पृथ्वीनारायण शाह सांस्कृतिक साम्राज्यवाद विरोधी योद्धा
नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको परिचय र पहिचान सांस्कृतिक साम्राज्यवाद विरोधी योद्धा समेतको हो भन्ने तथ्यहरुलाई यहाँ प्रस्तुत गर्न कोशिस गरिने छ।
पृथ्वीनारायण शाह रैथाने मौलिक संस्कृतिको पक्षपाति र साम्राज्यवादी अतिक्रमणकारी सांस्कृतिकधार विरोधी नेता हुन्। उनले मौलिक रैथाने संस्कृतिको संरक्षण र जगेर्ना गर्न अथक संघर्ष गरेका छन्।
त्यसको पहिलो शर्त भनेको आक्रमणकारी साम्राज्यवादी सांस्कृतिकधारको प्रहारलाई प्रतिप्रहार गर्नु, परास्त गर्नु र रोक्नु पर्छ भन्ने उनको ठम्याइ थियो।
पृथ्वीनारायण शाहको जीवन नेपाल राष्ट्रको एकीकरण सँगसँगै साम्राज्यवादी सांस्कृतिकधारमाथि प्रहार गर्दागर्दै बित्यो। र उनी यसमा एक हद सम्म सफल पनि भए।
पृथ्वीनारायण शाहले बुझेका रहेछन् आफ्नो मौलिक संस्कृति जोगाउन सकिएन भने आफ्नो र राष्ट्रको अस्तित्व समेत बचाउन सकिने छैन।
साम्राज्यवादी सांस्कृतिकधारलाई प्रहार नगरी उसको धारलाई पराजित नगरी यो सम्भव छैन भन्ने बुझेका पृथ्वीनारायणले सांस्कृतिक साम्राज्यवादीधारमाथि योजना बनाएर नै जाइलागेका हुन्। उनका यस सम्बन्धीका विचार र व्यवहारलाई दृष्टान्तसहित वस्तुनिष्ठ भएर छलफल र विश्लेषण गरौं।
कुनै समयमा विशाल भएको तर समय क्रममा टुक्रा-टुक्रा भएर गएको यो नेपाल खण्ड पूर्वीय प्राचीन आध्यात्मिक चिन्तनधार र त्यो सँगै विकसित भएर बढेको मौलिक सांस्कृतिकधार बचाउने पहिलो शर्त भनेको एकीकृत र बलियो नेपाल नै हो भन्ने पृथ्वीनारायण शाहले बुझेका थिए, विश्लेषण गरेका थिए।
यो माथिको खतरा भनेको पश्चिमा साम्राज्यवादीबाट श्रृजित र विकसित गरेको सांस्कृतिक तथा आध्यात्मिकधारको आवरणमा हुने घुसपैठ, आक्रमण र कब्जा नै हो भन्ने पृथ्वीनारायण शाहको विश्लेषण थियो।
यही विश्लेषण माथि उभिएर नै पृथ्वीनारायण शाहको आफ्नो गोरखा राज्यको विस्तार गर्ने सोच नेपाल एकीकरणमा बदलिएको थियो। बनारसमा हतियार लिन किन्न गएको बेला पृथ्वीनारायण शाहले नजिकैबाट भारत अंग्रेजबाट निलिदै गरेको र सँगसँगै भारतीय संस्कृतिसमेत निलिँदै बिलिँदै गरेको नजिकबाट देखेका थिए।
यो निलिने क्रम रोकिन्न र यसको शिकार निकट भविश्यमा टुक्रिएको नेपाल हुनेछ भन्ने झस्का पृथ्वीनारायण शाहलाई भइ सकेको थियो। उनलाई थाहा थियो टुक्रिएकालाई निल्न सजिलो हुन्छ। उनले नजिकबाट देखेका थिए टुक्रिएको भारतलाई पालो पालो गरेर गाँस बनाएको थियो।
टुक्रिएकालाई पालो पालो गाँस बनाएर निल्न सजिलो हुन्छ। नेपाललाई अंग्रेजको गाँस हुन दिन्न भन्ने अठोट,आँट र हतियार बोकेर पृथ्वीनारायण शाह नेपाल पर्किएका थिए।
पृथ्वीनारायण शाहले एकीकरण नै चाहेका थिए नेपालकरणको लागि। उनले एकीकरण र नेपालकरण नेपाली धर्म संस्कृतिको संरक्षणको लागि मात्र चाहेका थिए।
उनी शिवभूमीका पशुपतिनाथ र गोरखनाथलाई जोड्न चाहन्थे। उनी सबै ओमकारलाई जोड्न चाहान्थे,जोगउन चाहन्थे। उनी राजनीति एकीकरणले सांस्कृतिक एकीकरणको सेवा गर्न चाहन्थे।
पृथ्वीनारायण शाह राजनीति एकीकरण र सांस्कृतिक एकीकरणको जगमा पूर्वीय आध्यत्मिकधारको बलियो नेपाल खडा गर्न चाहन्थे। जसलाई पश्चिमा साम्राज्यवादी सांस्कृतिक तथा आध्यात्मिकधारले बिटुल्याउन नसकोस् निल्न नसकोस्।
नेपाल बचाउन नेपालमा विकास भएको फैलिएको प्राचीन बौद्धिक, वैदिक आध्यात्मिक चिन्तनधार जो नेपालको आन्तरिक शक्ति हो लाई साम्राज्यवादी शक्तिबाट क्षति हुन नदिनु अनिवार्य शर्त पृथ्वीनारायण शाहले बुझेको सत्य थियो।
पृथ्वीनारायण शाहमा एकैपल्ट देशभक्ति, आध्यत्मिक तथा साँस्कृतिकभक्ति जुरुक्कै उठेको थियो उनको भित्रैदेखि। यही भक्ति नै उनको शक्ति थियो। यही शक्तिले उनलाई साम्राज्यवाद विरोधी सांस्कृतिक योद्धाको रुपमा खडा गरो।
यो धारमा यसरी खडा भएका पृथ्वीनारायण शाहले सयौं गोरखाली हुँदै नेपाली जनलाई परिचालन गरेर नेतृत्व दिएर नै नेपालशक्ति खडा गर्न सकेका हुन्, बलियो एकीकृत नेपाल निर्माण गर्न सकेका हुन्।
पूर्वीय आध्यत्मिक तथा सांस्कृतिकधार पृथ्वीनारायणले आफ्नो शक्तिको चुरो र जुरो बनाएर अघि बढे। उनको पृथ्वीविचार यही धारबाट निर्देशित भएको पाइन्छ। शैवशक्तिमा पृथ्वीनारायण शाहले आफ्नो शक्ति देखे, नेपालको शक्ति देखे। यही शक्तिको रक्षाको लागि सबैलाई समेटेर फिरंगीका सबैखाले प्रहार, षड्यन्त्र र आक्रमणको डटेर मुकाबिला गरे।
जयप्रकाश मल्लले अंग्रेजलाई बोलाएपछि उनको पक्षमा उभिएका धेरै जनहरु आफ्नो धर्म संस्कृति रक्षाको लागि अव गोरखाली राजा पृथ्वीनारायण शाहलाई सहयोग गर्नुपर्ने मानसिकतामा पुग्न थालिसकेका थिए।
यिनै मध्ये रामेछाप मुगिटारका एक प्रभावशाली बासिन्दा रामचन्द्र प्रसाईंले आफ्नो धर्म संस्कृति रक्षाको खातिर फिरंगी पक्षधर जयप्रकाश मल्ललाई सहयोग नगरी गोरखाली राजालाई सहयोग गर्न सिन्धुली मोर्चामा उभिएका गोरखाली सेनालाई कसरी सहयोग गरौं भनेर पृथ्वीनारायण शाहलाई अर्जीपत्र लेखेका थिए।
त्यसको जवाफमा पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईंलाई लेखेको पत्रबाट पनि पृथ्वीनारायण शाह सास्कृतिक साम्राज्यवाद विरोधी योद्धा थिए भन्ने पुष्टि हुन्छ। पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईलाई लेखेका छन् “तिमीले पठाएको पत्र आयो,अर्थ मालुम भयो, फिरंगीको आक्रमण हुन्छ भन्ने हल्ला छ, के गर्ने हो भनी पठाएको भलो हो।
सिन्धुलीबाट नै फिरंगीको आक्रमण हुन्छ भन्ने साँचो हो। भारतलाई खानेले नेपाललाई मात्रै छाड्ला भन्नु पर्दैन। गोरखनाथ भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन् र एकै हुन्।
फिरंगी भनेको ब्वाँसो हो। उसले जित्यो भने हामी कसैले पनि बाँच्नु पर्दैन”। पृथ्वीनारायण शाहको यस भनाइबाट पनि देखिन्छ कि सांस्कृतिक तथा आध्यात्मिक हिसाबले एकै भए पनि राजनीति हिसाबले विभाजित नेपाललाई एक बनाएर फिरंगीधारलाई रोकेर नेपाली संस्कृतिको रक्षा गर्न साम्राज्यवाद विरोधी पृथ्वीनारायण शाहको सबैको साथ सहयोग लिएर अघि बढ्ने नीति र नेतृत्व देखिन्छ।
यसरी विपक्षी राज्यका जनताहरुको समेत साथ सहयोग लिएर पृथ्वीनारायण शाहको नेतृत्व र निर्देशनमा चलेको गोरखाली सेनाले अंग्रेजको आक्रमणलाई परास्त गरेरै छोड्यो।
यदि पृथ्वीनारायण शाहको गोरखाली फौज अंग्रेज फौजलाई परास्त गर्न असफल भएको थियो र जयप्रकाश मल्लको निम्तो पाएको त्यो फिरंगी सेना काठमाडौं उपत्यका प्रवेश गर्न सफल भएको थियो भने न नेपाल रहन्थ्यो न मौलिक नेपाली संस्कृति नै रहन्थ्यो।
स्वाधीनता गुमाएको मुुलुक र कहिल्यै पराधीन नभएको मुलुक बीचको अन्तरको ताजा उदाहरण नेपालको आफ्नै मौलिक औपचारिक सम्बत छ। सांस्कृतिक साम्राज्यवादको लपेटामा परेका सबै मुलुकहरुले आफ्ना सम्बत समेत बिलय गराएर उसको क्यालेण्डरलाई औपचारिक बनाउन वाध्य भए।
सांस्कृतिक साम्राज्यवादले एउटा मात्र होइन धेरै रैथाने धर्म साँस्कृतिलाई समाप्त पारेर लान्छ र आफ्नो धर्म संस्कृतिको भारी बोकाउँछ। सांस्कृतिक साम्राज्यवाद जहिल्यै पनि सबैको लागि हानीकारक छ, खतरा छ।
पृथ्वीनारायण शाहले विशाल एकीकृत नेपाल केवल ठूलो बनाउनको लागि बनाएका थिएनन्। अथवा केवल ठूलो भूगोलको राजा हुन र सोख सयल गर्न राजा वा राजाका सन्तानहरुको लागि मोजमस्ति गर्नको लागि बनाएका थिएनन्।
नेपालको संगठित शक्तिले मात्र नेपाली मौलिकता नेपाली संस्कृति नेपाली परम्परा जोगाउन सकिने विश्वासमा नै धेरै कष्ट र मेहनत गरेर विशाल नेपाल बनाएका थिए।
उनलाई थाहा थियो यो विशाल नेपाल साम्राज्यवादी फिरंगीले परेड खेल्ने कोठेबारी बन्नु हुन्न। यो नेपालीको फूलबारी विदेशीको काँढाघारी बन्नु हुन्न। बेलैमा फिरंगी कांढा उखेलिएन भने यी काँढाहरु झांगिएर नेपाली फूलबारी फिरंगी काँढाघारीमा रुपान्तरण हुने विश्लेषण गरेर नै यी सास्कृतिक साम्राज्यवाद विरोधी नेपाली नेताले मल्ल राजाहरुले रातो कार्पेट ओच्छ्याएका केपुचिन पादरीहरुलाई नेपालबाट निकाला गरेका हुन्।
पृथ्वीनारायण जस्ता सांस्कृतिक साम्राज्यवाद विरोधी नेता वा योद्धाले मात्रै यस्तो साहसी र दूरगामी महत्वको काम गर्न सक्छन्। परिणाम र असर नहेरी केही भौतिक दान दक्षिणमा लोभिने अदूरदर्शीहरुले त धर्मनिरपेक्ष नामको रातो कार्पेट ओछ्याइदिन्छन् फिरंगीलाई।
यो सांस्कृतिक साम्राज्यवादलाई खुलेआम साथ हो र एकैपल्ट पृथ्वीविचार र नेपाली मौलिक धर्म संस्कृतिमाथिको प्रहार हो। यो नेपाली संस्कृति समाप्त गर्ने आधार हो। संस्कृति अस्तित्व र राष्ट्रियतासँग जोडिएको हुन्छ। संस्कृति समाप्त भएपछि राष्ट्रियता समाप्त पार्न कुनै आइतबार कुर्नु पर्दैन। सबैमा चेतना भया।
Facebook Comment