प्रदेश र स्थानीय तहको समन्वयले संघीयता सबल हुन्छ : मुख्यमन्त्री यादव

डिसी नेपाल
२३ चैत २०८० २१:३१

महेन्द्रनगर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश र नेपाल कानुन समाजको संयुक्त आयोजनमा आज जनकपुरधाममा सम्पन्न प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले सो कुरा बताएका हुन्।

नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि प्रदेश र स्थानीय तहबीचको समन्वयलाई व्याख्या नगरी संघीयतालाई नै कमजोर गर्ने काम गरेकाले संघीयतालाई बलियो पार्न स्थानीय तह र प्रदेश सरकारबीच समन्वय गर्नुको विकल्प नरहेको बताए।

संघीयता मधेसलाई नै चाहिएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले स्थानीय तह र प्रदेश सरकार एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। स्थानीय तहको परिषद् बैठकमा समेत प्रदेशसभा सदस्यहरूलाई प्रतिनिधित्व गराउन आग्रह गर्दै मुख्यमन्त्री यादवले प्रदेशको प्रतिनिधित्व गराइए स्थानीय तहलाई फाइदै हुने बताए।

संघीयताले मधेसको गाउँगाउँसम्म विकासको अनुभूति गराएको दाबी गर्दै मुख्यमन्त्री यादवले विगतका राजतन्त्रदेखि प्रजातन्त्रसम्म मधेसले भोगेको हविगत सबैसामु छर्लंग रहेको बताएका छन्।

कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मधेस सरकारबाट निर्माण भएको कानुन कार्यान्वयनको अवस्था र चुनौती तथा नेपाल कानुन समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यले प्रदेश र स्थानीय तहको समन्वयको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृहमन्त्री राजकुमार लेखीसहितका वक्ताले आ–आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा मधेस सरकारका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, मधेस प्रदेशसभाका सभासद, गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *