इलाम-२ मा कसले मार्ला बाजी ?
यस्तो छ सुरक्षा निकायको विश्लेषण
काठमाडौं। आगामी शनिबार इलाम क्षेत्र नम्बर-२ मा उपनिर्वाचन हुँदैछ। शनिबार इलाम २ र बझाङ १ (क) का उपनिर्वाचन हुँदै गर्दा सरकारमा सहभागी दुई दलको गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगै पहिचानवादीहरुको उम्मेदवार र रवि लामिछान नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका कारण इलाम-२ चर्चामा छ।
एमालेका प्रभावशाली नेता एवं संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको भदौ २६ गते निधन भएका कारण त्यहाँ उपनिर्वाचन हुन लागेको हो। उनले निरन्तर जितेको क्षेत्र भएको कारण पनि चुनावी परिणामबारे चर्चा हुनु स्वभाविक हो।
राजनीतिक दलका नेता र कार्यकर्ता मात्र होइन सुरक्षा अंगका सूचना संकलकहरु पनि यतिबेला इलाम–२ मा सक्रिय छन्। चुनाव कसले जित्ने हो यकिन त छैन तर विभिन्न समूहले अध्ययन र अनुसन्धानलाई भने बाक्लै बनाएका छन्। सर्वे पनि गरेका छन्।
सरकारी सर्वेले सत्तारुढ दलले नै जित्ने दाबी गरिरहेको छ भने स्वतन्त्र रुपमा गरिएका छोटा सर्वेहरुले भने पहिचानवादी, धरान उपमहानगरका मेयर हर्क साम्पाङले समर्थन गरेका उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले जित्न सक्ने आँकलन गरेका छन्।
सुरक्षा निकायको अनुसन्धान भने फरक छ। स्रोतका अनुसार नेपाली सेनाको पूर्वी पृतना, सशस्त्र प्रहरीको बराह बाहिनी र नेपाल प्रहरीको कोशी प्रदेशका सूचना संकलकहरु गोप्य रुपमा खटिएका छन्। त्यतिमात्र होइन राष्ट्रिय अनुसन्धान विभागको एउटा टोली इलाममै रहेर अनुसन्धान गरेको छ।
इलाम जिल्ला प्रशासन कार्यालयमा रहेको सो टोलीले दिनदिनको रिपोर्ट विभागमा पठाउने गरेको छ। इलामबाटआएको रिपोर्टलाई विभागले विभिन्न ढंगले विश्लेषण गरिरहेको छ।
रिपोर्टअनुसार इलाम २ मा हुने निर्वाचनमा एमाले, नेकपामा ओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीका साझा उम्मेदवार सुहाङ नेम्वाङ चुनावी अंकगणितमा सबैभन्दा अगाडि रहेको देखिएको छ।
सो रिपोर्ट अनुसार कांग्रेसका डम्बर खड्काको उपस्थिति पनि पहिलेको भन्दा बलियो देखिएको छ। राष्ट्रिय अनुसन्धान विभागमा पेश गरिएको पछिल्लो विवरणले प्रतिस्पर्धामा एमाले र कांग्रेस देखिएका छन्।
दुवै पार्टीलाई उत्तिकै सहानुभूति देखाएको भएपनि सुहाङको हकमा अपरिपक्वता र डम्बरको हकमा परिपक्वताको जलपले काम गरिरहेको छ। तर जसरी ०७९ को चुनावमा स्थानीय तहमा काठमाडौं महानगरमा बालेन साह र धरानमा हर्कले जिते अनि प्रतिनिधिसभामा रवि लामिछानेले जिते, त्यसरी नै अहिले पनि परिणाम एमाले र कांग्रेसभन्दा बाहिर जाने विश्लेषण भइरहेको छ।
एमालेको संगठित मत खस्किएको र कांग्रेसको आफ्नो मत भड्किएको देखिन्छ। साथै पहिचानको पक्षमा केही मत बढेको र त्यही अनुपातमा रास्वपाको मत बढेको विश्लेषण गरिएको छ। उनीहरुलाई कांग्रेस एमालकै मत बाँडिने विश्लेषण गरिएको छ।
‘एमाले एक ढिक्का भएमा र माओवादीको मत इमानदारपूर्वक थपिएमा एमालेलाई जित निकाल्न सहज हुने बताइएको छ। २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रमा निर्वाचन हुँदा एमाले एक्लै र कांग्रेस, माओवादी, नेकपा (एस) लगायतका दल एकैठाउँ हुँदा पनि एमाले विजयी भएको थियो।
एमालेका सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका डम्बर खड्काले २९ हजार छ सय नौ मत ल्याएका थिए। रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए। समानुपातिकतर्फ पनि यो क्षत्रमा एमालेले नै सबै भन्दा बढी मत ल्याएकोे थियो।
समानुपातिकमा एमालेले सबैभन्दा बढी २६ हजार पाँच सय ६२ मत ल्यायो। कांग्रेसले २२ हजार तीन सय ३३ र रास्वपाले चार हजार छ सय ८६ मत मात्र ल्याएका थिए। माओवादीले समानुपातिकमा पाँच हजार एक सय ५३ मत ल्याएको थियो।
विभागको विश्लेषण अनुसार एमालेको मत अहिले केही प्रतिशत घट्ने छ। २०७९ सालमा एमालेको प्रत्यक्षमा आएको मत र माओवादीको पाँचहजार एक सय मत जोड्दा अहिले सुहाङको कम्तीमा पनि ३५ हजार मतभन्दा बढी हुने एमालेको विश्लेषणमा विभागले घट्ने विश्लेषण गरिरहेको छ।
कांग्रेसले २०७९ सालमा पाएको २९ हजार छ सय नौ मतमा माओवादीको मत घटाउँदा २४ हजार चार सय ५६ मत हुन्छ। यसमा पनि २०७९ सालको निर्वाचनमा कांग्रेसलाई नै भोट हालेको नेकपा (एस) को मत पाँच सय ८६ मत घटाउँदा २३ हजार हाराहारी मतमात्र कांग्रेसको हुन्छ।
एमालेको मत घट्दा रास्वपाभन्दा पनि पहिचानको पक्षमा जाने विभागको विश्लेषण छ। बझाङमा खासै चर्चा नभएपनि इलाम २ मा भने नेताहरुको जुहारी राम्रोसँग परेको छ।
Facebook Comment