टाइगरसँग इन्काउण्टर

पहिलो इन्काउण्टर

टाइगरबाट बोलावट भयो।

मेरो सातोपुत्लो गयो। चीट्चीट् पसिना आयो। म डरले थुरथुर काम्दै टाइगर समक्ष हाजिर भएँ। त्यो मेरो टाइगरसँग पहिलो इन्काउण्टर थियो।
मलाई कताकता लागेको थियो-

आज मेरो खैरात छैन।
म एकै गाँस हुने भएँ।

जब टाइगरलाई सुन्दर शान्त सौम्य देखेँ मेरो भयले टाप कस्यो। भाग्यो। र, साहसले अड्डा जमायो। म शान्त र साहसिक मनले टाइगरको अगाडि ठिङ्ग उभिएँ।

टाइगरबाट सोधनी भयो-
“कुन हतियार राम्रो? कुन हतियार ठिक?”

मैले संक्षिप्त जवाफ दिएँ-

“टरोरिष्ट हतियारको ट्याग् लागेको देशको नामै नलिउँ।

इजरायल जर्मन बेल्जियम हतियार राम्रा तर महँगा र निर्यात दुवानी संभार कठिन।

कोरियन हतियार एक दुई तीन हुँदैन।

इण्डियाको नाम लिनु बेकार छ र सित्तैमा हतियार दिएपनि लिनु हुँदैन।

हामीलाई ब्याटलप्रुभ्ड, अलवेदर, रोबस्ट, भर्सटायल र भेराइटिज् अमेरिकन हतियार उत्तम बिकल्प हुनेछ। टेष्ट फायरबाट यही प्रमाणित भयो। र, मैले रेञ्जर तालिम गर्दा १५ दिनको फ्लोरिडा स्वाम्प फेजमा भिजेको राइफल होस् वा अर्को १५ दिनको डगवे (युटाहा) डेजर्ट फेजमा बालुवा टाँसिएको ब्यारल होस्, एम-१६ हतियारमा कहिले रोक परेको थाहा भएन। त्यो हतियारले धोका दिएन।

बिश्वभरि तैनाथ बिश्वब्यापी नेपाली सेनालाई ठूलो राम्रो देशको सर्वोत्कृष्ट हतियारले सुसज्जित गर्नुपर्दछ सर।”

मैले बिट मारें।

टाइगर निःशब्द।

सहमति र खुशीको मन्द मुस्कान।

“त्यसैले मैले तिमीलाई बोलाएको” भन्ने आत्मबिश्वासी मनोबिज्ञान। आफूले लिइसकेको निर्णय भेरिफाई गर्न मेरो बोलावट भएको रहेछ।

म फुर्तिलो सलाम गरेर बिदा भएँ। आफ्नो सानो ज्ञान, अनुभव र मनको कुरा राख्न पाएँ भनेर हर्षित भएँ। भुईंमा खुट्टा नटेकी आरएण्डडी अफिस पुगेँ। र, हाकिमलाई टाइगरसँग भएको कुराकानी अद्याबधिक गराएँ। मलाई लाग्यो-नेपाली सेनामा आरएण्डडीको आवस्यकता औचित्य र महत्व देख्ने दूरदर्शी टाइगर। हचुवामा होइन, सत्यतथ्य प्रमाणको आधारमा (एभिडेन्स बेस्ड्) निर्णय लिने टाइगर।

अति दूरदर्शी र बुद्धिमानी टाइगरले बिदेशी नुन उन सुन भनसुनमा संचालित कथित जनयुद्ध नियन्त्रण हुनुभन्दा फैलिँदै जाने र भबिष्यमा झुक्याएर सैनिक ब्यारेकभित्र धावा बोल्ने पूर्वानुमान लगाइसकेको लख् काटेँ। भविष्यमा नेपाली सेना युएनको पहिलो नम्बर शान्ति सेना हुने छ भन्ने उहाँको ठोकुवा आज सत्य सावित भएको छ।

नेपाली सेनालाई एम-१६ हतियारले सुसज्जित गरेर राख्ने उहाँको साहसिक निर्णयको अन्तर्यमा यी भबिष्यवाणीले काम गरेका थिए।

भलै उहाँले तत्कालीन सरकारलाई आन्तरिक सुरक्षा र बिकास अवधारणा (आइएसडिपी)  कथित’ जनयुद्ध’  नियन्त्रणको रामबाण अस्त्र हो र लागू गर्नलाई जोडदार सिफारिस गर्छु भन्नु भएको थियो।

यसको उद्देश्य नितान्त सरल थियो-

अघिअघि बिकास-पछिपछि सुरक्षा।

अथवा, बिकासलाई सघाउन सुरक्षाकर्मी।

वा, बिकासका लागि शान्ति सुरक्षा र शान्ति सुरक्षाभित्र सानदार बिकास।

बिदेशी रिमोटद्वारा संचालित बिद्रोही नेताहरु रुखो बगर हुन् र माछा (जनता) लाई पानीमा खुशी पारेर अलग्गै राख्नुपर्दछ भन्ने त्यो अवधारणाको मस्कत थियो।

बिकासको लहर राज्यको दूरदराजमा गरीब जनताका घर आँगनमा पुग्ने छ। बिकासको फलले जनताको मन मश्तिष्क जित्ने छ भन्ने उहाँको सिफारिस थियो। सहरमा केन्द्रित सुरक्षाकर्मी माओवादी प्रभावित कुनाकन्दरामा पुगेपछि शान्ति सुरक्षाको स्वतः प्रत्याभूत हुनेछ र जनताले राज्यको हाई-हाई र जयजयकार गर्ने छन्।

बिदेशीको बुई चढेर आएका बिदेशीको नुन खाने स्वार्थी बिद्रोही नेतालाई जनताले आफैं अलग्याउने छन्। छीःछीः दूरदूर गर्ने छन्। शान्ति र शिक्षा स्वास्थ्य कृषि उद्यम रोजगारको सुबिधासहितको विकास पाएपछि जनताले बिद्रोही नेताको पछि किन लागिरहनु पर्‍यो?

सुन्दर र असरदार आइएसडिपी अबधारणालाई सबैले आहा भनेर ताली पड्काए। तर भित्रभित्र त्यो अवधारणा लागु नगर्न नाटक शुरु भयो।
नाटकमा पहिलो कलाकार प्रहरीलाई बनाइयो। र, प्रहरीलाई भन्न लगाइयो-

“प्रति बिद्रोहको लागि नेपाल प्रहरी सक्षम छ। बजेट पाउँ। आधुनिक अटोमेटिक हतियार पाउँ। बिद्रोहीलाई हामी निर्मुल पारेर देखाइदिन्छौं।”

अर्कोतिर माओवादीको उक्साहटमा प्रधानमन्त्री यो अवधारण तत्काल लागू गर्न तयार भएनन्। हुँदैन पनि भनेनन्।

बाह्य दबाब थपिएपछि प्रधानमन्त्रीको मुख बन्द भयो। हातखुट्टा बाँधियो र उहाँहरु बाहिर बिरोध भित्र माओवादी कित्तामा उभिन पुग्नुभयो।

त्यही माओवादीले राजा र सेनालाई झुटको खेती गरेर चक्मा दिइरहेको थियो। र, भनिरहेको थियो-“हाम्रो प्रधान दुश्मन संसदीय ब्यवस्था हो र नेपाली काँग्रेस। हामी राजाबादी हौं र शाही नेपाली सेना हाम्रो गौरव हो। यी दुईसँग युद्ध र शत्रुता होइन मित्रता र सहकार्य गर्न हामी तयार छौं।”

बिद्रोहलाई कलिलैमा निमोठ्ने र निमिट्यान्न पार्ने टाइगरको सुन्दर प्रस्ताव असफल बनाइयो। टाइगर स्तब्ध र निराश भए।

दाेश्रो इन्काउण्टर

वि.सं. २०५४ को कुरा हो। म लामो ट्रेकिङबाट फर्केकोले छुट्टीमा थिएँ। मोबाइल फोन थिएन। मलाई खोज्न सैनिक प्रहरी (सैप्र) तैनाथ भएको रहेछ। सैप्र कमाण्डर जितजंग थापा ट्रयाकिङ गर्दै शिवपुरीको जंगल आइपुगे र भने-

“टाइगरबाट बोलावट भएको छ। तुरुन्त ल्याउने आदेश छ।”

म छांगाबाट खसे जस्तै भएँ।

हुन सक्दैन जस्तो लाग्यो।

मनमा कुराको हुरिबतास चल्यो।

हिजोमात्र लामो ट्रेकिङबाट फिर्ता आएको र आज १ दिन छुट्टी पाएको।

आजै टाइगरबाट खोजिनीति र तुरुन्त बोलावट?

म सैप्रको जिप चढेर टाइगरकोमा पुगेँ। कैदी जस्तै।

टाइगरबाट सोधनी भयो-

“बेलायती चीफ् साहेब ज्यादै प्रशन्न हुनुहुन्छ। धुमधाम तारिफ गर्नुभयो। कदरको लागि सिफारिस गर्नुभएको छ। तालिममा बेलायत पठाउने सुझाव छ। ल भन चीफलाई कसरी यति धेरै खुशी पार्‍यौ?

मेरो कौतुहलता र भय एक्कासी आनन्द र गौरवमा परिणत भयो।

मैले उत्साह र गर्वकासाथ जवाफ दिएँ-
“सर,  म उहाँको अकम्पनिङ, लायजन र सेक्युरिटी अफिसर। थ्री इन वान।

उहाँ चराको आवाज पछ्याउदै जाँदा जंगलमा हराउनु भयो। उहाँको म्याडमलाई चिन्ता। मलाई महाचिन्ता। खोज्न भेट्न घण्टौं लाग्यो। सुरक्षा अधिकृतको हैसियतले मैले उहाँलाई माओवादी प्रभावित क्षेत्रको जंगलमा आफूखुशी एक्लै यात्रा गरेर जोखिम नमोल्न सचेत गराउनु पर्‍यो। त्यो मेरो उहाँलाई नम्र भद्र गाली थियो। मेरो बाध्यता!

उहाँलाई त्यो गाली मन पर्‍यो। गाली मन पराउने बहाल चीफ मलाई भगवान जस्तो लाग्यो। मैले माया र सम्मान दर्शाउदै उहाँलाई बोकेर खोला तारें। उहाँलाई त्यो एड्भेन्चर भयो। र, ट्रेकिङ अवधिभर मेरो दैनिक बिफ्रिङ अक्षरश पालना गरेर मलाई गुन लाउनुभयो। सौहाद्रपूर्ण वार्तालाप पछि टाइगर पुनः निःशब्द मुसुमुसु मुस्कुराउनु भयो।

उहाँसँग अद्भूत टाइगर गुणहरु थिए। धैर्य भइ सुन्ने र बडील्याङ्ग्वेज अलंकार बुझ्ने। नबोल्ने र बोलेपछि दमदार, वजनदार र असरदार सुनौंसुनौं अभिब्यक्ति दिने। उहाँ सुपर इण्टेलिजेन्ट र सुपर इण्टेलेक्ट दुर्लभ नेतृत्व हुनुहुन्थ्यो। उहाँको बौद्धिक ब्यक्तित्व र तर्कपूर्ण अर्थपूर्ण बिश्लेषणात्मक क्षमतासँग, राजा, युवराज, प्रधानमन्त्री, बिश्व नेता जो कोही नतमस्तक र मोहित हुन्थे।

यो भिआइपी डिउटी अगाडि मैले धेरै दिन हराउनु भएको उहाँको अनन्य मित्र बेलायत कै बहाल क्वार्टरमाष्टर जनरललाई खोज् उद्धार गरेर ल्याएको थिएँ र टाइगरको स्याबासी पाएको थिए।

त्यही वर्ष हेलिकोप्टरबाट मंकी भै हाम फालेर मृत्यूको मुखमा पुगेका २ जनाको उद्धार गरेपछि उहाँको सिफारिसमा राजाबाट दुर्लभ अलंकार गजेन्द्र मोक्षले सम्मानित भएको थिए। उल्टो दायाँ छातीमा छुट्टै लाउने यो दुर्लभ तक्मा लगाउने सेनामा प्रायः म एक्लै हुन्थें र दुनियालाई पुष्ट्याँइ दिँदा हैरान हुन्थे। आफ्नो ज्यान सुम्पेर अर्काको ज्यान बचाए बापत पाउने यो बिशेष तक्मा मेरो साहस र गौरवको निशानी थियो।

त्यसकै जगमा पछि मलाई ध्वस्त बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार सुधार गर्ने अपूर्व अवसर जुरेको हो।

मान्छे दुरुस्त चिन्ने। ठिक मान्छेलाई ठिक काममा लाउने। कस्तो सत्य युग होला? कामको दुरुस्त मूल्यांकन हुने। र, तात्ततै तुरुन्त कदर सम्मान हुने।
उच्च सम्मानका हकदार।

बहुदल आएको, भुईंमा न भाँडामा हुने गरि उम्लिरहेको, दलीयकरण, राजनीतिकरण र भ्रष्टिकरणमा नेताहरुको तछाड्मछाड नाँगाो नाच भइरहेको र बहुदलको दाहसंस्कार गर्न जनयुद्धका नाइकेहरु बिदेशी घोडामा सवार भइसकेको रंगीन र संगीन घडीका टाइगरलाई शान्ति सुरक्षा र बिकासको लय दिन सजिलो थिएन।

तथापि, संबैधानिक राजतन्त्रलाई मत्थर पार्न र बहुदलीय सरकारलाई धीर, स्थिर र गम्भीर राख्न टाइगरले पुलको काम गरे। राजालाई परिवर्तन हार्दिकताका साथ ग्रहण गर्न जाहेर गरे र सत्तासिन बहुदलीय सरकारलाई जंगी अड्डा आमन्त्रण गरेर सुरक्षा ब्रिफिङ दिने नयाँ प्रजातान्त्रिक अभ्यास शुभारम्भ गरे।

ब्रिफिङमा खोइ सेनामा समाबेशीकरण र लोकतान्त्रिकरण भन्ने मन्त्रीको उत्ताउलो प्रश्नलाई टाइगरले शान्त भै जवाफ दिए- “समावेशीकरणको बिम्ब र ऐना मेरो पिएसओजहरु अगाडि छन्।

मधेसी जर्नेल।

गुरुङ लिम्बू राई मगर जनजाती जर्नेलहरु।

दलित कर्णेल।

सुदूर र सुदूर पश्चिमका जर्नेलहरु।

महिला डाक्टर कर्णेल।

सेनाको जस्तो लोकतान्त्रिकरण भएको दिन बहुदलीय ब्यवस्था विशिष्ट, सर्बोत्कृष्ट, जनप्रिय र अमरसिद्ध हुने छ।”

इतिहासमै पहिलोपटक जंगी अड्डाभित्र भब्य आतिथ्यता पाएको मन्त्रिपरिषदले टाइगरको यो अभिब्यक्तिलाई तालीले स्वागत गरे।

प्रधानमन्त्री र राजा होस्, वा राजदूत र राजा तथा प्रधानमन्त्री बीचको असमझदारी मतभेदको गाँठो फुकाउन उनै टाइगरको खोजी हुन्थ्यो र उनले हार्दिकता र बुद्धिमत्ताका साथ जस्तो सुकै गाँठो फुकाएर सबैलाई सन्तुलन, स्वाभिमान समदूरी राख्न अतुलनीय योगदान पुर्‍याउँदथे।

युवराजको स्कूलिङ, गुरमिङ, कठोर सैनिक तालिम, साहसिक प्याराजम्प गराउने मोटिभेसनको जग उनै टाइगरको अग्लो कदको बौद्धिक ब्यक्तित्व थियो।

सेनाका थिंक ट्यांकहरुबाट मूलग्रन्थ (ब्ल्याकबक्स) लेखाउने, सेल्फ सस्टेन्ड् दीर्घकालीन बन्दोवस्ती योजना बनाएर सेनालाई आत्मनिर्भर र स्वाबलम्बन बनाउने, आन्तरिक सुरक्षा मजबुत बनाउन डिभिजन संरचनामा जाने, जुनियर नेतृत्व बिकासलाई प्राथमिकता दिने, आन्तरिक सुधार मजबुतीकरण तथा आधुनिकीकरण गरेर सेनाको आत्मसम्मान र अन्तर्राष्ट्रिय स्वाभिमान बढाउने उहाँको ऐतिहासिक साहसिक योगदानको वर्तमान संगठन ऋणी रहिरहने छ।

बिदेश सम्बन्धको हकमा राष्ट्रिय होस वा सैनिक विदेश हार्दिक सम्बन्धलाई दुईपक्षीय हितको शिखरमा पुर्‍याउन उहाँको अतुलनीय योगदान थियो। छिमेकी समकक्षी टाइगरसँग नेपाल-भारत सीमा वारिपारि दुबैतिर राष्ट्रिय निकुञ्ज बनाउने र लिपुलेक कालापानी लिम्पियाधुरामा नेपाली सेनाले र काली नदी पारिको भारतीय भूमिमा भारतीय गोर्खा सैनिकले संयुक्त पहरा दिएर त्यो क्षेत्रलाई बिश्वकै नमूना संरक्षण क्षेत्र बनाउने संयुक्त समझदारी कार्यान्वयनको अन्तिम चरणमा थियो।

दुर्भाग्य, नेपाली भूमि फिर्ताको राजनीतिक पदमार्ग र आन्दोलनले त्यो सुन्दर योजना गर्भमै तुहियो।

राजा, सेना, बहुदल, बिदेश सबैले मानेका बौद्धिक प्रधानसेनापतिलाई राजाले रुस अथवा रोजेको मुलुकमा राजदूत जान गरेको अफरलाई उहाँले हाँस्दै “अबको समय घरपरिवारलाई सरकार” भनेर आभार र हार्दिकताका साथ टार्नुभएको थियो।

५ तारे फिल्डमार्शलको अफर प्रति समेत आकर्षण नदेखाएपछि हुनेवाला राजा (दीपेन्द्र) को शुभविवाह अवसरमा उहाँलाई नाई भन्न नपाउने गरि सम्मान गर्ने दरबारको योजना बंश नास पछि पूर्ण बिराम लागेको थियो।

किन टाइगर

उहाँ बाघ जस्तै सरल, शालीन, शान्त र स्वाभिमान हुनुहुन्थ्यो। जति बौद्धिक र शक्तिशाली उती नम्र, भद्र र उदार। सहनशील, क्षमाशील तर गतिशील? नझुक्ने, नआत्तिने, नडराउने, नभाग्ने, नहार्ने हक्की र साहसिक।

अर्थपूर्ण, तर्कपूर्ण, तिष्ण बुद्धि स्वविवेक र स्वनिर्णयको धारिलो बौद्धिक हतियारले सुसज्जित फष्ट एण्ड सायद लाष्ट बुद्धिमान सेनापति। देश नरेशको सच्चा स्वनामधन्य पहरेदार। त्यसैले उहाँ मेरो रोलमोडल टाइगर।

उपसंहार

उहाँको आइएसडिपि योजना लागु भएको भए राजधानीको ७० प्रतिशत सुरक्षाफौज दूरदराजका राज्यबिहीन क्षेत्रमा लखेटिने थिए। र, राजधानी केन्द्रित बिलासी तैनाथी उल्टेर काठमाडौंको सुरक्षाफौजको आकार ३० प्रतिशतमा झर्ने थियो।

उसैगरि काठमाडौं केन्द्रित बजेट उल्टेर दुर्गम बिकट क्षेत्रका गरीब जनता केन्द्रित बजेटले समृद्धिको मुहान पहिले गाउँघरमा फुटाउने थियो। बिद्रोहको झिल्कोमाथि आइएसडिपिले शुरुमै पानीको फोहोरा बर्साउने थियो। शान्ति र समृद्धिको त्यो सुन्दर खाकाले मुलुक छिटै स्वर्ग हुने थियो।

उहाँले स्कुलिङ ट्रेनिङ र ग्रुमिङ गर्नु भएको युवराज उहाँजस्तै तिष्ण, बौद्धिक, स्वविवेकी, साहसी र स्वनिर्णयका बुद्धिसागर हुनुहुन्थ्यो। नेपाललाई स्वर्ग बनाउने सुबुद्धि सुसंस्कृति सुमार्गको खाका दिमागमा कोरेर बसेका युवराज लगायत राजपरिवारको बंशनासले मुलुकलाई स्वर्ग होइन नर्कको बाटोमा राखेको निरीह साक्षी हुनुपर्‍यो टाइगरलाई।

अनुशासित र स्वाभिमान टाइगर आफ्नो जंगलमा बसे जस्तै टाइगरका ज्वाई ती टाइगरले अरु टाइगर (चीफ) को स्टेरिङ समाउन र हस्तक्षेप गर्न गएनन्। बुद्धिका महासागर टाइगरको निकटभविष्यमा प्रकाशित हुने पुस्तकले नेपाललाई स्वर्ग बनाउने मार्ग देखावस र गन्तब्य पुग्ने यात्रालाई सही दिशा निर्देश गरोस्।

बिदेशी बहुदलले एक्लाएको राजा र भावी चामत्कारिक विलक्षणकारी राजा दुबैलाई बहुराष्ट्रिय गणतन्त्रले समेत साझा प्रहार गरेर धुँवा बनाई उडाएपछि निबृत्त टाइगरले सधैं सर्वत्र त्यही धुँवाको अन्धकार आँधीबेरी मात्र देख्नुपर्‍यो।

अन्त्यमा, सर्बोच्च शिखर र बुद्धको देश नेपालमा ती टाइगर जस्तै सर्बोच्च बिद्या, बुद्धि, बिबेक, महान सोच, दूरदृष्टि, दृढ निश्चयी निर्णय क्षमता भएका स्वाभिमान, साहसिक र त्यागी नेतृत्वको पुनर्जन्म होस्। र, पुनरआगमन होस् त्यस्ता साहसिक टाइगरहरुको गौरवमय इतिहास भएको गौरवशाली संगठन नेपाली सेनामा पनि।

हार्दिक श्रद्धा सुमन छ टाइगरका टाइगर प्रकृतिप्रेमी प्रधानसेनापति महारथि श्री धर्मपाल बरसिंह थापालाई।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *