इरानले इजरायलमाथि आक्रमण गर्ने चेतावनी दियो

डिसी नेपाल
२६ चैत २०८० १४:५२

काठमाडौं । इजरायल र इरानबीच तनाव बढ्दै गएको छ । गत हप्ता सिरियामा रहेको इरानी महावाणिज्य दूतावासमा भएको आक्रमणपछि यो तनाव थप बढेको हो । यसैबीच इरानले अब कुनै पनि इजरायली दूतावास सुरक्षित नभएको धम्की दिएको छ ।

इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीका सैन्य सल्लाहकार जनरल रहिम सफावीले भने, ‘अहिले कुनै पनि इजरायली दूतावास सुरक्षित छैन।’

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल कुनै पनि परिस्थितिसँग जुध्न तयार रहेको बताएका छन् । उनले भने, ‘जसले हामीलाई हानी गर्छ वा हानी गर्ने योजना बनाउँछ, उसलाई पनि हानी गर्छौं।’

सिरियाको राजधानी दमास्कसस्थित वाणिज्य दूतावासमा भएको आक्रमणपछि इरान आक्रोशित भएको छ । यस आक्रमणमा दुई इरानी जनरलको पनि मृत्यु भएको थियो । इरानले यस हमलाको लागि इजरायललाई आरोप लगाएको छ।

इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी)का अनुसार यस हमलामा जनरल मोहम्मद रेजा जाहेदी मारिएका छन्। जाहेदी आईआरजीसीको ‘कुड्स फोर्स’ का एक महत्वपूर्ण व्यक्ति थिए।

उनले सन् २०१६ सम्म लेबनान र सिरियामा कुड्स फोर्सको नेतृत्व गरेका थिए। उनी बाहेक जनरल मोहम्मद हादी हाजरियाहिमी र अन्य पाँच अधिकारी पनि यस हमलामा मारिएका थिए।

यस हमलापछि इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीले यस हमलाको यस्तो जवाफ दिइने बताएका थिए । उनले भनेका थिए – इजरायल आफूले गरेको कामको लागि पछुताउनेछ।

इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले यो अन्तर्राष्ट्रिय सम्झौता र कूटनीतिक मान्यताको उल्लङ्घन भएको बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा भएको असफलताका कारण मानसिक सन्तुलन गुमाएको उनले बताए । राष्ट्रपति इब्राहिम रायसीले पनि इरान चुप नबस्ने बताएका छन् ।

यद्यपी इजरायलले यस आक्रमणको बारेमा अहिलेसम्म केही बोलेको छैन । तर त्यसयता इरान र इजरायलबीच युद्धको जोखिम पनि बढेको छ ।

समाचार एजेन्सीका अनुसार इरानको सम्भावित आक्रमणलाई ध्यानमा राख्दै इजरायलले आफ्ना सबै सैनिकको विदा रद्द गरेको छ । यस बाहेक इजरायलले धेरै महत्त्वपूर्ण क्षेत्रमा जीपीएस पनि रोकेको छ। क्षेप्यास्त्र र ड्रोनहरू जीपीएस ब्लकको कारण बाटो अल्मलिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *