पुलिसलाई अपराधीसँग भट्टी पस्नबाट रोक्न सर्कुलर (हेर्नुहोस् पत्र)

डिसी नेपाल
२३ जेठ २०८१ ७:१४

काठमाडौं। अपराधी र प्रहरीको साइनो कस्तो हुन्छ? दुश्मनीको? नेपाल प्रहरी भन्छ, राजधानीका भट्टीमा अपराधीसँग प्रहरी कर्मचारीहरु मदिरा सेवन गर्छन्।

डिसी नेपाललाई प्राप्त नेपाल प्रहरीको एक पत्रअनुसार, अपराधीहरुसँग भट्टी, रेष्टरेण्ट र होटलहरुमा प्रहरी कर्मचारीहरु पोशाकमै जाने र मदिरामात्र होइन, लागूऔषधसमेत प्रयोग गर्ने गर्दछन्।

प्रहरीका हाकिम र कमाण्डरहरुले रक्सी सेवन गरेनन् भने के होला? यो काल्पनिक प्रश्नमात्र हो। राजधानीका तारे होटलदेखि, महँगा रेष्टुराँ, दरबारमार्ग, ठमेल, वानेश्वरलगायतका रेष्टुराँ, क्लब र डिस्कोहरुमा प्रहरीका माथिल्ला हाकिमदेखि एरियाका हाकिमहरु र पहुँचवाला प्रहरी कर्मचारीहरुको जमघट निकै हुने गर्छ।

नेपाल प्रहरी स्वयंले पनि प्रहरी कर्मचारीहरु अपराधीसँग भट्टीमा जाने गरेको स्वीकार गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयको मिति २०८१ जेठ ९ गतेको एक गोप्य सर्कुलरले काठमाडौंमा प्रहरी कतिसम्म भ्रष्ट भइसकेको छ भन्ने प्रष्ट्याउँछ।

सर्कुलरमा भनिएको छ- “ड्युटीमा रहँदा तथा ड्युटी बाहेकको समयमा प्रहरी कर्मचारीहरु विभिन्न आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरुसँग सम्पर्क सम्बन्ध राख्ने, गैरव्यवसायिक तथा आपराधिक कृयाकलापहरुमा संलग्न हुने, प्रहरी पोशाकमै भट्टी, रेष्टुरेण्ट तथा होटलहरुमा गई मदिरा तथा लागु औषध सेवन गर्नेजस्ता घटनाक्रमहरु दिन प्रतिदिन बढिरहेका”।

यसलाई पुष्टि गर्न प्रहरी कार्यालयले हालैमात्र एकजना ट्राफिक प्रहरीको दुखद हत्या भएको घटनाको प्रसंग उल्लेख गरेको छ।

एसएसपी दिनेशराज मैनालीले हस्ताक्षर गरेको सो पत्रमा अझै पनि प्रहरीहरु अपराधीसँग रक्सी वा लागूपदार्थ खान गएको जानकारी पाए कारवाही गर्ने भन्ने कुराचाहिँ उल्लेख छैन।

बरु प्रहरी कर्मचारीलाई आवश्यक ब्रिफिंग गर्ने र अन, अफ ड्युटीमा रहँदाको कृयाकलापहरुको अनुगमन गर्ने तथा आचारण व्यवहार सुधार लक्षित कार्यक्रम गर्न गराउन भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *