पहिलो टेष्टमा अष्ट्रेलिया बलियो स्थितिमा, इंग्ल्याण्डलाई ३९८ रनको लक्ष्य
लण्डन (एजेन्सी) । अष्ट्रेलियाका पूर्व कप्तान स्टेभन स्मिथले उत्कृष्ट ब्याटिंग गरेपछि पहिलो इनिंगमा पछाडि परेको अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३९८ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । अष्ट्रेलियाले ४८७ रनमा ७ विकेट बनाउँदै इनिंग समाप्तीको घोषणा गरेपछि घरेलु टिम इंग्ल्याण्डले अन्तिम एक दिनको खेल बाँकी रहँदा ३९८ रनको विशाल लक्ष्य पाएको हो।
पहिलो इनिंगमा १४४ रन बनाएका अष्ट्रेलियाका स्मिथले दोस्रो इनिंगमा १४२ रनको उत्कृष्ट इनिंग खेले। स्मिथलाई म्याथ्यु बेडले ११० रन बनाएर साथ दिए भने ट्रविस हेडले पनि ५१ रनको योगदान दिए।
४७ रनमा जेम्स प्याटिसन र २६ रनमा पाट कमिन्स नटआउट रहे।
चौथो दिनको खेल सकिन केही समय बाँकी रहँदै अष्ट्रेलियाले इनिंग घोषणा गरेपछि इंग्ल्याण्डले आइतबार दोस्रो इनिंग शुरु गरेको छ । दोस्रो इनिंगमा उसले ७ ओभर खेल्दै १३ रन बनाएको छ । उसले कुनै क्षति भने ब्यहोरेको छैन। उसका पहिलो इनिंगमा शतक बनाएका रोरी बनर्स र जेसन रोय नटआउट फर्किएका छन्। सोमबार अन्तिम तथा पाँचौ दिन इंग्ल्याण्डले अझै ३८५ रन बनाउनुपर्ने छ ।
अष्ट्रेलियाले पहिलो इनिंगमा २८४ र दोस्रो इनिंगमा ४८७ रन बनायो। इंगल्याण्डले पहिलो इनिंगमा ३७४ रन बनाएको थियो।
Facebook Comment