आफ्नै पुरानो टिमलाई हराउँदा सन्दीपले लिए एक विकेट

डिसी नेपाल
२० साउन २०७६ १०:२६

काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० लिग अन्तर्गत टोरन्टो नेशनल्सले पहिलो राउण्डको अन्तिमखेलमा मोन्टरियल टाइगरलाई पराजित गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा टोरोन्टोले मोन्टरियललाई ४ विकेटले पराजित गरेको हो । मोन्टरियलले दिएको १३७ रनको लक्ष्य पछाएको टोरोन्टोले १८ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

टोरोन्टोको जितमा चिराग सुरीले उत्कृष्ट ब्याटिंग गरेका थिए । सुरीले ३७ बलमा ५२ रन बनाएका थिए । त्यस्तै क्रिस ग्रीनले अविजित २९ रन बनाए भने हेनरीच कलासेनले २० रन बनाएका थिए । त्यस्तै रविंदरपाल सिंहले १५ रन बनाएका थिए ।

मोन्टरियलका बलर अलासडेयर इभान र फवाद अहमदले २-२ विकेट लिए भने थिसरा परेरा र स्कट कुगेलेईजिनले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर हारेर पहिला ब्याटिंग गरेको मोन्टरियलले २० ओभरमा ९ विकेट गुमाउदै १३६ रन बनाएको थियो । मोन्टरियलका लागि केल कोटजरले सर्वाधिक २६ रन बनाएका थिए । त्यस्तै डिल्लोन हेयलिगरले १८, थिसरा परेराले १७ र कप्तान जर्ज बेलीले १५ रन बनाएका थिए ।

टोरन्टोका बलर क्रिस ग्रीन र सलमान नजारले २-२ विकेट लिए भने सन्दीप लामिछाने, मिचेल म्याकेनघन र जेरेमी जोर्डनले एक एक विकेट लिएका थिए । अघिल्लो खेलमा खराब बलिङ गरेका सन्दीपले यस खेलमा केहि सम्हालिदै ४ ओभरमा २८ रन दिएर एक विकेट लिएका थिए । ग्लोबल टि २० को गत सिजनमा सन्दीप मोन्ट्रेयल टाइगर्सकै खेलाडी थिए ।

यो सँगै ग्लोबल टी-२० को पहिलो राउण्डको खेल सकिएको छ र दोस्रो राउण्डमा खेल्ने समीकरण पनि तयार भएको छ ।

अब दोस्रो राउण्डमा अंक तालिकामा शिर्ष स्थानमा रहेको ब्रम्पटन वोल्भ्स र अन्तिम स्थानमा रहेको एडमन्टन रोयल्स खेल्ने छन् । त्यस्तै दोस्रो स्थानमा रहेको भान्कोभर नाइट र पाचौ स्थानमा रहेको विन्नीपेग हक्स खेल्ने छन् । त्यस्तै तेस्रो स्थानमा रहेको मोन्टरियल टाइगर र चौथो स्थानमा रहेको टोरोन्टो नेशनल्स खेल्ने भएका छन् ।

दोस्रो राउण्डपछि शिर्ष चार स्थानमा रहने टिम प्लेअफमा पुग्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *