सागको तयारी अनुगमन गर्न संसदीय उपसमिति गठन

डिसी नेपाल
१९ साउन २०७६ १२:१६

काठमाडौं। १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता (साग) को तयारीको अनुगमन गर्न संसदीय उपसमिति पनि गठन गरिएको छ। संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रको प्रतिष्ठासँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन ५ सदस्यीय उपसमिति गठन गरेको हो।

सो प्रतियोगिता राष्ट्रको इज्जतसँग जोडिएको विषय भएकाले त्यसलाई तोकिएको समयमा सफलतापूर्वक सम्पन्न हुने गरी तयारी गर्ने कार्यमा सरकारलाई सघाउ पुर्याउने उद्देश्यका साथ समितिका सदस्य जीवनराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्।

उपसमितिका अन्य सदस्यहरुमा नमिताकुमारी चौधरी, गजेन्द्रबहादुर महत, नविना लामा र नारायणप्रसाद मरासिनी रहेका छन्। सो खेलकुद प्रतियोगिता आगामी मंसीर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ। त्यसको तयारीको कामको अनुगमन गरी सरकारलाई आवश्यक निर्देशन दिने कार्यादेश उपसमितिलाई दिइएको समितिकी सभापति घर्तीले बताइन्।

बैठकमा समितिका सदस्यहरुले सो प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडीहरुको तयारीका लागि आवश्यक तालिम, प्रशिक्षणको उचित व्यवस्थापनको काममा तीव्रता दिन सरकारलाई सचेत गराएका थिए। समितिका सदस्य खगराज अधिकारीले सो प्रतियोगिताका खेलाडीहरुको तयारी र पूर्वाधार विकासका लागि आवश्यक व्यवस्थापनको काममा तीव्रता दिन सरकारलाई सचेत गराए।

समितिका अर्का सदस्य उमेश श्रेष्ठले सो खेलकुद प्रतियोगिताको तयारीका लागि अन्तर्राष्ट्रिय खेलकुद संघ, संस्थाहरुसँग सहयोग लिन पनि सरकारलाई सुझाव दिए। उनले देशको प्रतिष्ठासँग जोडिएको यस्ता खेलकुद प्रतियोगिताको तयारीको कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए।  समितिका सदस्यहरुले खेलाडीहरुलाई आवश्यक पोषणको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका थिए।




प्रतिक्रिया

One thought on “सागको तयारी अनुगमन गर्न संसदीय उपसमिति गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *