चर्चामा पाँचथर नेकपाको जिल्ला नेतृत्व

डिसी नेपाल
३१ साउन २०७५ ६:५७

फिदिम । दुई मुख्य राजनीतिक शक्तिका रुपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गत जेठ पहिलो साता एकीकरण भयो । एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भयो । तर, केन्द्रमा एकीकरण भएको ३ महिना वित्न लाग्दा पनि जिल्लामा दुई पार्टीवीच समायोजन हुन सकेको छैन ।

केन्द्रले प्रदेश, जिल्ला र स्थानीय तहमा समायोजन गर्न सकेको छैन भने पत्रकार बाहेक अन्य भातृ तथा जनवर्गीय संगठनहरुको केन्द्रीय स्तरमा नाम समेत तय हुन सकेको छैन । केन्द्रीय स्तरमा सघन रुपमा जिल्लामा पार्टी समायोजनका विषयमा छलफल चलिरहेको बुझिएको छ । महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले यस विषयमा काम अघि बढाइरहेको छ । प्रदेश तहको नेतृत्वका विषयमा करिब सहमति भइसकेको सञ्चार माध्यमहरुमा सार्वजनिक पनि भइसकेको छ । अव जिल्लामा दुई पार्टी समायोजनका विषयमा कार्यदल र प्रदेश स्तरीय कार्यदल केन्द्रीत भएको वताइएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रको संगठनात्मक रुपमा बलियो उपस्थिति रहेको पाँचथरमा जिल्ला नेतृत्वका विषयमा नेता कार्यकर्ताहरुमा व्यापक बहस चर्चा परिचर्चा भइरहेको छ । जिल्ला अध्यक्षमा मुख्यत तत्कालीन एमालेका अध्यक्ष राजकुमार भण्डारी र माओवादी केन्द्रका इन्चार्ज हर्कबहादुर नेम्वाङ ‘मिक्सो’को नाम चर्चामा छ । यी दुई नेताका अतिरिक्त अन्य नेताहरु पनि जिल्ला अध्यक्षका आकाङ्क्षी नभएका भने होइनन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङले जिल्लाको नेतृत्व र जिल्ला कमिटीका विषयमा छलफल गर्न तत्कालीन दुवै पार्टीका प्रमुखहरु क्रमशः भण्डारी र नेम्वाङ काठमाण्डौँ पुगेको वताए । “जिल्लामा कसरी एकता प्रकृया अघि बढाउने भन्ने विषयमा काठमाण्डौँमा छलफल गर्न तत्कालीन दुई पार्टीका प्रमुखहरु काठमाण्डौँ आउनुभएको छ” नेम्वाङले भने “छलफलपछि कुरा अघि बढ्छ ।”

नेकपाको जिल्लामा १३५ सदस्य रहेको जिल्ला कमिटी बन्ने चर्चा छ । केन्द्रीय सदस्य नेम्वाङले पनि १३५ कै हाराहारीमा सदस्य रहेको जिल्ला कमिटी बन्ने वताए । त्यहाँ तत्कालीन दुई पार्टीबाट कति–कति जनाको प्रतिनिधित्व हुन्छ भन्ने प्रश्नमा नेम्वाङले पार्टी एकता भइसकेकाले यताबाट यति उताबाट यति भन्ने कुरा नहुने दाबी गरे । यद्यपी पाँचथरमा तत्कालीन एमालेले ६० प्रतिशत र तत्कालीन माओवादी केन्द्रले ४० प्रतिशत जिल्ला कमिटीमा स्थान पाउन चर्चा छ ।

जिल्ला कमिटीमा अध्यक्ष र सचिव गरि २ पदाधिकारी र ७ सदस्यीय जिल्ला कार्यालय टिम रहने वताइन्छ । अध्यक्ष र सचिवमा विगतका दुई पार्टीबाट एक/एक जनाले ठाँउ पाउनेछन् ।

मजबुद संगठन भएका कारण तत्कालीन दुबै पार्टीले जिल्ला नेतृत्वमा दाबी गरेका हुन । लामो समय तत्कालीन एमालेमा नेतृत्व तहमा रहेर काम गरेका भण्डारीले एकतापछिको दलको नेतृत्वमा सशक्त दाबी गरिरहेका छन् । तर, समान हैसियतका नेताहरु केन्द्रीय सदस्य र सांसद् भइसक्दा समेत पार्टीबाट लाभको पद पाउन नसकेका नेम्वाङको दाबेदारी पनि भण्डारीको भन्दा कमजोर छैन ।

यसैकारण दुवै नेताहरु लामो समयदेखि काठमाण्डौँ धाइरहेका छन । तर, दुई दाबेदार नेताहरुवीचको सम्बन्ध भने आश्चार्यलाग्दो छ । नेकपाका नेताहरुका अनुसार आफ्नो तत्कालीन पार्टीका नेताहरु भन्दा एक अर्कामा पहिला सम्वाद गर्ने बानी भण्डारी र नेम्वाङको छ । यस कारण अधिवेशन पछिको जिल्ला नेतृत्व, भावी दिनमा हुने निर्वाचनमा टिकट प्राप्ति जस्ता विषयलाई समेत जोड घटाउ गरेर दुई नेताले नेतृत्वका विषयमा समझदारी गर्ने आंकलन पनि नेकपाका नेताहरुले गर्ने गरेका छन् । दुई मध्ये एकले नेतृत्व पाउँदा अर्को स्वतः प्रदेश कमिटीमा पुग्ने कुरा पनि निश्चित छ ।

जनयुद्धबाट आएका नेता कार्यकर्तामाझ लोकप्रिय भएका नेम्वाङ नेकपाको केन्द्रीय सदस्यका बलिया दाबेदारका थिए नै, गत चुनावमा प्रदेश सभामा पार्टीले उम्मेद्वारी नदिँदा उनीसहित धेरै कार्यकर्ताले चित्त दुखाएको थिए । नेम्वाङको दुखेसो जिल्ला अध्यक्षको जिम्मेवारी दिएर मेटिनेमा तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता आशावादी देखिन्छन् ।

फिदिम नगरपालिका प्रमुख पदमा पराजित भएका, लामो समयदेखि पार्टीका लागि योगदान दिएका भण्डारीले नेतृत्व पाउने तत्कालीन एमाले कार्यकर्ता आशावादी देखिएका छन् । तर, तत्कालीन दुबै पार्टीमा दुबै नेतालाई नेतृत्व दिन नहुने भन्दै वहस चलाउने नेताको संख्यामा पनि कमी छैन । अझ आफूलाई सचिव वा कार्यालय टिममा पु¥याउन जिल्लाका दोश्रो र तेश्रो वरियताका नेताहरु केन्द्रमा लविङ गर्नेदेखि जिल्लामै संगठित हुन पनि पछि परेका छैनन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *