झारा टार्ने दिवस
देशब्यापी डढेलोले करौडौं जैविक बिबिधताको घरबार जीवन समूल नष्ट गर्यो। दुर्लभ पाटेबाघ खोरमा कैद छन् र भोकभोकै मरिरहेका छन्। नेपालको प्रतीक एकसिङे गैंडा ढलिरहेका छन्। चोरी शिकारीले हात्ती माथि गोली दागिरहेका छन्। थलचर मात्र होइन, पंक्षी नष्ट। जलचर नष्ट।
चोरी शिकारी र तस्करको बिगबिगी छ। अवैध वन्यजन्तु ब्यापार मौलाएको छ। फष्टाएको छ। सरोकारवाला निकाय छिन्नभिन्न अनदेखा र बेखबर जस्तै छन्। न निरोध, न रोकथाम। न छानबिन, न अनुसन्धान।
कसैलाई बिजाउँदैन, दुख्दैन। मानौ सबै चिरनिद्रामा छन्। रमिते छन्। प्रकृति लुट्को स-सानो हिस्साको खोज र मोजमा छन्। शिकारी र तस्कर सरकारको काँध चढेर हिँडिरहेको छ। उसकै काँधमा बन्दुक राखेर पड्काइरहेको छ। न्याय किनेर जेलबाट माला लगाएर छाती फुलाएर हिँडिरहेको छ।
यस्तो दुर्दशामा अर्को हप्ता जैविक बिबिधता दिवस।
हामी राजधानीको ब्यस्त सहर र सडकमा जैबिक बिबिधता दिवस मनाएर झारा टार्दै छौं। बिचौलियाहरुले ५ तारे होटलमा दिवस मनाएर संरक्षणको खिल्ली उडाउने छन्।
अति भयो अति। प्रकृति र संरक्षण अधिकारकर्मीहरु ब्युँझिन जाग्न तात्न ढिला भयो। आन्दोलनको तयारी गर्न बिलम्ब भयो। लेखौं कति लेखौं? नलेखौं दुर्भाग्य कसरी हेरौं? र, यो महत्वपूर्ण दिवसलाई कसरी सम्मान नगरौं?
त्यही बिचरा दिवसलाई स्मरण र उच्च सम्मान गर्न यो आलेख पस्किएको छु।
बिगतको ऐना
३५ वर्षको उमेरमा निकुञ्ज डिउटीमा खट्टिँदा पंक्तिकार अलपत्र थिएँ। अज्ञानी र अनविज्ञ थिएँ। गेमस्काउट, रेञ्जर, चीफ वार्डेनले संरक्षण क ख पढाए। संरक्षण साझेदार संघ संस्थाले संरक्षण ज्ञान र सीप भरिदिए।
मेरो कर्म र खटनपटन गेमस्काउट रामबिलासको हातमा थियो। निकुञ्ज कार्यलय र प्रोटेक्सन युनिट बीचको तार (डिभाइडर) फ्याँकेपछि रामबिलास रात दिन खाने सुत्ने समयको हेक्का नराखी सिधै भान्छा र ओछ्यानमा प्रवेश गर्दथ्यो र भन्थ्यो-“सर,
छिटो तयार हुनुहोस्।
गस्ती जानुपर्यो।
मनाउघाट।”
उसले मलाई लतका लाउँदथ्यो। आराम बिश्राम पटक्कै दिएन। सलाम छ, रामबिलासलाई।
चीफ वार्डेनहरु नबिसाई गस्ती गइरहन्थे। रेञ्जरलाई कार्यालय र निवासमा भेटिँदैन थियो। जहिले जतिबेर फिल्डमा। पछि कलमजंग कुँवरले कैदीहरुलाई जेल सारेर हैरान पारे। सोधपुछ र अनुसन्धानको निमित्त। कैदी वसारपसारको कामलाई सेनाले कोभर्ट डिउटी खटाएर पूरा मद्दत गर्यो।
पूर्व चीफ वार्डेन र उहाँहरुको टिम अति प्रतिबद्ध, साहसिक, जुझारु र त्यागी थिए। राजनीतिको “र” र ब्यापारको “ब” थाहा थिएन। कानूनमा टसमस गर्दैन थिए।
फिल्डमा डिजीको छड्के भ्रमण भइरहन्थ्यो। डिजी सधैं टिममा हर्कत गर्दथे। साथमा किङ महेन्द्र ट्रष्ट र विश्व वन्यजन्तु कोष नेपालका हाकिम हुन्थे। हर्कत मै मिटिङ र योजनाहरु फच्चे गरिसक्दथे। तिनको ब्यक्तित्व र नेतृत्व उचाई अन्तर्राष्ट्रिय कदको थियो।
राजनीतिले संरक्षण चिन्दैन थियो। संरक्षणले राजनीतिज्ञ र ब्यापारी चिन्दैन थियो।
पंक्तिकारले ज्ञान र आत्मविश्वास भर्न रातारात जीवजन्तु, पंक्षी र बनस्पतिको नाम कण्ठ पारेँ। हरेक गाउँ, चुट्टी, नदी, नाकामा पैदल गस्ती पुर्याएँ। डिजी र राजाले प्रश्न सोध्लान् र जागिर खाइदेलान् भनेर।
हेर्दाहेर्दै द्वन्द्व निकुञ्ज आरक्षभित्र छिर्यो। पूर्वाधार ध्वस्त पार्यो। गैंडा, बाघ र बाघको आहार मारेर निकुञ्ज खाली गरायो। क्याण्टोनमेण्ट र वरीपरि जंगलका सखुवा बेचेर धन कमाउन सिक्यो। निकुञ्जमा काल पल्कियो। प्रकृति ध्वस्त भयो।
लगत्तै, संरक्षणमा सिआइबी सामेल भयो।
प्रकृतिको आशीर्बादले निकुञ्ज आरक्षका हतियार कण्टेनरमा बन्द हुनबाट बाल्बाल् जोगिए। परिणाम “गर नत्र मर” नारा बोकेर सबैको सहयोगमा शून्य सिकार उपलब्धि प्राप्त भयो। त्यसले आधा दशक निरन्तरता पायो। फलतः निकुञ्ज आरक्ष बन्यजन्तुले भरिए। नेपालले अन्तर्राष्ट्रिय तारिफ, कदर र पुरस्कार प्राप्त गर्यो।
संरक्षणको बिरासत धान्नलाई प्रकृति माताले दीपक बोहोरा र महेश आचार्य जस्तो नमूना नेतृत्व पाइन्। संरक्षणप्रेमी हिम्मतिला वन सचिव र डिजी पाइन्।
लोकतन्त्र र गणतन्त्र दुबैले मुलुक तहसनहर पारे। जल जंगल जमीन (माटो ढुंगा गिट्टी बालुवा) जीवजन्तु, जडिबुटी, जनशक्ति, उद्योगधन्दा बेचेर मुलुक नांगो पारे। तर, पुरानो दह्रो जगमा उभिएको संरक्षणको बिरासत भत्किएन।
दुर्भाग्यपूर्ण वर्तमान
दरबन्दी बढ्यो। समाबेशी भयो। सुबिधाहरु बढे। तर जोस जाँगर जिम्मेवारी र जवाफदेहीता मर्यो। बिज्ञहरु प्रदेशतिर लखेटिए। अनबिज्ञ चाप्लुसी, चाकडी, राजनीतिक दलाल, बिचौलिया, झोले, खातेहरु प्रकृति कजाउन भजाउन बेचिखान थाले। समाबेशिताका नाममा हात्ती कजाउन र रुख चढ्न नसक्ने महिला माउतेहरु हात्तीसारलाई बोझ भए। संघीयताले वनक्षेत्र छुट्टिए, चुँडिए, बिलाए, हराए।
दुर्भाग्य, गस्ती हरायो। ब्यापार उदायो, चम्कियो। ऐले, ऐन तोडमोड गरेर प्रकृतिलाई निल्ने गरि निकुञ्जको कोर इलाकामा ब्यापार छिराउन लागिएको छ।
मन्त्री, सचिव, डिजी, उल्टो राजनीतिक बिचौलियाका झोले भए। फोहोरी पुच्छरले टाउको नियन्त्रण ग¥यो। पबित्र मन्त्रालय र बिभागहरु तस्करहरुको अखडा भए।
मलुक टाट् पल्टाउने र असफल बनाउने सुनियोजित बाह्य षड्यन्त्रले थोपरेको संघीयता प्रकृति र संस्कृति भत्काउनको लागि थियो। आज, चेनअफ्कमाण्ड ध्वस्त भयो। डढेलो नियोजित थियो। आगो निभाउन नजानु पनि नियोजित थियो।
हेर्दाहेर्दै प्रकृतिमाथि चौतर्फी प्रहार भयो। कम्युनिष्ट दलहरु र तिनको सत्ता प्रकृति बिरुद्ध थियो। अरु दल कम्युनिष्ट कै देखासिकीमा लतारिए। बिग्रिए र जल जंगल जीव खान उद्यत् भए।
संरक्षण गुरुहरुलाई प्रश्न
खोई हिजोको संरक्षण शिक्षाको औचित्य, महत्व, संरक्षण र निरन्तरता? हिजो मलाई पढाएको ११८ पारिस्थितिकीय प्रणाली, ११८६१ प्राणी प्रजाति, ११९७१ बनस्पति प्रजाति, ८७५ पंक्षी प्रजाति, ६५१ पुतली प्रजाति २०८ स्तनधारी जीव प्रजाति, १२३ घस्रने जीव प्रजाति, २३० कञ्चन पानीका माछा प्रजातिको अवस्था आज के छ? कस्तो छ? घट्बढ् र राम्रो नराम्रो स्थिति के छ? खोइ अद्याबधिक डाटा? खोइ तिनको अध्ययन अनुसन्धान, माया र संरक्षण?
यो वर्षको नियोजित डढेलो र घामट् सुताइले कति करोड जैविक बिबिधता खरानी भए? त्यो कहालीलाग्दो खरानी माथि कसरी मनाउने यो वर्षको जैविक बिबिधता दिवस? कसरि हेर्नु सुन्नु यति महत्वपूर्ण र सम्वेदनशील आडटडोर दिवस सहरमा, सडकमा, पाच तारे होटलमा मनाएको।
संरक्षण गुरुहरु, संरक्षणबिद् र बिज्ञहरुलाई जोडदार आह्वान छ, हाइवर्नेसन र ध्यानबाट बाहिर आउँ। र, प्रकृति तथा संरक्षण अधिकारकर्मीको छाता बनाउँ। फलामे पर्खाल बनाउँ, ढाल बनूम् र सबैजना ऐकबद्ध गोलबद्ध भएर प्रकृतिको रक्षा कल्याण सम्मान गरुम्। भावी सन्ततीको भोलिको प्रकृति माताको रक्षाका खातिर ज्यानको बाजी लगाउँ।
चाँदीको घेरा
जैविक बिबिधता संरक्षणको भविष्य उज्वल छ। किनभने, ब्यापारी अनविज्ञ मन्त्री र निरीह सचिवको ठाउमा प्रकृतिले होनहार, साहसिक, सम्बेदनशील, संरक्षणप्रेमी नयाँ वन मन्त्री र सचिव पाएकी छिन्।
बिदेशी नियोग, बिदेशी संरक्षण संघ संस्था, ठूला दल र तिनका नेता, अख्तियार र आर्मी सबैलाई सिस्नामा सुताउने र एउटै खाल्डामा पुर्ने राजनीतिक भरिया, घटिया, ठग, बदनाम, सुलसुले बिचौलिया सदस्य सचिव राष्ट्रिय प्रकृति संरक्षण कोषबाट हात उठाएर भागेका छन्।
उनको अवैध नियुक्ति मति गतिभ्रष्ट राजनीतिक दलाली र व्यापारको पराकाष्ठा थियो। अब, उनको बहिर्गमन पछि वन मन्त्रालय, वन प्रशासन, निकुञ्ज बिभाग र विश्व संरक्षण समुदाय कसैको बन्धक हुनुपर्दैन। पुच्छर देखेर टाउको डराउनु काम्नु पर्दैन। र, राष्ट्रिय अन्तर्राष्ट्रिय कद र गौरव बोकेको उक्त कोष अब शीघ्र बौरिने छ, उठ्ने छ र चम्किने छ।
मुलुकको असफलसिद्ध ब्यवस्थाको शीघ्र अन्त्य हुनेछ र प्रकृतिले शीघ्र नयाँ परिवर्तन र रुपान्तरणको हात साथ र सहयोग पाउने छिन्।
सुझाव
जैविक बिबिधताको नयाँ राजनीतिक र प्रशासनकि नेतृत्व सगरमाथा जस्तो अग्लो, बिशाल र अटल भएर प्रकृतिको पक्षमा खडा हुन्। पुराना ब्यापारी नेतृत्वको ऐन कानून बिपरीतको उधारो नियमावली, कार्यबिधि शीघ्र खारेज गरुन् र मन्त्रालयमा तस्कर, दलाल र बिचौलियालाई खुट्टा हाल्न नदिउन्।
निकुञ्ज बिभागमा प्रकृतिप्रेमी, संरक्षणप्रेमी, प्रतिबद्ध वन्यजन्तु समूहका डिजी अबिलम्ब ल्याउन्। र, निकुञ्ज, वन, वाताबरणलगायत सबै क्षेत्रमा राजनीतिकरण हुँदैन भनेर अराजनीतिक संरक्षणको अभ्यास प्रारम्भ र प्रत्याभूत गरेर सुनौलो इतिहास निर्माण गरुन्।
प्रकृति संरक्षणको ऐतिहासिक र सर्वाधिक महत्वपूर्ण खम्बा राष्ट्रिय प्रकृति संरक्षण कोषमा अन्तर्राष्ट्रिय कद र बिश्वास भएको, बहुआयामिक छवि भएको, अतियोग्य, अति सक्षम, त्यागी युवा बैज्ञानिक नेतृत्व सदस्य सचिवमा नियुक्ति होस्।
न संघ, न प्रदेशका डिभिजन वन कार्यालयहरु र तिनका अमूल्य वन क्षेत्रलाई अन्तर्राष्ट्रिय अभ्यास अनुसार संघमा फिर्ता ल्याउने राष्ट्रिय र सामरिक निर्णय होस्।
उचित ब्यवस्थापन र संरक्षणको अभावमा बढेको मानव वन्यजन्तु द्वन्द्व, चोरी सिकारी, अबैध वन्यजन्तु ब्यापार नियन्त्रण गर्न पहिलाको जस्तो टिमबिल्डिङ, टिमवर्क, क्षमता अभिबृद्धि, इण्टेलिजेन्समा आधारित जंगल अपरेसन गर्न सिबिएपियुलाई सवल र संस्थागत गर्ने कार्यलाई प्राथमिकता दिइयोस्।
खुला सीमानामा बन्यजन्तुको अबैध ब्यापार अनुगमन र नियन्त्रण गर्न तथा बन्यजन्तुको क्रसबोर्डर तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई संरक्षण म्याण्डेट दिएर श्रोत साधन सम्पन्न बनाउने र बृहद संरक्षण टिममा अनबोर्ड गर्ने काम होस्।
बिगतमा आकासको तारा झार्ने तर निकुञ्ज बिभागको निरीहता र निस्क्रियताले हाल सेलाएको सिआइबीलाई आवस्यक जनशक्ति, श्रोत–साधन, तालिम, क्षमता अभिबृद्धि गर्दै पुनर्ताजगी गरेर अबैध ब्यापारको जरा नसा काट्ने अनुसन्धान कार्यमा पुनः लगाउन राष्ट्रिय पहल होस्।
वाईल्डलाइफ क्राइम कन्ट्रोल ब्युरोलाई संघदेखि स्थानीय तहसम्म जगाउने, तताउने र क्रियाशील बनाउने काम होस्।
तस्कर एवं ब्यापारीको माया र छायाले दायाँ बायाँ तित्तरबित्तर दशमुखा वन प्रशासक, कर्मचारी, प्राबिधिकलाई प्रकृति संरक्षणको मूलधारमा फर्काउने र उच्च राष्ट्रिय संरक्षण बिचार, एउटै साझा संरक्षण धार तथा बुलन्द आवाज प्रस्तुत गरेर कार्वन र जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरी जलवायु बित्त भित्र्याउने कामले प्राथमिकता पावस।
फिल्ड अराजनीतिक, नैतिकवान साहसिक र त्यागी भै दरोसँग दुई खुट्टामा उभियोस।
नेपाली सेनाले प्रकृति संरक्षणलाई उच्च र पहिलो प्राथमिकतामा राखी संरक्षणस्तर ३ गुना बढाउँदै निकुञ्ज विभाग र बन तथा वातावरण मन्त्रालयलाई तन मन ध्यान धन खर्चेर हात साथ र काँध थापिदियोस्।
संरक्षण साझेदार संघ-संस्थाहरु बिचौलियारहीत नया परिबेशमा संरक्षण छातामुनि पहिलाको जस्तै उर्जावान् एवं एकढिक्का हुन् र सुन्दर सानदार संरक्षण तथा बिकास आयोजनाहरु लिएर पुनः संरक्षण क्षेत्र तथा स्थानीय समुदायको घर आँगनमा नमूना टिमवर्कका साथ पुगून्।
अन्त्यमा, निरीह नेतृत्व, सुस्त संरक्षण र भ्रष्ट ब्यवस्थापनको कारण मौलाएको दुर्लभ बन्यजन्तुको खोर, सिकार, ब्यापार, तस्कर तत्काल बन्द होस्। पशुश्रापको राष्ट्रिय कलंक रोकियोस् र पशुआशिष प्राप्त भएको देख्न पाइयोस्। बिगतका जस्ता संरक्षण पथ भ्रष्ट रुन्चे जैबिक बिबिधता दिवस सुन्न देख्न नपरोस्।
अब प्रकृति संरक्षणको नया चम्किलो दियो बलोस्, संरक्षण ज्योति फैलियोस् र संरक्षण खाँडो जागेर अस्तित्व संकटमा परेका अमूल्य हीरा मोतीरुपी जैबिक बिबिधताको रक्षा कल्याण सम्मान होस्।
जैबिक बिबिधता दिवसको जय जय जय होस्।
Facebook Comment