कविता : पार्थिव शरीरको पर्खाइ

सुशील लामा
३१ वैशाख २०८१ १०:१८

छोरा मेरो मृत्यु भयो।
चाहेर पनि पर्खन सकिन तिमीलाई
थाहा थियो।
मृत्यु शाश्वत सत्य हो।
त्यो शाश्वत सत्यले मलाई अंगाल्यो
मलाई यसमा गुनासो छैन।
तर,तिम्रो काखमा मृत्यु बरण पाइन
त्यसमा ठूलो दु:ख छ।
गुनासो छ, आफ्नै जीवन अनि प्रारब्ध सँग
म मर्नु भन्दा अगाडि भनेको छु।
तेरी आमालाई
छोरो नआए सम्म मेरो दाहसंस्कार नगर्नु भनेर
जीवनको अन्ततिर राखेर कुरा
मानेका छन् सबैले
त्यसैले त म पार्थिव शरीर बनेर
पर्खी बसेको छु;
अस्पतालको अध्यारो कोठामा।
चिसो बरफको ओढ्ने ओढेर

*****
बाबू!
भाग्यलाई दोषी बनाउँ कि सौभाग्यलाई
नियतिलाई धिक्कारौं नीतिलाई
अलिकति बाध्यतालाई दोषी बनाएर
रहरका बिरानो शहरमा
बिराट सपनाहरू खोजी गर्न जान्छु भन्दै
मेरो अनुमानलाई
आमाको प्रेमिल ममतामयी
अदालतमा पेस गर्‍यौ पारित भयो
उस्तै उमेर भएको संगी सँगै
खुशी-खुशी आफ्नो देश छोडेर
तिमी अरुको देशमा जाने पक्का भयो
तिमी जाँदै गर्दा
मैले र तेरी आमाले दिएको आशीर्वाद
कति धेरै थियो।
एक अंगालो आशीर्वाद अनि गहभरि आँसु बोकेर
तिमी गयौं, केही समय पछि भेट्छु भन्दै
तर बाबू….
हामी भेट हुन नपाउँदै टाढा गएको छु म,
अब कहिल्यै भेट हुन्न हाम्रो
सिवाय चिर निन्द्रामा सुतेको मेरो पार्थिव शरीर।

*******

-छोरा
मेरो मृत्युको खबर त पाइसकेको होला।
भन्ने बित्तिकै तिमी आउन सक्दैंनौ।
कुरा मिलाएर जतिसक्दो छिटो आउ
आतुर छ, मेरो पार्थिव शरीर
तिम्रो कोमल हातहरुको स्पर्श पाउन
तिमी आउ,
अनि तिमिले तिम्रो साथीलाई मेरो निम्ति पठाएको
नयाँ लुगा लगाई देउ
जुन लुगा मैले तिमी आउँदा मात्रै लगाएर
एयरपोर्ट सम्म तिमीलाई लिन आउने थियो धोको
धोको अधुरो भो।
त्यो धोको पुरा गरिदिनु हैँ छोरा।
मेरो मृत्यु सँगै
तेरो आमाको मुटुभरी नदेखिने घाउ परेको छ।
सकेसम्म आमालाई छोडेर टाढा जाने
कोशिश नगर।

*****

छोरा तिमी आउँछौँ।
नबोलेर हाम्रो भेट हुन्छ।
तिमी धरधरी रुन्छौं।
म तिमीहरुले नदेख्ने गरि रुन्छु।
परम्परालाई साक्षी राखेर
जिऊँदो छदा कहिल्यै त्यति धेरै नपाएको
निर्जीव सुन्दर फुलहरुको माला सँगै
म अग्निदेवको साथमा पर्छु
म जल्छु।
म सँगै तिमिसँग धेरै बाँच्ने रहरहरु जल्छन्।
तिम्री आमाको सिऊँदोमा डढेको पर्छ
सौन्दर्य खोसिन्छ।
त्यसपछि हामी छुट्टिने छ सदाको निम्ति
म जान्छु, ठेगाना नभएको गाउँमा
मनभरी माया बोकेर
बाबू जसरी तिमी म बाट टाढियौँ
त्यसरी तिम्रो छोरालाई टाढा नपुर्‍याउनु
कतैँ फेरि तिमी पनि
म जस्तै भएर कुरि रहनु पर्ला
आफ्ना मान्छेलाई।

पाँचखाल-११, काभ्रेपलान्चोक
हाल-लिमासोल,साईप्रस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *