विद्युतीय सवारीसाधानमा लगाइएको कर व्यवहारिक छ: अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले विद्युतीय सवारीसाधानमा लगाइएको कर व्यवहारिक रहेको बताएका छन्। मंगलबार राष्ट्रियसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री पुनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र इन्धनको आयातको भन्सारबाट चालू आर्थिक वर्षमा कम्तिमा ४० अर्ब राजस्व गुमेको भन्दै विधुतीय सवारीसाधानको आयातमा १० प्रतिशत कर वृद्धि गर्ने निर्णय व्यवहारिक रहेको बताएका हुन्।
उनले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति कायमै रहेको जानकारी दिए। जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बजेटले उच्च प्राथमिकतामा दिएको भन्दै उनले कार्बन उत्सर्जन गर्ने वस्तुहरुमा हरित कर सुरु गरिएको बताए। उनले अतिकम विकसित मुलुकबाट विकसित मुलुकतर्फ नेपाल अघि बढिरहेको अवस्थामा अनुदान घट्दै जानु र ऋण बढ्दै जानु स्वभाविक रहेको धारणा राखे। अर्थमन्त्री पुनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आलु प्याज र स्याउ लगायतका फलफूलमा कर हटाइएको जानकारी दिँदै विदेशबाट आयात गर्ने वस्तुहरुमा कर कायमै रहेको बताए। उनले विगतका वर्षमा गरिएका आर्थिक सुधारका विषयलाई निरन्तरता दिएको र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई मजबुद बनाइने उल्लेख गरे।
निजि क्षेत्रलाई प्रवद्र्धन गर्ने गरि सरकारले नीतिहरु अघि बढाउने उनको भनाइ छ। बजेट अनुसार नै नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने गरि मौदीक नीति आउने उनले बताए। त्यस्तै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट उत्पादनमूखी र वस्तुपरक रहेको दावी गरे।
Facebook Comment