एनसेलले गर्‍याे लुम्बिनी र बागमती प्रदेशमा फोरजी सुधार

डिसी नेपाल
२३ चैत २०८० ७:३०

काठमाडौं। आफ्नो सेवाको निरन्तर गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले लुम्बिनी र बाग्मती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवामा सुधार गरेको छ।

यो सुधारले यी क्षेत्रका सात जिल्लाका एक दर्जनभन्दा बढी स्थानका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको छ।

एनसेलले फोरजी सेवा सुदृढ गरेका स्थानमा बागमती प्रदेशको चौतारा साँगाचोक गढी, इन्द्रसरोवर, मन्थली र थाहा पर्छन्। त्यस्तै लुम्बिनी प्रदेशका भुमेकास्थान, चन्द्रकोट, मालारानी, माथागढी, प्युठान, रम्भा, सन्धिखर्क, तानसेन र तिनाउमा सेवा सुधार गरिएको छ।

यसअघि एनसेलले लुम्बिनी प्रदेशको बुटवल, देवदह, घोराही, लुम्बिनी विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरेको थियो।

फोरजी सेवा विस्तार गरी आधुनिक मोबाइल ब्रोडब्यान्डमा सहज पहुँच सुनिश्चित गराउने प्रतिबद्धताअनुरुप एनसेलले गत माघमा मधेस र गण्डकी प्रदेशमा पनि आफ्नो फोरजी सेवामा थप सुधार गरेको थियो।

देशका विभिन्न भागमा विस्तारित फोरजी सेवालाई सुधार गर्न कम्पनी प्रतिबद्ध रहेको छ। सेवा विस्तार र नेटवर्क सुधारसँगै एनसेलले ग्राहकले सुलभ दरमा मोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न आकर्षक अफरहरू पनि ल्याइरहेको छ।

कम्पनीले तीन वटा डबल मजा प्याकहरू संचालनमा रहेका छन्। रु १५० मा सुरु हुने यो प्याकमा ग्राहकले प्याकको भ्यालिडिटी समाप्त हुनुअघि फेरी सोही प्याक खरिद गरेमा डबल डेटा बोनस प्राप्तगरी यसको फाइदा लिन सक्छन् ।

त्यस्तै, लोकप्रिय इण्डिया रोमिङ प्याकमा २५ प्रतिशत छुटको विशेष अफर पनि छ । यो अफर अन्तर्गत ग्राहकहरुले अझ सुलभ शुल्कमा भारत भ्रमणको बेलामा सजिलै दूरसञ्चार सेवाबाट फाइदा लिन सक्छन् ।

एनसेलको सेवाहरुमा थप सुधार हुँदै गएको छ र ग्राहकहरूले अनलाइन बैंकिङ कारोबार लगायतका कामहरुका लागि एनसेल नम्बरहरू रोजिरहेका छन् र प्रयोग गरिरहेका छन् ।

विभिन्न सरकारी निकायहरूमा एनसेल नम्बरका साथ आफूलाई दर्ता गराएका छन् र देशभित्र मात्रै नभई विदेशमा रोमिङमा रहँदा पनि एनसेल नम्बरलाई आफ्नो प्राइम नम्बरको रूपमा प्रयोग गर्ने गरेका छन् ।

त्यसैगरी, तराईका दुर्गम स्थानहरु लगायत विकटमा पनि एनसेलको नेटवर्क भएकोले गर्दा साना व्यवसायी तथा खुद्रा विक्रेताहरूले एनसेलको विश्वसनीय नेटवर्क-डेटा सेवाहरू प्रयोग गरेर आफ्ना डिजिटल वालेटमा कारोबारका अलर्टहरू प्राप्त गर्ने गरेका छन् ।

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो र हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको छ र कुल जनसंख्याको ९२ प्रतिशत भन्दा बढि जनतामाझ यो सेवा पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्यांकको आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ । सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *