बाइडेनले इजिप्ट र कतारलाई पत्र लेख्दै भने- इजरायली बन्धकहरूलाई रिहा गर्न दबाब दिनुहोस्

डिसी नेपाल
२५ चैत २०८० १४:४१

काठमाडौं । इजरायल र हमासबीचको युद्ध सुरू भएको ६ महिना पूरा भएको छ । तर रोकिने कुनै संकेत छैन । गाजामा बढ्दो मानवीय संकटका बीच अमेरिकाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविरामका लागि दबाब दिइरहेको छ । अब अमेरिकी राष्ट्रपति जो बाइडेनले इजिप्ट र कतारका नेताहरूलाई हमासमाथि दबाब दिन आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले शुक्रबार इजिप्ट र कतारका नेताहरूलाई गाजामा युद्धविराम र बन्धकहरूको रिहाइ सम्झौतामा सहमत हुन हमासलाई दबाब दिन आग्रह गरे । यस हप्ताको अन्त्यमा कायरोमा नयाँ चरणको वार्ता अघि बाइडेनले यी देशलाई पत्र लेखेका हुन् । कायरो वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व सीआइए निर्देशक बिल बर्न्सले गर्ने अमेरिकी अधिकारीले बताएका छन् ।

बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले भनेअनुसार बाइडेनले इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसी र कतारका अमिर शेख तमिम बिन हमाद अल-थानीलाई इजरायली बन्धकहरूलाई रिहा गर्ने स्थिति बनाइदिन पहल गर्न पत्र लेखेका छन्।

उनले आफ्नो पत्रमा हमासलाई युद्धविराम सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीले बिहीबार फोनमा पनि कुराकानी गरेका छन् । दुवैले गाजामा उत्पन्न संकटका बारेमा छलफल गरेका थिए ।

नेतान्याहुले हमासलाई हटाउने वाचा गरेका छन् । नेतान्याहुले हमासले बन्धकहरूलाई रिहा नगरेसम्म युद्धविराम नहुने स्पष्ट पारेका छन्। इजरायलले आफ्नो आक्रमण जारी राख्नेछ। किनभने यो हमासको अगाडि घुँडा टेक्नु जस्तै हुनेछ।

सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि गाजामा ३२ हजार ६२३ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ७५ हजार ९२ जना घाइते भएका छन् । इजरायली तथ्याङ्कका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब १२०० मानिस मारिएका थिए जसमा अधिकांश सर्वसाधारण नागरिक थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *