देउवाले बोलाएको बैठकमा माधव नेपालको ‘अर्थपूर्ण’ सहभागिता
काठमाडौं। सरकारमा सहभागी र सत्ता गठबन्धनको समर्थनमा सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विपक्षी दलको बैठकमा सहभागी भएका छन्।
वर्तमान सरकार गठन भएदेखि नै असन्तुष्ट रहेका अध्यक्ष नेपाल बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा सहभागी भएका हुन्।
बुधबार देउवाले विपक्षी दलको बैठक बोलाएका थिए।
सो बैठकमा सरकारमा सहभागी दल एकीकृत समाजवादीका अध्यक्ष नेपालको सहभागीतालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यसअघि सरकारमै रहेर वर्तमान सरकारको विरुद्ध षड्यन्त्र गरेको भन्दै नेपालको आलोचना हुँदै आएको थियो। उनी कांग्रेसको समर्थनमा आफू प्रधानमन्त्री बन्ने दाउमा रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा नै नेपालको विरोध गर्दै आएका थिए।
तर उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएपछि उनले सरकारको विरोध गर्न छाडेका थिए। तर आज अचानक अध्यक्ष नेपाल प्रमुख प्रतिपक्ष दलका नेता देउवाले बोलाएको बैठकमा सहभागी भएका छन्।
‘सभापतिज्यूले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाउनु भएको थियो। सो बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी हुनुहुन्थ्यो,’ देउवाका स्वकीय सचिव भानु देउवाले डिसी नेपालसँग भने, ‘समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भयो।’
एकीकृत समाजवादी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी छ। अध्यक्ष नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट संघीय सरकारमा दुई जना मन्त्री छन्। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारी पनि एकीकृत समाजवादीकै प्रदेश सभा सदस्य हुन्। त्यस्तै, अन्य प्रदेशमा पनि एकीकृत समाजवादीको सहभागिता रहेको छ।
सो छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत नेता सहभागी थिए। सो छलफलमा मधेस प्रदेश सरकार, समसामयिक राजनीतिक घटनाक्रम, सहकारी प्रकरणका लागि गठित छानविनसमितिलगायतका विषयमा छलफल भएको थियो।
Facebook Comment