लुम्बिनीका मुख्यमन्त्रीको शपथ आज, आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने

डिसी नेपाल
२५ चैत २०८० ६:२७

दाङ। लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथग्रहण आज हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे शपथग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।

आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने योजना मुख्यमन्त्री महराले बनाएका छन्। केन्द्रीय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

बहुमत पुर्‍याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ। जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरुको विचमा लिखित सहमती भएको खुलेको थियो।

जनता समाजवादीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय सहित शहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिने सम्मको सहमति भएको छ। यसका साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजना पनि छ।

लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सहित दश वटा मन्त्रालय छन्। तर, मन्त्रालयको संख्या १२ सम्म पुर्‍याउने र बाँकी रहेका दलहरुलाई पनि सरकारमा सहभागी गराउने जोड देखिन्छ। एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्री सहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनीतिक दललाई दिनेगरी तयारी गरेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *