अग्रगामी शक्तिको खोजी
आजको नेपालको राजनीतिक अवस्था कटुता द्वन्द्व र खिचातानीमा गुज्रिरहेको देखिन्छ। मुलुकका ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी हुन्। अरू साना दलहरूमा नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, मजदुर किसान पार्टी आदि थुप्रै छन्।
यी दलहरू बीचको कटुता र द्वन्द्वलाई हेरेर केही विष्लेषण गर्न सकिन्छ। एकातिर एमाले माओबादी गठबन्धन दलहरु र अर्कातिर नेपाली कांग्रेस। नेकपा एस र एमाले।हरेक पार्टीका नेताको निजी स्वार्थ एक अर्का बीचमा टकराइरहेको देखिन्छ।
यस्तै एकातिर साविकका दलहरू र अर्कातिर भरखर अस्तित्वमा आएका स्वतन्त्र पार्टी तथा स्वतन्त्र व्यक्तिहरूको बीचमा पनि रस्साकस्सी र द्वन्द्व भेटिन्छ। यस्तै एकातिर माथिका सबै र अर्कातिर पुराना राजावादीहरूको बीचमा पनि द्वन्द्व छ।
अर्कातिर साना समूहमा भए पनि चुनावमा भाग नलिएका पार्टी र समूहहरू पनि अस्तित्वमा छन्। यी पनि आपसमा मिल्न सकेको देखिन्न। स्वार्थ मिल्दा त सबै एक हुन सक्ने सम्भावना पनि थियो। तर आपसका स्वार्थ यति निजी पनि देखिन्छ कि क्षणिक समयका लागि मिलेजस्तो भए तापनि फेरि मिलिरहेका हुँदैनन्।
यसैले यी खिचातानी र द्वन्द्वरत शक्तिको विष्लेषण गरेर सबैलाई जम्मा तीन भागमा विभाजन गर्न सकिन्छ। यसो गर्दा देशको राजनीतिक चित्रलाई सर्वसाधारणले समेत पनि बुझ्न सजिलो हुन्छ भन्ने मेरो धारणा छ ।
-दक्षिणपन्थी शक्ति
– यथास्थितिवादी शक्ति
-अग्रगमनकारी शक्ति
यी माथिका शक्तिहरू भाषण जतिसुकै राम्रो र आदर्श पनि गर्न सक्छन्। भाषण गरे पनि यो सुनको जलप लगाएको नक्कली सुन वा खाटी सुन कुन हो? भनी छुट्याउन कुनै गाह्राे छैन। समाजमा बसेर यति कुरा नजान्दा हामी जनताहरूले सधैँजसो आफू ठगिएको महसुस गर्नुपरेको छ । यसैले को के हुन् जान्ने बुझ्ने कोशिस गरौँ ।
-दक्षिणपन्थी शक्ति
समाजलाई पुरानै अवस्थामा फर्काउन खोज्ने शक्तिलाई राजनीतिक भाषामा दक्षिणपन्थी भन्ने गरिन्छ। यो शक्तिमा पुराना राजवादीहरू पर्दछन्। पुराना राजावादी शक्तिको नेतृत्व पहिले कमल थापाले गर्थे। अब आएर उनी निकै पुराना भए।
अन्य दलसँग पनि मिलेर आफ्नो स्वार्थअनुसार मन्त्रीसमेत बनेर काम गरिसकेका व्यक्ति हुन्। उनलाई पूर्वराजाले पनि पत्याउन छोडे। स्वार्थसिद्धी नै मूल उद्देश्य पनि भएकाले उनी जनताले पनि रुचाउन छोडेका मानिसमा पर्दछन्।
यसैले राजसंस्थाको पक्षमा एउटा नयाँ मानिसको खाँचो थियो। यो समूहले नयाँ र युवा नेतृत्वको रूपमा झापाका राजेन्द्र लिङदेनलाई ल्याएर खाँचो पूर्ति गरिसकेका छन्।
राप्रपाको महाधिवेसनबाटै यो नेतृत्व चयन भइसकेको हो। यस्तै ज्ञानेन्द्र शाही पहिले नेपालका लागि नेपालीको अभियानमा निकै चर्चा कमाएका मानिस हुन्। उनी पनि युवा जोश र जाँगरका साथ राप्रपा प्रवेश भइ जुम्लाबाट चुनाव जितेर संसदमा हंगामा मच्चाईरहेकै छ्न्।
पहिले ओइलाइसकेको राजावादी पार्टीमा अहिले केही न केही जोश थपिएको भने पक्कै हो। दलहरूको भनाइमा राजावादीले टाउको उठाउन थालेको संकेत मिलेको छ। विधानमा संवैधानिक राजतन्त्र मूख्य उद्देश्य भनियता पनि राजाको सक्रिय नेतृत्व उनीहरूको भित्री चाहना हो।
राप्रपाको मूल विशेषता भनेको राजाको पक्षमा माहोल सिर्जना गर्नु हो। राजावादीहरू यसरी पुनः शक्तिमा आउने अवस्थामा देखिनु दलहरूको नालायकीपन भन्न सकिन्छ।
बहुदलीय व्यवस्था आइसकेपछि नेपालमा ज-जसले लामो समय प्रधानमन्त्रीको रूपमा शासन चलाए। ती ती पार्टीका शीर्ष नेतृत्वलाई नै यसको जसअपजस दिनुपर्ने हुन्छ।
यो भन्दा त राजाकै शासन ठीक थियो भन्ने अवस्थामा जनतालाई पुर्याएका उनीहरूले नै हुन्। जेसुकै भए तापनि ‘राजा आउ देश बचाउ’ नारा उनीहरूको सन्दर्भमा ठिक छ। किनकि अहिलेको अवस्थाको नेतृत्वले देशको उन्नति प्रगतिका लागि काम गर्न सकेको देखिँदैन। पुरानै अवस्था बरु ठीक थियो भन्ने कुरा पनि एक किसिमले सही नै मानौं।
तर, कुन राजा आउने त? महेन्द्र जसले देशको हितमा निकै काम गरेका थिए। उनी अहिले छैनन्। वीरेन्द्र भद्र राजा थिए। उनी पनि छैनन्। ज्ञानेन्द्र दलका अरू नेताजस्तै जनताले व्यवहारको कसीमा जाँचीसकेका राजामा पर्दछन्। वीरेन्द्रको वंश नाश हुँदा उनी मौन दर्शकको रूपमा मात्र देखिएका थिए।
यसबाट उनी पनि एउटा विदेशी गोटीको रूपमा परिचालित भएको प्रष्ट रूपमा देखिन्छ। यसैले देशलाई पुरानै अवस्थामा फर्काउने कुरा अकल्पनीय छ। विश्वको इतिहास यसरी दोहोरिएको थाहा पनि छैन। दोहरिए पनि यो क्षणिक हुन्छ।
विश्वबाट राजतन्त्र लोप हुँदै गएको अवस्थामा यो दिवास्वप्नबाहेक केही होइन। कुनै पनि विश्व इतिहास बुझेको मानिसले यो कल्पना पनि गर्न सक्तैन। राज संस्था कथंकदाचित फर्किहालेछ भने पनि लामो समय टिक्न सक्दैन।
नयाँ कुनै मानिसलाई राजाको रूपमा थमौती गरे पनि काम छैन। यसलाई देशको प्रगतीशील शक्ति मान्न सकिँदैन। राजसंस्थाको विश्वबाट लोप भइसकेको पुरानो परम्परा हो। यो संवैधानिक राजतन्त्रको रूपमा कतै कतै अवशेष मात्र बाँकी रहेको छ।
यसो भएतापनि पृथ्बी नारायण शाहको योगदानलाई भने हामीले भुल्नु हुँदैन। पृथ्बी नारायणको बिचार सन्देशलाई भने अनुसरण गरि काम गर्दा देशलाई फाइदा छ। तर पृथ्बी नारायण शाह फर्केर आउँदैनन।भएका पूर्ब राजा पृथ्बी नीति अनुसरण गर्ने खालका छैनन्।
-यथास्थितिवादी शक्ति
जुनबेला नेकपा एमालेको नेतृत्व मदन भण्डारीले गर्दथे। जुन बेला देशको प्रधानमन्त्रीको रूपमा मनोमोहन अधिकारी थिए। त्यसबेलासम्म यो शक्ति समाजको अग्रगमनकारी शक्ति थियो।
जुन बेला कांग्रेसको नेतृत्व गणेशमानले गर्दथे। कृष्णप्रसाद भट्टराई देशको प्रधानमन्त्री थिए त्यो बेलासम्म यो शक्तिलाई समाजको अग्रगमनकारी शक्ति नै मानिन्थ्यो। पञ्चायत कालमा कांग्रेस र कम्युनिस्ट समूहको एउटा चर्चित नारा थियो, ‘जनता पक्कै बिउँझिन्छ पुलिसको लाठी गोलीले, नेपाल पक्कै बिउँझिन्छ न्यायको चर्को बोलीले।’ छैन त यो आकर्षक नारा !
पक्कै पनि त्यो कालखण्डसम्म तत्कालीन नेपालका कांग्रेस र कम्युनिस्ट समूहहरू क्रान्तिकारी र अग्रगमनकारी शक्ति थिए भन्ने लागेको थियो यसपछि भने समय परिवर्तन हुँदै गयो।
समाज र देशको नेतृत्व गर्ने यी अग्रजहरूको जब देहवसान भयो, अवस्था कोल्टे फेरिँदै गयो। यसैले अब आएर समाजलाई यथास्थितिमा राख्न चाहने शक्तिको रूपमा यो शक्ति रूपान्तरण हुदै गएको छ।
यस्तो शक्ति समूहमा संसदमा भाग लिइरहेका राप्रपा बाहेकका आजका दलहरू नै पर्दछन्। जसले यथेष्ट अवसर पाएर पनि समाज र देशलाई उन्नति प्रगतितिर लान सकेनन्। भाषणमा लोकतन्त्र, प्रजातन्त्र, अग्रगमन जेसुकै भने तापनि व्यवहारमा त्यो देखिएन।
नेपाली कांग्रेसले त अझ राजा महेन्द्र र वीरेन्द्रको पालामा स्थापना भएका विभिन्न उद्योगहरू निजीकरण गरी भ्यायो। देशभरका जम्मा ४१ वटासम्म ठूला उद्योगहरू निजीकरण गरेको तथ्यांकले बताउँछ। यी उद्योगहरू अहिले सञ्चालनमा छैनन्।
देशको अरबौं रुपैयाँको टायरको माग धानीरहेको गोरखकाली रबर उद्योगदेखि चिनी उद्योग, जुट उद्योग र बाँसबारी छाला जुत्ता कारखानासमेत पर्छन्। स्वदेशी सामानले देशको माग धानिरहेको अवस्था थियो।
निर्यातसमेत गर्न सक्ने सम्भावना र अवसर बोकेको थियो। यसलाई निस्तेज बनाई विदेशबाट सामान आयात गनुपर्ने अवस्थामा देशलाई पुर्याइयो। यो नै दलाल पुँजीवादको एउटा चरित्र हो।
यसमा पनि कांग्रेसका शीर्ष नेतृत्व र अर्थमन्त्रीको रुपमा लामो समय काम गरेका डा.रामशरण महत विशेष दोषी देखिन्छन्। काम बिगार्छ शीर्ष नेतृत्वले दोष पाउने अरू सबै हुन्छन्। किनकि नेतृत्वले भनेको तलकाले विरोध गर्न सक्दैनन्। यसबाट समाजलाई अग्रगमन होइन पश्चगमनमा पुर्याउने रणनीति पो देखियो।
यस्तै जनतालाई चाहिएको छ जनजीवीकाको सवाल र रोजीरोटीको कुरा। नेताहरू गर्छन् रेल र पानीजहाजका कुरा। यसले नेपाललाई पूर्वी युरोप र पूर्व सोभियतसंघको अवस्थामा पुर्याउने कुरा मात्र हुन जान्छ। रेल र पानीजहाज पनि नचाहिएको होइन।
तर जनताको रोजीरोटीको सवालमा पहिले ध्यान दिनुपर्छ भन्ने लाग्छ। अर्काे कुरा भ्रष्टाचार घुसखोरी, विकृति विसंगतिलाई कुनै कार्यबाही गरेको नेपालको संसदीय इतिहासमा कहिले पनि देखिएन।
यसले गर्दा इमानदार, देश सेवक कर्मचारी र राजनीतिक व्यक्तित्वलाई काममा कुनै उत्साह र ऊर्जा थपिएन। राम्रो काम गर्नेको सही मूल्यांकन नहुँदा नराम्रो गर्नेहरू मौलाए। यसैले नेपालको संसदीय दलहरूलाई यथास्थितिवादी शक्तिको रूपमा चित्रण गर्दा अन्याय नहोला भन्ने लाग्छ।
यथास्थितिवादले थप उन्नति प्रगति गर्न चाहँदैन । जे छ त्यसैमा रमाउनु नै यसको धर्म हो। भ्रष्टाचारी, घुसखोरी, तस्करी, काला बजारीया आदि समाजका कुतत्वहरूका कर्तुतहरू ढाकछोप गरी राख्नु र यिनीहरूलाई कार्यबाही हुनबाट बचाउनु यस समूहको मूख्य विशेषता हो।
आसेपासे र नातागोतालाई पोस्नु यिनको थप विशेषता हो। राज्य दोहन गरी सात पुस्तालाई पुग्ने गरी धन कमाउनु यिनको मूख्य उद्देश्य र चरित्र हो। ज्यानमारा, डन र देशका संरचनाहरूलाई बिगारेर नाफा निकाल्ने बदनाम ठेकेदारहरूको संरक्षण गर्नु यस समूहको लक्षण हो।
इँटाभट्टामा सामूहिक रूपमा मानिस हालेर जिउँदै जलाउने कांग्रेसका आफ्ताब आलमदेखि देशका संरचना बिगारेर हालीमुहाली गर्ने शैलुङ कन्ट्रक्सनका मालिक पनि यस समूहले संरक्षण गरेका समूहका सम्पती हुन्। यसैले यिनै विशेषताका कारण यो शक्तिलाई अब अग्रगमनकारी शक्ति भन्न सकिएन।
दलहरूमा राम्रो गरे पनि र नराम्रो गरे पनि निरन्तर एउटै व्यक्तिले टिकट पाइरहने, एउटै व्यक्ति मन्त्री प्रधानमन्त्री भइरहने अवस्था छ। यहाँ नाममा कांग्रेस भने पनि वा कम्युनिस्ट भने पनि चाकडीतन्त्रको लामो संस्कार बसिसकेको छ।
कुनै नेताले अक्षम्य गल्ती गरे पनि छुट छ, यदि ऊ शीर्ष नेतृत्वमा छ भने यसको विरोध गरेमा पार्टीको विरोध गरेको मानिन्छ। गल्ती पार्टीले गरेको भनिए पनि बास्तबमा सही नेतृत्व दिन नसक्नु शीर्ष नेतृत्वको मूल दोष हो।
नेतृत्वले जता डोर्याउन चाह्यो पार्टीलाई त्यतै डोर्याउन सक्छ। मात्र इच्छा शक्ति हुनुपर्यो। देश हाक्नेसँग इच्छा शक्ति हुनु आवश्यक छ। जसले गर्दा देशलाई सही दिशामा डोर्याउन सकियोस् । स्वतन्त्र रूपमा जितेका एउटा मेयरले त त्यो विघ्न काम गर्न सक्ने रहेछ, हामीले आजकल देखिरहेका छौं त।
-समाजलाई अग्रगमन वा नयाँ दिशा दिन खोज्ने शक्ति
समाजलाई अग्रगमन वा नयाँ दिशा दिन खोज्ने शक्ति नेपाली जनता हुन्। जनता जहिले पनि अगाडि बढ्न चाहन्छन्। संसारको इतिहासले यही भन्छ। बेलायत, जर्मनी, फ्रान्स, चिन, क्युवा, भियतनाम आदि सबै देशको इतिहासले हामीलाई यही कुरा बताइरहेको छ।
दलहरूबाट वाक्क भएका जनताले देशका दुई तीन वटा नगरपालिकाहरूमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताइदिए। धरानको मेयरमा हर्क साङपाङ र काठमाडौं महानगरको मेयरमा बालेन शाह र धनगडीका मेयर गोपी हमालले जित्नुुभएको छ।
उहाँहरूको छोटो अवधिको कामको मूल्यांकन गर्दा पनि दलका कार्यकारीले गर्न नसक्ने काम गरिसक्नुभएको छ। यद्यपि स्वतन्त्रसँग भिजन हुन सक्छ तर कुनै निश्चित सिद्धान्तमा नबाँधिएकाले कतै अलि बढी प्रशंसा मात्र पाउँदा पनि फुर्केर गलत लिकमा पो पुग्ने हुन् कि भन्ने डर भने हुने रहेछ।
घमण्ड हावी भयो भने निर्वाह गर्नुपर्ने भूमिकामा बाधा पनि पर्न सक्छ। किनकी अनुुसाशनको लगाम लगाउने कुनै संस्थामा यिनीहरू आबद्ध हुँदैनन्। बाँधिएकाको त हालत पातलो छ भने नबाँधिएकाको हालत के होला? कतिको निश्चित गर्न सकिएला र? स्वतन्त्रको नामै स्वतन्त्र कामै स्वतन्त्र हुन्छ।
कुनै नीति र सिद्धान्तमा पनि बाँधिएको हुँदैन। तथापि अहिलेसम्मको काम चित्तबुझ्दो नै देखिन्छ। यसैले होला रबी लामिछानेले नामै स्वतन्त्र राखेर पार्टी खोले। जनताको कसीमा यसलाई हेरिने काम भैरहेको छ।
यस अवस्थाले गर्दा आगामी चुनावमा स्वतन्त्र रूपमा निकै धेरै उम्मोदवारहरू मैदानमा देखापर्ने सम्भावना पनि त्यतिकै छ। तैपनी हालै भएको इलामको उपचुनाउले यस दललाई पनि चोट पुगेको छ। सबैलाई अग्रगमनकारी शक्ति भन्न सकिने अवस्था भने छैन। यिनीहरू सबैले जनताको जाँच र कसीमा व्यवहारमा खरो उत्रिनुपर्नेछ। जनता, मात्र जनता, परिवर्तनकारी र अग्रगमनकारी शक्ति हुन्।
ब्यबहारमा फेरबदल वा सच्चिने अवस्था कथंकदाचित आइहाल्यो भने माथिका सबै दलको परिभाषा एक अर्कोमा रुपान्तरण पनि हुन सक्छ। किनकि पार्टीहरु हाक्ने शिर्ष नेतृत्वको चिन्तन, स्वार्थ र नेतृत्व कौशलताले पार्टीको स्वरुप निर्धारण गरेको देखियो। नयाँ नेतृत्व सत्तामा पुग्न सक्ने अवस्था कुनै पार्टीमा देखिदैन।यसैले रुपान्तरणको कुनै आशा गर्न सकिँदैन।
Facebook Comment