कश्मिरमा महबुबाको मिशन मिडनाइट, एउटा पत्रले मच्चियो खलबली

डिसी नेपाल
१८ साउन २०७६ १२:४१

श्रीनगर। भारत प्रशासित जम्मू–कश्मीरमा हाल खलबली बढेको छ । सरकारले सबै पर्यटक तथा अमरनाथ यात्रामा रहेका तिर्थयात्रीलाई कश्मीर छोड्न भनेको छ । जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री तथा पिडिपीकी नेतृ महबुबा मुफ्तीले शुक्रबार राति आफ्नो निवासमा आपतकालीन बैठक गरेकी छन् । बैठकमा जम्मू–कश्मीरका अरु क्षेत्रीय पार्टीका नेता पनि सामेल थिए । जसमा नेशनल कान्फ्रेन्सका फारुक अब्दुल्लाह, पिपुल्स कान्फ्रेन्सका सज्जाद लोन र पिपुल्स मुभमेन्टका शाह फैसल सहभागी थिए ।

बैठकपछि महबुबा मुफ्तीले भनिन्, ‘कश्मीरमा जस्तो हालत बनाइएको छ, यसले यहाँका बासिन्दा डराएका छन् । जस्तो डर आज देखिएको छ, यस्तो यसअघि कहिले देखेकी थिइन ।’

सरकारले कश्मीरको अवस्था सुधार भएको दाबी गरे पनि सुरक्षाकर्मीको संख्या बढाएकोमा मुफ्तीले ध्यानाकर्षण भएको जनाएकी छन् ।

उनले भनेकी छन्, ‘यस्तो हल्ला छ कि सरकारले आर्टिकल ३५ ए र विशेष राज्यको रुपमा जम्मू–कश्मीरलाई बदल्दै छ । इस्लाममा हात जोड्ने इजाजत छैन, तर पनि म प्रधानमन्त्रीसँग हात जोडेर अपिल गर्छु कि यस्तो नगर्नु होस् ।’

जम्मू–कश्मीरका सबै क्षेत्रीय पार्टीका नेताहरुले राज्यका राज्यपाल सत्यपाल मलिकसँग भेटवार्ता गरेर राज्यमा फैलिएको अव्यवस्था र हल्लाहरु रोक्नका लागि अपिल गरेका छन् ।

समाचार संस्था एएनआईका अनुसार राज्यको अवस्था सामान्य रहेको राज्यपालको प्रतिक्रिया रहेको उल्लेख गरेको छ ।

सत्यपाल मलिकले भनेका छन्, ‘सुरक्षा सम्बन्धी सूचना र अरु मुद्दलाई एकसाथ जोडिएकाले विभिन्न अफवाह फैलिएका हुन् । मैले सबै नेतासँग आग्रह गरेको छु कि दुई फरक विषयलाई नमिलाउन आफ्ना कार्यकर्तासँग अपिल गर्नुहोस् । कुनै पनि अफवाहमा ध्यान दिनु पर्ने अवस्था छैन।’

शुक्रबार जम्मू–कश्मीर सरकारले सुरक्षा सम्बन्धी सूचना जारी गर्दै चरमपन्थी आक्रमणको आशंका गर्दै पर्यटक तथा तिर्थयात्रीलाई फिर्ता हुन भनेको थियो । सरकारको यस्तो सूचनापछि कश्मीरमा विभिन्न किसिमका चर्चा सुरु भएका छन् ।

जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले सरकारले पूरै राज्यमा डरको अवस्था सिर्जना गरेको बताएका छन् । उनले ट्वीट गरेर पहलगाम र गुलमर्गबाट सरकारी बसमा राखेर स्थानीयलाई त्यहाँबाट हटाएको बारे प्रश्न गरेका छन् ।

सरकारी सूचनाका कारण कश्मीरको यो वर्षको पर्यटन व्यवसाय पूर्ण रुपले बर्बाद भएको श्रीनगरका मेयर जुनैद अमीज मट्टूले बताएका छन् । सरकारले जम्मू–कश्मीरका जनतालाई पूरे बेवास्ता गरेको उनले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *