दुई दिने भ्रमणमा चीन पुगे पुटिन, सी जिनपिङसँग के–कस्ता विषयमा छलफल होला ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीन पुगेका छन् । दुई दिने भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् ।
पुटिन र सी जिनपिङबीच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले नियाली रहेका छन् । रुस र चीनबीचको साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा पुटिन र जिनपिङको भेटमा छलफल हुनेछ ।
रुस र युक्रेनबीच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । यस युद्धका कारण अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रकारका प्रतिबन्धहरू लगाएका छन् ।
तर, यस अवधिमा चीनले रुसको आर्थिक अवस्थालाई सम्हाल्न सहयोगी साबित भएको छ । चीनले रुसी सेनालाई प्रविधि र हतियार उपलब्ध गराएको आरोप पनि लागेको छ । जसका कारण चीनमाथि पनि दबाब परिरहेको छ ।
चीनले यी आरोपहरू अस्वीकार गर्दै आएको छ र रुसलाई कुनै पनि प्रकारको सैन्य सहयोग नगरेको दाबी गर्दै आएको छ । तर, चीनले युक्रेनमा रुसको आक्रमणको आलोचना गरेको छैन ।
Facebook Comment