ध्वस्त गाजाको पुनर्निर्माण गर्न वर्षौं लाग्ने, स्तब्ध पार्ने राष्ट्रसंघको प्रतिवेदन
काठमाडौं । इजरायल र हमासबीचको युद्धमा गाजा पट्टीमा सबैभन्दा बढी क्षति भएको छ । यस आक्रमणमा गाजा लगभग ध्वस्त भएको छ। संयुक्त राष्ट्रसंघको प्रतिवेदनले गाजाको पुनर्निर्माण गर्न वर्षौं लाग्न सक्ने बताएको छ ।
इजरायली बमबारीका झण्डै सात महिनामा गाजाका भवनहरू भग्नावशेषको थुप्रोमा परिणत भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ। यस आक्रमणबाट गाजामा अर्बौं डलरको नोक्सानी भएको छ ।
संयुक्त राष्ट्र संघले सङ्कलन गरेको तथ्यांकले इजरायली आक्रमणमा गाजाका करिब ८० हजार घर ध्वस्त भएको देखाएको छ । इजरायलले अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमण पछि गाजामा विनाश गरिरहेको छ।
स्याटेलाइट तस्बिरहरूको आधारमा तयार पारिएको छुट्टै प्रतिवेदनले गाजाका ८५.८ प्रतिशत विद्यालय अक्टोबर ७, २०२३ देखि क्षतिग्रस्त भएको बताएको छ। तीमध्ये ७० प्रतिशत विद्यालयलाई मुख्य पुनर्निर्माण आवश्यक छ ।
युएनडीपीको अरब राज्य क्षेत्रीय ब्यूरोका निर्देशक अब्दुल्लाह अल दरबारीले भने – पूर्वी जेरुसेलम, वेस्ट बैंक र गाजामा मानव विकास सूचकांक पछिल्लो बीस वर्षमा द्रुत रूपमा घटेको छ। सन् २०२३ को अन्त्यसम्ममा गाजामा गरिबी बढेर ६०.७ प्रतिशत पुगेको प्रतिवेदनले जनाएको छ । यसरी मध्यम वर्गको ठूलो हिस्सा गरिबीको रेखामुनि रहेको छ ।
Facebook Comment