मृत्यु र आत्माको विचार : एक अध्ययन
मृत्यु जीवनको कठोर सत्य हो। पृथ्वीमा जीवको जन्म भएपछि त्यसको मृत्यु अवश्य हुन्छ। मृत्युमा ध्यान केन्द्रित गर्दा सत्रौँ शताब्दीका जेम्स सर्लेको चर्चित कविता डेथ द लेवेलरको स्मरण हुन्छ। सर्लेका अनुसार राजा होस् वा रङ्क सबैको एक दिन मृत्यु हुन्छ।
मृत्युले सबै मनुष्यलाई माटोमा मिलाएर एउटै स्तरमा ल्याइदिन्छ। मृत्युपछि मनुष्यको कर्म मात्रै सम्झनाको रूपमा रहन्छ। मृत्युको प्राकृतिक आयाम हेर्दा मृत्यु भनेको प्राणीलाई कायम राख्ने सबै जैविक कार्यहरूको स्थायी अन्त्य हो।
यसमा मनुष्यको हृदय धड्कन, मष्तिस्क, गतिविधि र श्वास प्रश्वासको अन्त्य समावेश हुन्छ। मृत्यु जीवनलाई परिभाषित गर्ने महत्वपूर्ण प्रक्रियाहरूको अपरिवर्तनीय क्षतिको रूपमा बुझ्न सकिन्छ। यस प्राकृतिक पक्षलाई हेर्दा के बुझिन्छ भने संसार भनेको स्थायी होइन।
संसारलाई बाँचुन्जेल मात्रै देख्न र अनुभव गर्न सकिन्छ। शरीरको अन्त्य भएपछि संसारको अनुभव पनि हुँदैन। मृत्यु भएपछि मनुष्यको सुख, दुःख, लोभ, क्रोध र ईष्र्याको पनि अन्त्य हुन्छ। तर मृत्युको सांसारिक आयाम हेर्दा विभिन्न संस्कृति र दार्शनिक परम्परामा विविध दृष्टिकोणहरू पाइन्छन्।
त्यस कारण मृत्युको सांस्कृतिक र प्रतीकात्मक महत्व छ। उदाहरणका लागि क्रिस्चियनहरूमा अन्त्येष्टि कार्य गर्दा मृत शरीरलाई जमिनमा गाड्ने र आत्मा शान्तिको लागि प्रार्थना गर्ने चलन छ।
उनीहरूको परम्परामा संसारको अन्त्य हुने समयमा जिसस क्राइष्ट स्वर्गबाट पृथ्वीमा अवतरण गरी मृत्यु भएका मानिसहरूलाई पुनर्जीवित गराएर उनीहरूको कर्म अनुसार स्वर्ग वा नर्कमा पठाउँछन्।
नेपाली समाजको सनातनी परम्परामा मृत्यु भएपछि मृत्यु शरीरलाई मलामिसहित घाटमा लगेर जलाउने संस्कार छ। जलाउनु भन्दा पहिल्यै दागबत्ति दिने चलन। घाटबाट फर्किएपछि तेह्र दिने किरिया बस्ने प्रक्रिया सुरु हुन्छ। किरिया बस्दा चोखोनितो नून, तेल र माछा मासु बार्ने चलन छ।
छोराले किरिया गर्ने परम्परा भए पनि केही समय यता छोरीले पनि किरिया बस्न थालेका छन्। माटोको ढिकुरो बनाएर सधै नुहाएर जल चढाउने र घ्युले होम गरी आफैंले पकाएको भात, अमिलो, घ्यु र अदुवासित खाने चलन छ। रात्रिको समयमा किरया पुत्रीले फलफूल मात्रै खान्छन्।
तेह्रौँ दिनमा मृत्यु भएको मानिसको माता वा पिता भए निधारले, दाजु भाइ भए कुइनाले र श्रीमती भए घुँडाले ढिकुरो फुटाल्ने चलन छ। त्यसपछि पिण्ड बनाएर बगाइदिन्छन्।
होम यज्ञ गरेर चोखिएपछि पुरोहितलाई दान दक्षिणा दिएपछि अन्त्येष्ठि प्रक्रिया समाप्त हुन्छ। यसै गरी पाँचजना कन्यालाई टिको लगाई दान दिने चलन पनि छ। यो अन्त्येष्ठि प्रक्रियालाई नेपाली समाजमा दुःखसित जोडेर हेरिन्छ।
आत्माको स्वर्गारोहण र परिवारको मृत मानिसप्रति दायित्वको कारणले किरिया बस्ने चलन भएको भन्ने सङ्कथन छ। नेपालका विभिन्न जनजातिहरूमा किरिया बस्ने आफ्नै रीतिथिति छ।
मृत्यु हुँदा शोक मनाउनु भनेको परिवारको सदस्य अथवा आफन्त गुमाएको आभास हो। कुनै आफ्नो मानिसको मृत्यु हुँदा यस्तो लाग्छ कि मनुष्यको जीवन स्थायी होइन र सबैको मृत्यु हुन्छ। यस्तो सोचाइको अवस्थालाई गाउँ घरका बुढापाकाहरूले श्मशान वैराग्य भन्छन्। जुन केही दिनसम्म चल्छ।
मनुष्यले मृत्युको कठोर सत्यलाई बिर्सिएर सांसारिक जीवनमा पूर्ण रूपले संलग्न हुन्छ। जीवनमा विभिन्न गतिविधि र प्रक्रियाहरूका कारण मनुष्यले संसारलाई यथार्थ मान्छ। यहाँबाट के बुझिन्छ भने जीवन र मृत्यु विरोधाभासी विचार हो। जीवनको मूल्य मृत्युमा टिकेको हुन्छ।
मृत्युको यस्तो सांसारिक पक्ष बाहेक धार्मिक र दार्शनिक मान्यतामा शरीरको अन्त्य भए पनि मनुष्यको आत्मा अजर अमर रहने धारणा छ। त्यस कारण मृत्यु भएपछि आत्माको कल्याणको कामना गरिन्छ। संसारका अधिकतम मनुष्यहरूमा आत्माको स्मरण मृत्युसँग जोडिएको छ।
त्यो भन्दा बाहिर सांसारिक जीवनमा मानिसले आत्माको विषयमा सोच्दैन। यदि आत्माको विचार हटाइदिने हो भने नैतिकताको महत्व नै रहँदैन। शक्तिशाली र प्रभावशाली मानिसले जे गरे पनि हुन्छ भन्ने मान्यताले बढवा पाउँछ। आत्माबिना ईश्वरको विचार पनि हराउँछ।
आत्माको विचारले नै धर्मका नियमहरूको महत्व भएको छ। पाप र पुण्यको आभासले नै मनुष्य समाजलाई नैतिकवान बनाएको छ। यदि मानिसहरू नास्तिक भए भने मृत्यु पश्चात् दण्डको विचार नै हराउँछ। सांसारिक जीवन नै अन्तिम सत्य हुन्छ र मनुष्यले आफ्नो निहित स्वार्थ मात्रै पूरा गर्न खोज्दछ।
संसारमा धर्महरू हुनाले पाप र पुण्यको विचार मृत्युसँग जोडिएको छ। यहाँ आत्माको महत्व देखिन्छ। किनकि मृत्यु पश्चात् पाप र पुण्यको फल आत्माले नै भोग्दछ। अठारौँ शताब्दीदेखि बेलायतबाट औद्योगिक क्रान्तिको सुरुवात भएपछि पश्चिमा सभ्यतामा पुँजिवादको विस्तारै उदय भयो।
जहाँ आम्दानी वा नाफाको महत्व बढ्यो। पश्चिमाहरूले यस्तो अवस्थामा तार्किक छलफल र भौतिकवादी सोचमा नै मोक्षको पक्ष देखे। सबै समस्याको समाधान मनुष्यकै प्रयत्नबाट हुने विचार भएपछि चिन्तकहरूका लागि ईश्वर र आत्माको नै मृत्यु भयो।
यसको परिणाम शक्तिशाली र प्रभावशाली मानिसहरूले पाप र पुण्यलाई वेवास्था गरे। हिटलरले लाखौँ यहुदीहरूको नरसंहार ग¥यो भने अमेरिकाले हिरोसिमा र नागासाकिमा आणविक हतियार प्रयोग गरी धनजनको ठूलो क्षति भएको हाम्रा सामु उदाहरण छ। यहाँ मनुष्य जातिलाई सभ्य बनाउन मृत्युसितै जोडिएको आत्माको विचारको महत्व देखिन्छ।
यस लेखमा मृत्युको सांसारिक पक्षसहित विभिन्न दर्शन र परम्परामा रहेको विचारलाई अध्ययन गर्ने जमर्को गरिएको छ। यस लेखको मुख्य तर्क के हो भने पूर्वीय दर्शनले मृत्यु र आत्माको सन्दर्भमा मनुष्य जीवनमा भाइचारा र मेलमिलापको सन्देश दिन्छ। तर वेदान्त दर्शनमा भने जन्म जन्मान्तरको अन्त्य नै मोक्ष हो भन्ने मान्यता पाइन्छ। जहाँ आत्मा नारायणमा नै लिन हुन्छ र सुख दुःखको प्रक्रियाबाट मुक्ति पाउँछ।
त्यस्तै पश्चिमा विद्वान्हरूका विचारमा मृत्यु भनेको पूर्ण विश्राम हो। जुन जीवनको सङ्घर्ष र समस्याबाट मुक्ति पाउनु हो। मृत्युले सबैलाई एउटै स्तरमा ल्याइदिन्छ र मानव समानताको विचार दिन्छ। यस विचारले बाँचुन्जेल मेलमिलाप गरेर जीवनलाई सुविधा सम्पन्न र मूल्यवान बनाउने सङ्कथन दिन्छ।
यस अध्ययनमा दर्शनहरूका पुस्तकसहित पश्चिमा विद्वान्हरूका कृतिहरूको प्रयोग भएको छ। यस लेखमा सलिनसितको अन्तर संवाद पनि महत्वपूर्ण छ। व्याख्या र विश्लेषणमा उनका विचारलाई पनि स्थान दिइएको छ।
लेखको यस भागमा हिमवत्खण्डका विभिन्न दर्शनहरूले मृत्यु र आत्मालाई कसरी हेरेका छन् भन्ने देखाउन खोजिएको छ। जुन बुझाइले जीवनको महत्वपूर्ण अर्थ दिन्छ। कश्यप ऋषि कश्मिरका थिए भने वशिष्ठ ऋषि ऋषिकेशका थिए।
अरू मुख्य ऋषिहरू नेपालकै थिए। भारतखण्डको दर्शन यी ऋषिमुनिहरूकै देन हो। नेपाल प्राचीनकालदेखि नै शिव र देवीको महिमा अँगालेको भूमि हुनाले यहाँ शैव सम्प्रदायको दर्शनको चर्चा गर्न आवश्यक छ।
वैशेषिक दर्शन
कश्यप ऋषिको वैशेषिक दर्शनमा जीवात्माको विचार छ। जुन सूक्ष्म शरीर हो। यो जीवात्मा शाश्वत, अविभाज्य र मनुष्यको भौतिक शरीरबाट भिन्न हुन्छ। जन्म, सांसारिक जीवन र मृत्यु भनेको ईश्वरीय सत्ताको प्रक्रिया हो। ईश्वरले मनुष्यको सृजना उनको महिमा गाउन गरेका हुन्।
मनुष्यले राम्रो कर्म गरेर संसारमा ईश्वरलाई गौरवशाली बनाउँछ। यसैबाट मनुष्य जीवन सार्थक हुन्छ। ईश्वरले संसारमा अरू प्राणीहरू पनि बनाएका छन्। तर मनुष्य र देवतालाई मात्रै इच्छाशक्ति र विवेकशील सोच दिएका छन्। अरू पशुहरूमा बाँच्ने इच्छा र अन्तरज्ञान मात्रै दिएका छन्।
मनुष्य जीवनलाई सार्थक बनाउन मोक्षको विचार छ। यस विचारले सांसारिक मोहबाट मुक्ति दिलाउँछ। आफ्ना अनावश्यक इच्छालाई नियन्त्रण गरेर क्रोध, लोभ र ईष्र्याबाट मुक्त हुन सकिन्छ। यसले गर्दा अरूलाई पीडा हुँदैन र सभ्य समाजको निर्माण हुन्छ।
मनुष्यले आफ्नो आत्मालाई चिनेर सांसारिक चेतनालाई आत्माको चेतनासित जोड्न सक्दछ। जसका कारण राम्रो जीवन व्यतित गर्न सक्छ। त्यस्तो व्यक्तिको मृत्यु हुँदा उसको चेतना आत्माकै रूपमा जीवित रहन्छ। जुन व्यक्तिले आफ्नो सांसारिक चेतनालाई आत्मासित जोड्दैन।
उसले कर्मको प्रक्रियामा आत्मालाई वेवास्था गर्छ र सांसारिक जीवनमा नै लिन हुन्छ। ऊ आफ्नो इच्छाको दास हुन्छ। उसको मृत्यु पश्चात् शरीरसितै उसको भोग वा सांसारिक चेतनाको पनि अन्त्य हुन्छ। यदि उसको आत्माले नराम्रो कर्म गर्न निर्देशन दिएको भए आत्माले पनि दण्ड पाउँछ।
मनुष्य जीवन समय सीमाको आकारमा बाँधिएको हुँदा ध्यान र साधनाको माध्यमले आफ्नो सांसारिक चेतनालाई आत्मासित जोड्न सक्छ। यहाँ योग अभ्यासको महत्व देखिन्छ। साधना गर्दा सिद्ध आसनमा बसेर शून्यता वा समाधिमा गइन्छ। त्यतिखेर कुनै सोचाइ वा भावना आउँदैन। त्यतिखेर कुनै एउटा विषयमा ध्यान केन्द्रित गर्न सकिन्छ।
महादेव वा देवीको मन्त्र जपे सांसारिक चेतनालाई आत्माको चेतनासित जोडेर अलौकिक क्षेत्रमा प्रवेश गर्न सकिन्छ। जहाँ अरू आत्माहरूसित पनि सम्पर्क गर्न सकिन्छ। त्यस साधनापछि मनुष्यले जीवनको महत्व बुझ्दछ। यसपछि उसले आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन खोज्दछ।
आत्मालाई संसारको अनुभव गर्न र ज्ञान प्राप्त गर्न शरीर चाहिन्छ। शरीरको मृत्यु हुँदा आत्माले सांसारिक जीवनको अनुभव गर्न पाउँदैन। यहाँ मनुष्य जीवनको महत्व देखिन्छ। यस्तो विचारले ब्रह्म वा ज्ञानलाई महत्व दिन्छ। अज्ञानिले संसारलाई स्थायी मान्छ र नैतिकतालाई उपेक्षा गर्न सक्छ। ऊ सुख र दुःखको चक्रव्युहमा नराम्ररी फस्दछ। उसको मृत्यु हुँदा उसका इच्छाहरू पूरा भएकै हुँदैन। त्यसपछि उसको आत्माले शान्ति नपाएर भड्किन्छ।
वैशेषिक दर्शनले मनुष्य जीवन, मृत्यु र आत्माको व्यवस्थित बुझाई दिन्छ। यस दर्शनमा कौडिण्य ऋषिको पाशुपत सूत्र महत्वपूर्ण छ। मृत्यु र आत्मालाई बुझ्नका लागि जीवन प्रक्रियाको रहस्य बुझ्न आवश्यक छ। मनुष्य, आत्मा र मृत्यु अन्तर सम्बन्धित ज्ञानका स्तर हुन्।
आत्मालाई संसारको अनुभव गर्न र ज्ञान प्राप्त गर्न शरीर चाहिन्छ। शरीरको मृत्यु हुँदा आत्माले सांसारिक जीवनको अनुभव गर्न पाउँदैन। यहाँ मनुष्य जीवनको महत्व देखिन्छ। यस्तो विचारले ब्रह्म वा ज्ञानलाई महत्व दिन्छ। अज्ञानिले संसारलाई स्थायी मान्छ र नैतिकतालाई उपेक्षा गर्न सक्छ। ऊ सुख र दुःखको चक्रव्युहमा नराम्ररी फस्दछ। उसको मृत्यु हुँदा उसका इच्छाहरू पूरा भएकै हुँदैन। त्यसपछि उसको आत्माले शान्ति नपाएर भड्किन्छ।
प्राचीन सिन्धुघाटी सभ्यताको शहर हरप्पामा पशुपति शिल भेटिएको छ। त्यस शिलमा रुद्र सिद्ध आसनमा बसेका छन्। उनलाई चारैतिरबाट पशुहरूले घेरेका छन्। त्यसमा नन्दि पनि छ। त्यहाँ त्रिशुल र एउटा पुरुष उभ्याइएको देखाइएको छ (चक्रवर्ती, सन् १९७०, पृ.. १)।
यस शिलले के विचार दिन्छ भने अरू पशुहरू जस्तै मनुष्य पनि पशुकै प्रजाति हो। त्यहाँ भेटिएको अर्को शिलमा रुद्रलाई नटराजको रूपमा देखाइएको छ (चक्रवर्ती, सन् १९७०, पृ. २)। यहाँबाट के बुझिन्छ भने शिव सबै पशु वा प्राणीहरूका स्वामी हुन्।
उनको ताण्डव नृत्यले सङ्केत गर्दछ जन्म र मृत्यु उनकै अधिनमा छ। ऋग्वेदको मण्डल १ मा रुद्रलाई पशुपा वा पशुका स्वामी र मनुष्यसहित प्राणीहरूलाई मृत्यु दिने भनिएको छ (ऋग्वेद, १ः११४.९-१०)। कौडिण्य ऋषिले ऋग्वेद र शुक्लयजुर्वेदको आधारमा पशुपत सूत्रको रचना गरेका हुन्।
उनका अनुसार तीनवटा सत्य छन् : पति (रुद्र), पशु (प्राणी) र पाश (बन्धन)। त्यस्तै ज्ञानका तीनवटा स्रोत छन् अनुभूति, अनुमान र अगमा (तथ्य तथ्याङ्क) (चक्रवर्ती, सन् १९७०, पृ. २०)। मनुष्यसहित सबै पशुहरू कारण र प्रभावको पाश (डोरी) ले बाँधिएका हुन्छन्।
उनीहरू कारण र प्रभावको पाश (डोरी) ले बाँधिएका हुन्छन्। उनीहरूले आफ्नो शरीर र पदार्थको अनुभव गर्न सक्छन्। पाशको कारणले उनीहरूको इच्छा र आवश्यकतालाई पदार्थिक वा आर्थिक अवस्थाले निर्धारण गर्दछ। जीवनको स्तर र समाजलाई आर्थिक अवस्थाले निर्धारण गर्दछ। पदार्थको मात्रै अनुभव गर्नाले सांसारिक जीवनमा बाँधिएका हुन्छन् (चक्रवर्ती, सन् १९७०, पृ. २०)।
सांसारिक जीवन मात्रै पूर्ण सत्य होइन। मनुष्यको चित्त वा सूक्ष्म शरीर पनि अस्तित्वमा हुन्छ। यसलाई चिन्न प्राणायाम, ध्यान, न्यास र साधना चाहिन्छ (चक्रवर्ती, सन् १९७०, पृ. २०–२१)। आफ्नो चित्तलाई चिनेपछि मनुष्य अनावश्यक इच्छाबाट मुक्ति पाउँछ।
किनकि इच्छा, सुख र दुःख सबै नाशवान हुन्छन्। त्यसैले मनुष्यले सुख र दुःखमा समान व्यवहार गर्नु पर्छ (चक्रवर्ती, सन् १९७०, पृ. २८)। चित्तसित जुन मनुष्यले आफ्नो सांसारिक चेतनालाई जोड्यो भने उसले मोक्ष वा निर्वाण प्राप्त गर्छ। त्यसपछि उसको पुनर्जन्म हुँदैन।
यहाँ मृत्युलाई कौडिण्य ऋषिले जीवनको एउटा चरणको अन्त्य र अर्को चरणको सुरुवात मानेका छन्। सांसारिक जीवनमा बाँधिएको मानिसको मृत्यु भएर पुनर्जन्म लिन्छ। यसरी जीवनको एउटा अध्याय अन्त्य भएर अर्को अध्याय सुरु हुन्छ।
यहाँ मृत्यु भनेको रूपान्तरण हो (चक्रवर्ती, सन् १९७०, पृ. २९-३१)। यो रूपान्तरणको विचार शैव सिद्धान्तको मुख्य योगदान हो। यसरी मृत्यु भनेको भौतिक शरीरको अन्त्य मात्र नभएर जीवन हुने रूपान्तरण वा परिवर्तन पनि हो। यसरी मृत्यु ज्ञानको स्तर बन्दछ।
रूपान्तरण, आत्मा र सांसारिक चेतनाको राम्रो व्याख्या कश्यप ऋषिले वैशेषिक सूत्रमा गरेका छन्। वैशेषिक सूत्रलाई मोक्ष शास्त्र पनि भनिन्छ। मनुष्यले इन्द्रियलाई नियन्त्रण गरेर इच्छा र सांसारिक मोहबाट मुक्ति पाउन सक्छ। त्यसपछि उसले मोक्ष प्राप्त गर्न सक्छ।
मन स्थिर भए सुख र दुःखले सताउँदैन। यहाँ कर्मको महत्व देखिन्छ (सिन्हा, सन् १९२३, पृ. २)। कौडिण्य ऋषिले जस्तै कश्यप ऋषिले पनि योगको अभ्यास र सांसारिक चेतनालाई चित्तसित जोड्ने सुझाव दिन्छन् (सिन्हा, सन् १९२३, पृ. ३)।
उनले आत्माको चेतना हुने, त्यसको सोचाइ र विचारमा परिवर्तन आउने हुँदा आत्माले शरीर मार्फत संसारको अनुभव गर्ने सङ्कथनलाई प्रस्तुत गरेका छन् (सिन्हा, सन् १९२३, पृ. २–३)। कौडिण्य ऋषिले जस्तै कश्यप ऋषिले पनि मृत्युलाई रूपान्तरण मानेका छन्।
यस रूपान्तरणको कारण गति हो। जसले गर्दा कर्म हुन्छ। समय, आकाश, आत्मा र मनको अङ्ग हुँदैन। संसारमा कर्म आधारभूत पक्ष हो भने गति पदार्थको गुण हो। मनुष्यको गुण ज्ञान र कौशलता हो। द्रव्य भनेको स्रोत र साधन हो। गुणलाई द्रव्य चाहिन्छ। तर द्रव्यलाई गुणसित रहिरहनु पर्दैन। यस विरोधाभाषको कारणले गर्दा मनुष्य जीवन र समाजमा रूपान्तरण वा परिवर्तन हुन्छ।
रूपान्तरण वा परिवर्तनलाई बुझ्न द्रव्य, गुण र कर्मको अन्तत्र्रिmया बुझ्न आवश्यक हुन्छ। द्रव्यको मिश्रित कारण कर्म र गुण हुन्। द्रव्य वा अर्थतन्त्र गुण र कर्मबिना चल्न सक्दैन। कर्म, ज्ञान र कौशलताको आधारमा मनुष्यहरू पदार्थको भोग र प्रयोग गर्न एक अर्काको सम्पर्कमा आउँछन्।
त्यही प्रक्रियामा अर्थतन्त्र र मनुष्यको सम्बन्धको सञ्जाल बन्दछ। यसलाई समाज भनिन्छ। यसको शोषण प्रकृति पनि हुनसक्छ (सिन्हा, सन् १९२३, पृ. २५)। मृत्यु वा रूपान्तरणको विचार बुझ्न कश्यप ऋषिको विरोधाभाषको सिद्धान्तलाई जान्नु पर्दछ।
विरोधाभाष भनेको यस्तो परिधि हो जहाँ कुनै वस्तुको अस्तित्व अर्को वस्तुको अस्तित्वमा निर्भर हुन्छ। यी दुई विपरीत पक्ष हुन्। तर एक अर्कामा निर्भर भएर तनावको क्षेत्रमा एक अर्कालाई अनुमान गर्छन् (सिन्हा, सन् १९२३, पृ. १४१-१४२)। द्रव्य र गुणको विरोधाभाषमा कर्मको महत्व हुन्छ।
यो नै संयोजन र विभाजनको स्वतन्त्र कारण हो। कर्म गर्न मानिसहरू संयोजित हुन्छन्। तर द्रव्य र गुणको विरोधाभाषले विभाजित हुन्छन् (सिन्हा, सन् १९२३, पृ. २०)। यसरी बुझ्न सकिन्छ कि सामन्तवादी समाजमा भूमिपति र हलिको बिचमा विरोधाभाष हुन्थ्यो भने पूँजिवादी समाजमा पूँजिपति र मजदुर वर्गको बिचमा विरोधाभाष हुन्छ।
स्रोत र साधन माथिको स्वामित्व धनि वर्गको हुन्छ। तर काम गर्नका लागि मानिस चाहिन्छ। यस्ता मानिसहरूको धनि वर्गले शोषण गर्छन्। यसरी वर्गको सृजना हुन्छ। कश्यप ऋषिका अनुसार मनले व्यक्तिहरूको बारेमा मात्रै नसोचि वर्गहरूको गुण र अस्तित्व बारेमा पनि सोच्न सक्दछ।
जुन द्वन्द्वमा एकीकृत हुन्छन् (सिन्हा, सन् १९२३, पृ. १४१–१४२)। यो नै शैव सिद्धान्तको मूल विचार हो। यस अनुसार विपरीत वर्गहरूमा सङ्घर्ष हुन्छ र तिनीहरूमा गुणस्तरीय परिवर्तन वा रूपान्तरण आउँछ। त्यसो हुँदा नयाँ वर्गहरू बन्दछन्।
यसले नयाँ समाजको सृजना गर्छ। यसको कारण के हो भने पदार्थ वा धन सम्पत्ति द्रव्यानी, गुण र कर्मको कारण हुन्छ। मनुष्यले गुण र कर्म मार्फत आर्थिक आकार बनाउँछ। वर्गीय सङ्घर्ष हुँदा आर्थिक आकारमा परिवर्तन आउँछ। त्यसपछि समाजमा परिवर्तन आउँछ (सिन्हा, सन् १९२३, पृ. २७-२९)।
समयको गतिसँगै वस्तु, मनुष्यको शरीर वा समाजको रूपान्तरण हुन्छ। पछाडि भएको कुरा, एकसाथ हुने, ढिलो र चाँडो हुने कुरा समय चिह्नको सहजबोध हो (सिन्हा, सन् १९२३, पृ. ७५–७६)।
मृत्यु वा रूपान्तरण अन्तिम सत्य हो। कुनै वस्तु, मनुष्य र समाजको अस्तित्व तिनीहरू समयसित जोडिएका हुन्छन्। पदार्थ समय सीमा भित्र रहन्छ। पदार्थको विनाश हुँदा अर्कै वस्तुमा परिवर्तन हुन्छ। कश्यप ऋषिका अनुसार भौतिक संसार परमाणुहरूले बनेको हुन्छ। त्यस्तै प्राणीहरू जीवाणुले बनेका हुन्छन्।
प्राणीको भौतिक शरीरको मृत्यु हुँदा जीवाणु संरचनाको विघटन हुन्छ र ती पञ्चतत्वमा गएर विलिन हुन्छन्। पञ्च तत्व भनेका पृथ्वी, जल, वायु, अग्नि र आकाश हुन् (सिन्हा, सन् १९२३, पृ. १४-१५)। वैशेषिक दर्शनका अनुसार मृत्यु भनेको रूपान्तरण वा परिवर्तन हो।
भौतिक शरीरको अन्त्य हुनु पनि त्यहि रूपान्तरण हो। यहाँबाट के बुझिन्छ भने मृत्यु संसारको कठोर सत्य हो। इच्छा, सुख, दुःख र सबै वस्तु नाशवान हुन्छन्। मष्तिष्क इन्द्रियहरूको सम्पर्कमा आएपछि मनको निर्माण हुन्छ।
यसको अन्तक्रिया पदार्थसित भएपछि सांसारिक चेतना आउँछ। पदार्थको प्रतिबिम्ब मनमा परेपछि बल्ल संसारको व्याख्या गर्न सक्छ। इन्द्रिय भनेका नाक, जिब्रो, आँखा, कान र छाला हुन्। जसले गर्दा रूप, रस, गन्ध र स्पर्शको अनुभव हुन्छ।
त्यस्तै ध्वनि पनि सुनिन्छ (सिन्हा, सन् १९२३, पृ. ९६)। मनको कारणले गर्दा अनुभूति हुन्छ भने मनुष्यमा अर्को चेतना पनि हुन्छ। जुन सूक्ष्म शरीर हो। जसलाई कश्यप ऋषिले आत्मा भन्छन्। आत्माले मनलाई निर्देशित गर्न सक्छ। किनकि आत्माले शरीर मार्फत संसारको अनुभव गर्छ (सिन्हा, सन् १९२३, पृ. ९७)।
मन इच्छा र सांसारिक मोहमा फसेका कारण आत्माको चेतनालाई चिन्न र बुझ्न सक्दैन। त्यो अज्ञानतामा हुन्छ (सिन्हा, सन् १९२३, पृ. ९८)। कश्यप ऋषि पनि कौडिण्य ऋषिसित सहमत हुँदै तर्क गर्छन् शरीर पदार्थले बनेको हुँदा कारण र प्रभावको पाशमा बाँधिएर त्यसको इच्छा र आवश्यकता आर्थिक अवस्थाले नै निर्धारित गर्छ (सिन्हा, सन् १९२३, पृ. ९९)। मनुष्य शरीरको सांसारिक पहिचान र मनका कारणले आफ्नै जीवात्मालाई वेवास्था गर्छ।
तर अलौकिक क्षेत्रमा उसको सूक्ष्म शरीरको आफ्नै चेतना हुन्छ (सिन्हा, सन् १९२३, पृ. ९९)।
सांसारिक कारण र प्रभाव पहिचानसित जोडिएपछि अग्नि र धुवा जस्तै शरीर र आत्माको सम्बन्ध बुझ्न सक्दैन (सिन्हा, सन् १९२३, पृ. १००)। आफ्नो मनबाट आएको विचार र आत्माबाट आएको विचारलाई छुट्याउन सक्दैन। आत्माको चिह्न भनेको ज्ञान वा विचार हो।
मन र आत्माको अनुभूतिबाट उत्पादन भएको ज्ञान अवधारणात्मक हुन्छ। किनकि त्यस ज्ञान अनुसार कर्म गर्नु र नगर्नु मनुष्य माथि नै निर्भर हुन्छ। सकारात्मक कर्म नगर्नुमा मनुष्यकै दोष हुन्छ।
आत्माको दोष हुँदैन (सिन्हा, सन् १९२३, पृ. १११-११२)। सक्रियता र निष्क्रियता, सकारात्मक निर्देशन र गलत निर्देशन, प्रवृत्ति मार्ग र निवृत्ति मार्ग देखाउने चरित्रले आत्माको गुणलाई सङ्केत गर्छ।
आत्मा पनि राम्रो र नराम्रो हुन्छ (सिन्हा, सन् १९२३, पृ. ११३)। आत्माको सम्बन्ध मनसित मात्रै हुन्छ भने मनको सम्बन्ध इन्द्रियहरूसित हुन्छ। ध्यान र साधनाको माध्यमले आत्मालाई मनसित जोड्यो भने मनुष्यमा एउटै चेतना हुन्छ। जुन मन र आत्माको चेतना मिलेर बन्दछ।
आत्माको सोचाइ र विचारमा पनि संसारको अनुभवले गर्दा परिवर्तन आउँछ (सिन्हा, सन् १९२३, पृ. ११४)। तर मनुष्यहरूमा मन वायु जस्तो चन्चल भएकाले आत्माको उपेक्षा गर्न सक्छ। संसारमा वायु नित्य भएझैं अलौकिक क्षेत्रमा आत्मा पनि नित्य हुन्छ। मनुष्यले गरेको कर्म र अनुभवको आत्मा साक्षी हुन्छ (सिन्हा, सन् १९२३, पृ. ११८–१२०)।
साङ्ख्य दर्शन
कपिल मुनिको साङ्ख्यकारिका साङ्ख्य दर्शनको मूल ग्रन्थ हो। यो वैष्णव सम्प्रदायको तर्कसङ्गत दर्शन मानिन्छ। कपिल मुनिले पुरुष र प्रकृतिको विचार दिन्छन्। आत्मा र ज्ञानलाई सन्दर्भ अनुसार साङ्ख्यकारिकामा पुरुष भनिएको छ। प्रकृति भनेको वस्तु, शरीर र अर्थतन्त्र हो। यसले पदार्थलाई जनाउँछ।
प्रकृतिमा सत्व, राजस र तमोगुण हुन्छ। मनुष्यमा बुद्धि र अहङ्कार तीनवटै गुणका कारणले हुन्छ। ज्ञानले निर्देशन गरी शरीरले कर्म गर्दछ। कपिल मुनिले सांसारिक ज्ञानलाई महत्व दिन्छन्। त्यस कारण उनले आत्माको चेतनालाई अपरिवर्तनीय र तटस्थ मान्छन्।
यदि हामीले कपिल मुनिको यस कुरालाई मान्ने हो भने के मनुष्यले गरेको कर्मको फल आत्माले भोग्नु पर्दैन ? यदि आत्माको सोचाइ र विचारमा परिवर्तन आउँदैन भने सन्दर्भ अनुसार आत्माले मनलाई कसरी निर्देशन गर्न सक्छ ? यहाँबाट के बुझिन्छ भने साङ्ख्या दर्शनले सांसारिक जीवनलाई नै महत्व दिन्छ र कर्मको फल मनुष्यको शरीरले नै भोग्नु पर्दछ। यहाँ तटस्थ आत्माको विचार छ।
आत्मा र ज्ञानलाई सन्दर्भ अनुसार साङ्ख्यकारिकामा पुरुष भनिएको छ। प्रकृति भनेको वस्तु, शरीर र अर्थतन्त्र हो। यसले पदार्थलाई जनाउँछ। कृतिमा सत्व, राजस र तमोगुण हुन्छ। मनुष्यमा बुद्धि र अहङ्कार तीनवटै गुणका कारणले हुन्छ। ज्ञानले निर्देशन गरी शरीरले कर्म गर्दछ। कपिल मुनिले सांसारिक ज्ञानलाई महत्व दिन्छन्। त्यस कारण उनले आत्माको चेतनालाई अपरिवर्तनीय र तटस्थ मान्छन्।
कपिल मुनिले संसारलाई यथार्थ मान्छन्। जुन प्रधान वा पदार्थले बनेको छ। यस कारण आत्मालाई कपिल मुनिले तटस्थ बनाएका छन् (सिन्हा, सन् १९१५, पृ. )। कपिल मुनिले रूपान्तरणलाई परिणाम भन्छन्।
प्रभावको जरो कारणमा छ। त्यस कारण प्रभाव भनेको कारणकै रूपान्तरण हो (सिन्हा, सन् १९१५, पृ. ष्ख)। यहाँबाट के बुझिन्छ भने प्रकृतिमा वस्तुहरू एउटा रूपदेखि अर्को रूपमा रूपान्तरित हुन्छन्। संसारमा सबै वस्तुहरू निरन्तर परिवर्तन भइरहन्छन् (सिन्हा, सन् १९१५, पृ. ख)।
आत्मा तटस्थ हुनका कारण मनुष्यको बुद्धिमा आउने परिवर्तनलाई आत्माले हेर्न मात्रै सक्दछ। मनुष्य इच्छा र सांसारिक मोहमा बाँधिएका कारण आत्मालाई चिन्न सक्दैन। त्यस कारण सांसारिक जीवनमा इच्छा पूरा नहुँदा उसले मृत्युपछि पुनर्जन्म लिन्छ।
मनुष्यले ध्यान र साधना मार्फत आफ्नो चेतनालाई आत्मासित जोड्न सक्यो भने कैवल्य वा मोक्ष प्राप्त गर्न सक्दछ। त्यसपछि पुनर्जन्म हुँदैन (सिन्हा, सन् १९१५, पृ. ह(हष्)। कपिल मुनिका अनुसार कैवल्य वा मोक्ष भनेको इच्छा र सांसारिक मोहबाट मुक्त हुनु हो।
तर शैव सिद्धान्तको दृष्टिकोणबाट हेर्दा मनुष्य सांसारिक प्राणी हो र उसले कर्म गर्छ। यदि इच्छाबाट मुक्त भयो भने कर्म कसरी गर्न सक्छ ? भोजन गर्न इच्छा चाहिन्छ। इच्छा नभई योगको अभ्यास र साधना गर्न सकिदैन। इच्छा बिना ज्ञान वा शिक्षा पनि प्राप्त गर्न सकिदैन। मनुष्यलाई बाँच्नका लागि पनि इच्छा चाहिन्छ। त्यस कारण कपिल मुनिको कैवल्यको विचार अप्राकृतिक छ।
साङ्ख्य दर्शनलाई हामीले यसरी बुझ्न सकिन्छ : सक्रियता र परिवर्तन प्रकृतिमा हुन्छ, पुरुष वा आत्मामा सक्रियता र परिवर्तन हुँदैन, मनको चलखेलको अनुभव पुरुषले गर्छ, जब मन स्थिर र पवित्र हुन्छ तब पुरुष उज्ज्वल हुन्छ, मनुष्यको बन्धन र मोक्षसित पुरुषको सम्बन्ध हुँदैन र बन्धन र मोक्ष प्रकृति वा शरीरसित सम्बन्धित हुन्छ। जहाँ बुद्धिको भूमिका हुन्छ। योगको अभ्यास, ध्यान र साधनाले मनुष्य सांसारिक मोहको बन्धनबाट मुक्त भई मोक्ष प्राप्त गर्न सक्छ। जुन कैवल्य हो (सिन्हा, सन् १९१५, पृ. )।
कपिल मुनिका अनुसार योगको अभ्यासले मन स्थिर भएर सांसारिक मोह र इच्छाबाट मुक्त हुनु भनेको एउटा प्रक्रिया हो। यदि मनुष्यले संसार त्यागेर सन्यास लिएन भने मोह र इच्छाको कारणले मृत्यु पश्चात् पुनर्जन्म लिन्छ। आत्मामा उसको सांसारिक अनुभवहरू हुन्छ।
जबसम्म कैवल्य प्राप्त गर्दैन तबसम्म जन्म जन्मान्तरणको प्रक्रिया चलिरहन्छ (सिन्हा, सन् १९१५, पृ. )। कपिल मुनिका अनुसार पुरुष र महिलाको सम्भोग हुँदा पुरुषको शुक्रकिटले महिलाको डिम्बलाई उर्वर बनाइदिन्छ।
यदि शुक्रकिटले डिम्बलाई उर्वर बनाएन भने प्रत्येक महिना महिलाको रजस्वला हुन्छ (माइनकर, सन् १९७२, पृ. १४४)। डिम्ब उर्वर भएपछि गर्भमा बच्चाको विकास हुन्छ। महिलाले भोजन गरेको वस्तुबाट बच्चाले भोजन पाउँछ। जुन नाभि मार्फत हुन्छ।
बच्चाको केश, रगत र मांस आमाबाट बन्दछ भने मांसपेशी, नसा, हाड र त्यसभित्र हुने मासि पिताबाट आउँछ (माइनकर, सन् १९७२, पृ. १४४-१४५)। मृत्यु हुँदा शरीरका विभिन्न अङ्गहरू पञ्चतत्वमा गएर मिल्दछन्।
प्रकृतिको गतिविधिमा मृत्यु एउटा पक्ष हो। राजस, तामस र सत्व गुणको मिश्रणले जन्म, सक्रियता र मृत्यु हुन्छ (माइनकर, सन् १९७२, पृ. १४५-१४७)। कपिल मुनिको दर्शनमा मृत्यु भनेको प्रकृतिमा हुने परिवर्तन हो।
जन्म र मृत्युको प्रक्रिया निरन्तर चलिरहन्छ। जबसम्म मनुष्यले कैवल्य प्राप्त गर्दैन। साङ्ख्य दर्शनमा वैशेषिक दर्शनमा जस्तो मृत्युको विचार विकसित भएको देखिँदैन।
वेदान्त दर्शन
वेदान्त दर्शनको मुख्य स्रोत योग वशिष्ठ र अष्टावक्र ऋषिको अष्टावक्र गीता हो। योग वशिष्ठमा वशिष्ठ ऋषिले आफ्ना शिष्य रामलाई शिक्षा दिएका छन्। यसलाई वाल्मीकि ऋषिले लिपिबद्ध गरेका थिए। अष्टावक्र गीता अष्टावक्र ऋषि र राजर्षि जनक बिचको संवाद हो।
वाल्मीकि र अष्टावक्र दुवैले संसारलाई माया भन्छन्। कपिल मुनिले जस्तै उनीहरूले भन्छन् जबसम्म मोक्ष प्राप्त हुँदैन तबसम्म जन्म र मृत्यु भइरहन्छ। जन्म, जीवन र मृत्यु मायाकै अङ्ग हुन्। आत्मा यस मायाको साक्षी हो। यहाँ मन र आत्माको अन्तक्रिया देखिँदैन।
योग वशिष्ठमा वशिष्ठ ऋषिले कैवल्यलाई निर्वाण वा मोक्ष भन्छन्। निर्वाण भन्ने शब्द गौतम बुद्धले धेरै प्रयोग गरेका छन्। योग वशिष्ठमा वशिष्ठ ऋषिले रामलाई कथाहरूको माध्यमबाट शिक्षा दिन्छन्।
सांसारिक इच्छा र मोहबाट मुक्ति पाए मनुष्यले निर्वाण प्राप्त गर्न सक्छ (पनोटास, सन् २०१३, पृ. २८)। ज्ञान योग भनेको योगासनमा बसेर प्राणायाम गर्ने र ध्यान गर्दा शून्यता वा समाधिमा गएपछि आफ्नो ध्यान कुनै पनि विषयमा केन्द्रित नगर्नु हो। यसलाई बौद्धहरूले विपासना भन्छन्।
वास्तवमा ज्ञान योग भनेको शैवहरूको राजयोगको पहिलो चरण हो। जसले मनलाई शान्त पार्छ। वशिष्ठका अनुसार ज्ञान योगकै माध्यमबाट ज्ञान आउँछ (पनोटास, सन् २०१३, पृ. २८)। तर ज्ञान योगमा आपूmले पहिले नै अध्ययन गरेको विषय सम्बन्धित विचारहरू मात्रै आउँछ। ज्ञान योगले मनलाई शान्त बनाउँछ। वास्तवमा निर्वाण भनेको कपिल मुनिकै कैवल्य हो।
वशिष्ठका अनुसार ईश्वर भनेका परमात्मा हुन्। यी ठूला चेतना हुन्। चेतनाले पदार्थको रचना गर्न सक्दैन। किनकि त्यो आत्मा मात्रै हो। त्यस कारण पदार्थले बनेको संसार वास्तवमा छैन। त्यो मनुष्यको चेतनामा मात्रै रहन्छ। जुन माया हो (पनोटास, सन् २०१३, पृ. २८)।
मृत्यु हुँदा त्यस मायाबाट मुक्त हुन्छ र संसार पनि हराउँछ। वशिष्ठले यहाँ सपनाको उदाहरण दिन्छन्। सुत्दा खेरी सपना देखेको सत्य लाग्छ तर बिउँझिदा त्यो हराउँछ। त्यस्तै मायाको प्रभावले बाँचुन्जेल संसार यथार्थ जस्तो देखिन्छ।
तर मृत्युपछि त्यो संसार हराउँछ (पनोटास, सन् २०१३, पृ. २८)। ज्ञान योगले मनुष्यलाई इच्छा र मोहबाट मुक्ति दिलाएपछि मनुष्यले बुझ्दछ यो संसार माया हो (पनोटास, सन् २०१३, पृ. २९)। ध्यान गर्दा शून्यता वा समाधिको अनुभव हुनु नै ईश्वरलाई प्राप्त गरेको हो।
शून्यता नै नारायण हुन् (पनोटास, सन् २०१३, पृ. ३२)। उनलाई चिनेपछि मनुष्यले आफ्नो आत्मालाई इच्छा र मोह मुक्त बनाउँछ। त्यो नै निर्वाण हो (पनोटास, सन् २०१३, पृ. ५२)। निर्वाण प्राप्त गरेपछि मनुष्य जे छ त्यसैमा सन्तुष्ट हुन्छ। उसले कुनै चिजको इच्छा गर्दैन।
ऊ दुखि पनि हुँदैन र ऊ चिन्ता रहित हुन्छ (पनोटास, सन् २०१३, पृ. ५२)। त्यस्तो व्यक्तिले निष्काम कर्म गर्न सक्छ अर्थात् फलको आशा नगरी कर्म गर्न सक्छ। उसको मृत्यु भएपछि पुनर्जन्म हुँदैन (पनोटास, सन् २०१३, पृ. ६४)। यहाँ मृत्यु भनेको भौतिक शरीरको अन्त्य हो।
धन सम्पति र परिवार नै सांसारिक मोहका कारण हुन्। जहाँ सुख दुःख प्रेम र द्वेष हुन्छ। यो नै मृत्युपछि पुनर्जन्मको कारण हो। मनुष्यले निर्वाण प्राप्त नगरुन्जेल पुनर्जन्म भइरहन्छ (पनोटास, सन् २०१३, पृ. ७३-७४)। मृत्यु भनेको जन्मजन्मान्तरणको महत्वपूर्ण प्रक्रिया हो।
वशिष्ठका अनुसार मनुष्यको शरीरमा आत्मा र बुद्धि हुन्छ। आत्माकै कारणले गर्दा मनुष्यमा मन र त्यसमा ज्ञान हुन्छ। शरीर भनेको आत्माको अस्थायी विश्राम स्थल हो (पनोटास, सन् २०१३, पृ. ८२)। उनले शरीरको पनि चेतना हुन्छ भन्ने कुरालाई स्वीकार गर्दैनन्।
उनले आत्माको मात्रै चेतना हुन्छ भन्छन्। मृत्युले धनि र गरिबको शरीरलाई नष्ट गर्छ र आत्मा मात्रै रहन्छ (पनोटास, सन् २०१३, पृ. ८४)। वशिष्ठले समयलाई परमात्मासित तुलना गर्दै भन्छन् समयले नै सृजना र विनाश गर्छ। मनुष्यले कर्म र भाग्य समयै हातमा हुन्छ। समयको अस्तित्व कर्म र गतिले जनाउँछ।
समय अनुसार नै सोचाइ र कर्म हुन्छ। भाग्य भनेको नियति हो। मृत्यु सबैका लागि नियति नै हो (पनोटास, सन् २०१३, पृ. ९७)। मृत्यु पश्चात् आत्मा शरीरबाट मुक्त हुन्छ। त्यो पुनर्जन्म नलिँदासम्म संसारलाई दर्शक बनेर हेर्छ। तर निर्वाण प्राप्त गरेको आत्माले पुनर्जन्म लिँदैन र शान्त हुन्छ।
त्यो प्रसन्न हुन्छ (पनोटास, सन् २०१३, पृ. १५७)। वशिष्ठका अनुसार आत्मा भनेको ईश्वरको अंश हो। त्यस कारण मनुष्यमा मन र बुद्धि हुन्छ (पनोटास, सन् २०१३, पृ. १९०)। निर्वाण प्राप्त गरेको व्यक्तिको आत्मा मृत्युपछि प्रसन्न भएर परमात्मामा लिन हुन्छ (पनोटास, सन् २०१३, पृ. ३१४)।
अष्टावक्र गीता वेदान्त दर्शनको महत्वपूर्ण स्रोत मानिन्छ। अष्टावक्र ऋषिले राजा जनकलाई दिएको शिक्षा हेर्दा देखिन्छ कि उनले पनि वशिष्ठले जस्तै संसारलाई माया मान्छन् र संसार भनेको मनकै सृजना हो। उनले निर्वाणलाई मोक्ष भन्छन्।
जसले गर्दा जन्मजन्मान्तरको चक्रबाट मुक्ति पाइन्छ। इच्छा र सांसारिक मोहबाट मुक्ति पाएपछि मनुष्यले क्षमा, दया, करुणा र शान्तिको अनुभूति गरेर जीवनमा सन्तुष्ट हुन्छ।
उसले ध्यान दिएर निष्काम कर्म गर्न सक्छ (नित्यस्वरूपानन्द, सन् १९५३, पृ. २–३)। अष्टावक्रले पनि मनुष्यको चेतनालाई आत्माकै चेतना मान्छन्। उनले पनि शारीरिक चेतनालाई इन्कार गर्छन् (नित्यस्वरूपानन्द, सन् १९५३, पृ. ३)। अष्टावक्रले आत्मालाई चित्त पनि भन्छन्।
जुन मनुष्यको चेतना हो (नित्यस्वरूपानन्द, सन् १९५३, पृ. ४)। सबै सद्गुण र दुर्गुण, सुख र दुःख मनमा मात्रै हुन्छ। वास्तवमा चित्त स्वतन्त्र हुन्छ। मनको कारणले गर्दा मनुष्य सांसारिक बन्धनमा बाँधिन्छ (नित्यस्वरूपानन्द, सन् १९५३, पृ. ६-७)।
अष्टावक्रका अनुसार ध्यान गर्दा आफ्नो चित्तमा नै ध्यान केन्द्रित गर्नु पर्छ। यस्तो गरे मनुष्यले चित्तलाई चिनेर इच्छा र मोहबाट मुक्त हुन्छ (नित्यस्वरूपानन्द, सन् १९५३, पृ. ११)। उनले शून्यतालाई समाधि पनि भन्छन्
(नित्यस्वरूपानन्द, सन् १९५३, पृ. १२)। आत्माको रूप हुँदैन। त्यो चेतना मात्रै हो। मनले आत्मालाई कुनै प्रभाव पार्न सक्दैन। आत्मा ईश्वरकै अंश हो (नित्यस्वरूपानन्द, सन् १९५३, पृ. १४-१५)।
अष्टावक्रका अनुसार सांसारिक ज्ञान, ज्ञानी र अध्ययनको विषय सबै मनको सृजना हो। यो सांसारिक माया हो। मोक्ष प्राप्त गरेपछि मायात्राट मुक्ति पाइन्छ। साँचो ज्ञान भनेको सांसारिक मोह र इच्छाबाट मुक्त हुनु हो (नित्यस्वरूपानन्द, सन् १९५३, पृ. २६)।
मनकै कारणले गर्दा शरीर, स्वर्ग र नर्क, बन्धन, मुक्ति र भयको विचार आउँछ। यी सबै काल्पनिक कुरा हुन्। मोक्ष प्राप्त गरेको मनुष्यले यसलाई मिथ्या मान्दछ। चित्त नै सत्य हो (नित्यस्वरूपानन्द, सन् १९५३, पृ. २९)। बाँच्ने इच्छा पनि सांसारिक मोहकै कारणले हुन्छ।
मोक्ष प्राप्त गरेको ज्ञानीले जीवनको मोह गर्दैन (नित्यस्वरूपानन्द, सन् १९५३, पृ. ३०)। मृत्यु हुँदा सबै इच्छा र सांसारिक मायाको पनि अन्त्य हुन्छ (नित्यस्वरूपानन्द, सन् १९५३, पृ. ३२)। अज्ञानी इच्छा र सांसारिक मोहमा फसेर संसारलाई यथार्थ मान्छ (नित्यस्वरूपानन्द, सन् १९५३, पृ. १९६–१९७)।
राजस र तामस गुणले गर्दा इच्छा र सांसारिक मोह हुन्छ। तर ज्ञानीमा ती गुणहरू हराउँछन् (नित्यस्वरूपानन्द, सन् १९५३, पृ. २०४)। वेदान्त दर्शन हेर्दा जीवनको लक्ष्य निर्वाण वा मोक्ष प्राप्त गर्नु हो। त्यसपछि मृत्यु हुँदा आत्माले पुनर्जन्म लिँदैन। निर्वाण प्राप्त गरेको मानिसले निष्काम कर्म गर्छ।
किनकि उसमा इच्छा र संसारप्रतिको मोह हुँदैन। मृत्यु भनेको भौतिक शरीरको अन्त्य मात्रै हो। मृत्युपछि फेरी पुनर्जन्म हुन्छ। वेदान्त दर्शनमा स्वर्ग र नर्कको अवधारणा छैन। यी मनका सृजना हुन्।
पछिल्लो समयका पौराणिक कथाहरूमा मात्रै मृत्युपछि आत्मा स्वर्ग वा नर्कमा जान्छ भन्ने अवधारणा पाइन्छ। वैष्णवहरूको गरुड पुराण भन्दा वशिष्ठ र अष्टावक्रका प्रवचनहरू तार्किक छन्। तर यथार्थ जीवनमा वेदान्त दर्शन आदर्शवादी देखिन्छ। यो समस्याग्रस्त छ।
किनकि इच्छाबाटै मुक्ति पाएपछि समाज सुधार वा परिवर्तनको कुनै गुन्जायस हुँदैन। निष्काम कर्म गरेपछि कर्म फलको कुनै सरोकार हुँदैन। सुरक्षा, समृद्धि र न्यायको पनि महत्व रहँदैन। राजस र तामस गुण नहुँदा सक्रियता, कर्म र दण्डको महत्व रहँदैन। किनकि लक्ष्य बिना उचित कर्म समयमा हुँदैन।
यसले मनुष्यलाई निष्क्रिय र लापरवाह बनाउँछ। समाज विकासको कुनै महत्व हुँदैन। निर्वाण प्राप्त गरेको साधुले संसारको वास्ता नगरी मृत्युको प्रतिक्षा गर्दछ र पुनर्जन्म नहुने आशा गर्दछ।
यस्तै समस्या भएको कारणले गौतम बुद्धले वेदान्त दर्शनलाई परिमार्जन गरेर आफ्ना विचारहरू दिए। जहाँ साङ्ख्य दर्शनको पनि ठूलो प्रभाव छ। उनले वैशेषिक दर्शनको विरोधाभाष र वेदान्त दर्शनको अध्यात्मवादलाई छोडेर मध्यम मार्ग निकालेका छन्।
बौद्ध दर्शन
गौतम बुद्धले कश्यप ऋषिको वैशेषिक सूत्रबाट गति र रूपान्तरण वा परिवर्तनको विचार लिएर उनले त्यसलाई अनिच्य भनेका छन्। कश्यप ऋषिले झैं उनले पनि मृत्युलाई त्यही रूपान्तरण वा परिवर्तनको पक्ष माने तर बुद्धले यस प्रक्रियालाई प्राकृतिक मानि शैवहरूको विरोधाभाष र द्वन्द्वको विचारलाई इन्कार गरेका छन्।
उनले वशिष्ठ र अष्टावक्रको अन्तरनिर्भरता र कपिल मुनिको अन्तरसम्बन्धको विचारलाई लिएका छन्। बुद्धले अष्टावक्रको चित्तको विचारलाई लिएर भन्छन् चित्तको चेतनामा परिवर्तन आउँछ। त्यो अपरिवर्तनीय हुँदैन। मनुष्यमा सोचाइ र विचार मन र चित्तबाट आउँछ।
यहाँ वैशेषिक सूत्रको विचार देखिन्छ। यसलाई बुद्धले अनत्व भनेका छन्। अर्थात् मनुष्यको एउटा मात्रै चेतना हुँदैन। मृत्यु हुँदा मनको चेतनाको अन्त्य हुन्छ र चित्तले निर्वाण प्राप्त नगरुन्जेल पुनर्जन्म लिइरहन्छ। यहाँ उनले वशिष्ठ ऋषिको निर्वाणको विचार लिएका छन्।
वशिष्ठ र अष्टावक्रले जस्तै बुद्धले पनि निष्काम कर्मलाई महत्व दिन्छन्। बुद्धले शैव, वेदान्ती ऋषि र कपिल मुनिको साङ्ख्यकारिकाबाट विचारहरू लिए पनि उनले आफ्नो दर्शनमा केही कुराहरू थपेका छन्। जुन हिमवत्खण्डको विचारधारामा नै प्रभावशाली बने।
संयुक्त निकायको बालपण्डित सुत्तमा गौतम बुद्धले भन्छन् मनुष्यको शरीर अज्ञानता र इच्छाको फल हो। शरीरको रूप र नाम हुन्छ। आफ्ना इन्द्रियहरूको सम्पर्कमा आएपछि मनुष्यले सुख र दुःखको अनुभव गर्छ। मनुष्यमा इच्छा रहिरहन्छ। त्यस कारण मृत्युपछि उसले फेरि पुनर्जन्म लिइरहन्छ।
ज्ञानिले इच्छालाई नियन्त्रण गर्छ र पवित्र जीवनको अनुशरण गर्छ तब मृत्युपछि पुनर्जन्म हुँदैन। उसले जीवनको दुःखबाट मुक्ति पाउँछ (संयुक्त निकाय, १२ः१९)। बुद्धले मज्झिम निकायको बालपण्डित सुत्तमा भन्छन् पापीहरू निच कुल जस्तो चाण्डाल (जल्लाद, छालाको काम गर्ने), निषाद (सिकारी र माछा मासु बेच्ने), वेन (बासको काम गर्ने), रथाकार (सिकर्मी) र पुक्कुस (सफाइ कर्मचारी) मा जन्म लिन्छन्।
उनीहरू गरिब हुन्छन्। तिनीहरूले स्वादिष्ट भोजन खान पाउँदैनन्। राम्रो लुगा लगाउन र रथमा हिँड्न पाउँदैनन्। उनीहरूले माला, सुगन्धित अत्तर र शृङ्गारपटार गर्न पाउँदैनन्। उनीहरूले राम्रो घर र राम्रो ओछ्यानमा सुत्न पाउँदैनन्। उनीहरूको घरमा राम्रो उज्यालो पनि हुँदैन।
उनीहरूले शारीरिक, मानसिक र बोलिले नराम्रो कर्म गर्छन्। त्यस कारण उनीहरू मरेपछि नर्कमा जान्छन् (मज्झिम निकाय, १२९)। त्यही सुत्तमा उल्लेख छ पुण्य गरेका मानिसहरू क्षेत्रीय, ब्राह्मण वा वैश्य परिवारमा जन्म लिन्छन्। तिनीहरू धनि र राम्रा हुन्छन्।
उनीहरू मरेपछि स्वर्गमा जान्छन् (मज्झिम निकाय, १२९)। बुद्धले मृत्यु पश्चात् चित्त कर्म अनुसार स्वर्ग अथवा नर्कमा जाने विचार दिए। यस्तो विचार वैशेषिक, साङ्ख्य र वेदान्त दर्शनमा थिएन। बौद्धहरूकै प्रभावले पछिल्लो समयको वेदान्तीहरूमा आत्मा, स्वर्ग वा नर्कमा जाने विचार आयो। जुन गरुड पुराण हेर्दा देखिन्छ।
बुद्धले जातिको आधारमा सद्गुण र दुर्गुण छुट्याउँछन्। माथिल्लो जातिका मानिसहरू राम्रो भएकाले स्वर्ग जाने र तल्लो जातिका मानिसहरू पापी भएकाले नर्क जाने अवधारणा दिए। त्यस्तै माथिल्लो जातिको मानिस धनि हुने र तल्लो जातका मानिसहरू गरिब हुने विचार दिए।
गौतम बुद्धले कर्मको यस्तो सिद्धान्त दिएर समाजमा रहेको व्यवस्थित शोषणलाई वैधानिकता दिए। धनि मानिसहरू पूर्वजन्मको पुण्यको कारणले धनि भएर जन्म लिन्छन् भने गरिबहरू पूर्वजन्मको पापको कारण यस जुनिमा गरिब हुन्छन्।
गौतम बुद्धको मध्यम मार्गी दर्शनलाई बौद्ध भिक्षु आचार्य नागसेनले व्याख्या आफ्नो मिलिन्द पन्हमा गरेका छन्। मिलिन्द पन्ह नागसेन र उत्तर पश्चिम भारतका राजा मिलिन्द बिचको संवाद हो। नागसेनका अनुसार सांसारिक मोह र इच्छाको कारण पुनर्जन्म हुन्छ। कुशल कर्म र निर्वाण प्राप्त गरे पुनर्जन्म हुँदैन।
निर्वाण प्राप्त गर्न ध्यान गरेर मनलाई स्थिर र शान्त बनाउनु पर्छ। त्यसपछि मनुष्यले इच्छा र मोहबाट मुक्ति पाउन सक्छ (नानिसारा, सन् २००६, पृ. ६२–६५)। बौद्ध दर्शनमा वशिष्ठ ऋषिकै ज्ञान योगको महत्व छ। ध्यान गर्दा शून्यतामा गएर कुनै पनि वस्तु वा विषयमा ध्यान केन्द्रित नगरेर मनलाई स्थिर र शान्त बनाउन सकिन्छ।
नागसेनका अनुसार निर्वाण प्राप्त गरेपछि मनुष्यले सुख र दुःखलाई समान मान्दछ र दुःख गर्दा मानसिक तनाव हुँदैन (नानिसारा, सन् २००६, पृ. ९८-९९)। नागसेनले पनि जुनर्जन्म हुनुमा कर्मलाई नै महत्व दिन्छन्। जस अनुसार मनुष्यले सुख वा दुःख पाउँछ (नानिसारा, सन् २००६, पृ. १०३-१०८)।
समय अनुसार नै जन्म, मृत्यु र पुनर्जन्म हुन्छ। निर्वाण प्राप्त गरेको व्यक्तिको पुनर्जन्म नहुँदा समय पनि हुँदैन (नानिसारा, सन् २००६, पृ. ११२)। यहाँबाट बुझिन्छ समय भनेको सांसारिक हो। सबै मनुष्यहरूमा मृत्युको भय हुन्छ तर निर्वाण प्राप्त गरेको मानिसमा मृत्युको भय हुँदैन।
किनकि उसमा इच्छा र सांसारिक मोह हुँदैन (नानिसारा, सन् २००६, पृ. ३४०-३४१)। अन्त्यमा नागसेनले राजा मिलिन्दलाई भन्छन् योगको अभ्यास गर्ने मानिसले सुख र दुःखमा समान व्यवहार गर्छ। यसो हुँदा निर्वाण प्राप्त हुन्छ (नानिसारा, सन् २००६, पृ. ३४७)।
नागसेनको महापरिनिर्वाण पछि पहिलो शताब्दी इसापूर्वतिर महायान बौद्ध सम्प्रदायको विकास भयो। बुद्धले संसारलाई यथार्थ मान्दथे भने महायान सम्प्रदायले संसारलाई मनको सृजना मान्यो। जुन वेदान्त दर्शनको प्रभाव हो।
बुद्धले निर्वाणलाई लक्ष्य मान्दथे तर महायान सम्प्रदायले भिक्षुहरूको काम मनुष्यलाई राम्रो जीवन बाँच्न सिकाउने हो भनेको छ। उनीहरूले दया र ज्ञानलाई महत्व दिन्छन्। दया, करुणा, शान्ति र नैतिकतालाई अँगाले राम्रो जीवन व्यतित हुन्छ। ज्ञानिले मृत्युको भयबाट मुक्ति पाउँछ।
कर्म अनुसार मृत्युपछि स्वर्ग वा नर्कमा जान्छ। त्यसपछि मात्रै उसले पुनर्जन्म लिन्छ। मृत्युपछि प्रार्थना र रीतिथिति हुन्छ। उनीहरूले पनि निर्वाण प्राप्त गर्न योग अभ्यासलाई महत्व दिन्छन्। माथिको विश्लेषणबाट के देखिन्छ भने बौद्ध दर्शनमा मृत्यु भनेको जन्मजन्मान्तरको एउटा प्रक्रिया हो। जन्मपछि मृत्यु हुन्छ र मृत्युपछि जन्म हुन्छ।
हिमवत्खण्डका दर्शनहरूका चर्चा गरी सकेपछि मृत्यु र आत्माको विचार राम्रोसँग बुझ्न पश्चिमा विद्वान्हरूको यस विषयमा चर्चा गर्नु सान्दर्भिक हुन्छ। पश्चिमा ज्ञान प्रणालीको मुख्य आधार प्राचीन ग्रिक र रोमन दार्शनिकहरूका कृतिहरू हुन्।
प्लेटोले आत्मालई अजम्बरी माने, एरिष्टोटलले आत्मालाई जीवनदायी शक्ति र नाशवान माने, त्यस्तै एपिक्युरसले शरीर जस्तै आत्मा पनि परमाणुले बनेको हुँदा नाशवान हुन्छ भनेका छन्। स्टोएकवादले आत्मा तार्किक हुन्छ र मृत्यु भनेको प्रकृतिको पक्ष मान्दै मृत्युसित डराउनु हुँदैन भनेको छ।
प्राचीन ग्रिक र रोमन दार्शनिकहरूका विचार
मृत्यु र आत्माको विषयमा एथेन्सका दार्शनिक प्लेटोको ‘फाइडो’ भन्ने पुस्तक प्राचीन ग्रिक चिन्तनमा उच्च स्तरको मानिन्छ। फाइडो पाँचौँ शताब्दी इसापूर्वको अन्त्यतिर लेखिएको थियो। प्लेटोका गुरु सुकरातको मृत्युको दश वर्षभित्र प्लेटोले फाइडो लेखेका थिए (बनेट, सन् १९११, पृ. ह)।
फाइडो अध्ययन गर्दा देखिन्छ प्लेटोले प्राकृतिक विज्ञान भन्दा आदर्श सिद्धान्तलाई महत्व दिएका छन्। उनी सुकरातको मृत्युबाट प्रभावित थिए। एथेन्समा आत्माको अमरतामा विश्वास हुँदा प्राकृतिक विज्ञानले त्यस कुरालाई सिद्ध गर्न सक्दैनथ्यो र आत्मा प्राकृतिक विज्ञानको लागि अध्ययनको विषय नै थिएन।
प्लेटोको समयमा भएको सङ्कथन अनुसार आत्मा अमर शक्ति हो। त्यो ज्ञानी हुन सक्छ र शरीर भन्दा भिन्न र पवित्र हुन्छ (बनेट, सन् १९११, पृ. हष्हि)। प्लोटोका गुरु सुकरातले मृत्युलाई सपना बिनाको गहिरो निन्द्रा मान्दथे। उनका अनुसार रातभरिको गहिरो निन्द्रा दिनभर जागृत भएको भन्दा राम्रो हो।
आत्माको आफ्नै संसार हुन्छ (बनेट, सन् १९११, पृ.)। प्लेटो आफ्ना गुरु सुकरात (४७० इसापूर्व–३९९ इसापूर्व) को मृत्युबाट धेरै प्रभावित भएका थिए। यसपछि उनले फाइडो भन्ने पुस्तक लेखे। सुकरात एथेन्सका थिए। जहाँ प्रजातन्त्र थियो तर उनले स्पार्टा राज्यको राजतन्त्रको समर्थन गर्दथे।
त्यस कारण एथेन्सका राजनीतिक अधिकारीहरूले उनी माथि युवाहरूलाई भ्रष्ट पारेको, एथेन्सका देवी देवताहरूलाई इन्कार गरेको र नयाँ देवी देवता एथेन्समा प्रवेश गराउन खोजेको अभियोग लगाई उनलाई मृत्यु दण्ड दिइयो। प्लेटोले सुकरातको कसरी मृत्यु भयो भन्ने कुराको वर्णन गरेका छन्। जहाँबाट मृत्युको प्रक्रिया बुझ्न सकिन्छ। सुकरातलाई हेमलोक भन्ने विष ख्वाएर मृत्यु दण्ड दिइएको थियो।
प्लेटोका अनुसार कारागारमा सुकरातसँग उनका शिष्यहरू मध्ये क्रिटो पनि थिए। साँझको समयमा जेल अधिकारीले सुकरातलाई हेमलोकको कप दिए र त्यसपछि सुकरातले मौन भएर पिए। उनी एकछिन हिँडे र जमिनमा उत्तानो भएर पल्टिए। जेल अधिकारीले उनको खुट्टा अठ्याएर सोध्यो कि कस्तो अनुभूति भइरहेको छ।
सुकरातले भने खुट्टामा कुनै अनुभूति भएको छैन। खुट्टाबाट माथितिर विस्तारै शरीर अचेत हुँदै गयो। त्यतिखेर सुकरातले भने जब विष मेरो हृदयमा पुग्छ त्यसपछि मेरो अन्त्य हुन्छ। कमर र तिघ्रा बिचको भागमा केही अनुभूति नहुँदा सुकरातले क्रिटोलाई भने यस्कृपियस (औषधीहरूका देवता) लाई कुखुराको भाले बलि दिने भाकल गरेको छु। त्यो तिमीले पूरा गरिदेऊ।
त्यसपछि सुकरातको प्राण गयो (इलियट, एल.एल.डी., सन् १९०९, पृ. ११३-११४)। प्लेटोले मृत्युको प्रक्रिया देखाएर ज्ञानको क्षेत्रमा ठूलो योगदान गरेका छन्। ध्यान र साधना गर्ने व्यक्तिलाई थाहा हुन्छ शवआसनमा रहेर ध्यान गर्दा उसको खुट्टादेखि ऊर्जा विस्तारै हृदयतिर तानिन्छ।
हृदयको धडकन तीव्र गतिमा बढ्छ र हृदय बाहेक अरू अङ्ग शिथिल हुन्छन्। तर आँखा खोलेर ध्यानलाई रोकिदिने हो भने हृदयले सबै ऊर्जा विस्तारै शरीरका अङ्गहरूमा छोडिदिन्छ। शवआसनमा मृत्यु हुँदैन। सुकरातलाई पनि त्यस्तै अनुभव भएको थियो। तर विषको कारणले उनको मृत्यु भयो।
प्लेटोको फाइडोमा दिएको विचार कश्य ऋषिको वैशेषिक दर्शनसित धेरै मिल्दोजुल्दो छ। त्यहाँ विरोधाभाषको विचार पाइन्छ। जसलाई प्लेटोले विपरीतको एकता नाम दिए (इलियट, एल.एल.डी., सन् १९०९, पृ. ६०–६१, ६५)। विरोधाभाषको विचार माथि नै उल्लेख गरिएको छ।
मृत्युको विषयमा प्लेटोले भन्छन् मृत्यु भनेको शरीरबाट आत्माको विछोड हो। त्यसपछि आत्मा आफैं अस्तित्वमा रहन्छ। त्यो स्वतन्त्र हुन्छ (इलियट, एल.एल.डी., सन् १९०९, पृ. ५२-५३)। मृत्यु भन्दा पहिले शरीर मार्पmत आत्माले संसारको अनुभव गरी ज्ञान प्राप्त गर्छ। मृत्युपछि आत्मासित त्यो ज्ञान रहन्छ।
धन, सम्पति र शक्ति रहँदैन। त्यस कारण मनुष्यले ज्ञानलाई महत्व दिनु पर्छ (इलियट, एल.एल.डी., सन् १९०९, पृ. ५७)। जुन मानिस मृत्युसित डराउँछ उसले पैसा वा शक्तिसित प्रेम गर्छ। ज्ञानलाई प्रेम गर्ने मानिस मृत्युसित डराउँदैन।
किनकि शरीर नरहँदा पनि ज्ञान रहिरहन्छ (इलियट, एल.एल.डी., सन् १९०९, पृ. ५७)। प्लेटोको यस्तो तर्क प्रसंसनीय छ। यो वैशेषिक सूत्रसित मिल्छ। तर पनि शरीर नहुँदा आत्माले संसारमा शिक्षा वा ज्ञान दिन सक्दैन। किनकि शरीर मार्फत मात्रै संसारको अनुभव गर्न सक्छ। आत्माले अरू आत्मासित छलफल वा कुरा गर्न सक्छ।
प्लेटोका अनुसार शरीरलाई जीवित आत्माले नै राख्दछ। जीवनको विपरीत पक्ष चाहिँ मृत्यु हो। तर आत्मा अजम्बरी हुन्छ (इलियट, एल.एल.डी., सन् १९०९, पृ. १०१–१०२)। त्यो अलग्गै संसारमा बास गर्छ। जीवित रहुन्जेल मानिसले आत्माको उपेक्षा गर्छ। ज्ञानी र पुण्य गरेको मानिसको आत्माले मृत्यु पश्चात् सुख शान्ति पाउँछ।
तर पापी मानिसको आत्मासँग पापको भार हुन्छ र मृत्यु पश्चात् उसले शान्ति पाउँदैन। न त उसले मोक्ष प्राप्त गर्न सक्छ (इलियट, एल.एल.डी., सन् १९०९, पृ. १०३–१०४)। प्लेटोका अनुसार मृत्युपछि आत्मा अलग्गै संसार जान्छ र उसलाई देवताहरूले निर्देशन गर्छन्।
दृष्ट आत्माले शरीर र संसारकै इच्छा गर्छ। त्यसलाई देवताहरूले अलौकिक क्षेत्रको तल्लो भागमा लगेर यातना दिन्छन् (इलियट, एल.एल.डी., सन् १९०९, पृ. १०३–१०५)। मनुष्यले आफ्नो जीवनको अन्त्य गर्ने अधिकार छैन। ईश्वरले नै जीवन दिएको हो। मृत्युको अधिकार पनि उनकै हातमा छ।
मृत्युलाई मनुष्यले खुशिसित अँगाल्नु पर्छ (इलियट, एल.एल.डी., सन् १९०९, पृ. ४९–५०)। प्लेटोले फाइडो भन्दा पहिल्यै एपोलोजी भन्ने लेख लेखका थिए। एपोलोजिमा उनले तर्क दिन्छन् बाँचुन्जेल मनुष्यले आफ्नो कर्म कुशल वा अकुशल छ भनेर ध्यान दिनुपर्छ।
कुशल कर्म गरेको मानिस मृत्युसित डराउँदैन। अकुशल कर्म गर्ने मानिस मृत्युसँग डराउँछ र मृत्यु पश्चात् ऊ कलङ्कित हुन्छ (इलियट, एल.एल.डी., सन् १९०९, पृ. १५)। कुशल कर्म गर्ने मानिस मृत्युको भयले अन्याय सहेर बस्दैन (इलियट, एल.एल.डी., सन् १९०९, पृ. १९)।
प्लेटोको समयमा आत्मा हुँदैन भन्ने सङ्कथन पनि थियो। त्यस अनुसार मृत्यु भनेको शून्यताको अवस्था हो। मृत्यु हुँदा सपना बिनाको गहिरो निन्द्रामा सुतिन्छ। यो पूर्ण रूपको शान्ति हो। जहाँ कुनै सङ्घर्ष गर्नु पर्दैन (इलियट, एल.एल.डी., सन् १९०९, पृ. २७-२८)।
प्लेटोका अनुसार यदि आत्मा छ भने मृत्यु पश्चात उसले न्याय पाउँछ र राम्रो आत्मासित भेट हुन्छ। त्यो सानो आनन्द होइन (इलियट, एल.एल.डी., सन् १९०९, पृ. २८)। फाइडोमा प्लेटोले भन्छन् ज्ञानीले सुख र दुःखमा समान व्यवहार गर्छ। सुख र दुःख जीवनको पक्ष हो।
मनले भ्रमित गरेको कारण संसारको मोह हुन्छ। यसले ज्ञान पाउन अवरुद्ध गर्छ। शान्त भएर जीवनको अनुभव गर्नेले ज्ञान प्राप्त गर्न सक्छ (इलियट, एल.एल.डी., सन् १९०९, पृ. ५४-५५)। मृत्यु हुँदा सांसारिक बन्धनहरूबाट आत्मा मुक्त भएर शान्त हुन्छ (इलियट, एल.एल.डी., सन् १९०९, पृ. ५६)। प्लेटोले आत्मालाई दिव्य मान्छन्।
त्यसले मनलाई निर्देशित गर्छ (इलियट, एल.एल.डी., सन् १९०९, पृ. ७२)। मृत्युपछि राम्रो आत्मा तार्किक संसारमा जान्छ। जहाँ गल्ति र मुर्खता हुँदैन। त्यहाँ डर र मनुष्यको जस्तो महत्वाकांक्षा हुँदैन (इलियट, एल.एल.डी., सन् १९०९, पृ. ७३)।
प्लेटोले राम्रो आत्मालाई तार्किक, दिव्य र महत्वाकांक्षा नभएको भनेका छन्। तर वैशेषिक दर्शन मान्ने हो भने आत्माको सोचाइमा पनि परिवर्तन आउन सक्छ। यहाँबाट के बुझिन्छ भने प्लेटोले पनि कपिल मुनिले जस्तै आत्मालाई अपरिवर्तनीय मान्छन्। चेतना र इच्छा शक्ति भएपछि आत्माले तर्क दिँदा अरू आत्माहरूले फरक मत राख्न सक्छन्। यहाँबाट बुझिन्छ आत्मा पूर्ण हुँदैन।
प्लेटोका शिष्य एरिस्टोटलले अन द सोल भन्ने आत्माको विषयमा पुस्तक लेखेका छन्। उनको व्याख्या र विश्लेषणलाई तार्किक मानिन्छ। एरिस्टोटल प्लेटोसित आत्माको विषयमा सहमत भए पनि उनले भन्छन् शरीर बिना आत्माले संसारको अनुभव गर्न सक्दैन।
मनुष्यले जस्तै आत्माले पनि प्रेम, द्वेष, क्रोध, उदारता, डर, दया, साहस र प्रसन्नताको अनुभव गर्न सक्छ। मनुष्यको मनलाई आत्माले नै निर्देशित गर्छ (हेट, सन् १९५७, पृ. १५–१७)। आत्मा परमाणुले बनेको हुन्छ र त्यो प्रकाश जस्तै हुन्छ। मनुष्य आत्माकै कारणले गर्दा सक्रिय हुन्छ (हेट, सन् १९५७, पृ. २१–२३)।
आत्माको गुण र धारणा हुन्छ। त्यो पदार्थ रहित हुन्छ (हेट, सन् १९५७, पृ. २९)। आत्माको पनि गतिशीलता हुन्छ (हेट, सन् १९५७, पृ. ४३)। आत्माले सोच्न र तर्क दिन सक्छ। त्यो तार्किक हुन्छ (हेट, सन् १९५७, पृ. ६३-६४)। आत्मामा धारणा र संवेदना पनि हुन्छ (हेट, सन् १९५७, पृ. ९९-१०१)।
आत्माले शरीर मार्फत संसारको अनुभूति गर्छ (हेट, सन् १९५७, पृ. १३३-३४)। एरिस्टोटलका यस्ता तर्कले साधारण व्याख्या मात्रै गर्दछ। उनले सामाजिक स्तरीयकरणको प्रभावलाई ओझेलमा पारेका छन्।
सबै मनुष्यको आत्मालाई तार्किक भन्दा प्रश्न उठ्छ कि शिक्षामा पहुँच नभएको व्यक्तिको आत्मा तार्किक र ज्ञानी हुन्छ कि हुँदैन ? आत्माले शरीर मार्पmत ज्ञान प्राप्त गर्ने हुँदा मनुष्यले गुणस्तरीय शिक्षा प्राप्त गर्नु पर्छ। त्यतिखेर मात्रै आत्माले ज्ञान प्राप्त गर्न सक्छ।
एरिस्टोटलको दृष्टिकोण माथिल्लो वर्गको स्वार्थमा देखिन्छ। उसने भन्छन् ज्ञानको सन्दर्भमा आत्मा शरीर माथि नै निर्भर हुन्छ (हेट, सन् १९५७, पृ. १७९–१८१)। एरिस्टोटलले प्राचीन ग्रिक समाजमा रहेका दास, किसान, मजदुर र दासीहरूको आत्मा कस्तो हुन्छ भन्ने कुराको चर्चा गरेका छैनन्।
मृत्युको विषयमा एरिस्टोटलले अग्निको उदाहरण दिन्छन्। मृत्यु भनेको जलेको अग्नि निभे जस्तो हो। सबै पशुहरूमा त्यस तापको स्रोत हृदयमा हुन्छ। हृदयले रगत शरीरमा पठाएका कारण शरीरमा ताप हुन्छ।
आत्मा पनि त्यही हुन्छ। मृत्यु भनेको यस तापको अन्त्य हो (हेट, सन् १९५७, पृ. ४१९)। जलेको अग्नि आफैं निब्छ अथवा त्यसलाई कसैले निभाउँछ। त्यस्तै मनुष्य पनि वृद्ध अवस्थामा म¥यो भने त्यो मृत्यु प्राकृतिक हो।
तर रोग वा हिंसाले मानिस मर्यो भने त्यो अप्राकृतिक हो (हेट, सन् १९५७, पृ. ४१९–२१)। मृत्युले पुरानो पिँढीको अन्त्य गरी नयाँ पिँढीका लागि ठाउँ बनाइदिन्छ। एरिस्टोटलले मृत्युलाई जैविक प्रक्रिया मात्रै मान्छन्।
इपिक्युरस (३४१ इसापूर्व-२७० इसापूर्व) का केही पत्रहरू भेटिएका छन्। ती पत्रहरूमा मृत्यु र आत्माको विचार दिइएको छ। उनका अनुसार आत्मा राम्रा परमाणुहरूले बनेको हुन्छ। जसमा वायु र तेजस हुन्छ। आत्माको संवेदना र भावना हुन्छ।
मृत्यु हुँदा भावना र संवेदना मनुष्यले गुमाउँछ। किनकि आत्मा शरीरबाट निस्कन्छ। जीवित हुँदा पनि मनुष्यको संवेदना आत्माको जति हुँदैन (बैले, सन् १९२६, पृ. ३९)। गतिको कारणले आत्माले शरीरलाई संवेदना दिन्छ।
शरीरको मृत्यु हुँदा परमाणुहरूको विघटन हुन्छ र आत्मा शरीरमा बस्न सक्दैन (बैले, सन् १९२६, पृ. ४१)। शरीर बिना आत्माले संसारको अनुभव गर्न सक्दैन (बैले, सन् १९२६, पृ. ४३)। मनुष्यका लागि मृत्यु भनेको उसको संवेदनाको अन्त्य हो। त्यस कारणले बाँचुन्जेल जीवनको आनन्द लिनुपर्छ। कोही पनि अजम्बरी हुँदैन।
मृत्यु पीडादायी हुन्छ भन्ने मिथ्या हो। वास्तवमा मृत्युको डरले मनुष्यलाई पीडा दिन्छ। बाँचुन्जेल मनुष्यले दुःख पाउन सक्छ तर मृत्यु हुँदा कुनै पीडा हुँदैन (बैले, सन् १९२६, पृ. ८५)। मृत्युको डरले पीडा दिन्छ तर मनुष्य मरेपछि पीडा नै हुँदैन। मानिसहरूले मृत्युलाई सबैभन्दा नराम्रो घटना मान्छन्।
तर केही मानिसहरूले मृत्युलाई नराम्रो जीवनबाट मुक्ति पाउने बाटो सोच्दछन् (बैले, सन् १९२६, पृ. ८५)। ज्ञानिले जीवनबाट मुक्ति पाउन खोज्दैन। न त उसले मृत्युलाई नराम्रो सोच्दछ। जस्तो खाना खाँदा उसले लोभ गर्दैन।
उसले बाँचुन्जेल राम्रोसित आफ्नो जीवन व्यतित गर्छ र मर्दाखेरि राम्रोसित मर्दछ (बैले, सन् १९२६, पृ. ८७)। मनुष्यले संसारमा नै शरीर र आत्मालाई राम्रो राख्न उपाय खोज्नु पर्छ (बैले, सन् १९२६, पृ. ८७)। मनुष्यले साधारण, इज्जेतसित र न्यायपूर्वक जीवन बाँच्नु पर्छ। त्यसो हुँदा ऊ सुखी जीवन बाँच्न सक्छ। मृत्यु हुँदा ऊ रहँदैन र संवेदनाहरूको अन्त्य हुन्छ (बैले, सन् १९२६, पृ. ९५)।
इपिक्युरसको आत्मा र मृत्युको विचारलाई शैव सिद्धान्तको दृष्टिकोणले आलोचना गर्न सकिन्छ। उनका अनुसार मृत्यु भनेको संवेदनाको अन्त्य हो। यस्तो विचारले अज्ञात घटना मृत्युलाई दिने चासो र पहिचान नै गुम्ने चिन्तालाई ओझेलमा पार्दछ। त्यस्तै मृत्युपछि आत्मा कहाँ जान्छ भन्ने कुरा उनले भन्दैनन्।
इपिक्युरसले मानिसलाई साधारण इज्जतसित र न्यायपूर्ण जीवन व्यतित गर्न भनेका छन्। तर सामाजिक, आर्थिक परिधिले मनुष्यलाई प्रभाव पार्ने कुरा र वर्गीय असमानताले जीवन र मृत्युमा पार्ने प्रभावलाई वेवास्था गरेका छन्। दुःखि गरिब मानिस सुखी भएर न्यायपूर्वक कसरी बाँच्न सक्छ ?
इपिक्युरसकै पालादेखि आत्मा र अलौकिक क्षेत्रलाई वेवास्था गरेर संसारमै ध्यान केन्द्रित गर्ने दर्शनको सुरुवात भयो। जुन पछिल्लो समयका विद्वान्हरूमा देखिन्छ। उनीहरूले आत्मा र अलौकिक क्षेत्रको कुरै नगरी जीवन र मृत्युको विषयमा मात्रै अध्ययन गरेका छन्। प्राचीन रोमन विद्वान्हरूमा सेनेका र इपिकट्टसका विचारहरू बुझ्न आवश्यक छ।
अहिलेको समयमा साधारण र इज्जतसित बाँच्दा पूँजिवादको व्यक्तिवाद र उपभोक्ताका मूल्य मान्यतालाई समर्थन गरे जस्तो देखिन्छ। इपिक्युरसको विचारले आर्थिक अवस्था र मनुष्यलाई आइलाग्ने चुनौतीलाई वेवास्था गरेको छ।
इपिक्युरसकै पालादेखि आत्मा र अलौकिक क्षेत्रलाई वेवास्था गरेर संसारमै ध्यान केन्द्रित गर्ने दर्शनको सुरुवात भयो। जुन पछिल्लो समयका विद्वान्हरूमा देखिन्छ। उनीहरूले आत्मा र अलौकिक क्षेत्रको कुरै नगरी जीवन र मृत्युको विषयमा मात्रै अध्ययन गरेका छन्। प्राचीन रोमन विद्वान्हरूमा सेनेका र इपिकट्टसका विचारहरू बुझ्न आवश्यक छ।
सेनेकाले हाउ टु डाइ भन्ने आफ्नो पुस्तकमा मृत्युको विचार दिएका छन्। लुसियस अन्नाइस सेनेका (४ इ.पु.–सन् ६५) प्राचीन रोमका इस्टोइक दार्शनिक थिए। उनले कपिल मुनि र बुद्धले जस्तै अन्तरसम्बन्धको विचार दिए। उनका अनुसार मनुष्य मृत्युका लागि तयार रहनु पर्छ। जन्मेपछि मानिसले मृत्युकै लागि यात्रा गर्छ।
उनले आत्महत्याको विषयमा पनि विचार दिएका छन्। उनका अनुसार मृत्यु भनेको प्रकृतिको प्रक्रिया हो। भौतिक शरीरको अन्त्य भनेको प्रकृतिमा हुने रूपान्तरण हो। जस्तो गर्मीको ऋतुपछि अर्को ऋतु आउँछ र जाडो हुन्छ। दिनपछि रात आउँछ।
त्यस कारण मृत्युसित डराउनु हुँदैन (रोम, सन् २०१८, पृ. १५)। रोगी शरीर भनेको मृत्युको पूर्वभ्यास हो। मृत्यु हुँदा जीवन र आत्मा दुवै गुमाउनु पर्छ (रोम, सन् २०१८, पृ. १६)। सेनेकाले आत्मा र अलौकिक क्षेत्रको विषयमा केही पनि भन्दैनन्। मृत्यु भनेको शून्यता हो।
जन्मिनु भन्दा पहिल्यै शून्य थियो र मृत्युपछि पनि शून्य हुन्छ। सास रोकिएपछि सबै कुराको अन्त्य हुन्छ (रोम, सन् २०१८, पृ. १७)। त्यस कारणले बाँचुन्जेल सबै कुरामा मध्यस्थता अपनाउनु पर्छ (रोम, सन् २०१८, पृ. १७)। आयु कति लामो हुन्छ कसैलाई थाहा हुँदैन।
त्यस कारण कर्म गर्दा मृत्युको विषयमा पनि सोच्नु पर्छ (रोम, सन् २०१८, पृ. १७)। मृत्युले सबै दुःखहरूलाई हरण गर्छ। मृत्युपछि शून्यता भएर शान्ति पाउँछ। जसरी जन्मिनु भन्दा पहिले शान्ति थियो (रोम, सन् २०१८, पृ. १८)। मृत्युको डरले मनुष्यलाई शान्तिपूर्वक मर्न दिँदैन र जीवनको महत्व र नैतिक मूल्यलाई हटाइदिन्छ। त्यसो हुँदा मनुष्य राम्रोसित बाँच्न सक्दैन (रोम, सन् २०१८, पृ. १८)।
मृत्यु अनिवार्य हुन्छ तर मानिसले कसरी बाँच्दछ भन्ने कुराको महत्व हुन्छ (रोम, सन् २०१८, पृ. ३५)। सेनेकाका अनुसार कुनै विशिष्ट उद्देश्य वा कारणका लागि प्राण त्याग्नु भनेको आत्माउद्धार हो।
जस्तो केटोले जुलियस सिजरको निरङ्कुश शासन विरुद्ध लड्दै आफ्नो प्राण त्यागेका थिए (रोम, सन् २०१८, पृ. ३८)। इपिक्युरसले जस्तै उनले पनि मृत्युलाई भौतिक शरीरको परमाणुहरूको विघटन मानेका छन् (रोम, सन् २०१८, पृ. ५०)।
अन्त्यमा सेनेकाले भन्छन् जुन कुराको मनुष्यले प्रवचन गर्छ त्यसैलाई उसले जीवनमा लागु गर्नु पर्छ। त्यसो हुँदा उसको जीवन अर्थपूर्ण हुन्छ (रोम, सन् २०१८, पृ. ५०-५८)। सेनेका जस्तै इपिकटेटस पनि इस्टोइक दार्शनिक थिए।
इपिकटेटस (रोम, सन् २०१८, पृ. १३५)। रोमन दासका पुत्र थिए। उनी टर्किका थिए। ग्रिक समाजको तुलनामा रोमनहरूले दासहरूलाई पनि शिक्षाको अधिकार दिएका थिए। इपिकटेटसका मालिक एपाफ्रोडिटस रोमन सम्राट निरोका सचिव थिए। उनले इपिकटेटसलाई मुसोनियस रुफुसको अधिनमा शिक्षा प्राप्त गर्न दिए।
पछिल्लो समयमा इपिकटेटस रोम गएर शिक्षकको पेशामा लागे। इपिकटेटसका विचारहरूलाई उनका शिष्य एरियनले लिपिबद्ध गरेका थिए। उनका पुस्तक दे डिस्कोर्सेस र म्यानुअल चर्चित छन्। इपिकटेटसका अनुसार मृत्यु प्राकृतिक र जीवनको अपरिहार्य अंश हो। मृत्युसित डराउनु भनेको व्यर्थ हो। मनुष्यले विवेक, तर्क, सद्गुण र नैतिक जीवन बाँच्नु पर्छ।
इपिकटेटसका अनुसार मनुष्यको इच्छा शक्ति हुन्छ र आफ्नो नियन्त्रणमा भएको कुरालाई प्रयोग गरेर राम्रो जीवन बाँच्नु पर्छ (वल्डफादर, सन् १९५६, पृ. ९–११)। मनुष्य आफ्नो जीवनसँग सन्तुष्ट हुनुपर्छ। तार्किक भएदेखि सहनशील जीवन व्यतित गर्न सकिन्छ।
यहाँ शिक्षाको महत्व छ। किनकि मनुष्य प्रकृतिकै अनुसार बाँच्नु पर्छ। लोभ लालच गरे जीवनमा समस्या आउन सक्छ (वल्डफादर, सन् १९५६, पृ. १५–१७)। इच्छाले लोभ ल्याउँछ। त्यस कारण सद्गुणी भए खुशी, शान्ति र सन्तुलित जीवन बाँच्न सकिन्छ (वल्डफादर, सन् १९५६, पृ. २७-२९)।
उनका पुस्तकहरू हेर्दा सेनेकाका जस्तै विचारहरू पाइन्छ। उनका अनुसार मनुष्यको अधिनमा सोचाइ, छनोट र कर्म हुन्छ। मृत्युलाई शान्तिपूर्वक स्वीकार गर्नु पर्छ। सेनेका र इपिकटेटसका विचारहरू राम्रा भए पनि उनीहरूको आलोचना गर्न सकिन्छ।
उनीहरूको दृष्टिकोण उच्च वर्गको स्वार्थमा रहेको छ। किसान र मजदुरहरूको व्यवस्थित शोषण र उनीहरूमा आर्थिक समस्या हुन्छ। यस्तो अवस्थामा उनीहरूले इच्छा शक्तिको प्रयोग गरेर शान्तिपूर्वक जीवन कसरी व्यतित गर्न सक्छन् ? व्यक्तिको सद्गुण र भित्री शान्तिको प्रसङ्गमा सामुहिक कर्म र समाज परिवर्तनको कुरा नै आउँदैन।
समाजमा असमानता हुँदा सन्तुष्ट जीवन बाँच्न सम्भव हुँदैन। आर्थिक परिधिलाई परिवर्तन नगरी सामाजिक न्याय सम्भव हुँदैन। यदि वर्गीय असमानता र शोषण रहँदा कसैले सन्तुष्टि, शान्ति र सद्गुणको प्रवचन दिन्छ भने त्यो आदर्शवादी दार्शनिक हो।
मृत्युको कुरा गर्दा भौतिक शरीरको अन्त्य सबैको हुन्छ। कोही पनि अजम्बरी हुँदैन। स्टोइक दार्शनिकहरूको प्रभाव फ्रेड्रिक नित्सेमा परेको छ। उनी जर्मन दार्शनिक भए।
मध्यकालमा क्रिष्टियन धर्मको प्रभावले ग्रिक र रोमनहरूको ज्ञानलाई दमन गरिएको थियो। युरोपमा धर्मका नाममा भूमिपतिहरूको वर्चश्व थियो। स्वर्ग र नर्कको सपना देखाएर गरिब किसान र वधुवा मजदुरहरूको शोषण हुन्थ्यो।
तर चौधौँ शताब्दीबाट रेनेशा भन्ने आन्दोलन चल्यो। जहाँ प्राचीन ग्रिक र रोमनहरूको ज्ञानको पुनर्अभ्युदय भयो। जसले विवेकवाद र तर्कलाई महत्व दिन्छ। रेनेशा इटालिको फ्लोरेन्सबाट सुरुवात भएको थियो।
सत्रौँ शताब्दीसम्ममा पुरै युरोपभर फैलियो। शिक्षाको पहुँच साधारण जनतामा हुँदा आर्थिक समृद्धि र विज्ञानमा ध्यान केन्द्रित भयो। मृत्युको विषयमा आधुनिक युगमा फ्रेड्रिक नित्से, हाइडेगर, फुको र डेरिडा महत्वपूर्ण छन्।
आधुनिक पश्चिमा विद्वान्हरूका विचार
फ्रेड्रिक नित्से (सन् १८४४-१९००) शून्यवादको सिद्धान्तका लागि चर्चित छन्। उनले मान्दथे परम्परागत मूल्य मान्यता र विश्वासहरू निराधार छन्। त्यसको अस्तित्वको भित्री अर्थ छैन। आधुनिक युगमा धार्मिक र अधिभौतिक आधारहरू युरोपमा कमजोर हुँदै गएपछि निहिलिजम वा शून्यवादको उदय भयो।
नित्सेको चर्चित पुस्तक टुइलाइट अफ द आइडोल्स अर हाउ टु फिलोसोफाइज विथ ए ह्यामर हो। यस पुस्तकमा उनले मृत्युको विचार दिएका छन्। उनले यो सन् १८१८ मा लेखेका थिए। यस पुस्तकको शीर्षकले नै जनाउँछ कि उनको आलोचनात्मक र तिखो दृष्टिकोण छ।
हतौडाले बुझिन्छ कि प्रचलित विचारहरूलाई उनले प्रहार गर्न चाहन्छन्। नित्सेका अनुसार ईश्वर माथि विश्वास गर्नु मनुष्यको एउटा गल्ति हो। जसले मनुष्यलाई मार्दैन त्यसले उसलाई शक्ति दिन्छ। अध्यात्म भनेको अप्राकृतिक कुरा हो। मनुष्यले आफू र अरूलाई सहयोग गर्न सक्छ (फेरर, सन् २०१३, पृ. ५)।
नित्सेले मृत्युलाई ईश्वरले दिएको नियति नमानेर प्राकृतिक घटना मान्छन्। मृत्युसिछ डराउने मानिस मुर्ख हो। मृत्युलाई इच्छा अनुसार स्वीकार गर्ने मानिस ज्ञानि हो। सन्तुष्ट भएर मृत्युलाई स्वीकार गर्नु पर्छ। मृत्यु हुने व्यक्तिको आफन्त र मित्रहरूले उसलाई खुशीसित बिदा गर्नु पर्छ (फेरर, सन् २०१३, पृ. ५९-६०)।
लामो समय औषधि र चिकित्सकको भरमा बाँच्ने रोगी समाजको परजीवि हो। त्यो बाँचेको कुनै अर्थ छैन। त्यो पतित जीवन हो। मानिसको जन्मने, बच्चा जन्माउने र बाँच्ने अधिकार हुन्छ भने उसको गर्वका साथ मर्ने अधिकार पनि हुनुपर्छ (फेरर, सन् २०१३, पृ. ६०)।
नित्सेले कुनै विशिष्ट उद्देश्यका लागि मृत्यु अँगाल्नु उचित हो भन्छन्। रोगले मर्नु र कायर भएर बाँच्नु कथित जीवन हो। बाँचुन्जेल जीवनलाई प्रेम गरेर अर्थपूर्ण बनाउनु पर्छ (फेरर, सन् २०१३, पृ. ६०)। नित्सेको शक्तिको इच्छा चर्चित विचार हो।
उनका अनुसार मनुष्यले आत्मनिर्भर भएर जीवनका चुनौतीको सामना गरी आफ्ना उद्देश्यहरू पूरा गर्नु पर्छ। त्यसो हुँदा उसले सन्तुष्ट भएर मृत्युलाई अँगाल्छ (फेरर, सन् २०१३, पृ. ६०)। नित्सेले अर्को पुस्तक द गे साइन्समा जीवनलाई प्रक्रियाको रूपमा देखाउँछन्। जहाँ एउटा अध्याय सिद्धिएर अर्को अध्याय सुरु हुन्छ।
चलिरहेको अध्याय जीवन हो भने त्यो अध्यायको अन्त्य हुनु भनेको मृत्यु हो। मनुष्य जीवनमा त्यस मृत्युका कारण नयाँ अनुभव र अवसरहरू आउँछन्। त्यस्तै एउटा पिँढीको अन्त्य भएपछि अर्को पिँढी आउँछ।
कमजोर अथवा वृद्ध मानिस प्रकृतिको नियम अनुसार बाँच्न सङ्घर्ष गर्छ वा मरेर जान्छ (कौफम्यान, सन् १९७४, पृ. १००)। अर्थपूर्ण जीवन भनेको आफ्नो इच्छा र संसारको मोहलाई त्यागेर ठूलो उद्देश्यका लागि बाँच्नु हो।
ऊ सन्तुष्ट हुन्छ र उसले इज्जत पनि पाउँछ (कौफम्यान, सन् १९७४, पृ. १००-१०१)। उसले ज्ञान प्राप्त गर्न सांसारिक इच्छालाई त्याग गर्छ। तर उसको पनि अरू साधारण मानिस भन्दा उच्च स्थान प्राप्त गर्ने अभिलाषा हुन्छ। उसले सांसारिक जीवन त्यागेको भनेको समाजकै सबभन्दा ठूलो स्थान प्राप्त गर्नु हो। ऊ सबै भन्दा बाठो मानिस हो (कौफम्यान, सन् १९७४, पृ. १००-१०१)।
साधारण मानिसहरूमा त्यागको भावना र करुणा हुँदैन। त्यस कारणले उनीहरू महान हुँदैनन् (कौफम्यान, सन् १९७४, पृ. १०१)। नित्सेका अनुसार मनुष्यहरू वर्तमानमा बाँचेका हुन्छन्। तर भविष्यको मृत्युसको छाया सबैमा रहन्छ।
अनुभव, इच्छा र अन्तरक्रियाको समृद्ध दृश्य उदासिनताले भरिएको खुशीको भावना ल्याउँछ। तर मृत्युको सन्नाटा सबैमा आउने छ (कौफम्यान, सन् १९७४, पृ. २२४–२२५)। भविष्यको चाहनाले मनुष्यहरू क्रियाशील हुन्छन्। तर कुनै पनि समयमा मृत्यु हुन्छ भनेर सोच्दैनन्।
उनीहरू मृत्युको भाइचारामा छन् भन्ने थाहा हुँदैन। सांसारिक जीवनमा बस्ने मानिसहरूले मृत्युबाट ध्यान हटाएर जीवनलाई नै महत्व दिँदा जीवन रोमान्चक बन्दछ (कौफम्यान, सन् १९७४, पृ. २२४-२२५)।
नित्सेको मृत्यु सम्बन्धी विचारले भौतिक शरीरको अन्त्य देखाउँछ र बाँचुन्जेल मनुष्यले सांसारिक सुख दुःखको त्याग गरेर करुणाको भावना जागृत गरेर ज्ञान प्राप्त गर्न सक्छ। ऊ सर्वश्रेष्ठ मानव बन्न सक्छ। त्यस्तै सांसारिक जीवनमा बस्ने मानिसहरू वर्तमानमा बाँच्छन् र मृत्युको विषयमा सोच्दैनन्। उनीहरूको जीवन अर्थपूर्ण हुँदैन।
नित्सेका यी दुईवटा विचारलाई व्यक्तिवादको प्रोत्साहित गरेको कारणले आलोचना गर्न सकिन्छ। समाजमा रहेको असमानता र शोषणलाई नित्सेले वेवास्था गरेको देखिन्छ। उनले मानिसहरू मृत्युको भाइचारामा छन् भन्छन्। तर बाँचुन्जेल भाइचारा हुनुपर्छ भन्दैनन्।
उनका कृतिहरू स्पष्ट रूपले धनि वर्गको पक्षमा छन्। त्यस्तै उनले सर्वश्रेष्ठ मानिसलाई पनि बाठो र महत्वाकांक्षि भनेका छन्। तर उसले गरेको परिश्रम र उसले पाएको दुःखलाई नित्सेले वेवास्था गरेका छन्।
सर्वश्रेष्ठ मानवले समाजमा उचो स्थान पाएको भनेको उसको कर्मको फल हो। यहाँबाट के बुझिन्छ भने नित्सेको विचार शून्यवाद नै हो। जसले समाज परिवर्तन र अध्यात्मकलाई कुनै स्थान दिँदैन।
मनुष्यको उपस्थिति अस्तित्वमा हुन्छ। मृत्युले त्यस अस्तित्वलाई नाश गरिदिन्छ। मृत्युको सामना मनुष्यले एक्लै गर्नु पर्दछ। मृत्युलाई अरूसँग अनुभव गरी बाँड्न सकिँदैन। यस कुरालाई राम्ररी बुझे मनुष्यको जीवन अर्थपूर्ण हुन सक्छ। जीवनलाई बुझ्न मृत्युलाई पनि बुझ्नु पर्छ। त्यसो हुँदा मनुष्यले इमानदारीपूर्वक राम्रो जीवन व्यतित गर्न सक्छ। यसका लागि विवेकको प्रयोग गर्नु पर्छ।
मृत्युको विषयमा चाखलाग्दो विचार दिने दार्शनिक जर्मनीका मार्टिन हाइडेगर (सन् १८८९-१९७६) हुन्। उनको चर्चित पुस्तक विइङ एण्ड टाइममा मृत्युको विचार दिइएको छ। हाइडेगरका अनुसार मनुष्यको उपस्थिति अस्तित्वमा हुन्छ।
मृत्युले त्यस अस्तित्वलाई नाश गरिदिन्छ। मृत्युको सामना मनुष्यले एक्लै गर्नु पर्दछ। मृत्युलाई अरूसँग अनुभव गरी बाँड्न सकिँदैन। यस कुरालाई राम्ररी बुझे मनुष्यको जीवन अर्थपूर्ण हुन सक्छ। जीवनलाई बुझ्न मृत्युलाई पनि बुझ्नु पर्छ। त्यसो हुँदा मनुष्यले इमानदारीपूर्वक राम्रो जीवन व्यतित गर्न सक्छ। यसका लागि विवेकको प्रयोग गर्नु पर्छ।
मनुष्य जीवन अस्थायी हुन्छ। त्यस कारण लापरवाही नगरी जीवन व्यतित गर्नु पर्छ। मृत्युको समय कहिले आउँछ थाहा हुँदैन (म्याक्वारी र रोविन्सन्, सन् २००१, पृ. २७७–२७८)। जीवनको प्राथमिक अभिमुखीकरण आफ्नै अस्तित्वतिर हुन्छ अर्थात् उसले आत्मचिन्तन गर्न सक्छ।
मृत्यु नहुँदासम्म मानव अस्तित्व सधै आफ्नै सम्भावना र सम्भाव्यताहरूमा उन्मुख हुन्छ (म्याक्वारी र रोविन्सन्, सन् २००१, पृ. २७९)। समयको कारणले गर्दा मनुष्य सधै भविष्यतिर नै उन्मुख हुन्छ। निराश हुनु पनि एउटा क्षमता हो। मानिसले आफ्नो जीवनको हेरचाह र सावधानि अपनायो भने आफ्नो क्षमताको राम्रो प्रयोग गर्न सक्छ।
तर धेरै जसो मानिसहरूले आफ्नो क्षमताको प्रयोग गर्दैनन्। कुनै पनि मनुष्य पूर्ण हुँदैन। उसको जीवनमा सुधार गर्ने ठाउँ हुन्छ। त्यस कारण उसको जीवन गतिशील हुन्छ (म्याक्वारी र रोविन्सन्, सन् २००१, पृ. २७९)।
प्रकृतिको सन्दर्भमा बुझ्दा मृत्यु भनेको मनुष्य जीवनको अन्त हो। जीवन पछि मृत्यु अनिवार्य आउँछ। जीवन र मृत्यु भनेका एक अर्काका परिपुरक हुन्। व्यक्तिले आफ्नो जीवनको मात्रै अनुभव गर्दछ। अरूको जीवनलाई पूरै अनुभव गरी बुझ्न सकिँदैन।
जीवन र मृत्युलाई अस्तित्वको सन्दर्भमा बुझ्नु पर्दछ (म्याक्वारी र रोविन्सन्, सन् २००१, पृ. २८०)। मृत्युमा आफ्नो अस्तित्वको नै अन्त्य हुँदा मृत्युलाई बुझ्न सकिँदैन र जीवन नहुँदा कस्तो हुन्छ त्यसको अनुभव गर्न सकिँदैन।
त्यस कारणले यी कुरा बुझ्नका लागि अरूको जीवन र मृत्यु हेर्नु पर्दछ। अरूको मृत्युलाई बुझ्दा जीवनको पूर्णतालाई विश्लेषण गर्न सकिन्छ। भौतिक शरीरको अन्त्य भए पनि मनुष्यको चिनारी रहिरहन्छ (म्याक्वारी र रोविन्सन्, सन् २००१, पृ. २८१)।
प्रकृतिको सन्दर्भमा बुझ्दा मृत्यु भनेको मनुष्य जीवनको अन्तय हो। जीवन बाँचेपछि मृत्यु अनिवार्य आउँछ। जीवन र मृत्यु भनेका एक अर्काका परिपुरक हुन्। व्यक्तिले आफ्नो जीवनको मात्रै अनुभव गर्दछ। अरूको जीवनलाई पुरै अनुभव गरी बुझ्न सकिँदैन।
जीवन र मृत्युलाई अस्तित्वको सन्दर्भमा बुझ्नु पर्दछ (म्याक्वारी र रोविन्सन्, सन् २००१, पृ. २८०)। मृत्युमा आफ्नो अस्तित्वको नै अन्त्य हुँदा मृत्युलाई बुझ्न सकिँदैन र जीवन नहुँदा कस्तो हुन्छ त्यसको अनुभव गर्न सकिँदैन। त्यस कारणले यी कुरा बुझ्नका लागि अरूको जीवन र मृत्यु हेर्नु पर्दछ।
अरूको मृत्युलाई बुझ्दा जीवनको पूर्णतालाई विश्लेषण गर्न सकिन्छ। भौतिक शरीरको अन्त्य भए पनि मनुष्यको चिनारी रहिरहन्छ (म्याक्वारी र रोविन्सन्, सन् २००१, पृ. २८१)। वर्तमानमा मृतक व्यक्ति र पहिले नै मृत्यु भएको व्यक्तिमा फरक हुन्छ। वर्तमानमा मृतक व्यक्ति आफ्नो परिवार वा आफन्तलाई छोडेर गएको हुन्छ।
त्यस कारण उसको अन्त्येष्ठि हुन्छ। उसको शोक मनाइन्छ। ऊ मरे पनि उसको सम्झना रहन्छ। संसार भनेको जीवित मनुष्यहरूले बाँड्ने परिधि हो। मृत्यु हुँदा संसारको पनि अन्त्य हुन्छ।
परिवार र आफन्तका लागि मृत्यु भनेको आफ्नो मानिस गुमाउनु हो (म्याक्वारी र रोविन्सन्, सन् २००१, पृ. २८२)। जीवनको सन्दर्भमा मृत्युलाई बुझ्दा मनुष्यहरूको जीवन हेरे मृत्युको महत्व बुझ्न सकिन्छ (म्याक्वारी र रोविन्सन्, सन् २००१, पृ. २८३)। मृत्युको पूर्वज्ञान वा बुझाइले सांसारिक जीवनमा हराएको मानिसलाई होसमा ल्याइदिन्छ।
समाजको मूल्य मान्यता, आफ्नो पहिचान, दिनचर्या र अपेक्षाहरूका कारणले सांसारिक जीवनमा बाँधिन्छ। तर मृत्युको बुझाइले ऊ अर्थपूर्ण जीवन बाँच्न सक्छ। ऊ संसारको मायामा फस्दैन। ऊ जिम्मेवार भएर आफ्नो जीवन व्यतित गर्छ (म्याक्वारी र रोविन्सन्, सन् २००१, पृ. ३११)।
यहाँ हाइडेगरले सांसारिक मोहमा नफसेर स्वतन्त्र भएर जीवनलाई अर्थपूर्ण बनाउनु पर्छ भनेका छन्। तर उनले नैतिकता र मूल्य मान्यताको वास्ता गरेका छैनन्। त्यसो हुँदा सर्वश्रेष्ठ मानिसलाई नै उनले आदर्श माने। मृत्यु हुँदा अस्तित्व नै सिद्धिन्छ भने बाँचुन्जेल किन शक्तिशाली र सर्वश्रेष्ठ नहुने।
यस्तो विचारको कारणले हाइडेगरको विइङ एण्ड टाइम संसार भरिका तानाशाहाहरूका लागि धार्मिक ग्रन्थ जस्तो हो। आश्चर्यको कुरा होइन कि हाइडेगर जर्मनीको नात्सि पार्टी रहुन्जेल उनी त्यसका सदस्य थिए। उनको आदर्श पुरुष हिटलर थिए। उनले फ्राइबर्ग युनिभर्सिटीमा सन् १९६७ सम्म पढाएका थिए र उनको मृत्यु सन् १९७६ मा भयो।
हाइडेगरको कृतिलाई शैव सिद्धान्तको दृष्टिकोणबाट हेर्दा देखिन्छ कि उनको अस्तित्वका विश्लेषणमा व्यक्तित्व अनुभव र सत्वमिमांशा (अन्टोलोजी) लाई प्राथमिकता दिँदा समाजिक आर्थिक कारकको महत्वपूर्ण भूमिका ओझेलमा परेको छ।
त्यस्तै आर्थिक अवस्थाले मृत्युको अनुभवलाई कसरी प्रभाव पार्छ भन्ने कुरालाई वास्ता गरेका छैनन्। उनको आदर्शवादी सोचमा व्यक्तिगत इच्छा र छनोटलाई प्राथमिकता दिँदा सामाजिक आर्थिक वाधकहरू ओझेलमा पर्दछन्। नित्से र हाइडेगरको आदर्शवादी सोचमा व्यक्तिवाद झल्किन्छ।
यो उन्नाइसौँ र बिसौँ शताब्दीको उत्तरार्धको चरित्र थियो। त्यति खेरको औद्योगिक समाजमा व्यक्तिगत अभिमुखीकरण र व्यक्तिको काम गर्ने क्षमतालाई महत्व दिइन्थ्यो। तर दोस्रो विश्वयुद्ध पछि शैक्षणिक सङ्कथनमा जनता केन्द्रमा आए। जनताको युगको सुरुवात भयो।
त्यसो हुँदा सन् १९६० को दशकदेखि उत्तरआधुनिकतावादको सुरुवात भयो। यसले संरचनावादीको अध्ययन विधिमा रहेका सीमतता र कठोरताहरूको पर्दाफास र आलोचना गर्यो।
उत्तरआधुनिकतावादको राम्रो उदाहरण मिसेल फुको हुन्। उनको मृत्युको विचार राज्य र समाजसित सम्बन्धित भएको पाइन्छ। मिसेले फुको (सन् १९२६-१९८४) का व्याख्यानहरू फ्रान्समा सन् १९७५ – १९७६ सम्म दिइएको थियो। उनले पेरिसको कलेज डे फ्रान्समा दिइएका व्याख्याहरू सोसाइटी मस्ट बी डिफेन्डेड नामक पुस्तकको रूपमा प्रकाशित भएको छ।
मिसेल फुकोका अनुसार मृत्यु भनेको भौतिक शरीरको अन्त्य मात्रै नभएर राज्यले अभ्यास गर्ने शक्ति र नियन्त्रणको पक्ष हो। उन्नाइसौँ शताब्दीसम्म राज्यले व्यक्तिहरू माथि शक्तिको अधिग्रहण गर्दथ्यो। त्यस समयमा सार्वभौम सत्ताको सिद्धान्तमा जीवन र मृत्युको अधिकार थियो (मासे, सन् २००३, पृ. २३९-२४०)।
यसको अर्थ के हो भने राज्यले चाहेमा मृत्युदण्ड दिन सक्दथ्यो। तर उन्नाइसौँ शताब्दीदेखि राज्यले मृत्युदण्ड भन्दा जीवनको पालन पोषण र सुरक्षातिर ध्यान दिन थाल्यो। तर पहिलेको मृत्युदण्ड दिने अधिकार भने कायम नै रह्यो (मासे, सन् २००३, पृ. २४१)। राज्यले सत्रौँ र मुख्य रूपमा अठारौँ शताब्दीदेखि दक्षता र नियन्त्रणका लागि श्रम व्यवस्थापनका आयामहरू खोज्यो।
यसमा निगरानी, स्तरीयकरण, निरक्षण र अभिलेख प्रणाली पर्दछन् (मासे, सन् २००३, पृ. २४२)। उन्नाइसौँ शताब्दीदेखि राज्यले जन्म दर्ता, मृत्यु दर्ता र दिर्घायुको योजना ल्यायो। त्यसो हुँदा महामारीलाई नियन्त्रण गर्ने योजना जस्तो चिकित्सक सुविधा, स्वच्छता र औषधिको उपलब्धता राज्यले गराउन थाल्यो।
यसले मृत्युको परिभाषा नै परिवर्तित गरिदियो (मासे, सन् २००३, पृ. २४३–२४४)। पहिला मृत्युलाई अचानक र अप्रत्याशित घटनाको रूपमा हेरिन्थ्यो। तर अब मृत्यु भनेको समाजमा घट्ने निरन्तर र क्रमिक प्रक्रिया बन्यो। मृत्यु समाजमा भइरहँदा मनुष्य जीवनको स्थायी पक्ष बन्यो।
मृत्युको सचेतता समाजमा हुन थाल्यो (मासे, सन् २००३, पृ. २४४)। उन्नाइसौँ शताब्दीको अन्त्यतिरबाट चिकित्सा विज्ञान र औषधिमा अध्ययन गर्न राज्यले नै प्रोत्साहित गर्न थाल्यो। फलस्वरूप समाजमा बिमा, वचत र सुरक्षा उपायहरू गर्ने चलन आयो (मासे, सन् २००३, पृ. २४४)।
फुकोका अनुसार मृत्यु भनेको मानव अस्तित्वको आधारभूत पक्ष हो। यो शक्ति संरचनाको हस्तक्षेप वा त्यसको अधिनमा हुँदैन। तर राज्यले मृत्युदरलाई घटाउन सक्छ। यसरी मृत्युलाई जनसङ्ख्यासित हेरेर जोडिन थालियो (मासे, सन् २००३, पृ. २४८)।
राज्यले आफ्ना जनतालाई बचाउँछ भने अरू राज्य वा देशका जनतालाई मृत्युदण्ड दिन्छ। यसमा नश्लवाद वा विदेशी हुनुको सङ्कथन प्रयोग हुन्छ। यहाँ राज्यको मृत्युदण्ड दिने अधिकार वैद्य मानिन्छ (मासे, सन् २००३, पृ. २५५-२५६)। त्यस्तै राजनीतिक मृत्युको अवधारणा आयो।
राज्यले मानिसहरूलाई बहिष्कार, इन्कार र देश निकाला गर्न सक्छ। यसले जनतामा राज्यको शक्ति देखाउँछ (मासे, सन् २००३, पृ. २५८)। फुकोले मृत्युको विषयमा महत्वपूर्ण अध्ययन गरे पनि उनका तर्कहरूलाई आलोचना गर्न सकिन्छ। उनले आर्थिक पक्षलाई इन्कार गरेका छन्।
किनकि मृत्युदर र चिकित्साका सुविधाहरू प्राप्त गर्न राज्यको आर्थिक अवस्था र परिवारको वर्गले निर्धारित गर्छ। आयुदर वृद्धिमा पनि आर्थिक अवस्था र जीवनको स्तरले ठूलो प्रभाव पार्छ। चिकित्साको क्षेत्रमा निजीकरण हुँदा निम्न वर्गका मानिसहरूलाई औषधि उपचार गर्न ज्यादै अप्ठ्यारो पर्दछ। यी सबै कुराहरूलाई फुकोले ओझेलमा पारेका छन्।
मिसोल फुकोले आफ्नो अर्को चर्चित पुस्तक द अडर अफ थिङ्समा मृत्युको विचारलाई परिमितता वा नाशवानसँग जोडेर हेरेका छन्। भौतिक शरीरको अन्त्य मात्र नभएर मृत्यु मनुष्य अवस्थाको अन्तरनिहित पक्ष हो।
अर्थात् मृत्यु भनेको मनुष्य अवस्था वा समाजको रूपान्तरण र परिवर्तन हो (फुको, सन् २००५)। फुकोको यो विचार वैशेषिक दर्शनसित मिल्दछ। फुकोले यस विचारलाई शैक्षणिक र चिन्तनको क्षेत्रमा प्रयोग गरेका छन्। उनका अनुसार उन्नाइसौँ शताब्दीदेखि आधुनिक सोचको सुरुवात भएको हो।
चिन्तक वा विद्वान्हरूले अध्यात्मबाट बाहिर आएर मृत्युको अस्तित्वत्मक निहितार्थहरूसँग अझ स्पष्ट रूपमा समाहित गर्न थाले। मनुष्य अवस्था र समाजको नाशवान चरित्रलाई फुकोले शैक्षणिक सङ्कथनको परिवर्तन मान्दछन्। यहाँ मृत्यु भनेको परिवर्तनको प्रक्रिया हो।
फुकोले तर्क गर्छन् प्राचीन कालमा शब्दहरूको रङहिन सञ्जाल हुन्थ्यो। जहाँ विषय वा मनुष्यहरू प्रकट हुन्थे र त्यसरी नै प्रस्तुतीकरण कुनै सङ्कथनमा बाँधिन्थे। मध्यकालको रेनेशामा शब्दहरूको अर्थ निकालिन्थ्यो।
सङ्कथन भनेको व्याख्या गर्ने परिपाटि मानिन्थ्यो (फुको, सन् २००५, पृ. ३३९)। अठारौँदेखि उन्नाइसौँ शताब्दीसम्म पोजिटिभिजम (सकारात्मकवाद) को लहर चल्यो। जहाँ शब्दहरूलाई यन्त्रको रूपमा लिइन्थ्यो। शब्दहरूले विषयलाई प्रस्तुत गरी ज्ञान दिन्थे।
अतित वा शास्त्रीय युगमा भाषाले अर्थ, प्राकृतिक इतिहास र विषयहरूको विश्लेषणमा विनियमन भूमिका खेल्दथ्यो (फुको, सन् २००५, पृ. ३३९)। त्यतिखेर सङ्कथनमा वस्तु र प्रस्तुतीकरण मात्रै हुँदा मनुष्यको विज्ञान हुँदैनथ्यो। उन्नाइसौँ शताब्दीदेखि म सोच्छदछुबाट सङ्कथन म छु भन्नेमा परिवर्तित भयो।
यहाँ प्रस्तुतीकरण र मनुष्यको बिचमा सम्बन्ध जोडियो (फुको, सन् २००५, पृ. ३३९)। यसो हुँदा प्राकृतिक इतिहास जीवविज्ञान, सम्पत्तिको विश्लेषण, अर्थशास्त्र र भाषाको अध्ययन भाषाशास्त्रमा परिवर्तन भयो। यसरी नयाँ युगको सुरुवात भयो (फुको, सन् २००५, पृ. ३३९–३४०)।
मनुष्य अध्ययनको विषय र ज्ञानि अध्ययनकर्ता बन्यो। ऊ ज्ञानको अधिनमा आयो। आधुनिक चिन्तनमा नाशवानको चरित्र केन्द्रमा आयो। त्यस कारण परिवर्तनको सङ्कथन आयो। मनुष्य उसको श्रम, व्यक्तित्व र भाषाले चिनिन थाल्यो। अतितमा मनुष्यको मन, शरीर र उसका सीमिततामा ध्यान केन्द्रित हुन्थ्यो।
त्यतिखेर मनुष्य सङ्कथनको केन्द्र हुँदैनथ्यो (फुको, सन् २००५, पृ. ३४१-३४२)। आधुनिक युगमा मनुष्य नाशवानको चरित्र लिएर अनुभवजन्य सामग्रीको पात्र बन्यो अर्थात् ज्ञानको उत्पादन तथ्य र तथ्याङ्कको आधारमा हुन थाल्यो। ज्ञान समयको परिधिभित्र बाँधियो (फुको, सन् २००५, पृ. ३४७-३४८)।
फुकोको अध्ययन चाखलाग्दो छ तर शैव सिद्धान्तको दृष्टिकोणबाट हेर्दा उनका तर्क समस्याग्रस्त छन्। किनकि आर्थिक स्रोत माथि शक्ति र नियन्त्रण हुँदा भाषा, ज्ञान र मानव अवस्था रूपान्तरित हुन्छ। त्यस्तै शासक वर्गको विचारधाराले पनि शैक्षणिक सङ्कथनलाई प्रभाव पार्छ।
फुकोले आधुनिक युगको पुँजीवादलाई ओझेलमा पारेका छन्। पुँजीवादमा ज्ञानको व्यवसायिकताले त्यसको उत्पादनमा प्रभाव पार्दछ। सञ्चार माध्यमले पनि दृष्टिकोणमा प्रभाव पार्छ।
प्राचीनकालदेखि नै वर्ग र लिङ्गले ज्ञान र प्रस्तुतीकरणमा भूमिका खेल्दै आएका छन्। केही कमी कमजोरी भए पनि फुकोको मृत्युलाई रूपान्तरण वा परिवर्तन मान्ने अध्ययन वैशेषिक दर्शनसित मिल्दछ।
मिसेल फुको पछि मृत्युको विचारमा अध्ययन गर्ने जेक्स डेरिडा हुन्। उनको चर्चित पुस्तक द गिफ्ट अफ डेथ हो। उनले मृत्युलाई उत्तरदायित्व र त्यागसित जोडेर हेरेका छन्। त्याग गर्नु भनेको अनमोल उपहार हो। जहाँ मनुष्यको मृत्यु हुन्छ।
प्राणको वलिदान दिनु भनेको कुनै उत्तरदायित्व लिएको कारणले हुन्छ। जस्तो उच्च अधिकारीको आदेश पालन गर्दा उत्तरदायित्वको सहज बोध हुन्छ। त्यस्तो आदेश र उत्तरदायित्व अलौकिक पनि हुनसक्छ। डेरिडाका अनुसार उत्तरदायित्व अतितमा धर्मसित जोडिएको हुन्थ्यो।
तर आधुनिक युगमा यो नैतिकतासित जोडिन थाल्यो (विल्स, सन् १९९५, पृ. ५)। मनुष्यले मृत्यु अरूलाई दिन सक्छ अथवा आफैं मर्न सक्छ। जस्तो आत्महत्या गर्न सक्छ। ऊ कसैका लागि मर्न सक्छ वा आफ्नो प्राणको आहुति दिन सक्छ। जसरी सुकरात र जिजस क्राइष्टले उपहारको रूपमा कुनै बहुमूल्य वस्तु दिनु पनि उपहार हो। जुन त्यागसित जोडिएको हुन्छ (विल्स, सन् १९९५, पृ. १०)।
मनुष्यले आफ्नो हेरचाह गर्नु भनेको मृत्युसित सतर्कता अपनाउनु हो। उसको मनस्थिति नै मृत्युको विषयमा ध्यान केन्द्रित हुन्छ। जसका कारणले आत्माको विचार आउँछ। मृत्युको विषयमा सोच्दा मात्रै आत्माको विचार आउँछ (विल्स, सन् १९९५, पृ. १४)। यसरी नै स्वयं हुनुको अस्तित्व बोध हुन्छ।
मृत्युमा ध्यान केन्द्रित गर्दा आत्मा अदृश्य हुन्छ भन्ने विचार आउँछ। मृत्यु भनेको मुक्ति पनि हो। जुन उत्तरदायित्वबाट छुटकरा पाउनु हो (विल्स, सन् १९९५, पृ. १५)। त्याग वा वलिदान दिएर मरेको मानिसको जीवन सफल हुन्छ र उसले मृत्युलाई नै जित्छ।
किनकि ऊ आफ्नै इच्छाले मरेको हुन्छ (विल्स, सन् १९९५, पृ. १६)। डेरिडाले यहाँ युद्धको उदाहरण दिन्छन्। एउटा सैनिकले आफ्नो प्राणको बलिदान दिन्छ तर केही मानिसहरू मृत्युदेखि डराउँछन्। उनीहरूलाई मृत्युले जित्छ (विल्स, सन् १९९५, पृ. १७–१८)। डेरिडाका अनुसार मृत्यु भनेको वास्तवमा मृत्युको डर हो।
आफ्नै इच्छाले मृत्युलाई स्वीकार गर्नु मृत्यु माथिको जित हो (विल्स, सन् १९९५, पृ. ३१)। क्रिष्टियन धर्मले पाप र पश्चातापको विचार दिएर मनुष्यलाई पीडा र आशामा बाँच्न बाध्य पा¥यो। मनुष्य ईश्वर बिना पनि नैतिकता र उत्तरदायित्वका साथ बाँच्न सक्छ। मृत्यु भनेको ईश्वरले दिएको उपहार होइन। मनुष्यले पनि मृत्युको उपहार दिन सक्छ (विल्स, सन् १९९५, पृ. ३२-३३)।
डेरिडाको मृत्यु सम्बन्धी विचार उत्तरदायित्व र त्यागसँग मात्रै जोडिएको छ। तर शैव सिद्धान्तको दृष्टिकोणबाट हेर्दा उनका तर्कहरू कुलिन विचारधारामा आधारित छन्। साधारण मनुष्यको मृत्युको डेरिडाले कुरै गर्दैनन्। उनले बाइवलका अब्राहम र इसाकको कुरा गर्छन्।
मृत्युलाई धर्मबाट हटाएर हेर्दा उनको दृष्टिकोण शिक्षित कुलिन वर्गलाई आकर्षित गर्दछ। त्यस कारण डेरिडाको विश्लेषण साधारण जनतामा मेल खान सक्दैन। वर्गीय असमानता र गुणस्तरीय चिकित्सक सेवा सुविधाको पहुँच नभएका मानिसहरूका सन्दर्भमा मृत्युको विचारलाई डेरिडाले ओझेलमा पारेका छन्। तर पनि उनको कृति उच्चपद र कुलिन वर्गका लागि अनुकरणीय छ।
निष्कर्ष
माथि गरिएको छलफलबाट देखिन्छ कि हिमवतखण्डका ऋषिमुनि र पश्चिमा विद्वान्हरूले मृत्यु र आत्माको विषयमा समृद्ध दार्शनिक अन्तर्दृष्टि दिएका छन्। वैशेषिक दर्शन, प्लेटो र ऐरिस्टोटलले सांसारिक जीवन र अलौकिक क्षेत्रलाई सन्तुलित दृष्टिकोणबाट हेर्छन्। पदार्थिक संसार र अध्यात्म दुवै मनुष्यका लागि महत्वपूर्ण छन्।
किनकि अध्यात्मलाई वेवास्था गर्दा मनुष्य स्वार्थी हुन सक्छ। प्रेम, करुणा, दया र सन्तुष्टि जीवनमा हुँदैन। पश्चिमा चिन्तनमा इपिक्युरसको पालादेखि अध्यात्मलाई त्यागेर सांसारिक जीवनलाई मात्रै ध्यान दिँदा विज्ञान र प्रविधिको विकास भयो।
तर धन सम्पत्तिको लोभमा उपनिवेशवाद र पूँजीवादको उदय भयो। धनि र शक्तिशाली मुलुकहरूले स्रोतहरूको अनियन्त्रित शोषण गर्दा प्रकृतिमा असन्तुलन र दुर्बल मुलुकहरूको दोहन भयो।
खासगरि नेपाल जस्ता कम जनसङ्ख्या भएका देशहरूमा प्रतिभाको पलायन र वैदेशिक रोजगारले प्रेषण अर्थतन्त्र एवं आयातमुखि बजार स्थापित भयो। तर पनि हिमवत्खण्ड र पश्चिमा दर्शनले जीवन अन्त्यको हेरचाह, शोक प्रक्रियाहरू र मृत्युप्रति व्यापक सामाजिक मनोवृत्तिमा छलफलहरू सूचित गर्न सक्ने विविध दृष्टिकोणहरू दिन्छन्।
जसले मृत्युको विषयमा समग्र र सांस्कृतिक रूपमा संवेदनशील बुझाइदिन्छन्। यसले सांस्कृतिक रूपमा संवेदनशील र व्यक्तिगत जीवनको अन्तिम चरणमा हेरचाह प्रदान गर्न सक्छ। सङ्गठित स्वास्थ्य सेवाले रोगी र त्यसका परिवारको हेरचाह र सहानुभूति प्रदान गर्न सक्छ।
पश्चिमा चिन्तनले मनुष्यको क्षमता र निर्णय लिने शक्तिमा केन्द्रित गर्दा जीवनको महत्व देखाउँछ र मृत्यु भन्दा पूर्व आफ्नो उत्तरदायित्व एवं व्यवहार मिलाउन प्रोत्साहित गर्छ। जीवन रक्षा गर्ने उपचार र राजनीतिक शक्तिको अन्तरसम्बन्धको बुझाइ फुकोको अध्ययनमा देखिन्छ।
हिमवत्खण्डको दर्शनले आध्यात्मिक कल्याण र मृत्युको उत्कृष्ट विचार दिन्छ। त्यस्तै वैशेषिक र बौद्ध दर्शनले मृत्युको प्रक्रियामा भावनात्मक चुनौतिको सामना गर्न दिशा निर्देशित गर्छन्।
पश्चिमा चिन्तनले मनुष्यको क्षमता र निर्णय लिने शक्तिमा केन्द्रित गर्दा जीवनको महत्व देखाउँछ र मृत्यु भन्दा पूर्व आफ्नो उत्तरदायित्व एवं व्यवहार मिलाउन प्रोत्साहित गर्छ। जीवन रक्षा गर्ने उपचार र राजनीतिक शक्तिको अन्तरसम्बन्धको बुझाइ फुकोको अध्ययनमा देखिन्छ।
त्यस्तै डेरिडाले त्याग र उत्तरदायित्वको सन्दर्भमा मृत्युलाई उपहारको रूपमा हेरेका छन्। यो राजनीतिक नेता र सुरक्षाकर्मीको विषयमा लागु हुन्छ। वैशेषिक दर्शन र मिसेल फुकोको विचारले मृत्युलाई रूपान्तरण र परिवर्तनसित जोडेर हेर्छन्। मनुष्यको कर्मले नै गर्दा गतिको विचार आउँछ।
जसले समाज परिवर्तन र प्रगतिको महत्व देखाउँछ। समग्र रूपमा हेर्दा हिमवत्खण्डको दर्शनले पदार्थ र अध्यात्मलाई सन्तुलित महत्व दिँदा दक्षिण एशियामा आत्मनिर्भर सामाजिक आर्थिक आकार बन्यो। तर पश्चिमाहरूको पदार्थलाई मात्रै ध्यान दिने चिन्तनले गर्दा उनीहरूले अध्यात्मलाई गुमाए।
त्यस कारण अचेल उनीहरूले प्राणायाम, ध्यान, मुद्रा र आशनहरूको अभ्यास गर्न थालेका छन्। धन सम्पत्ति र सुविधाले मात्रै मन शान्त हुँदैन। आत्मा र मनको सम्बन्ध सन्तुलित हुँदा मात्रै शान्ति र सन्तुष्टि आउँछ। तिनीहरूले पनि अरू आत्मासित कुरा गर्न टेलिपेथी भन्ने तरिका निकालेका छन्।
तर त्यसमा मृत्यु भइसकेको मानिसको आत्मासित कुरा गर्न मिल्दैन। जीवित व्यक्तिको आत्मासित मात्रै कुरा गर्न मिल्छ। हाम्रो सनातन धर्ममा ध्यान र साधनाको माध्यमबाट जीवित मानिस वा मृत्यु भइसकेको मानिसको आत्मासित कुरा गर्न मिल्छ।
सनातनीहरूले मध्यकालदेखि शैवहरूको वैशेषिक दर्शनलाई ओझेलमा पारेर वेदान्तको अध्यात्मलाई मात्रै अँगाल्दा उनीहरू विज्ञान र प्रविधिमा पछाडि परे। त्यस कारण भारतको अर्थतन्त्र विश्वको पाँचौँ स्थानमा भए पनि उनीहरू पश्चिमा मेसिनरी वा पश्चिमा आधारभूत संरचनामा निर्भर छ।
नेपालमा पनि प्रतिभाशाली युवाहरू पश्चिमा मुलुकहरूमा नै जाने लहर चलेको छ। महत्वपूर्ण कुरा के हो भने विश्वभरि पश्चिमा ज्ञान प्रणालीको नै वर्चश्व छ। विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रम र सिद्धान्तहरू पश्चिमा ज्ञान प्रणाली अन्तर्गत नै छन्। बुद्ध एशियाका प्रकाश हुन् भने जिसस विश्वका प्रकाश हुन् भन्ने ज्ञान दिइन्छ।
आज विश्वभरि क्रिसमस र भ्यालेन्टाइन्स डे मनाइन्छ। नेपालले आफ्नो ज्ञान प्रणाली अन्तर्गत शिक्षा नदिएका कारण शिक्षित युवाहरू विदेशी मुलुकप्रति नै आकर्षित हुन्छन्।
जब प्रतिभाशाली र शिक्षित मानिसहरू नै देश छोडेर पलायन हुन्छन् भने त्यस्तो देशले कसरी विकास गर्न सक्छ ? अचम्मको कुरा के हो भने विकशित मुलुकमा गए त्यस व्यक्तिलाई समाजले पनि स्यावासी दिन्छ।
पश्चिमा ज्ञान प्रणालीको वर्चश्वले आज शैक्षणिक सङ्कथनमा मृत्युको अर्थ नै धर्म र परम्पराबाट छुट्टिएको छ। मृत्युलाई अलौकिक क्षेत्रबाट छुट्याएर हेर्दा धर्मको पवित्र आयाम नै हराउँछ। उन्नाइसौँ शताब्दीको मध्यदेखि शैक्षणिक सङ्कथनमा नास्तिक चिन्तनले प्रभाव पारेपछि ईश्वरको नै मृत्यु भयो।
जुन कुराको घोषणा फ्रेडिक नित्सेले गरेका थिए। ईश्वरको मृत्यु त्यो शून्यताको प्रकटीकरण हो जसले सबै कुरालाई खुला छोडिदिन्छ। यसले मनुष्यलाई तर्कसङ्गताको सिमानामा ल्याएर छोडिदिन्छ। मृत्युपश्चात् व्यक्तिलाई पाउन सकिँदैन। किनकि उसको अस्तित्वको अन्त्य हुन्छ।
मनुष्यको मृत्यु अस्तित्वको पदार्थिक आयाममा सीमित हुन्छ। मृत्युलाई जीवनको अस्तित्व मान्न सकिँदैन। त्यसको मौनता नकरात्मक छ। त्यसैले गर्दा संसारको दुनियादारी विचारबाट मृत्यु टाढाको कुरा हो। किनकि मृत्युले मनले सृजना गरेको पहिचानलाई नै मेटाइदिन्छ।
मनको दृष्टिले अनुभव गर्ने आकार वा व्यवस्था सबै मृत्यु हुँदा हराउँछन्। मन वा चेतना पनि हराउँछ। व्यक्तिको सम्झना मात्रै रहन्छ। मृत्यु भएपछि मनुष्य संसारबाट हराउँछ। किनकि शैक्षणिक सङ्कथनमा मनुष्य भनेको सामाजिक राजनीतिक प्राणी हो। ऊ एउटा शरीर र मन मात्रै हो। यहाँबाट बुझिन्छ मनुष्य भनेको नाशवान हो।
राजनीतिक र चिकित्सक सङ्कथनमा मृत्युको चरित्र ईश्वरको इच्छामा निर्भर हुँदैन। ईश्वरको मृत्युले मृत्युलाई पारम्परिक सङ्कथनबाट हटाइदियो। पारम्परिक समाजमा जन्म र मृत्यु ईश्वरकै प्रकृतिमा निर्भर हुन्छ। अब मृत्यु मनुष्यले नै बेहोर्नु पर्ने आफैंमा एउटा घटना बन्यो। यस सन्दर्भमा मनुष्यको इच्छा शक्तिको महत्व देखिन्छ।
उसले मर्नु भन्दा पहिल्यै आफ्नो उत्तरदायित्व पूरा गर्न र व्यवहार मिलाउन सक्छ। डेरिडाले भनेको जस्तै मनुष्यले मृत्युलाई स्वभाविक भएर अँगाल्न सक्छ। किनकि मृत्यु भनेको केबल मर्न डराउनु मात्र हो। भौतिक शरीरको अन्त्य प्राकृतिक हो। ईश्वर र अलौकिक क्षेत्र नहुँदा मृत्युको घटना एउटा रहस्य बन्दछ।
जन्मदेखि मृत्युसम्म समय सिधा रेखामा चल्दछ। जुन पश्चिमाहरूको तर्क सङ्गतताबाट आएको हो। धार्मिक र पारम्परिक सङ्कथनमा चेतना वा जीवन मृत्युपश्चात् पनि आत्माको रूपमा रहिरहन्थ्यो। तर अहिले मृत्यु हुँदा चेतनाको पनि अन्त्य हुन्छ। मृत्यु भनेको गहिरो निद्रा वा शून्यता हो।
यस सन्दर्भमा जीवन सङ्घर्ष, सुख र दुःखले भरिएको छ। मृत्यु हुँदा यी सबैबाट मुक्ति हुन्छ। अलौकिक क्षेत्र हराउँछ र पदार्थिक संसार नै यथार्थ बन्दछ। जहाँ पाप र पुण्य नै हुँदैन। कानुन र व्यवस्थाले ईश्वरको स्थान लिन्छ। शक्ति, अवसर र स्रोतहरूको पहुँच नै मनुष्यका लागि महत्वपूर्ण हुन्छ।
सम्भोगको आनन्द सबैको लागि स्वर्ग भए पनि केही समयपछि संसार धनिको लागि स्वर्ग र दुःखि गरिबको लागि नर्क बन्दछ। गति वा कर्म मनुष्यकै इच्छा शक्तिमा निर्भर हुन्छ। कुनै अलौकिक शक्ति रहँदैन। मनुष्य पूर्ण रूपले नाशवान हुन्छ।
त्यस कारण संसारमा बहिष्करण र समावेशिताका विचार महत्वपूर्ण बने। जुन कुराको पुष्टि नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिन्छ। धर्म निरपेक्षता भन्ने त्यसैको उपज हो। यहाँ मनुष्य पदार्थिक संसारको कठोर सत्यमा जागृत हुन्छ।
हिमवत्खण्डका दर्शनहरूमा मृत्यु र आत्माको विचारले संसार र अलौकिक क्षेत्रलाई समान महत्व दिएको हुँदा पाप, पुण्य, करुणा र दयाको विचार आए। वैशेषिक र बौद्ध दर्शनले नैतिकता र जनकल्याणको आवश्यकता देखाउँदा सहअस्तित्व र भाइचाराको विचार दिए।
मृत्युलाई रूपान्तरण वा परिवर्तनसित जोडेर हेर्दा समाज सुधार र प्रगतिको सङ्कथन पारम्परिक चिन्तनमा नै छ। यसको पुष्टि अठारौँ शताब्दीको दिव्यापदेशले नै गर्दछ। पृथ्वीनारायण शाहले आफ्नो मृत्यु भन्दा पहिले राज्यलाई समृद्ध र सुरक्षित बनाउन केही उपायहरू दिएका थिए।
जहाँ परिवर्तनको विचार देखिन्छ (आचार्य र नरहरिनाथ, २०६१)। उदाहरणका लागि दिव्य-पदेशको सुरुवातमा लेखिएको छ “बुढा मरै भाषा सरै भनि भन्छन्, तिमीहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन्” (आचार्य र नरहरिनाथ, २०६१, पृ. ३०)। यहाँ परिवर्तनको विचार देखिन्छ।
मनुष्यको मृत्यु हुँदा समय अनुसार भाषा पनि परिवर्तित हुन्छ। पृथ्वीनारायण शाहको सोचमा उनी मरेर जाँदा उनका उपदेशहरू स्मृतिका रूपमा रहेर राज्य थामि रहोस् भन्ने चाहन्थे। यहाँ वैशेषिक दर्शनको विचार देखिन्छ। भाषामा ज्ञान र मनुष्यका अनुभवहरू हुन्छ। त्यस कारण भाषा मर्दा ज्ञान पनि मर्छ।
पृथ्वीनारायण शाहले उनका उपदेशहरू राज्यका लागि मार्ग दर्शन बनोस् भनेर भाइभारदाहरूलाई दिएका थिए। यसरी उनको समयमा भएको ज्ञान आज पनि पढ्न पाइन्छ। मनुष्यको भौतिक अवसान भए पनि ऊ आत्माको रूपमा अलौकिक क्षेत्रमा जान्छ। तर संसारमा उसका पदचिह्न कर्म र उपदेशका रूपमा रहिरहन्छ।
मृत्युले सबैलाई एउटै स्तरमा ल्याइदिन्छ। त्यस कारण अलौकिक क्षेत्रमा प्रवेश गर्नु भन्दा पहिल्यै राजाहरूले आफ्नो पदचिह्न शिलालेख र ताम्रपत्रका रूपमा छोडेर जान्थे। त्यस्ता अभिलखेहरूमा उनीहरूका कुशल कर्म मात्रै देखिन्छ। यसरी उनीहरूको पवित्र छवि बन्दथ्यो।
उनीहरू त्यस छविमा देवता जस्तै बन्दथे। त्यस कारण मध्यकालतिर राजा विष्णुको अवतार हो भन्ने विचार बनेको थियो। यहाँ रैति र प्रजाहरू तिनका बगैँचाका फूलहरू जस्ता हुन्थे। यस विचारमा राजा राज्यको अभिभावक हुन्थ्यो।
जुन कुरा दिव्य-उपदेशमा देखिन्छ। साधारण जनताहरूमा बुढापाकाहरूले वर पिपलको विवाह गराइदिने र कुल देवी वा देवताको स्थान बनाउने चलन हुन्छ। यी कार्यहरू मृत्युभन्दा पहिल्यै आफ्नो राम्रो पदचिह्न छोडेर जाने उदाहरणहरू हुन्। त्यस्त पाटी पौवा बनाउने पनि अर्को उदाहरण हो। यसरी गाउँ घरमा मृत्यु भएको मानिसको सम्झना रहिरहन्छ।
मृत्यु अतितमा भएको थियो र भविष्यमा पनि हुन्छ। वर्तमानमा मनुष्यले जीवनमा निर्णय लिएर आफ्नो अस्तित्वलाई परिभाषित गर्छ। जीवन अस्तित्वसित जोडिएको हुँदा परिवर्तनको धारणा आउँछ। मनुष्यले समाजका मूल्य मान्यता र वर्तमान व्यवस्थालाई चुनौती दिन सक्छ। अतित भनेको मृत्यु भएका मानिसहरूको क्षेत्र हो।
अस्तित्व सारभन्दा पहिले आउँछ। यसको अर्थ के हो भने मनुष्यहरूले आफ्नो जीवनमा कर्म अनुसार जीवनको अर्थ दिन्छन्। सामाजिक रूपमा हेर्दा मृत्यु नाशवान घटना नभएर समाजको लागि सधै घटिरहने पक्ष हो। जुन घटनामा अतित र भविष्यको विचार पाइन्छ।
मृत्यु अतितमा भएको थियो र भविष्यमा पनि हुन्छ। वर्तमानमा मनुष्यले जीवनमा निर्णय लिएर आफ्नो अस्तित्वलाई परिभाषित गर्छ। जीवन अस्तित्वसित जोडिएको हुँदा परिवर्तनको धारणा आउँछ। मनुष्यले समाजका मूल्य मान्यता र वर्तमान व्यवस्थालाई चुनौती दिन सक्छ। अतित भनेको मृत्यु भएका मानिसहरूको क्षेत्र हो।
त्यहाँ रहेको व्यवस्था वा मूल्य मान्यता वर्तमानमा सान्दर्भिक नहुन सक्छ। मनुष्यहरू कारण र प्रभावको पाशले बाँधिएका हुनाले आर्थिक अवस्था नै इच्छा र आवश्यकताको आधार बन्दछ। त्यस कारण अर्थतन्त्रमा परिवर्तन आउँदा समाजमा नै परिवर्तन आउँछ। तर पनि मृत्यु विराशतको विचारसित जोडिएको छ।
अतितका मानिसहरूले गरेका कर्म र सङ्घर्षले वर्तमानलाई प्रभावित पार्न सक्छ। त्यस्तै अतितमा भएको गाली वा कमी कमजोरीबाट मनुष्यले पाठ सिक्न सक्छ। त्यस कारण इतिहासको महत्व हुन्छ।
अतित र भविष्य भन्दा पनि संसारमा वर्तमानको महत्व हुन्छ। जुन क्षणिक घटनाहरूलाई मनले अनुभूति गर्ने यथार्थ हो। यस सन्दर्भमा स्रोत र अवसरहरूको असमान वितरण हुँदा मृत्यु र जीवनलाई अनुभव गर्ने तरिका फरक हुन्छ। स्वास्थ्य सेवाको निजीकरण हुँदा थुप्रै मानिसहरूले अकाल मृत्युको अनुभव गर्छन्।
काल भनेको समय हो। स्वास्थ्य सुविधामा पहुँच हुँदा प्राकृतिक मृत्यु हुन्छ र अकाल मृत्युलाई रोक्न सकिन्छ। मृत्युपश्चात् मृत्यु संस्कारको पनि व्यापारीकरण भयो। श्रमको फल र सम्बन्धहरूको व्यापारीकरण हुँदा मनुष्यहरूमा अलगावको भावना आयो।
यसरी मृत्युमा पनि वर्गले त्यसको अनुभवमा प्रभाव पार्छ। शैक्षणिक सङ्कथनले मृत्यु र आत्माप्रति तर्कसङ्गत विचारहरू दिए पनि समाजमा मृत्यु र आत्मा सम्बन्धी सङ्कथनहरू बुझ्न विभिन्न संस्कृतिहरूलाई हेर्न आवश्यक हुन्छ। त्यस्तै सञ्चार माध्यमले पनि त्यस सम्बन्धी विचारहरू दिइरहेका हुन्छन्।
टेलिभिजन र चलचित्रले मृत्यु आत्मा कर्म र पुनर्जन्मका विचारहरू देखाइरहन्छन्। यसले समाजमा रहेका दर्शनहरूको महत्व देखाउँछ। शैक्षणिक प्रणालीले मृत्युलाई परष्कृत दृष्टिकोणले हेरे पनि विभिन्न संस्कृतिमा मृत्यु र आत्मा सम्बन्धी दृष्टिकोण दर्शनहरूबाट नै प्रभावित भएको पाइन्छ। यसले हाम्रो चिन्तनलाई समृद्ध बनाउँछ।
सन्दर्भ सामग्री सूची
आचार्य, बाबुराम र नरहरिनाथ, योगी (२०६१). बडाबहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश. काठमाडौँ : प्रा. श्रीकृष्ण आचार्य, अनन्तर्राष्ट्रिय मञ्च छापाखाना।
इलियट, एल.एल.डी., चाल्र्स डब्लु. (सन् १९०९). द हार्डवर्ड क्लासिक्स. न्यूयोर्क : पि.एफ. कोलायर एण्ड सन कम्पनी।
किठ, आर्थर बेरिडेल (सन् १९२१). इन्डियन लजिक एण्ड एटोमिजम. अक्सफोर्ड : एट द क्यारेन्डन प्रेस।
कौफम्यान, वाल्टर (सन् १९७४). द गे साइन्स. न्यू योर्क : भिनटेज बुक्स।
ग्रिफिट, राल्फ टी.एच. (सन् १८९६). द हिम्स अफ द ऋग्वेद. सेकेण्ड एडिसन. निलगिरी : कोटागिरी।
चक्रवर्ती, हरिपद (सन् १९७०). पाशुपत सुत्तम विथ पन्चार्थ भाष्य अफ कौडिण्य. कलकत्ता : एकेडेमिक पब्लिसर्स।
नानिसारा, आशिन (सन् २००६). मिलिन्द पन्ह. क्वालालाम्पुर : सेलाङ्गोर बुद्धिस्ट विपासना मेडिटेसन सोसाइटी।
नित्यस्वरूपानन्द, स्वामी (सन् १९५३). अष्टावक्र संहिता. अल्मोरा : अद्वेत आश्रम, मायावती।
पलोटास, थोमस एल. (सन् २०१३). योग वशिष्ठ वाइ वाल्मीकि. अरिजोना : ह्याण्डलुम पब्लिसिङ, शिववाल योगी सेवा फाउण्डेसन।
फुको, मिसेल (सन् २००५). द अडर अफ थिङ्स ः एन आक्र्योलोजी अफ द ह्युमन साइन्ससेस. लण्डन : राउटलेज।
फेरर, डेनियल फिडेल (सन् २०१३). टुइलाइट अफ द आइडोल्स अर हाउ टु फिलोसोफाइज विथ ए ह्यामर वाइ फ्रेड्रिक नित्से. वोस्टन : अक्सफोर्ड युनिभर्सिटी प्रेस।
बर्नेट, जोन (सन् १९११). प्लेटोस् फाइडो. अक्सफोर्ड : एट द क्यारेन्डोन प्रेस।
बैले, सिरिल (सन् १९२६). इपिक्युरस : द ए स्टेन्ट रिमेन्स. अक्सफोर्ड : एट द क्लारेन्डोन प्रेस।
माइनकर, टि.जी. (सन् १९७२). साङ्ख्य कारिका अफ ईश्वरकृष्ण. पुना : ओरिन्टल बुक एजेन्सी।
मासे, डेभिड (सन् २००३). मिसेल फुको, सोसाइटी मस्ट बी डिफेन्डेड. न्यू योर्क : पिकाडोर, सेन्ट मार्टिन प्रेस।
म्याक्वारी, जोन एण्ड रोविन्सन, एडवर्ड (सन् २००१). बिइङ एण्ड टाइम बाइ मार्टिन हाइडेगर. अक्सफोर्ड : ब्लाकवेल पब्लिसर्स लिमिटेड।
रोम, जेम्स इस. (सन् २०१८). हाउ टु डाइ : एन एन्सियन्ट गाइड टु द इन्ड अफ लाइफ. सेनेका न्युजर्सी : प्रिन्स्टन युनिभर्सिटी प्रेस।
वल्डफादर, डब्लु.ए. (सन् १९५६). इपिकटेटस : द डिस्कोर्सेस एज रिपोटेड बाइ एरियन, द म्यानुअल एण्ड फ्रागमेन्स. लण्डन : हार्वड युनिभर्सिटी प्रेस।
विल्स, डेभिड (सन् १९९५). जेक्स डेरिडा, द गिफ्ट अफ डेथ. लण्डन : द युनिभर्सिटी अफ सिकागो प्रेस लिमिटेड।
वोधी, भिक्खु (सन् १९९५). द मिडल लेन्थ डिसकोर्स अफ बुद्ध : ए ट्रान्सलेसन अफ द संयुक्त निकाय. विजडम पब्लिकेसन्स।
वोधी, भिक्खु (सन् २०००). द कनेक्टेड डिसकोर्स अफ द बुद्ध : ए ट्रान्सलेसन अफ द संयुक्त निकाय. विजडम पब्लिकेसन्स।
सिन्हा, नन्दलाल (सन् १९१५). द साङ्ख्य फिलोसफी. अलाहावाद : सुधिन्द्रनाथ वसु, द पाणिनी अफिस-भुवनेश्वरी आश्रम।
सिन्हा, नन्दलाल (सन् १९२३). द वैशेषिक सुत्तास अफ कणाद. अलाहावाद : सुधिन्द्रनाथ वसु, द पाणिनी अफिस-भुवनेश्वरी आश्रम।
हेट, डब्लु.यस. (सन् १९५७). अन द सोल, प्रभा नेचुरालिया, अन ब्रेथ. क्याम्ब्रिज एम.ए. ः हावर्ड युनिभर्सिटी प्रेस।
Facebook Comment