नेपाली सेनामा भाँडभैलो मच्चाउन खोज्नेहरुको दौडधूप

डिसी नेपाल
२२ जेठ २०८१ ६:४७

काठमाडौं। एकजना मानिस संघीय संसद सचिवालयको राज्य व्यवस्था समितिमा निकै हतारिएको अवस्थामा थिए। गत शुक्रवार दिउँसोको कुरा हो। उनी संसदको राज्य व्यवस्था समितिमा एउटा पत्र दर्ता गर्न चाहान्थे तर पत्र झिक्न आनाकानी गरिहेका देखिन्थे।

उनीमाथि त्यहाँका कर्मचारीको चासो बढ्न थालेपछि उनले एउटा लामो उजुरी निकाले र दर्ता गरिदिन भने। केही सशंकितजस्तो पनि देखिएका उनले सो उजुरी दर्ता गर्न चाहे पनि उनको नाम र ठेगाना र फोन नम्बर दिन चाहेनन्।

अख्तियारमा त बेनामे उजुरी दर्ता हुन्छ यहाँ किन नहुने? भन्दै कर्मचारीलाई प्रश्न गरेका उनले उजुरी दर्ता गर्दा उजुरीकर्ताको परिचयपत्रसहितको विवरण चाहिने जानकारी कर्मचारीबाट पाएका थिए। सो जानकारीपछि उनले कतै फोन गरे, त्यसपछि उजुरी दर्ता पनि नगरी त्यसको प्रतिलिपी पनि नछाडी उनी बाहिरिएका थिए।

उजुरी नेपाली सेनाका वाहालवाला रथी अशोक सिग्देलका विरुद्ध लेखिएको राज्य व्यवस्था समितिका एक कर्मचारीले डिसी नेपाललाई बताए। नेपाली सेनामा नेतृत्व परिवर्तनको संघारमा यस्ता खेलहरु बेलाबेलामा हुने गरेका छन् तर यसपटक भने सेनामा नेतृत्वको संकट नै ल्याउने गरी दौडधूप चलेको छ।

डिसी नेपाललाई प्राप्त कागजातअनुसार, खेलाडीहरुले अख्तियार,राष्टपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, गृहमन्त्री, रक्षामन्त्री, अख्तियारका आयुक्तहरुलाई समेत छुट्टा छुट्टै उजुरी हुलाकमार्फत पठाएका छन्।

सैनिक स्रोतका अनुसार यस्ता धेरै जसो उजुरी भारतीय नम्बर प्रयोग गरेर गरिएको छ।

सैनिक स्रोतका अनुसार, नेपाली सेनाको उच्च ओहदामा काम गरिसकेका र निरन्तर सेनालाई भजाएर देशी विदेशीहरुसँग फाइदा लिने तत्वहरु यो कार्यमा लागेका छन्।

स्रोतका अनुसार, सैनिक नेतृत्वलाई तर्साउने वा झन्झट देखाएर फाइदाको प्रयासमा लागेकाहरु फेरि लफडा निकालेर सेनालाई अदृश्य नियन्त्रणमा राख्न चाहन्छन्। यसअघि रथी ताराध्वज पाण्डेको पनि उमेर र नागरिकता विवाद निस्कँदा राजीनामा दिनु परेको थियो।

त्यसपछिका रथी बढुवामा प्रधानसेनापति प्रभुराम शर्माले पहिला नै नागरिकता र शैक्षिक प्रमाणपत्रको आन्तरिक छानविन गरेका थिए। आन्तरिक छानविनबाट पास भएपछिमात्र सिग्देललाई रथी पदमा बढुवा गरिएको थियो।

त्यसबेला सिग्देललाई पनि लफडा ल्याएर बढुवा नदिई चलखेल गर्ने खेलाडीहरु सक्रिय थिए, सैनिक स्रोतले भन्यो, तर पार लागेन। फाइदा पाइने आशाामा सेनाभित्रकै रिटायर्ड हुन लागेका केही अधिकृतहरु पनि अदृश्य तत्वको खेलमा सामेल भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *