काठमाडौं उपत्यकामा वर्षा, गर्मीबाट राहत

डिसी नेपाल
२२ जेठ २०८१ १२:१०

काठमाडौं। स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकामा वर्षा भएको छ। वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ।

काठमाडौंको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौं उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यो वायु प्रणालीले राजधानी उपत्यकामा एक घण्टाभन्दा बढी समयस्मम वर्षा गराउने र उत्तरतिर लागेर कमजोर हुँदै जाने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। यो प्रि मनसुन क्रियाकलाप भएको महाशाखाले जनाएको छ।

हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बंगलसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार कोशी, मधेस र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। कोशी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

यस वर्षको मनसुन यही जेठ ३१ गतेदेखि नेपाल प्रवेश विभागको पूर्वानुमान छ। यद्यपि मनसुन भित्रिने सरदर मिति केही दिन तलमाथि हुने विभागले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *