धनी र गरीब
हे ! अग्ला महलमा बस्ने धनीहरु, एकचोटी गरीबको झुपडी त हेर, कुनै कुराको कमी यसमा छैन्। किनकि सारा सामानहरु उसकै सामुन्ने रहेका हुन्छन्।
तर ती व्यवस्थित भने छैनन्। किनकिसंसारको अवस्था नै व्यवस्थित छैन। गरीबको जिउने, बस्ने, खाने, सुत्ने र पूजापाठ गर्ने भनेको यही झुपडी भित्र रहेको र एक
ठूलो ह्वाङ परेको ठूलो कोठा जहाँ कुनै किसिमको बीचमा पर्खाल खडा छैनन्। सबै व्यवस्था नभई अपूर्णमा रहेको देखिएपनि गरीब पूर्ण सन्तोषमा रहेको हुन्छ।
झुपडी छ महल छैन। नांगो खुट्टाले ऊ हिँड्छ, फाटेका र मैलो लुगा त्यो पनि अरुले दयागरी दिएको लुगा लगाउँछ। कमाएको थोरै धनले इम्मान्दारीका साथ रुखो, सुखो, मीठो नमिठो, सन्तोष मानेर ऊ खान्छ। देशलाई ठगेको छैन। समाजलाई धम्क्याएको छैन।
अरुलाई होच्च्याउने ऊ गर्दैन। आफ्नो सोचमा ऊ हिंडेको हुन्छ। समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतको उसले कुनै ठग्ने काम गरेको हुँदैन। राष्ट्रको ढुकुटीको दोहन गरी आफू बनेको हुँदैन।
चोरी र भ्रष्टाचार गरी कमाएको धनबाट उ बनेको छैन। उसले आफ्ना श्रीसम्पत्ति जे छ सफागरी राखेको हुन्छ। ठूलो १०० इन्चको स्मार्ट टिभीको सट्टा उ सानो ट्रान्जिस्टर झुपडीको कुनै भित्तामा झुण्डाएर बसेको हुन्छ। बस, त्यसैबाट हुनेसम्म ऊ संसारको समाचार सुन्दछ।
धनीले लगाएको, खाएको, मोजमस्ती गरेको, आलेशान महलमा बसेको, एक आर्कालाई ठगी रहेको, मनपरी गरिरहेको सबै कुरा चासो दिइ जीवन र जगतको बीचमा आफूलाई राखी सन्तोष मानेर बसिरहेका हुन्छन्।
उसको गरिबीपनामा आफैं रमाउँदै ‘गरीब भन्छौ सुखको म झैं धनी, मिल्दैन संसार भरी कतैपनि’ भनी उ संसारदेखि अलग्ग भइ बसेको हुन्छ। उमेरमा जेठो, कान्छो जे भएपनि सारा इच्छा र आकांक्षालाई किचिक्क पारी उ सन्तोष मानेर बसेको हुन्छ।
देशदेखि बोझ होइन फूलजस्तो बनेर उ त्यही देशमा बसिरहेको हुन्छ र भन्छ ‘संतोसम् परमम् सुखम्’ तर धनी जो अग्ला अग्ला झल्झलाकार महल भित्रको हल्पी पर्दाभित्र
रही सजिएको बैठकमा होस् या लचकदार श्य्यामा सुतेका हुन् या अकुत सम्म्पत्तिको बिभोर्मा डुबेका हुन्, तिनीहरु हरदम अतृप्त आत्मा मनमा लिइ खानको लागि, कमाउनको लागि र देशलाई लुट्नको लागि सधैं बेचैन भइरहेका हुन्छन्।
यो खाउँ कि उ खाउँको चिन्ता छ चौरासी व्यंजनको खानेकुरा पस्किए पनि त्यो रुच्दैन र उ पाँचतारे होटलमा गइ आफूखुसी मनलाग्दो खानेकुरा र पेय पदार्थ खाइ आफ्नो दैनिकी चलाइ रहेका हुन्छन्।
हेर धनीहरुको शान र मान, १०/२० लाखको गाडी मोटरमा आवत जावत गरे हुनेमा २÷४ करोड पर्ने गाडीमा कालो सिसाभित्र फुटपाथमा दिए खाने, नदिए सन्तोष भइ र आक्रोश नपोखी बस्ने गरीबलाई कर्के आँखा लगाई आफ्ना छोरा छोरी र नाति नातिनालाई स्कुल, कलेज ल्याउने लैजाने गरिरहेका हुन्छन्।
दिनको एउटा लुगा र सुट र टाई फेर्ने, लाखको पलमा सुत्ने, १८ /२० लाखको दुई समय हेर्ने घडी लगाउने र सुटकेश भित्र लाखौँ रकम र अनगिन्ती सन्धि र सम्झौताका र लेनदेनका कागजपत्र कोची ठूला शासक र सरदारलाई चाकडी र चाप्लुसी गर्ने काममा लगाएका हुन्छन्। तर यत्ति गर्न पाउँदा पनि उसका चिल्ला अनुहारमा सधैं बेचैनी देखिन्छ।
किनकि उसका मन र मष्तिस्क लोभ, लालसा, मााह, घमण्ड र मात्सर्यको जालोले भरिएको हुन्छ जसले गर्दा उनीहरुमा सन्तोष र बिबेकको कुनै गुन्जाइस रहँदैन र रातदिन र हरपल बेचैनी र अस्थिर मन र मष्तिस्क लिइ बसेका हुन्छन्।
उनीहरु जत्ति धनि भएपनि उनीहरुमा ‘म खाउँ मै लाउँ सुख सयल वा मोज मै गरुँ, अरुको जेसुकै होस्। चाहे गरीबै किन नहोस्। पाए राज्यको सर्वोच्च स्थानमा बसी हुकुम चलाउने स्वभावका हुन्छन्।
किनकि उनीहरु लोभ, आशाको प्रतिक्षामा बसी निरस जीवन बिताइ रहेका हुन्छन्। तर गरीबमा हरेक चीज साधारण हुन्छ जसले उसको साधारण जीवन यापन गर्न सम्पूर्ण हुन्छ। आफ्नो कोठाभित्र, बोरा भित्र र झोला भित्र। यही जीवन र जगतको वैभव देखेर पनि उ सन्तोष भइ बसेको हुन्छ।
वास्तवमा भन्ने हो भने गरीबले जति जीवन र जगत बुझेको हुन्छ, त्यति धनीले बुझेका हुँदैनन्। किनकि जसले जीवन र जगत बुझेको हुन्छ त्यसैले नै सादगी जीवन बिताइरहेका हुन्छन्। सादगी जीवन यथार्थमा आफ्नो सुख भोग अरुलाई बाँड्ने एक कशी हो। जसले अरुलाई शान्ति मिल्छ।
त्यसैले त नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा दोहोर्याइ दोहोर्याइ भन्ने गर्थे ‘गरीब भन्छौ, सुखको म झैं धनी, मिल्दैन संसार भरी कतैपनि’। जीवन र जगतलाई बुझ्न अलि दार्शनिक बनी मानिसको दैनिकीबाट अलि माथि उठी समस्त प्राणीको जीवन सुख, दुःख चयन, बेचैन,सन्तोष र असन्तोषलाई अगाडि राखी अन्त्यमा जलिरहेको मनुष्यको लाशको अवस्था र प्रक्रियलाई मनन र अनुभूति गर्न सकेमा मनलाई नियन्त्रणमा लिइ सन्तोषको सास फेर्न सकिन्छ।
तसर्थ दया, करुणा, माया, सेवा, बिबेक र ज्ञान भएका मानिस गरीबै किन नहुन तर वास्तवमा धनी उनीहरुनै गनिन्छन्। तर धनी जतिसुकै अग्ला घरमा, जतिसुकै धनको सिरानीमा सुतेपनि हरेक दिन सुट फेरेर हिँड्ने, मन लागेको खाने, मन लागेको गर्ने भए पनि यदि उसमा घमण्ड, व्यभिचार, बेइमानीपना, भ्रष्ट सोच, अबिबेकी, सेवाहीन भावना र दुष्ट बिचार रहन्छ भने उ धनको धनी भएपनि मनको गरीब अवश्य हुन्छ।
र समाजबाट अप्रत्य्क्ष रुपमा तिरष्कृत रहन्छ र रोग लागेको बेला अनि दुःख परेको बेला उ एक्लै रहन्छ। अतः धनी र गरीब शिरको टुप्पो खुट्टाको पैताला सरह भएपनि धनीको अगाडि गरीब सधैं सम्मानित हुन्छ।
आज धनी रहेका सारा भ्रष्टाचारी, बेइमान, लोभी र घमण्डी नेता, कार्यकर्ता, कर्मचारी, ब्यापारी, शिक्षक, गुण्डा र गुण्डा नाइके सबै समाजबाट तिरस्कृत बनेका हुन्छन्। तर गच्छ अनुसारको कमाइ गरी खाने, देश र समाजलाई नठग्ने जो कोही गरीब भएपनि उ समाजमा सधैं सम्मानित हुन्छ।
अतः धनी तनको धनी छ भने गरिब मनको धनी हुन्छन्। धनी राप र तापले जलेका हुन्छन् भने बिचरा गरीबलाई चिसो बतासले र तातो घामले सताइरहेको हुन्छ।
Facebook Comment