताक्षर गराएकी थिइन्।

मृतक तेन्जिङका दाजु जिग्मे चिण्डुक शेर्पासहित अन्य ५ जनाको सनाखतका आधारमा वडा कार्यालयमा तेन्जिङको मृत्यु दर्ता प्रमाणपत्रमा पत्नीको रुपमा युवन्तिकाको नाम लेखिएको थियो। तर, सो सनाखत प्रयोजनको कागजमा आफूहरुलाई झुक्याएर सहीछाप गराइएको मृतकका दाजु बताउँछन्।

मृतकका दाजुका अनुसार उनी त्यतिबेला मृतकको नागरिकता समेत बोकेर ताप्लेजुङ पुगेकी थिइन्। उनले मृत्यु दर्ता र बीमा प्रयोजनका लागि भनेर केही कागजातहरुमा हस्ताक्षर गर्न लगाइन्।

‘माथिबाट मृत्यु दर्ताको कागज थियो’ मृतकका दाजु सम्झन्छन् ‘त्यसको तलपट्टि नाता प्रमाणित लगायतका कागजहर राखिएको रहेछ सबैमा पालैपालो हस्ताक्षर गराइन्।’

तलपट्टिका कागजातमा कस्तो व्ष्होरा लेखिएको थियो भन्ने आफूहरुलाई जानकारी नदिइएको उनले बताए। लेखपढ गर्न असक्षम मृतकका दाजुले आफूलाई यो कागज के हो भन्ने थाहा नभएको बताए। उनले सहीछापको रुपमा औंठाछाप लगाएका छन्। अन्य साक्षीहरुले पनि आफूहरुलाई ललाइफकाइ गरिएको बताउँछन्।

मृतककी बहिनीलाई पनि कागजातमा हस्ताक्षर गराइएको छ। दाजु जिग्मे चिण्डुकका अनुसार बहिनीलाई पनि झुक्याएर हस्ताक्षर गराइएको हो। उनले युवन्तिकाले आफ्ना भाइविरुद्ध अंश मुद्दा दायर भएपछि मात्रै आफूलाई कागजमा हस्ताक्षर गर्ने क्रममा झुक्याइएको थाहा पाएको बताउँछन्।

नाता प्रमाणित गर्ने क्रममा सनाखत गर्ने अन्य तीन जनाको नागरिकता वडा अध्यक्षले आफ्नै कम्प्युटरबाट प्रिन्ट गरेर निकालेको उनले बताए। मृत्यु दर्ताबाहेक अन्य कागजात पनि छन् भन्ने बारेमा वडा अध्यक्षले पनि नबताएको उनले बताए। त्यहाँबाट फर्कने क्रममा युवन्तिकाले गाउँलेले सहयोग स्वरुप चन्दा उठाएको ९० हजार रुपैयाँ पनि लिएर हिँडेको उनले बताए।

यही नाता प्रमाणितका आधारमा युवन्तिकाले आफूलाई मृतक तेन्जिङकी पत्नी दावी गर्दै काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी छिन्। यसका साथै उनले अन्य विभिन्न निकायमा समेत मुद्दा दर्ता गरेकी छिन्।

युवन्तिकाले आफूलाई मृतक तेन्जिङको पत्नी दाबी गरे पनि उनले आफूलाई ‘युवन्तिका तामाङ’को रुपमा नै प्रमाणित गर्न सकेकी छैनन्। एउटा मुद्दाको आदेशमा चितवन जिल्ला अदालतले उनी ‘युवन्तिका तामाङ’ नभइ ‘युवन्तिका राई’ भएको उल्लेख गरेको छ। यो मुद्दामा अन्तिम फैसला भने आउन बाँकी छ।

युवन्तिकाले चितवन जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा आफूहरुलाई जन्म दिने मातापिताको रुपमा बताएर आफूहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेत पेश गरेको तर वास्तवमा युवन्तिका आफूहरुकी छोरी नभएको भन्दै चितवनका छविलाल तामाङ र लक्ष्मी तामाङको उजुरीका आधारमा चलेको मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ‘युवन्तिका राई’को रुपमा अभिलेख गरेको छ।

अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा ‘प्रतिवादीले कसूर गरेको मान्न सकिने’ ठहर गर्दै उनलाई डेढ लाख रुपैयाँ धरौटीमा छोडेको छ। राईले झुठ्ठा विवरश पेश गरी वंशजको नागरिकता लिएको भन्दै जाहेरी परेपछि सो आधारमा अघि बढेको मुद्दामा जिल्ला अदालत चितवनले २०७९ फागुन १० गते यस्तो आदेश गरेको थियो।

अदालतले पहिलो पेशीमै ‘प्रतिवादीले कसूर गरेको मान्न सकिने मनासिब आधार रहेको’ ठहर गरेको भए पनि त्यसको एक वर्ष बितिसक्दा पनि अन्तिम फैसला भने आउन सकेको छैन। केही प्रतिवादीहरु फरार रहेको र केही धरौटी बुझाएर तारेखमा रहेको हुँदा यसको अन्तिम फैसलामा ढिलाइ भइरहेको छ।

अन्तिम फैसला हुन बाँकी हुँदा युवन्तिकाले जिल्ला प्रशासन कार्यालय चितवनबाट लिएको नागरिकता खारेज भइसकेको छैन। र, उनले सोही नागरिकताको प्रयोग गरेर विभिन्न निकायमा उजुरी गर्दै हिँडेकी छिन्। काठमाडौं जिल्ला अदालतमा हालेको अंश मुद्दादेखि पर्यटन विभाग, सामाजिक सुरक्षा कोष लगायतका निकायमा गरेका उजुरीमा यही नागरिकता प्रयोग गरेकी छिन्।

उनले यही नागरिकताका आधारमा गाइडको रुपमा सगरमाथा लगायतका हिमालको आरोहण गर्ने गरेकी छिन्। विदेशी पर्वतारोहीको टोलीलाई लिएर जाने यस्ता गाइडहरुका लागि पर्यटन विभागले लाइसेन्स जारी गर्छ। युवन्तिकाले यो लाइसेन्स पनि यही नागरिकताका आधारमा लिएकी छिन्।

पर्वतारोहणमा पनि नेपाली नागरिकलाई विशेष सुविधा दिइन्छ। युवन्तिकाले अदालतबाटै ‘फर्जी ठहर हुन सक्ने मनासिब आधार रहेको’ भनिएको नागरिकताका आधारमा यी सुविधा पनि लिइरहेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *