राजनीतिक सूत्र

कृष्ण बोहोरा
१३ जेठ २०८१ ८:३५

आजकल देखिएको विविध खाले राजनीतिमध्ये सूत्र राजनीति पनि एक हो। यो पनि कतैकतै देखिन थालेको छ। सूत्र राजनीति भनेको कुनै सूत्र प्रयोग गरी गरिने राजनीति भन्ने बुझिन्छ। सूत्र भन्नाले कतिपयले बीज गणितका सूत्र वा यस्तै अरू सूत्र हो भन्ने पनि बुझ्न सक्नु हुन्छ।

बीज गणितमा एउटा सूत्र प्रयोग गरी धेरैभन्दा धेरै समस्याहरूको हल गरिन्छ। राजनीतिमा पनि एउटा सूत्र प्रयोग गरी धेरै मानिसहरूलाई प्रभाव पार्न सकिन्छ भन्ने मान्यता राखिन्छ।

जस्तो कि कुनै एक साथी, शुभेक्षुक, कार्यकर्ता वा अरू कसैले एकपटक आफूलाई फोन गरे भने आफूले चार पटक उनलाई फोन गर्ने। आफूलाई निकट व्यवहार गरे भने त्योभन्दा निकट व्यवहार आफूले पनि गरी सम्बन्धित व्यक्तिलाई प्रभाव पार्ने। यो एउटा सजिलो सूत्र वा राजनीति गर्ने कला पनि हो।

धेरैभन्दा धेरै कार्यकर्तासँग व्यवहार गर्नुपर्ने नेतालाई व्यवहारमा आइपरेको कठिनाइ सजिलोसँग सामाधान गर्ने सूत्र हो यो। कसैकसैलाई जान्ने भएर कहाँ राजनीतिमा पनि सूत्रको कुरा गरेको हो भन्ने पनि लाग्न सक्छ।

म पनि राजनीतिमा भुक्तभोगी दुःख हण्डर ज्यादा खाएको मानिसहरूमध्ये नै पर्छु। जीवनको उत्तरार्धमा पुग्दा कसैकसैले यस्तो सूत्र राजनीति गरेको पनि अनुमान लगाएँ। सूत्र राजनीति गर्नेहरूले जति निकट भएर व्यवहार गरिन्छ। साँच्चैको व्यवहारमा कसैलाई आवश्यक सहयोग पुर्‍याउनु पर्दा आम कार्यकर्तालाई गर्न सकिने सामान्य सहयोग मात्र गर्न सके पनि त्यो अति उत्तम हुन्छ।

अघिपछि जो कुराकानीमा निकटजस्तो देखिन्छ, साँच्चै आपतविपत पर्दा केही पनि सहयोग गर्न सकिएन भने त्योभन्दा नमज्जा र खल्लो अरू केही हुँदैन। हामीले देखेका छौं। कम्युनिस्ट पार्टीहरूसँग जनमत ठूलो छ। जनताको अपेक्षा पनि यिनै पार्टीहरूसँग बढी छ।

हिजो जनतासँग निकट भएर काम गरेका पार्टीहरू पनि कम्युनिस्ट पार्टीहरू नै हुन्। आजभोलि आशा गरेजस्तो अपेक्षा पूरा गर्न नसकेकाले सबैभन्दा असन्तुष्ट जनमत भएको पनि कम्युनिस्ट पार्टीहरूसँगै हो। अपेक्षा पूरा नभएपछि सूत्र राजनीति त्यो बेला त्यही नांगेझार बन्छ।

यदि मनमा स्वच्छता पनि छ, सेवा भावले राजनीतिमा लागेको छ र कसैको समस्या आफ्नै समस्याजस्तो महसुस हुन्छ भने सूत्र राजनीतिले पनि व्यवहारमा व्यक्तिलाई लोकप्रिय बनाउन मद्धत गर्छ। यसको मतलब यो पनि हो कि सवैलाई समस्या र आपतविपत एकैपटक पर्ने होइन।यसैले स्वार्थी व्यक्तिले पनि व्यवहारमा पहिचान नहोउन्जेल सूत्र राजनीति गरेर राजनीतिमा फाइदा लिइरहेका हुन सक्छन्।

प्रायः धेरै मानिसहरूसँग सम्पर्क सम्बन्धको निकटता रहने हुनाले पनि यस्तो कर्तालाई लोकप्रिय बनाउन ज्यादै ठूलो भूमिका सूत्र राजनीतिले खेल्छ। निकटजस्तो व्यवहार पाउनेले अरूलाई पनि यस्तो नेताको गुणगान गाएर सुनाउने भएकाले सूत्र राजनीतिकर्ता लोकप्रिय बन्दै गएको देखिन्छन्।

जिन्दगीका दुःख र हन्डरले निकै कुरा सिकाएको छ। क-कसले कस्ता-कस्ता राजनीति र वास्तविक व्यवहार गर्ने रहेछन् त्यो पनि मैले नजिकबाट निहालेको छु। आफू लागेको सिद्धान्त विचार र विश्व दृष्टिकोणअनुसार वास्तविक व्यवहारमा फरक राजनीति आफ्नै मानिसहरूले गर्न थालेपछि मलाई यसले झस्कायो

यसैले यस्ता सिद्धान्तको अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरमा पनि यसको ऐतिहासिक पाटो, वर्तमान पाटो र फेरिएको समयअनुसार व्यवहारमा मेल नखाने सिद्धान्तका पाटोको खोजी नीतिमा म निकै धेरै समयदेखि लागिरहेको छु।

यसको लागि मैले कतिपय विज्ञ मानिसहरूसँग भेटघाट पनि गरेको छु। निकटको सम्बन्ध बनाउन पनि लागिरहेको छु। यसको कारण मलाई कसैसँग पूर्वाग्रह साध्नु छैन। मात्र जीवनमा मैले पाएको हन्डरको कारण पत्ता लगाउनु र आफैँ सन्तुष्ट हुनु हो।

आफूले पाएको ज्ञान अरूलाई बाँड्नु पनि एउटा उद्देश्य हो। यसैले मलाई लागेका कुरा म लेखेर र भनेर पनि सधैं सार्वजनिक गरिरहने भएकाले कतिपय मित्रहरू र उपल्ला मानिसहरूलाई झस्काइदिएको छ।

यसले गर्दा आफ्नै मानिसहरूको पनि फरक व्यवहार झेल्न पर्ने बाध्यता स्वाभाविकरूपमा हुन आउने रहेछ । तर अहिले भने धेरैले वास्तविक कुरा बुझिसक्नुभएको छ।

शक्ति सन्तुलनको सिद्धान्तले विभिन्न शक्ति समूहहरूलाई सन्तुलनमा राख्छ । यो अन्तर्राष्ट्रिय र राष्ट्रियरूपमा पनि लागू हुने सिद्धान्त हो। जस्तो कि अमेरिकन ध्रुवमा युरोपियन युनियनलाई मिलाएर एउटा ठूलो शक्ति बन्छ। यस्तै, चीन रुस उत्तर कोरिया र अरू पनि केही देशहरू मिलाएर त्यो ठूलो शक्तिसँग सन्तुलन मिलाउने कोसिसमा चिनियाँ र रुसी शक्ति पनि देखिन्छन्।

ठूलो शक्तिसँग सन्तुलन मिलाउन स-साना शक्तिहरूलाई आफूतिर मिलाउनु शक्ति सन्तुलनको सिद्धान्त हो। जस्तो कि हाम्रो देशमा ३२ सिट मात्र हुने पार्टीले ठूलाठूला दुई पार्टी कांग्रेस र एमालेलाई पालैसँग मिलाई सरकार चलाउन सक्नु शक्ति सन्तुलनको एउटा नमुना हो। यसमा कर्ताको खुबी पनि झल्किन्छ।

विकासोन्मुख मुलुकमा जातीय र धार्मिक कुरा गरेर पनि त्यहाँका जनतालाई एक आपसमा लडाउन र भिडाउन सकिन्छ भन्ने पश्चिमाहरूको विखण्डनकारी राजनीतिक सूत्र हो। आफ्नो जातीयतामा सबै मानिस गर्भ गर्छन्। पहिलो कुरो मानिसले आफैँलाई माया गर्छ।

तपाईं मुहार पुस्तकमा पहिलो पटक कसैको अनुहार हेर्न चाहनुभयो भने आफ्नै फोटो हेर्न चाहनुहुन्छ। दोस्रोमा आफ्नो बालबच्चाको फोटोमा विशेष चासो राख्नुहुन्छ। यसपछि मात्र अरूको फोटोमा ध्यान जान्छ। हरेक मानिसमा आफ्नो महत्वानुभूति हुन्छ। जातीयता पनि यस्तै मामिला हो  जुन जगाएर अरू जातले गर्दा तपाईंपछि परेको हो भनि दिएपछि त्यो जातसँग तपाईंको बैरभाव हुने नै भयो।

हिटलरले विश्वमा यहुदी मास्न आफ्नो समयमा उधुम मच्चाए। दशौं लाख यहुदीहरूलाई ग्यास च्याम्बरमा हालेर जलाए। जसमा नवजात शिशु र बालबालिकाहरू पनि थिए। तर अहिले पनि संसारमा वैज्ञानिक, दार्शनिकदेखि जीवनका हरेक मामलामा यहुदी जाति अगाडि नै छन्।

मार्क्स स्वयं पनि यहुदी नै हुन्। हिटलरले यहुदीलाई संसारबाट समाप्त पार्न कोसिस गरेका थिए। उनको केही सीप लागेन। नेपालमा बाहुनको विरोध गर्ने मामला पनि त्यस्तै हो। जाँड रक्सी सेवन गर्न नहुुने, बिहान-बिहान स्नान गर्नुपर्ने, फलफूल र दूधको सेवन गर्नुपर्ने आदि पौस्टिक र दिमागलाई पोषण दिने खानामा परापूर्वकालदेखि नै जोड दिनाले बाहुन दिमागमा तगडा भए।

हाम्रो खानपान नै हाम्रो शरीर पनि हो। खानाकै कारण हाम्रो हाड छाला र रगत बनेका हुन्। दिमाग पनि यसैकारण बनेको हो। पौष्टिक खानाले दिमागलाई बढि सोच्न सक्ने बनाउँछ। मादक पदार्थले लठ्याउँछ र कमजोर बनाउँछ।

यसमा सिधारूपमा विज्ञान जोडिएको छ। हजारौं वर्षदेखि खानपानको यो शृङ्गखला जोडिएकाले आनुबांशिकरूपमै यो सम्बन्धित जातिको जिनमा विकास हुँदै आयो। यसबाट उनीहरू अरूभन्दा फरक भए। यो वैज्ञानिक तथ्य हो। यस कुरामा मानिसको ध्यान पुगेको छैन।

बाहुनको विरोध गरेर आत्मरति मनाएको छ। यो त ठीक भएन नि। यसैले शासकीयरूपमा बाहुनवादको विरोध गर्नुस् तर बाहुनको हैन। किनकि कतिपय अरूलाई हेप्ने खालको कुरा बाहुनहरूको संस्कारमा होला। तर बाहुनहरू निरीह र गरिब पनि प्रशस्त छन्।

यसैले गरिबी उन्मूलन गर्ने कुरा सोचौं । बाहुन उन्मूलन हैन । कुनै जातिको अस्तित्व सकाउने उद्देश्य राखेर हिँड्नु भनेको द्वन्द्व निम्त्याउनु हो। यस्तो द्वन्द्वले समाज र देशको हित गर्दैन।

इराकजस्तो विकसित भइसकेको देशमा सिया र शून्य जातिमा पश्चिमाहरूले छरिदिएको द्वन्द्वको बीउले इराकलाई छियाछिया बनाएको हामीले देखेका छौं। अफ्रिकाको गरिब मुलुकहरूमा घरमा खाने अन्नको गेडो नभए पनि मरन्च्यासे हातमा बन्दुक देख्न सकिन्छ।

यो थमाइदिने पश्चिमाहरू नै हुन्। विकासोन्मुख देशहरूलाई अझ कमजोर पारी आफू आश्रित बनाउने उनीहरूको रणनीति हो। यसैले राजनीतिका विविध आयामहरू हुन्छन् । यो राजनीतिमा शक्ति राष्ट्रहरूको नकारात्मक पहलहरू हुन्।

यसैगरी सूत्र राजनीति गर्नेले पनि सूत्रको प्रयोग गरी धेरैभन्दा धेरै जनसमूहमा आफूलार्ई लोकप्रिय बनाउन भूमिका खेलिरहेका हुन्छन्। यसको सकारात्मक र नकारात्मक दुवै रूप हुन सक्छ।

प्रयोगकर्ताले यस्तो राजनीति कुन सोचाइबाट सुरु गरे मलाई थाहा छैन । म पनि राजनीति शास्त्रको एउटा विद्यार्थी भएको नाताले र राजनीतिको एउटा भुक्तभोगी भएकाले यसखाले राजनीतिलाई नेपालीमा सूत्र राजनीति भन्नु उपयुक्त लाग्यो।

सर्वसाधारण राजनीति र अन्य हरेक मामलामा पनि सचेत हुनुपर्छ। सचेत जनताले मात्र नेतालाई ठीक बाटोमा हिँडाउन मद्दत गर्नेछन् । जनता सचेत भए भने समाज सचेत हुन्छ । समाज सचेत भयो भने देश बिउँझिन्छ भन्ने लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *