माइक्रोसफ्टको चेतावनी– चीनले एआईबाट भारतको निर्वाचन प्रभावित गर्न सक्छ
काठमाडौं। टेक कम्पनी माइक्रोसफ्टले चीनले भारतमा हुने लोकसभा चुनावलाई विथोल्ने प्रयास गर्ने चेतावनी दिएको छ। जनवरीमा ताइवानमा भएको निर्वाचनमा चीनले प्रभाव पारेको आरोप लागेको थियो।
माइक्रोसफ्टको थ्रेट इन्टेलिजेन्स टोलीले चीनले राजनीतिक दलहरूप्रति मतदाताको झुकाव परिवर्तन गर्ने वा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत भ्रमित गर्ने प्रयास गर्ने बताएको छ। उसले चुनावमा चीनको पक्षमा जनमत परिवर्तन गर्न वा चुनावमा चीनको महत्व देखाउन सक्ने खालका सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने बताएको छ।
उत्तर कोरियासँगै चिनियाँ समर्थित साइबर समूहले सन् २०२४ मा हुने धेरै देशको चुनावलाई लक्षित गर्ने समेत माइक्रोसफ्टले जनाएको छ।
सन् २०२४ विश्वको लोकतान्त्रिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण वर्ष साबित हुन गइरहेको छ । यस वर्ष ६३ देशहरुमा राष्ट्रपति र संसदीय चुनाव हुदैँ छ। यस वर्ष विश्वको कुल जनसंख्याको ४९ प्रतिशतले मतदानको अधिकार प्रयोग गर्नेछन्।
माइक्रोसफ्टले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘यस वर्ष विश्वभर विशेषगरी भारत, दक्षिण कोरिया र अमेरिकामा चुनाव हुन लागेको छ। हाम्रो मूल्यांकन चीनले आफ्नो हितलाई फाइदा हुने एआई जेनेरेट गरिएको सामग्री सिर्जना गर्ने र वितरण गर्ने छ।’
एआईबाट सामग्रीको प्रभाव आगामी समयमा ठूलो हुनेछ।
माइक्रोसफ्टले चीनको यो कदमको प्रभाव भविष्यमा बढ्ने चेतावनी दिएको बताएको छ। टेक कम्पनी माइक्रोसफ्टले ताइवानको चुनावलाई प्रभावित पार्न चीनले एआई मार्फत सामाजिक सञ्जालमा गलत सूचना शेयर गरेको बताएको छ। यस अवधिमा चिनियाँ समूहले नेताहरुको नक्कली अडियो र मिम सामाजिक सञ्जालमा भाइरल बनाउन प्रयोग गरियो। केही उम्मेदवारहरूलाई बदनाम गर्ने र मतदाताहरूलाई भ्रमित गर्ने उद्देश्य थियो।
ताइवानको डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीका राष्ट्रपति पदका उम्मेद्वार विलियम लाइ र अन्य ताइवानी अधिकारीहरूका साथै विश्वभरका चिनियाँ विरोधीहरूको एआई–उत्पन्न मिम सिर्जना गरेको माइक्रोसफ्टको आरोप छ। टेक कम्पनीले जनतालाई भ्रममा पार्ने वा प्रभाव पार्ने चीनको प्रयास सफल भएको प्रमाण रहेको बताएको छ। चीनले अमेरिकामा पनि यस्तै गर्ने प्रयास गरेको बताइएको छ।
भारतमा ५४३ लोकसभा सीटहरूको लागि सात चरणहरूमा चुनाव हुनेछ। पहिलो चरणको मतदान अप्रिल १९ र अन्तिम चरणको मतदान जुन १ मा हुनेछ। नतिजा जुन ४ गते आउनेछ।
Facebook Comment