पोखराको घुमघाम
काठमाडौंबाट बाहिरका जिल्लामा घुम्न नगएको पनि महिनौँ भइसकेको तथा कामको सिलसिलामा ज्यान र मन निकै थाकेकोले केही दिनको निम्ति विश्राम लिने सोच पलाइरहेको बेलामा एक्कासी पोखरामा घुम्न जाने विचार फुर्यो।
करिव १ वर्ष पहिले सपरिवार भैरहवा, वुटवल, पाल्पा र पोखरा घुम्न जाँदाका यादहरू अभैm ताजा नै छन्। तर पनि नेपालका धेरै ठाउँहरू यत्तिका मनोरम छन् कि ती ठाउँमा जति पटक पुगे पनि घुम्ने धितै मर्दैन। पोखरा पनि त्यस्तै गन्तव्य हो।
पोखरा जाने बाटो चौडा पार्ने काम काठमाडौँको नागढुंगादेखि नै शुरु भएकोले यसपाली हवाइजहाजमा जाने निधो भयो।
तर निकै वर्ष पछि यसपाली मुलुकभर नै बाक्लो डढेलो लागेकोले यो क्षेत्रको हावा निकै प्रदूषित भएको कुरा समाचार तथा छापाहरूमा पढिँदै थियो। तराईका विभिन्न ठाउँमा पहिले भन्दा निकै गर्मी बढेको तथा पहाड र उपत्यकाहरूमा डढेलोको कारण बाक्लो तुवाँलो लागेको अवस्था।
अन्य ठाउँमा भन्दा झनै पोखरा उपत्यकामा त ज्यादै नै बाक्लो तुवाँलो लागेकोले विमानसेवा नै कैयन् दिनसम्म ठप्प नै भएको र यदाकदा एकाध उडान भएपनि निकै डरलाग्दो प्रकारले हल्लाउने गरेको कुरा सुन्नमा आइरहेको।
एकजना मित्रले त यतिसम्म पनि भनेर हँसायो कि जमिनको बाटोमा खाल्डाखुल्डी भएर ज्यादै कठीन भए जस्तै आकाशमा पनि खाल्डाखुल्डी धेरै रहेछन् र पो यसरी घन्ट्याङ-घुन्टुङ पारेको रहेछ।
आखिर मोटरगाडीमा जति घण्टा लागेपनि र जति नै सास्ती खाएपनि गाडीमा नै जाने निधो भयो। छोरा र उसको साथी पनि जाने भएपछि हामी सानो कारको सट्टा ठूलो जीपमा हुइँकियौँ।
सडकमा जाम हुनु भनेको त नेपालमा यात्राको पर्याय नै भइसकेकोले तथा आफू कुनै काम पनि नलिएर यात्रा गर्न लागेकोले जे जसो पनि सहने मुडमा थिएँ। त्यसमाथि सकारात्मक सोच पैदा गर्न मैले गाडीमा जाँदा ‘हामी यो राजमार्गको प्रगति कति भएछ भन्ने निरिक्षणमा निस्केका हौँ है, हेर्दै, अड्दै जानुपर्छ’ भनेँ। दुवै जना मज्जाले हाँसे।
नागढुंगादेखि नै मोडहरू घटाउने तथा भिर काट्नुका साथै भिर अड्याउने पर्खालहरू बनाउने काम भइरहेको तथा कैयन् ठाउँमा निकै प्रगति भएकोले यसपाली जाम केही कम भएको महसुस भयो।
नौबिसेदेखि मुग्लिङसम्मको बाटोमा भिर काट्ने काम धेरै हदसम्म सकिएकोले सडकमा ठाउँ ठाउँमा पिचको स्थिति नाजुक हुनुका साथै कैयन् ठाउँमा ठूलै निर्माण कार्य चलिरहेको भएपनि हामी विना कुनै रुकावट ठीक समयमा नै मुग्लिङ पुग्यौँ। माथिल्लो मलेखुमा माछा र चिया त खानै पर्यो र सधैँ विश्राम गर्ने होटेलका साहुजीसँग भलाकुसारी पनि गर्नु नै पर्यो।
मुग्लिङबाट आँबुखैरेनीसम्म सडक चौडा गर्ने काम शुरु नभएको भएपनि त्यहाँबाट डुम्रेसम्म भने चारलेनको सडक निकै बनिसकेको रहेछ। सररर गुडियो र ठाउँ ठाउँमा व्यवधानहरू पनि पार गरियो। डुमे्र चोकमा बल्ल तल्ल मुआब्जा वितरण गरेर घर भत्काउने काम शुरु भएकोले त्यहाँको माहौल निकै अस्तव्यस्त।
तर पनि पहाडिया केरा बेच्न बसेकी एकजना महिलासँग केही केरा खरिद गरेर खायौँ। ज्यादै स्वादिलो। सुन्तलाको सिजनमा पनि यहाँ लमजुङको सुन्तला पाइन्छ। यस्तै अस्तव्यस्तताको सामना दमौली बजार पुग्दा पनि गर्यौं।
सडक चौडा पार्नु भन्दा पहिले पुल-पुलेसाहरू बनाउने काम सक्न पाएको भए राम्रो हुने थियो तर हामी कहाँ त्यसको ठीक विपरित सग्लै सडक भताभुङ्ग पारेर मात्र निर्माण कार्य थालिँदा पुरै राजमार्ग अवरुद्ध हुन पुग्दछ।
यो राजमार्गको चौडा पार्ने काममा सबैभन्दा सुस्त गतिमा भने पोखरा नजिकको क्षेत्रको निर्माण कार्य नै पर्दो रहेछ। कतै विजुलीको खम्बा अभैm झिकिएको छैन भने कतै कल्भर्ट तथा ढल बनाउने काम भइरहेको त कतै कुनै पनि कामको थालनी नै भएको छैन। जेनतेन हामी साँढे ६ घण्टामा पोखरा पुग्यौँ।
तुँवालोको कारण हिमाल तथा पहाड हेर्ने त कुरै छोडौँ, फेवाताल समेत धमिलो देखिने। एक प्रकारको डढेको गन्ध वातावरणमा। बाहिर घुम्दा चश्मा र मास्क छोड्दै छोडिन। तर पनि आँखा पोलेको जस्तो हुने।
भारत र पाकिस्तानमा पर्ने पञ्जावमा वर्षेनी खेती शुरु गर्नु भन्दा पहिले पराल तथा खेतका अन्य सुख्खा घाँस बालिने गर्दा त्यसको असर उत्तरी भारत र हिमालयको फेदीसम्म नै पर्ने गरेको कुरा सुन्नुका साथै भोगिएको पनि थियो।
त्यस्तै सन् २०१९मा अष्ट्रेलियाको भ्रमणमा जाँदा त्यो पुरै महादेशमा भयानक डढेलो लागेको र यसको असर न्युजिल्याण्ड तथा इन्डोनेशियासम्म परेको र सिड्नीबाट क्यानबेरा मोटरगाडीमा जाँदा आफू पनि डढेलोमा परिने सम्भावनाबाट बच्न सफल भएको घटनाहरूको सम्झना गरायो यसपालीको नेपालको भयानक डढेलो र पोखराको तुवाँलोले।
घुम्न जाँदा खल्तीले भ्याएसम्म राम्रो र सुविधाजनक होटेलमा बस्ने इच्छा हुने। यसपाली लेकसाइड कै माउन्ट कैलाश होटलमा बस्ने मिलाइएको थियो। भारतीय पर्यटकहरूलाई समेत लक्षित गरेर खोलिएको यो होटेलमा क्यासिनो समेत रहेछ। पौडी पोखरी र व्यायामका राम्रा उपकरणहरूले सजिएको यो होटेलको बिहानीको खाजा पनि ज्यादै राम्रो थियो।
कोठाहरू त्यति नै सफा र आरामदायी। स्वदेशी र विदेशी च्यानलका टेलिभिजन हेर्ने राम्रो सुविधा भएकोले घरैमा बसेको भान भयो। कर्मचारी तथा सुरक्षाकर्मी पनि हँसिला र फुर्तिला देखिएकाले सुरक्षित महसुस हुने।
वास्तवमा केही दशक अघिदेखि नेपालका साना होटेलहरूमा पनि कैयन् सुविधाहरू तारे होटेलकै हाराहारीमा हुने गरेकोले यात्रु तथा पर्यटकको बसाईँ निकै राम्रो हुने गरेको छ।
बाटोमा खाना नखाएकोले भोक लागेको। भोक लाग्दा जे जस्तो खाना पनि मिठो हुनेमा लेकसाइडमा अवस्थित नेपाल ट्रस्टको कार्यालय पछाडिको पु्रानो चिनियाँ रेष्टुरेन्टमा ज्यादै स्वादिला चिनियाँ परिकारहरू खाएर भोक मेटाइयो। त्यसपछि केही बेरको आराम र होटेलको पौडी पोखरीमा एक घण्टाको डुबुल्की। अभैm पनि पानी चिसै।
साँझमा लेकसाइडमा टहल्न निस्कियौँ। विदेशी पर्यटकको संख्या पोहरको दाँजोमा बिस्तारै बढ्दै गएको देखियो। भारतीय पर्यटक पनि धेरै नै थिए। त्यसमाथि स्वदेशी पर्यटक पनि थपिएकाले सडक छेउका होटेर र रेष्टुरेन्टहरू खचाखच भरिएका थिए।
वास्तवमा नै पोखराको लेकसाइड कुनै युरोपेली पर्यटकीय शहर भन्दा कम छैन। विश्वभरको खाना पाइने तथा सबै प्रकारको सुविधा सम्पन्न र सात वटा मनोरम प्राकृतिक तालहरू यहाँबाट नजिक हुनुका साथै साहसिक पर्यटनको केन्द्र नै भएकोले पोखरा र लेकसाइड विश्वभर नै ज्यादै लोकप्रिय पर्यटकीय गन्तव्यको रूपमा चिनिन्छन्। अबेलाको दिवाभोजनले गर्दा राती हल्का खाजा खाएर सुत्ने काम भयो।
बाटोको धुलो, खराब बाटो तथा साँझको चिसो पानीको पौडी र धपेडी सबै मिलेर होला बिहानीपख हल्का ज्वरोसहित टाउको दुखेको जस्तो भएको। तर पनि एक घण्टा फेवातालको किनारै किनार हिँडेँ। गणतन्त्र पश्चात् रत्न मन्दिर दरवार परिसर सुनसान भएको छ।
दिउँसो दिउँसो त्यहाँ हालै खोलिएको संग्रहालयमा केही मानिस अवलोकन गर्न जाँदा रहेछन्। हाम्रो पनि यसपाली सो संग्रहालयको अवलोकन गर्ने योजना बनेको थियो तर बिसञ्चो र थोरै दिनको बसाईँले गर्दा यसपाली सम्भव भएन।
तर दरबारको बाहिरी पर्खालको ठूलो भाग भत्किएकै अवस्थामा रहनु र सडकसँगैको भवन जिर्ण अवस्थामा रहनुले भित्र पनि के नै संरक्षण भएको होला जस्तो भान भयो। दरवारको ताल तर्फकाे एउटा कुनामा भने ठूलो बाँसको घारी रहेको र त्यहाँ तालमा माछा खान आएका बकुल्लाहरूले बासस्थान बनाएको र घारी भरी उनीहरू बसेको र कराएको देख्दा मन निकै आनन्दित भयो। केही फोटा नखिची धरै भएन।
तालको किनारै किनारा हिँड्ने बाटो निकै परसम्म बनिसकेको रहेछ। चौपाया नपसुन् भन्ने हेतुले बनाएका घुमाउरा ढोकाको छेउमा नै पर्खाल भत्काएर बनाइएको खुला बाटोले गर्दा ती राम्रा ढोकाहरूको उपादेयता नै रहेको देखिएन।
यदि ह्लिचेयरमा आउने यात्रीको निम्ति त्यसरी बाटो खोलिएको हो भने त्यस्तो बाटोमा पनि ढोका हालेर व्यवस्थित बनाएको भए हुने थियो। पहिलेको भन्दा केही फोहर पनि। यसमा सम्बन्धित निकायलाई मात्र दोष दिनु भन्दा पनि हामी आफैंले जताततै फोहर फ्याँक्ने बानी छोड्नु जरुरी छ।
तुवाँलोले गर्दा ताल धमिलो देखिएको भएपनि यो ठाउँको सौन्दर्य र आकर्षणमा कुनै कमी आएको थिएन। तालको एक प्रकारको सुवासको पनि आनन्द लिएँ। केही समय अघि पिताजीलाई पोखरा घुमाउने क्रममा डुंगा चढ्दा उहाँले आँखा चिम्लेर लामो श्वास लिँदै त्यहाँको माटो, माछा र पानीको एक प्रकारको बास्नाको चुपचाप आनन्द लिनु भएको याद झल्झल्ती आयो।
दिनभर ठोस खाना नखाएर प्रसस्त पानी पिएपछि बल्ल सञ्चो भयो। यात्राको वखत बिरामी पर्दा घुमघामको मजा नै खतम हुने। दिउँसो नयाँ सडकमा अवस्थित पुस्तक बिक्री तथा अध्ययन गर्ने र सानातिना सभासमेत गर्ने सुविधा भएको रिडर्स कर्नरमा गएर केही घण्टा बिताएँ।
केही पुस्तकप्रेमी विद्यार्थी तथा अन्य पाठकहरू चिया-कफीको चुस्कीका साथै खाजा खाँदै पुस्तक पढिरहेका। मेरा तथा पिताजीद्वारा लिखित पुस्तकहरू पनि त्यहाँ राखिएका। हालैको नयाँ पुस्तक पनि दिएँ। यसपालीको खरिद गर्नुपर्ने पुस्तकहरू त्यहीँ किनियो।
यस्तो प्रकारको पुस्तक पढ्ने, पुस्तकबारे विचार–विमर्श गर्ने तथा पुस्तक खरिद गर्ने र चिया-चमेनाको साथमा थकान मेट्ने स्थानहरू सबै शहरहरूमा खुल्नु अति आवश्यक छ। मन निकै प्रसन्न भयो।
एकजना सोधकार्य गरिरहेकी छात्राले आफ्नो टोलछिमेकमा घर बनाउने कार्य भइरहेकोले हल्ला बढी भएर अध्ययन गर्न नसकेकोले ल्यापटप कम्प्युटरसहित त्यहाँ दिनभरी पढ्ने विचारले आएको कुरा पनि बताइन्। कहाँ सन् १९७० ताकाको पोखरा र कहाँ आजको अत्याधुनिक पोखरा।
राति छोराहरू खाना खान र शुक्रबारको चहलपहल हेर्न बाहिर निस्के भने म अलिकति दाल र भात मात्र खाएर दिउँसो खरिद गरेका पुस्तक पढ्न मग्न भएँ। दिब्य आनन्दको अनुभूति। पुस्तक जस्तो इमानदार अर्को साथी पाउन निकै गाह्रो छ। पुस्तकहरूले घेरिएर बस्दा मलाई ज्यादै आनन्दको अनुभूति हुन्छ।
फेरि अर्को बिहानी। आज त शरीर निकै हलुका भएको महसुस। मनमा उमंग बढेको। चिया तथा नित्यकर्म पश्चात् बिहानीको हिँडाइमा निस्केँ। आज होटेलको नजिकैको बसुन्धरा पार्क र बोलबमधाम, बैदाम र नेपाल राष्ट्र बैंकसम्म हिँडेँ।
२०३० सालतिर म पिताजीसँग पहिलो पटक पोखरा जाँदा यही ठाउँको कुनै सानो चिया पसलमा राति खानाको आशामा पसेका थियौँ। तर भाँडाको पिँधको डढेको भात बाहेक केही पनि बाँकी थिएन। तर पनि अण्डा पकाउन लगाएर टुकीको उज्यालोमा हामीले त्यो भात खाएर भोक मेटाएका थियौँ।
त्यतिबेला आजको जस्तो लेकसाइड भन्ने भव्य स्थल नै थिएन। बैदाममा सरकारी कार्यालयहरू थिए, जुन अझ पनि त्यहीँ छन् तर आजको लेकसाइड भएको ठाउँको अधिकांश भाग हरियो चौर मात्र थियो।
बसुन्धरा पार्क यो भन्दा पहिले जाँदा निकै व्यवस्थित थियो भने हाल घाँस नकाटेर र सफाइको कमीले गर्दा केही खस्केको रहेछ। तर पनि त्यहाँ बिहानीको कसरत गर्न आउनेहरू धेरै नै देखिए। स्कुले केटाकेटीहरू कराँते र अन्य खेल खेलिरहेका। फुटबल खेल्ने र दौडने तथा कुकुर-बिरालालाई घुमाउन लग्ने पनि थिए।
यसको सँगै पूर्वतर्फ बोलबमधामको नामले प्रसिद्ध श्री केदारेश्वर महादेवमणि मन्दिर पनि रहेछ। थुप्रै भारतीयहरू त्यहाँ दर्शन गर्न आएको देखियो। यो मन्दिर परिसरमा वाचनशिरोमणी नारायणप्रसाद पोखरेलको ध्यानमुद्रामा रहेको मूर्ति स्थापना गरिएको रहेछ।
सडकबाट अलिक भित्र पर्ने तथा एकातिर ठूलो हराभरा पार्क र अर्को तर्फ फेवाताल रहेकोले यो मन्दिरको वातावरण निकै शान्त। फेवातालको किनारामा लहरै माछा मार्न सौखिन मानिसहरू विदेशी बल्छी फ्याँकेर माछा पर्ने प्रतिक्षा गरिरहेका। उता अर्को किनारमा रङ्गी–बिरङ्गी डुङ्गाहरू ग्राहकको प्रतिक्षामा बसिरहेका।
निकै रमणीय दृश्य। तर तुवाँलोले गर्दा दृश्य निकै धमिलो। तालको पारी पट्टि हरियो वनसहितको पहाडको काखमा फिसटेल लज निकै वर्ष अघिदेखि पर्यटकको सेवा गरेर बसिरहेको।
होटेलमा आएर नास्ता गरे पश्चात् पौडी खेल्नु प¥यो भनेर पौडी पोखरीमा पुग्दा त भारतीय पर्यटकहरू बालबच्चासहित खचाखच भिड गरेर आनन्द लिइरहेका रहेछन्। त्यसैले कोठामा नै गएर स्नान गरेँ र केही बेर आराम। दिउँसोपख पोखराको पुरानो बजार हुँदै चिप्ले ढुङ्गा पुग्यौँ।
सडक विस्तार र वर्षेनी कालोपत्रेको परत थपिँदा थपिँदा चिप्ले ढुंगा त पुरिँदै गएको रहेछ। सेलवेज डिपार्टमेन्ट स्टोर, जुन पोखराबाटै शुरु भएको हो, त्यसको मुख्य पसलको अवलोकन गरेर केही आवश्यक सामान र लुगाफाटा खरिद गरेपछि पोखरा रंगशाला र विमानस्थलको पनि अवलोकन भ्रमण गर्यौँ।
अनि बेगनास ताल हेर्न जाने योजनाका साथ लेखनाथतर्फ हुइँकियौँ। बाटो ज्यादै धुलाम्मे र खराब। लेखनाथबाट बेगनास ताल जाने बाटो पनि स्तरोन्नती गर्न लागेकोले ठाउँ ठाउँमा डाइभर्सन। बल्ल तल्ल हामीले पोखराबाट १३ किलोमिटरको यात्रा झण्डै ५० मिनेट लगाएर तय गर्यौँ। आन्तरिक पर्यटक र भारतीयहरूको घुइँचो।
शनिबारको दिन भएर पनि होला। अब त बेगनास ताल क्षेत्रमा पनि ठूलै बस्ती बसिसकेको रहेछ। होटेल, रिसोर्ट र रेष्टुरेन्टहरू निकै खुलेका। तर तालको किनारामा नै फोहर निकै थुप्रिएको। पानी ज्यादै दुषित देखिएको। मानिसहरू डुङ्गाको सयर गरिरहेका।
हामी भने त्यहाँबाट आधा घण्टा जतिको मोटरको यात्रा पश्चात् माझिकुनातर्फ लाग्यौँ। बाटो ज्यादै नै बिग्रेको र मर्मत कार्य भइरहेको। हिजोआज स्थानीय निकायहरूले आफ्ना क्षेत्रमा नयाँ बाटासहित पुरानाको पनि मर्मत गर्ने गरेका रहेछन्।
तर व्यवस्थापन पक्ष भने फितलो। बेगनास तालबाट पूर्वतर्फको साँघुरो पहाडि बाटो पक्रेर हामी आधा घण्टामा माझिकुना पुग्यौँ। करिव १५ मिनेट हिँड्नु पनि पर्यो। तर गन्तव्यमा पुगेपछि भने त्यहाँको मनोरम दृश्य र माछाका स्वादिला परिकारहरूले गर्दा निकै मज्जा आयो।
गाउँमा फलाएका काक्रा तथा घिरौँलाको तरकारी पनि औधी मिठो। करिव २ घण्टाको बसाईँ पश्चात् हामी फिर्ता भयौँ। बाटोमा रुपा ताल पनि देख्ने अवसर मिल्यो पहाडको टुप्पाबाट। फर्कँदा भित्री बाटो पक्रेकोले केही सुविस्तापुर्वक लेखनाथ पुगियो।
बेलुकी लेकसाइडमा पैदल घुम्यौँ। पोखराको प्रख्यात थकाली खाना पनि खायौँ। अनि होटेल गएर आराम। भोलिपल्ट काठमाडौँ जाने भएकोले सामानहरू थान्को मान्को लगायौँ। केटाहरू घुम्न निस्के, मलाई भने निन्द्रादेवीले छोपिहालिन्।
बिहानको नास्ता पश्चात् होटेलको बिल चुक्ता गरेर हामी पुरानो विमानस्थलको पछाडि बिरौटाचोकबाट पुर्वपट्टिको बाटो समाएर आँखा अस्पतालको पछाडि अवस्थित नेपाल कै सबैभन्दा ठूलो जीमखाना ‘आभ्या’को अवलोकन गर्न गयौँ। काठमाडौँमा लामो चिनाजानी भएका भाई, जसले त्यहाँ अन्य साथीहरूसँग मिलेर लगानी गरेका छन्, उनले ससर्ती पुरै जीम घुमाए। भव्य।
मौका मिलेमा पोखरामा लामो समय बस्ने इच्छाका साथ हामी मोटरगाडीमा यथेष्ट डिजेल हालेर काठमाडौँतर्फ हुईँकियौँ। पोखरा जाँदा साँढे ६ घण्टा लागेको बाटो नागढुङ्गाको जामले गर्दा १० घण्टामा बल्ल छिचोल्न सक्यौँ। खाजा खान कुरिनटारको बाह्रसिंगे वियर फ्याक्ट्री। घर पुग्दा रातको १० बजेको। थकित तर निकै प्रसन्न मन। भोलिदेखि नियमित काममा फर्कने विचार सहित सुतियो।
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment