साउदी अरेबियाले ६ इरानी पत्रकारलाई हज गर्न अनुमति दिएन, पक्राउ गरी फिर्ता पठायो
काठमाडौं । इरानले साउदी अरेबियाले आफ्नो सरकारी टेलिभिजन प्रसारकका छ जना पत्रकारलाई देशबाट निष्कासन गरेको जनाएको छ। स्वदेश फिर्ता गर्नुअघि पत्रकारलाई करिब एक साता हिरासतमा राखेर साउदी अरबबाट हजअघि फिर्ता पठाइएको इरानले बुधबार जानकारी दिएको हो ।
तर, साउदी अरेबियाले यो घटनालाई अहिलेसम्म स्वीकार गरेको छैन । यो घटना सुन्नी मुस्लिम बाहुल्य साउदी अरब र शिया बहुल इरानबीच चीनको मध्यस्थतामा भएको शान्ति सम्झौताको एक वर्षपछि भएको हो। दशकौंदेखि साउदी अरेबियाका पवित्र स्थलहरूमा शिया र सुन्नी समुदायका बीचमा तनावको खबर आएको छ। हजको समयमा यो तनाव झन् बढ्छ ।
पत्रकारको गिरफ्तारीका सम्बन्धमा इरानको सरकारी टिभीले भनेको छ – एक साताअघि मदिनाको पैगम्बर मोहम्मद मस्जिदमा कुरान पढिरहेको व्यक्तिलाई रेकर्ड गरिरहेको बेला उसका तीनजना पत्रकारलाई पक्राउ गरिएको थियो ।
यद्यपी इरानी सञ्चारमाध्यमले पत्रकारलाई किन पक्राउ गरिएको हो भन्नेबारेमा कुनै जानकारी दिएको छैन । सरकारी टिभीले भनेअनुसार हिरासतमा राखेपछि पत्रकारहरूलाई केही घण्टासम्म सोधपुछ गरिएको थियो र त्यसपछि प्रहरी हिरासत केन्द्रमा राखिएको थियो।
समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार तीन पत्रकारलाई पक्राउ गरेको दुई दिनपछि साउदी प्रहरीले इरानको अरबी भाषाको अल आलम च्यानलका एक पत्रकार र सरकारी टेलिभिजनका पत्रकारलाई हिरासतमा लिएको थियो । अन्य इरानी तीर्थयात्रीहरूसँग प्रार्थना गर्न आफ्नो कारबाट बाहिर निस्कने क्रममा पत्रकारहरूलाई पक्राउ गरिएको थियो। मदिनाको एक होटलबाट एक रेडियो पत्रकारलाई पनि पक्राउ गरिएको छ ।
इरानको सरकारी टिभीले सबै छ जना पत्रकारलाई पछि रिहा गरी हज गर्न नदिइ इरान फिर्ता पठाइएको जनाएको छ। इस्लाममा, सबै सक्षम मुस्लिमहरूलाई एक पटक हज गर्न अनिवार्य छ। इस्लाम धर्मको सबैभन्दा पवित्र सहर साउदी अरेबियाको मक्का सहरमा हज गरिन्छ।
इरानको सरकारी टेलिभिजनले इरानको विदेश मन्त्रालय र सरकारी टेलिभिजनको प्रयासमा पत्रकारलाई एक सातापछि हिरासतबाट रिहा गरेपछि साउदीले उनीहरूलाई इरान फिर्ता पठाएको जनाएको छ । सरकारी टिभीले उसका पत्रकारहरूले कुनै अपराध नगरेको र उनीहरूलाई हिरासतमा राख्नु अनुचित भएको बताएको छ।
विश्वको सबैभन्दा ठूलो शिया मुस्लिम देश इरान र सुन्नी बहुल साउदी अरेबियाले सन् २०१६ मा कूटनीतिक सम्बन्ध तोडेका थिए । वास्तवमा, साउदी अरबले प्रमुख शिया धर्मगुरु निम्र अल-निम्रलाई फाँसी दिएको थियो। इरानीहरूले साउदीले शिया धर्मगुरुलाई फाँसी दिएकोमा कडा विरोध गरे।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले इरानमा रहेका दुई साउदी कूटनीतिक नियोगमा आक्रमण गरेपछि साउदीले इरानसँगको सम्बन्ध तोडेको थियो। गत वर्ष चीनको मध्यस्थतामा दुवै देशले सम्बन्ध पुनर्स्थापित गरेका थिए ।
Facebook Comment