जातीय छुवाछुतभन्दा वर्गीय छुवाछुत झन् खतरनाक बिभेद

बंशीकुमार शर्मा
१२ वैशाख २०८१ ७:४६

मानिस मानिसबीच देखिएको भेदभाव जातीय विभेद भन्दा वर्गीय विभेद डरलाग्दो छ। आर्थीक असमानता नै प्रमुख कारण हो। वर्गीय असमानताले जटिलता उब्जाउँछ। एक आपसमा गर्ने व्यवहारमा फरक हुन्छ। धनी र गरिबको बीचमा भएको खाडल पूरा नभएसम्म भेदभाव रहिरहने छ।

वर्गीय विभेदका अगाडि जातीय भेद गौण हो। समयअनुसार जातभात, छुवाछुत अन्त्य हुँदै जान्छ। मानिस शिक्षित भए जातीय छुवाछुत हराएर जान्छ। जातीय छुवाछुत उलमुलन कानुन आएकै पचास वर्ष नाघी सक्यो। यदि जातीय आधारमा आरक्षण नभएको भए सायद केही हदसम्म नेपालमा छुवाछुतको भेदभाव हराउँदै जाने थियो।

वर्षाैंसम्म जगडिएको सामाजिक प्ररम्परालाई  एकै पटक अन्त्य गर्न खोजे दुर्घटना हुन सक्छ। क्रमैसँग आफैं हराएर जाने निश्चित छ। वैदिक सनातनमा कही कतै जातीय छुवाछुत र भेदभाव भएको देखिँदैन। पछि गएर स्थापित भएको संरचनालाई परिवर्तन गर्न समय लाग्छ नै तर मानिस शिक्षित हुँदै जाँदा परिवर्तन हुँदै गएको देखिन्छ।

हिजोको पुस्तासम्म छुवाछुत चरम सीमामा थियो तर आज धेरै कम भैसकेको छ आगामी पुस्ताको लागि जातीय छुवाछुत शब्द इतिहासमा सीमित हुनेछ। यसमा दुई मत छैन। मानिस शिक्षित हुँदै गएमा सबै कुरा बुझ्दै जान्छन्। हिन्दु धर्मलाई नबुझेर छुवाछुतको आरोप लाग्ने गरेको हो।

नबुझेर छुवाछुत प्रथा चलेको हो किनकी हिन्दु धर्मको मुख्य श्रोत वेद नै हो। वेदमा कहि कतै छुवाछुत भन्ने छैन। बाँचौ र बचाउ भन्ने जस्तो पवित्र भावना वेदमा नै पाइन्छ। मानव मानवबीच जातीय भेदभाव छैन। पछि गएर उपनिषदमा पेशाअनुसार जातभात विभाजन भएको पाइन्छ।

हुनतः कर्मअनुसार जातभात बिभाजन गर्नुलाई त्यति अस्वभाविक मानिँदैन किनकी कर्मअनुसार भएको विभाजन पछि कर्म  छोडिसके पछि त्यही सधैं लागू भइरहन्छ भन्ने छैन। कर्म समयअनुसार परिवर्तन गर्न सकिन्छ।

वर्गीय भेदभाव हटाउन धेरै चुनौती छ। असमानता भएसम्म वर्गीय भेदभाव रहिरहने छ। जबसम्म मानिस आर्थिक हिसाबमा सम्पन्न हुँदैन तबसम्म यी सबै कुरा रहिरहने छन्। आर्थिक असमानता कै कारण भेदभावले विकराल रुप नलेला भन्न सकिँदैन।

जातीय छुवाछुतभन्दा बर्गीय छुवाछुत झन खतरनाक बिभेद हो। यसले  समाजिक संरचना बिथोल्ने मात्र नभई सामाजिक कुरिति  फैलाउनुको साथै मुलुकमा गृहयुद्ध हुने बढी सम्भावना हुन्छ। देश नराम्रोसंग भड्कालोमा जान सक्छ।

यसको लागि समयमा आर्थिक असमानता हटाउनु पर्दछ। मुलुकले वहस जातीयता तिर चलाउनु भन्दा आर्थिक सम्मुनितिको लागि चलाउनु पर्छ। राज्यले जातीय आधार होइन वर्गीय आधारले आरक्षणको ब्यबस्था गर्नु पर्दछ। स्वघोषित शिर्ष नेताहरुले आफूलाई सधैं  अग्रगमण र प्रगतिशिल नेतृत्व भन्ने ब्यबहार चाँहि प्रतिगमन गर्ने।

सभ्य समाजमा जातीयतालाई भन्दा वर्गीय आधारमा कमजोर पक्षलाई  माथि उक्साउन औवसर दिएमा त्यो सभ्य समाज भएको ठहरिन्छ। कुरा एकाईसौ शताब्दीको ब्यबहार बाह्रौ शताब्दीको।

नेपालका  नेताहरु आफू क्म्युनिजम भन्ने र कम्युनिजम सिद्धान्तमा जातभात छुवाछुत छैन भन्ने तर असमनतालाई हटाउने आधार जातीय बनाएर सधैं बाचाइ राख्ने त्यसैमा सोझा नेपाली जनताहरु रमाउने गरेका छन्। उनले जनतालाई  गुमराहमा राख्न सफल भएका छन्।

अहिलेको युग भनेको प्राबिधिक युग हो। सवै मानिस वरावर हुन्। मानिसको दुस्मन भनेको गरिवी हो, अशिक्षा हो। त्यसबाट पार पाउन र सवैलाई पार लगाउन आर्थिक असमनता हटाउनको लागि  पछडिएको वर्गलाई राज्यले औवसर दिनु पर्दछ तव मात्र सभ्य समाजको परिकल्पना गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *