दिल्लीमा १५ किलो सुन लुट्न बरिष्ठ डाक्टरको हत्या, नेपालबाट बोलाइएका थिए ‘हत्यारा’

डिसी नेपाल
३१ वैशाख २०८१ १४:३२

काठमाडौं । दिल्लीको जंगपुरा इलाकामा ६५ वर्षीय वरिष्ठ चिकित्सक योगेश चन्द्र पलको हत्या प्रकरणको रहस्य दिल्ली प्रहरीले समाधान गरेको छ । डाक्टरको हत्या प्रकरणमा दिल्ली प्रहरीले धेरै सनसनीपूर्ण खुलासा गरेको छ । यो हत्यामा २४ वर्षदेखि डाक्टरकहाँ घरेलु कामदारको रूपमा रहेकी महिलाको मुख्य योजना देखिएको छ ।

डाक्टरको हत्याबारे दक्षिण पूर्वका डीसीपी राजेश देवले भने, ‘मे १० मा हामीलाई एक व्यक्तिको हत्या भएको फोन आयो, घटनास्थलमा पुगेपछि वरिष्ठ चिकित्सक योगेशचन्द्र पलको हत्या भएको थाहा पायौं । लुटपाटको घटना पनि भएको थियो ।’

उनले अनुसन्धानका क्रममा डा योगेश दिउँसो १.३१ बजे क्लिनिकबाट निस्किएर घर पुगेको खुलासा भएको बताए । त्यही क्रममा दुईजनाले उनलाई पछ्याए र घरभित्र पसे, बिचमा अर्का एक जना पनि घरभित्र पसे ।

दिउँसो करिब ३.०५ बजे घरबाट तीन जना बाहिर निस्कएर गए । पछि उनकी पत्नी डा नीना पलले श्रीमान् डा योगेशचन्द्र पलको हात बाँधिएको अवस्थामा शव फेला पारेको अधिकारीले बताए । यति मात्र होइन, डाक्टरको घाँटीमा थिचेको निशान पनि थियो ।

प्रहरीका अनुसार हत्यामा ४ जना नेपाली नागरिक संलग्न रहेको खुलेको छ । चारैजना नेपाली नागरिकहरू भारत छोडेर भागेको आशंका गरिएको छ । हत्याको मुख्य योजनाकार २४ वर्षदेखि डाक्टरको घरमा काम गर्दै आएकी कामदार बसन्ती रहेको प्रहरीले बताएको छ ।

डीसीपी राजेश देवका अनुसार बसन्तीले पहिले आफ्नो साथी वर्षा र हरिद्वार निवासी विश्वरूप साईलाई षड्यन्त्रमा संलग्न गराएकी थिइन् । विश्वरूप साईंले यस हत्याकाण्डमा थप ३ जना नेपाली नागरिक र हरिद्वारको बिल्ला घाटका पुजारी हिमांशु जोशी र उनका भाइ आकाश जोशीलाई पनि सामेल गराएका थिए ।

त्यसपछि मे ५ मा हिमांशु, आकाश र विश्व साईं डाक्टरको रेकी गर्न दिल्ली आएका थिए । त्यसको दुई दिनपछि मे ७ मा पूरै टोली दिल्लीको सराय काले खान होटलमा बसे र मृतक चिकित्सकको घर वरिपरी घुम्न थाले । त्यसपछि हत्या र लुटपाटको योजना टुंगियो ।

मे १० मा बिहान करिब १.३० बजे मृतक चिकित्सकको घर पछाडिको ढोकाबाट ५ जना प्रवेश गरेका थिए । रिपोर्टका अनुसार डाक्टरको घरमा पुगेपछि हत्याराले सबैभन्दा पहिले कुकुरलाई बाथरुममा थुनिदिए । त्यसपछि आरोपीले डाक्टरलाई भान्सामा डोरीले कुर्सीमा बाँधेर बेल्टले घाँटी थिचेर हत्या गरेका थिए ।

डाक्टरको हत्यापछि अभियुक्तले घरमा लुटपाट र तोडफोड गर्न थाले । करिब चार लाख नगद र १५ किलो सुन लुटेर सबै अभियुक्त दुई समुहमा फरार भएका थिए । वर्षाका श्रीमान् भीम उनलाई लिएर त्यहाँबाट गए ।

डाक्टर दम्पतीले ६३ वर्षीया घरेलु कामदार बसन्तीको प्रहरी प्रमाणीकरण नगरेको अनुसन्धानबाट खुलेको छ । तर, प्रहरीले नजिकै जडान गरिएका सीसीटीभी क्यामेराबाट सुराग पाएपछि बसन्ती, हिमांशु जोशी र आकाशलाई पक्राउ गरेको छ भने अन्य चार अभियुक्तको खोजी भइरहेको छ । मृतक डाक्टरकी श्रीमती पनि दिल्ली सरकारकी डाक्टर हुन् ।

बाँकी अभियुक्तलाई पक्राउ गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । डीसीपी राजेश देवले यो हत्या र डकैतीमा जम्मा ७ जना अभियुक्त रहेको, ५ जना घटनास्थलमा रहेको र २ जनाले पूरै योजना बनाएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *