हिमाल आरोहणका १२ दिन, उत्सुकता र खिन्नता

अधिबक्ता सुधिज्ञ पन्त
२८ वैशाख २०८१ ७:२७

अर्काको दुखलाई आफ्नो मानी न्यायको लागि प्रतिरक्षा गर्ने कार्यव्यस्तताबाट केही फुर्सद लिएर हालै म र मेरो मित्र नेपालको शान सोलुखुम्बुमा हिमाल आरोहरण गर्ने हेतुका साथ आरोहरणको बाटोतर्फ प्रस्थान गर्‍याैं।

हाल, नागरिक उड्ययन प्राधिकरणले लुक्लासम्मको उडान रामेछापबाट मात्र सञ्चालन गर्ने भनी नियम बनाएको हुँदा लुक्लासम्मको यात्रा तय गर्न पहिले हामी रामेछापतर्फ प्रस्थान गर्‍याैं।

करिब साडेतीन घण्टाको यात्रा पश्चात रामेछापको सदरमुकाम मन्थली पुगी त्यहाँ होटलमा विश्राम गरी भोलिपल्ट ७ बजेको फ्लाइट समाती हामी लुक्ला पुग्यौं। करिब ७ बजेर २० मिनेटमा हामी लुक्लामा अवतरण गर्दा, उत्तर, पश्चिम र पूर्वमा सूर्यको किरणले हिमाललाई चुमिरहेको थियो।

त्यो दृष्य देखेर हामीसँग जहाजबाट ओर्लिएका विदेशीहरुले, I have not seen this in my entire life, भनेर हाम्रो हिमाल र प्रकृतिको तारिफमा व्यस्त रहेको समेत देख्ने मौका पायौं। त्यो सुन्दा, मलाई, हामी नेपालीलाई प्रकृतिले दिएको बेजोड बरदानको गौरवमय अनुभूति भएको थियो।

लुक्लाबाट बिस्तारै नाम्चेतिर लागियो। बन पाखा, बसन्तको मौसममा कतै झपक्क फुलेका त कतै कोपिला भई लुकेका गुराँसले दिने मनमोहको आनन्द लिँदै उकाली ओरालीमा ख्याल ठट्टा गर्दै हामी मोन्जो भन्ने ठाउँमा पुग्यौं। सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार रहेको मोन्जोबाट सगरमाथा राष्ट्रिय निकुञ्जको प्रारम्भ हुँदै थियो।

प्रवेशद्वारमा दस्तुर, नियम र संकलन गरिएको राजस्वको तथ्यांक उल्लेख गरी सूचना बोर्ड राखिएको थियो। उक्त सूचना बोर्डअनुसार नेपाली, सार्क मुलुक र अन्य मुलुक गरी रु १००, रु १५००, रु ३००० दस्तुरसहित तीन बर्गमा प्रवेश शुल्क संकलन सम्बन्धि सूचाना राखिएको थियो।

नेपालीले तिर्ने दस्तुर तिरी त्यहाँबाट हामी जोरसल्लेतिर लाग्यौं। यसपटकको हाम्रो लक्ष्य लोबुचे हिमाल थियो। ६ दिन पश्चात हामी लोबुचे हिमालको काखमा पुग्यौं। र आठौँ दिन, बिहान २ बजे हिँडेर बिहानको ८ बजे लोबुचे हिमालको चुचुरोमा पुग्न सफल भई बाह्रौं दिन लुक्लाबाट रामेछाप हुँदै काठमाडौं फर्कियौँ।

यस मनमोहक र साहसी १२ दिनमा हामीले बास बस्ने होटलमा १७ चोटीसम्म सगरमाथाको चुचुरोमा पुगेका नेपाली आरोहीसँग भेट गर्ने र वहाँहरुबाट पर्वतारोहणसम्बन्धि ज्ञान हासिल गर्ने सौभाग्यसमेत प्राप्त गरियो।तर, वहाँहरुसँगको भेटबाट पर्वतारोहरण सम्बन्धि शिक्षाको साथसाथै वहाँहरुको निराशाको बारेमा समेत थाहा जानकारी भयो।

जीवन र मृत्युको बिचबाट हिँडेर मानव जातिको लागि शारीरिक र मानसिक रुपले एकदम कठिन पर्ने हिमाल आरोहण कार्य गर्न अरुलाई समेत हौसला दिने व्यक्तित्बहरुलाई पुजेर नेपालमा संरक्षण गरी नेपाल राज्यले उनीहरुबाट ठूलो लाभ लिन सक्छ। तर लाभ दुई तर्फी हुनुपर्छ। आरोहीलाई नेपाल राज्यले संरक्षण गर्न सकेमात्र आरोहीले नेपाल राज्यलाई लाभ दिन्छन्।

विश्वको कुनै पनि देशमा भएको भए १७ चोटी सगरमाथा चढ्ने मानिस भनेर राष्ट्रिय व्यक्तित्वको रुपमा चिरपरिचित हुने, राष्ट्रले समेत उचित आर्थिक सुविधा समेत दिने पक्का नै छ तर हामीले भेटेका आरोही दाजुभाइ दिदीबहिनीहरू भने सिजनमा नेपाल बस्ने र अफसिजनमा विदेशको रेष्टुरेन्टमा काम गर्ने गरेको समेत भेट्यौं।

विश्वका खेलाडीहरूको सुचीमा र आर्थिक आर्जन गर्ने सुचीमा समेत सबैभन्दा माथिल्लो दर्जामा समावेश हुनु पर्ने साहसी पर्वतारोहीहरु, नेपालमा जीविकोपार्जनको लागि पर्याप्त रकम आर्जन गर्न नसक्ने अवस्था रहेको जानकारी प्राप्त गर्दा मन खिन्न भयो।

राज्यको ढुकुटीमा गत वर्षमात्र यी पर्वतारोहीहरुले सञ्चालन गर्ने ट्रेकिङ र पर्वतारोहण बाट १४ करोड रुपैयाँ राजस्वमात्र उठेको छ भने यसबाट हुने थप आर्थिक लाभ कति होला अन्दाज गरौँ।

नेपालको मुटु भनेको हिमाल र हिमालको मुटु भनेको यी आरोहीहरुलाई नेपालले चिन्न नसक्दा तेन्जिङ नोर्गे शेर्पाजस्ता महान व्यक्तित्वको बलिदानको कदरमा सालिक बाहेक उहाँको पहिचानलाई पुस्तान्तरण गर्न चाहिने आरोहरण प्रशिक्षण केन्द्रजस्तो केही पनि सञ्चालनमा ल्याउन सकेको पाईँदैन।

जबकि, निजकै नाममा भारतको दर्जलिङमा Field Training Himalayan Mountaineering Institute  स्थापना गरिएको छ।

नेपाल नै जन्मभूमि, नेपाल नै कर्मभूमि तर नेपालले उहाँलाई दिनु पर्ने र उहाँबाट पुस्तान्तरण गर्नु पर्ने सिप र साहसलाई पुस्तान्तरण गर्न नसकेको खिन्नताले यात्राका क्रममा सताइरह्यो। बरु विदेशीले त्यो सिप पहिचान गरी उक्त सिपलाई पुस्तान्तरण गर्न समेत सफल रहेको प्रसस्त उदाहरणहरु छन्।

‘घरको देउता हेला’, को चरम उदाहरण भनेको नेपाल राज्यले आरोहीहरुको साहस र खेलाडीपन नचिनेको हो। एभरेष्ट आधार शिविर (५३०० मिटर) सम्म पुग्दा नै ९० प्रतिशत मानिस आधा अचेत अवस्थामा हुन्छन्, तर नेपालका यी महान सपूतहरु जो ८८४८.८६ मिटरमा समेत अन्य आरोहीलाई चुचुरोमा पुग्ने हौसला दिने साहस राख्दछन् ती आरोहीहरुले नेपालमा जीविकोपार्जन गर्न मुस्किल ब्यहोरेका छन् भन्ने तथ्य नेपाल र मानवजातिकै लागि लाजमर्दो कुरा हो।

उनीहरुमध्ये कोही अमेरिका बस्दारहेछन्, कोही बेलायत। उता सामाजिक सुरक्षाको समेत राम्रो व्यवस्था रहेको तर नेपालमा आधारभुत बाँच्ने व्यवस्था समेतको अभाव रहेको उनीहरुको गुनासो थियो।विश्व प्रसिद्ध विश्वविध्यालयले अमेरिकामा रहेका नेपाली मुलका आरोहीहरुलाई मोटिभेसनल स्पिचको लागि निम्त्याउने गर्छन्।

जीवन र मृत्युको बिचबाट हिँडेर मानव जातिको लागि शारीरिक र मानसिक रुपले एकदम कठिन पर्ने हिमाल आरोहण कार्य गर्न अरुलाई समेत हौसला दिने व्यक्तित्बहरुलाई पुजेर नेपालमा संरक्षण गरी नेपाल राज्यले उनीहरुबाट ठूलो लाभ लिन सक्छ। तर लाभ दुई तर्फी हुनुपर्छ। आरोहीलाई नेपाल राज्यले संरक्षण गर्न सकेमात्र आरोहीले नेपाल राज्यलाई लाभ दिन्छन्।

नेपाल कानूनमा कुनै यस्तो प्रावधान छैन जसले आरोहण गर्न मद्दत गर्ने गाईडको आधारभुत आरोहरण शुल्क तोकेको छ। यदि उक्त शुल्कमात्रै तोकेमा पनि आधारभुत आर्थिक प्राप्ति हुने थियो भन्ने समेत केही गाइडहरुको गुनासो थियो। पर्वतारोहरणका मेरुदण्ड हुन् हाम्रो नेपालको पर्वतारोहण गाइडहरु। पहिले शेर्पा समुदायको मात्र भेटिने गाइडहरु आजकाल हरेक जात जातिका हुन्छन्।

उक्त क्षेत्र नेपालीहरुको साझा कर्मभूमि बनिसक्दा समेत नेपाल सरकारको उचित ध्यान यस साहसिक खेलमा पुग्न नसकेको देख्दा अचम्म लाग्छ।

तामाङ, राई, लिम्बु, मगर, गुरुङ, बाहुन, क्षेत्री, मधेशी सबै जातिका नेपाली गाइडहरू हिमालमा भेटिन्छन्। उक्त क्षेत्र नेपालीहरुको साझा कर्मभूमि बनिसक्दा समेत नेपाल सरकारको उचित ध्यान यस साहसिक खेलमा पुग्न नसकेको देख्दा अचम्म लाग्छ।

सरकारले तत्कालका लागि आरोहीहरुलाई कुनै पदक प्रदान गर्ने, आरोहीहरुका लागि कुनै सरकारी ब्याच मात्र प्रदान गर्दा समेत सन्तुष्ट भई बस्ने हाम्रा महान सपुतहरुको निमित्त त्यति समेत नगर्ने हाम्रो सरकारले यी आरोहीहरुको आढमा संकलन गरिएको राजश्वमाथि तरमार्न भने पछि परेको देखिँदैन।

विश्वको सबैभन्दा कठिन खेलकुद मानिने आरोहणमा अब्बल नतिजा हासिल गर्ने हाम्रा शाहसी नेपाली आरोहीहरुलाई नपुज्दा नेपालबाट आरोहीहरु विदेशिने क्रम जारी छ। घरको देउता पराया भएपछि मात्र त्यसको महत्वको बारेमा बुझ्न खोज्नु राम्रो होइन।

त्यस्तो अवस्था बढ्न नदिई नेपालको पर्वतारोहरण र ट्रेकिङको मेरुदण्डलाई बलियो पार्न सामाजिक पदक प्रदान गर्ने कार्यबाट प्रारम्भ गरी आर्थिक सुनिश्चितताको बाटोसमेत कोरेमा यो शाहसिक खेलको लागी परिचित नेपालीको पुस्ता अझै अब्बल भई उदाउने थियो। सरकारको चेत खुलोस्, शुभकामना । नेपाली आरोहीहरुमा नमन!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *