सडक विभाग बाहिर बालेनले थुपारिदिए धुलो, भौतिक पूर्वाधारमन्त्री महासेठलाई उपहार!
काठमाडौं। काठमाडौं महानगरपालिकाले मिनभवनस्थीत सडक डिभिजन कार्यालय र बबरमहलस्थीत सडक विभाग अगाडि एक एक ट्रक धुलो खन्याएको छ।
कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा जनताले धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै महानगरले सांकेतिक विरोध स्वरुप धुलो खन्याएको हो । विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
सरकारले गरेको गल्ती कमजोरीको काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको उनले बताएका छन्। कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको काम अघि नबढेसम्म हरेक दिन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने बालेनले उल्लेख गरेका छन्।
बालेनले भनेका छन्–
माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु !
तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला। विगत १५ वर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नु परेको छ। काठमाडौंमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ।
यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन। जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर सुइकार्नु होला।
Facebook Comment