प्रतिनिधिसभा बैठक बस्दै, प्रतिपक्षले अवरोध गर्ने संभावना कायमै

डिसी नेपाल
२० साउन २०७६ १०:२७

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राजपाले सर्लाही घटना छानवीन गर्न संसदीय समिति गठन गर्नुपर्ने लगायतका माग राखेर लगातार अवरुद्ध पार्दै आएको प्रतिनिधिसभाको बैठक सोमबार (आज) बस्ने कार्यसूचि छ। तर प्रतिपक्षको माग सम्वोधन नभएका कारण बैठक सुचारु हुने/नहुने टुंगो छैन।

केही दिनयता लगातार अवरुद्ध प्रतिनिधिसभा बैठक सुचारु गर्न सभामुख कृष्णबहादुर महराले आइतबार गरेको प्रयास पनि सफल हुन सकेन । सभमुखले संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग छलफल गरेका थिए। उनले सिंहदरबारस्थित कार्यकक्षमा संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

संसद् सहजरूपमा अघि बढाउन सहमतिका लागि सभामुख महराले प्रयास जारी राखेको उनको सचिवालयले जानकारी दिएको छ। आइतबारको छलफल पनि सकारात्मक भएको र सहमतिमै सदन चल्नेमा सभामुख महरा विश्वस्त रहेको सचिवालयले जनाएको छ।

सभामुख महराले मुख्य विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार र प्रमुख सचेतक बालकृष्ण खाँण, विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र नेता लक्ष्मणलाल कर्ण तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङसँग छुट्टाछुट्टै छलफल गरेको सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए।

कांग्रेस र राजपाले सर्लाही घटना छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने, निर्मला पन्त हत्या प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने, गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संसदीय सर्वोच्चता कायम हुनुपर्ने लगायतका माग राख्दै आएका छन्।

सभामुख महराले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग सहमतिका लागि सत्ता पक्षबाट पहल गर्न टेलिफोन गरेर आग्रह गरेका थिए। दलहरूसँगको छलफल सकारात्मक भएको र सोमबारको बैठकमा गतिरोध नरहने आशा सभामुख महराको रहेको निजी सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। सभामुखले अवरोध अन्त्यका लागि गत बिहीबार सर्वदलीय बैठक राखेका थिए। सत्ता पक्ष र विपक्षले आआफ्ना अडान नछाडेपछि सभामुखले शुक्रबारको प्रतिनिधिसभा बैठक सूचना टाँसेर सोमबार सारेका थिए।

विपक्षी दलहरूले कांग्रेस र राजपा नेपालले सर्लाहीमा भएका दुईवटा गोलीकाण्ड छानविनका लागि संसदीय समिति गठनको माग गर्दै आएका छन्। दुवै दलले गत असार २४ गते पनि सर्लाही गोलीकाण्ड छानविनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेका थिए।

कांग्रेस र राजपाको सम्भावित अवरोधका कारण सभामुख महराले असार ३० गतेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर साउन ८ गतेसम्मका लागि स्थगित भएको थियो।

कांग्रेस र राजपाले सर्लाही घटना छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने, निर्मला पन्त हत्या प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने, गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संसदीय सर्वोच्चता कायम हुनुपर्ने लगायतका माग राख्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *