प्रधानमन्त्रीको पद बाँड्ने को हो?
काठमाडौं। केन्द्रदेखि प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बैशाख १७ गते सोमबार आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गरे।
केही समय अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुले प्रधानमन्त्रीको पद किस्तीमा बोकेर बाँड्दै हिँडेको टिप्पणी गरेका थिए।
रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्री पदको अफर गरेको सार्वजनिक नै गरिसकेका छन्।
दलका नेता पिच्छेलाई प्रधानमन्त्रीको पद कसले बाँड्दैछ? नेपाली राजनीतिमा यो गम्भीर प्रश्न छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पूर्ण बहुमतको सरकार हो, सरकारले विश्वासको मत पनि लिइसकेको छ।
वर्तमान सरकारमा सहभागी कुनै पनि दलले सरकारबाट बाहिरिने घोषणा गरेका छैनन्। तर यतिबेला संसदमा दश सिट पाएको तर स्वतन्त्र हैसियतमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने व्यापक चर्चा छ।
स्रोतका अनुसार सकेसम्म एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएर कांग्रेस-एमाले समीकरण बनाउने भगिरथ प्रयत्न नेपथ्यमा भइरहेका छन्।
ओलीले सो प्रस्ताव अस्वीकार गरेपछि अहिले एमाले, माओवादी र रास्वपालाई बाहिर राखेर बाँकी दलको गठबन्धन बनाएर माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रयत्न भइरहेको छ।
आफूलाई प्रधानमन्त्री बनाउन दक्षिणी छिमेकीले कसरत गरिरहेको तर त्यसमा एमाले अध्यक्ष ओली बाधक बन्ने देखेपछि सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ। कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ। पोल्ने मानिसहरु पनि छन् यो समाजमा। तिनलाई पोले पोलोस्। दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ म भन्न चाहन्छु।’ भन्ने अभिव्यक्ति दिए।
भारतीय जाजुसहरुले वर्तमान गठबन्धन भत्काउन र नयाँ समीकरण बनाउन विभिन्न प्रयास गरिरहेका बेला वर्तमान गठबन्धनको सबैभन्दा ठूलो दल एमाले वर्तमान सरकारलाई पूरै अवधि लैजाने योजनामा छ।
सरकार विरुद्ध विभिन्न चलखेल हुन थालेपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच दैनिकजसो भेटवार्ता भइरहेको छ र, उनीहरुबीच सहकार्यलाई बलियो बनाउने विषयमा सघन छलफल भएको छ।
नेपाललाई सधैं अस्थिर बनाइ राख्ने र यहाँको अस्थिरतामा खेलिरहने भारतीय खुफियाका जासुसहरुले अहिले विभिन्न दलका नेतालाई प्रधानमन्त्री पद बाँडेको रुपमा नेपालीहरुले बुझ्न थालेका छन्। मुलुकलाई अस्थिर बनाएर विदेशीको इसारामा प्रधानमन्त्री बन्न तयार हुने नेताबाट जनताले के अपेक्षा गर्ने?
Facebook Comment